१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मधेसको हिमाल

चन्द्रकिशोर

आकारमा सानो भए पनि नेपाल निकै विविधतापूर्ण छ । हावापानीमा पृथक्ता, वनस्पति र जीवजन्तुमा अनेकता पाइन्छ । सांस्कृतिक विविधता, रैथाने अन्नका अनेकौं प्रकार, परिधानमा बहुआयामिकता हाम्रा विशेषता हुन् । भौगोलिक वास्तविकता नेपाली विविधताको आधार हो र यही नै हाम्रो सामर्थ्य पनि ।

मधेसको हिमाल

भर्खरै सम्पन्न छठमा तराईमा सूर्य त देखिए, तर त्यति तेजिलो होइन । हाम्रै कारणले आकाश सफा थिएन । तेजश्वी सूर्य अभिनन्दनको अवसर हो– छठपूजा । प्रकृतिप्रतिको यो अनुष्ठानभित्र सफा आकाश र तेजिलो सूर्यको कामना गर्दा त्यसप्रतिको कर्तव्यचेत पनि लुकेको छ । अचेल आकाश पहिलाजस्तो सफा देखिंँदैन । तराईका लोककथामा बाँच्दै आएको हिमाल अचेल तराईबाटै देख्न सकिन्न, तुवाँलोका कारण । 


हिमालसँग मात्र होइन, नदीहरूसँग पनि हाम्रो सम्बन्ध रहँदै आएको छ, तिनमै आश्रित जीवन र जीविकाले गर्दा । भौगोलिक फरकपन हाम्रा लागि विभाजक रेखा होइन, पारस्परिकताको सेतु हो । त्यसैले राज्यले प्रयत्न नगर्दा पनि सामाजिक, आर्थिक र सांस्कृतिक संवादका मौलिक परम्परा बाँचिरहेकै छन्, तर जेनतेन । तिनको खोजीनितीमा न त शासकमा कुनै रुचि छ न अध्येताहरूमै । सङ्घीय नेपालको राजनीतिक विभाजन अर्थात् प्रदेश रचना जेजसरी गरिए पनि हिमाल, पहाड र तराई बीचको पारस्परिक सम्बन्धलाई ओझेलमा पार्न सकिँंदैन । तैपनि मधेसमा हिमालप्रतिको भावनात्मक सम्बन्धको परम्परा अहिले टुट्दै गएको छ । परिवर्तन, पर्यावरण र प्रगतिनिम्ति मधेसले हिमाललाई चिन्न र त्यस क्षेत्रको सरोकारप्रति चिन्ता र चासो राख्नसके मात्र हाम्रो आन्तरिक सामर्थ्य बढ्छ ।


मधेसमा पहिचानको राजनीतिको सरगर्मी बढ्दा मधेसी र पहाडी दुई सांस्कृतिक समूहको बढी चर्चा गरियोÙ हिमाली क्षेत्रका बासिन्दालाई भुलियो । यसले गर्दा समथरको विमर्शमा हिमाली पहिचान लुप्त भयो । हिमाली क्षेत्रका अधिकारकर्मीहरूको गुनासो छ— नेपाललाई पहाड र मधेसको मात्र भनेर चिनाउँदा यी दुवै भूगोलबाट पृथक् हिमालय क्षेत्रको भौगोलिक अस्तित्व र तिनको गौरवशाली सांस्कृतिक परम्पराहरू छोपिएका छन् ।


नेपालको मूल प्रवाहीकरणमा हिमाली क्षेत्र पनि वञ्चितीमा छ भन्ने बहस उठ्दै छ । अल्पसङ्ख्याका कारण तिनका सरोकार मुखरित हुन पाएका छैनन् । लोकतन्त्रले लोकको कुरा त गर्‍यो, तर भूगोललाई भुल्यो । आजको लोकतन्त्रले मान्छेको मात्र गन्ती गरेर त्यसैका आधारमा नीति बनाउँदो रहेछ । यसो गर्दा न त द्वन्द्वको व्यवस्थापन भएको छ न लोकतन्त्रको दिगोपनमा ढुक्क भएर बस्न सकिने अवस्था छ । त्यसैले समावेशी र समानताको खोजी गर्ने मधेसले हिमालप्रति चाख राख्नुपर्छ । उनीहरूका सरोकारमा साथ दिनुपर्छ । भूस्वरूप र तिनले सिर्जेका विविधतालाई सम्मान गर्ने काम अझै बाँकी छ । दक्षिणी सीमामा कतै साँधमा तलमाथि पर्दा जुन जुरमुराहट पाइन्छ, त्यसै गरी पहाडी वा हिमाली क्षेत्रका सीमा कुल्चिँदा पनि मधेसलाई दुख्नुपर्छ ।


गत भदौ २७ मा प्रदेश २, जनकपुरका रञ्जित साह साइकलमा १८ दिनमा सरगरमाथा आधार शिविर पुगे । लगत्तै कठिन मानिने चुचुरो आमा दब्लमको सफल आरोहण गरे । यसले मधेस र हिमाली भेगका बासिन्दाबीच भावनात्मकताको विकास गरेको छ । यसबाट लोकतान्त्रिक एकीकरण अभियानलाई अगाडि बढाउन सहयोग पुग्छÙ भौतिक, सामाजिक, सांस्कृतिक तथा भावनात्मक पुलहरू बनाउन प्रेरित गर्छ । ब्रिटिस इन्डियाको बखत पूर्णिया वा गोरखपुरबाट सगरमाथा लगायत हिमशृंखलाहरूसँग जोडिएर इतिहास निर्माण भएको हो । यसमा पारिको सीमाञ्चलको योगदान रह्यो । तर पनि पारि जोगबनी, जयनगर वा रक्सौलका बासिन्दाले सगरमाथा हाम्रो हो भनी दाबी गर्न सक्दैनन् । तर मधेसी रञ्जितले आरोहण गरेर मधेसलाई हिमालसँग जोडेका छन् । हिमाल र तराई भूगोल हो भने हिमाली र मधेसी सांस्कृतिक पहिचान । रञ्जितले आम मधेसीको प्रतिनिधित्व गरेका छन् । काठमाडौं सत्तासँगको संघर्ष वा दूरीका कारण मधेसलाई हिमालसँग पनि भावनात्मक रूपमा ‘पर’ राखिएको थियो, तर रञ्जितले त्यो पर्खाल भत्काइदिए ।


आफ्नै लागि पनि मधेसले हिमाल चिन्न, बुझ्न र माया गर्न जरुरी छ । हाम्रो भौगोलिक विविधता सांस्कृतिक संयोजनको मूल कडी त हुँदै हो, रैथाने ज्ञानको विश्वविद्यालय पनि हो । हाम्रो पारिस्थितिक प्रणालीको अनुपम विविधताबारे आधारभूत ज्ञानको सामाजिकीकरण सबै क्षेत्रमा हुनु जरुरी छ । हिमाली बासिन्दाका लागि मधेसको आकर्षण अनेक अनुमान वा अवसरको खजाना पनि हो । तलका बासिन्दाका लागि हिमाली क्षेत्र अझै रहस्य नै छ । हिमाल र मधेस कति नजिक छन् भन्ने पनि उजागर हुन जरुरी छ ।


मधेसका बासिन्दाले सम्झिनुपर्ने के हो भने, नेपालको अस्तित्व यसको भौगोलिक अखण्डतामा निहित छ । बढ्दा तापक्रमका कारण हिउँ पग्लिँदै गइरहे यसको प्रत्यक्ष–अप्रत्यक्ष असर समथरमा देखिनेछ, जसले यहाँको जीवन र जीविका दुइटैमा चोट पुर्‍याउनेछ । समथरको तिर्खा मेट्ने र जीविकालाई सिञ्चित गर्ने अविरल जलभण्डार हाम्रो हिमाली भेगमा छ । हिमालयको उत्पत्तिसँगै तराईले अस्तित्व प्राप्त गरेको हो । समथर तराई पनि त्यही विराट् हिमालय निर्माणसँगै जोडिएको छ । त्यसैले कतिपयले भन्छन्– तराईको उदार छातीमा हिमाल ठडिएको छ । यसर्थ हिमाली क्षेत्रमा के हुँदै छ भन्ने जान्न जरुरी छ । थोरै जनसङ््ख्याका कारण हिमालय क्षेत्रको प्रतिनिधित्व कम भएकाले मधेसको झैं हिमाली क्षेत्रको सरोकार मुखरित हुन सकेको छैन । जनभारले उत्पन्न विषमतालाई लोकतन्त्रमा हरण गरिनुपर्छ । कतिपयले हिमाली क्षेत्रलाई फगत निर्जन भूमिको रूपमा हेर्छन्, जबकि यो हाम्रो जीवित सम्पदा हो ।


मधेसी लोकसाहित्यमा अझै ‘हिमाल’ बाँचेको छ । सीमाञ्चलका गाउँमा बेलाबखत गुन्जिन्छ, ‘बरफानी माथा से/ढल्केला पनिया त/बन जाला नदिया के धार/जहँवा बा घरवा हमार ।’ यो लोकसाहित्यले पनि मधेस र हिमाली क्षेत्रको सम्बन्ध पहिल्याउन मद्दत गर्छ ।


नेपालको भावनात्मक एकीकरणका लागि ‘हिमालय दिवस’ मनाउनु उचित हुन्छ । हिमालय दिवसले हाम्रो भूगोल र भूपरिवेशको सामर्थ्य, सम्भावना र सीमासँग परिचय गराउँछ । यो कहिले र कसरी मनाउने भन्नेबारे विमर्श आवश्यक छ । किनभने हिमालय र तराईको भविष्य साझा हुन् । यो दिवसको आयोजनले सबैमा हिमचुलीप्रतिको आत्मगौरव र आत्मीयता वृद्धि गर्छ । यसो भन्दा पहाडी क्षेत्रको महत्त्व कम हुँदैन । जलवायु परिवर्तनले हाम्रो वरिपरिको पारिस्थितिक प्रणालीमा ल्याएको फेरबदलबारे बुझ्न सकिन्छ । त्योसँगै समथरको सम्भावनालाई पनि हेर्न सक्छौं । हिमालय अब तलका लागि प्राकृतिक पर्खाल मात्र रहेन । ती विभाजक इकाइ पनि रहेनन् । यो क्षेत्र भूसेतु बन्दै छ । यसले भूराजनीतिमा पार्ने प्रभावलाई समथरले मूकसाक्षी भएर हेरिरहन सक्दैन ।


हिमालसँग मधेसको दूरी बढाउनमा सरकारी रवैया जिम्मेवार छ । अहिले पनि हिमाली चुचुराहरूलाई एउटा खास वृत्तको आयआर्जनसँग मात्र जोडिएको छ । हिमचुचुराहरू आयआर्जन वा अस्मिताका प्रतीक मात्र होइनन्, पहाड–मधेस जोड्ने आत्मगौरवका गणतान्त्रिक चुचुरा पनि हुन् ।

[email protected]

प्रकाशित : कार्तिक २८, २०७६ ०८:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?