कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २११

छोरी हुन्नन् भारी

दीप्स शाह

२००९ को जुलाईतिर म रोजगारीको सिलसिलामा इजरायलकै व्यस्त सहर तेल अभिभ छेउको शान्त बस्तीमा थिएँ । त्यो सानो धनाढ्य बस्तीको छाती चिर्दै पोस्ट अफिस, मेडिकल स्टोर, ग्रोसरी आउजाउ गर्ने क्रममा बाटोमा मेरो प्राय: एउटी सुन्दर महिलासँग देखभेट हुन्थ्यो । उनी एउटी बच्चीलाई डोर्‍याउँदै र अर्कीलाई चाहिँ ट्रलीमा राखेर गुडाउँदै टहलिरहेकी हुन्थिन् ।

अपरिचित नै भए पनि जम्काभेट हुँदा ‘सलोम’ (नमस्ते) भन्दै मुस्कुराउने गर्थिन्, अन्य इजरायलीझैं । संयोगले एक दिन मेडिकल स्टोरमा लाइन लागेका बेला हामी सँगै पर्‍यौं, निकै बेर । नेपालमा काखे छोरो छोडेर परदेश लागेकी म केटाकेटी देख्ने बित्तिकै झ्याम्मिइहाल्थेँं । त्यहाँ पनि ती बच्चीहरूकै माध्यमले आमासँग नजिकिएँ । पहिलो चिनाजानीमै लामो र आत्मीय कुराकानी भयो । त्यसपछि त ती रिचेल जेराफीसँग भेट बाक्लिँदै गयो ।


कुराकानीकै क्रममा एक दिन उनका परिवार र पतिबारे सोध्दा जे उत्तर पाएँ, त्यसले मलाई अवाक् बनाइदियो । उनले भनेकी थिइन्, ‘आ’म अनम्यारिड । आई डोन्ट ह्याभ हज्बन्ड ।’ उसो त इजरायलमा लिभिङ टुगेदरको प्रचलन रहेको बारे म जानकार थिएँ । बिहे नगरे पनि सहमतिमा बच्चा जन्माउने प्रचलन सामान्य रहेछ भन्नेचाहिँ मैले बल्ल थाहा पाएकी थिएँ । त्यसरी बच्चा जन्माउँदा बाबुको पहिचान थाहा हुने भए पनि रिचेलको केस फरक थियो । न उनको विवाह भएको थियो, न लिभिङ टुगेदरमै थिइन् उनी, न त ती बच्चीका बाबुको किटान थियो । उनले भनिन्, ‘आ’म सिङ्गल प्यारेन्ट्स ।’


त्यसपछि मैले एकल अभिभावकको अवधारणा र प्रावधानबारे खोजखबर गरेँं । इजरायलमा सन् १९९२ मा एकल अभिभावक सम्बन्धी कानुन पारित भएको रहेछ, जस अनुसार इच्छित व्यक्तिको आर्थिक क्षमता, शारीरिक–मानसिक तन्दुरुस्तीको प्रमाणीकरणपछि एकल अभिभावक हुने अनुमति पाइने रहेछ । एक्लो अभिभावक बन्दा आर्थिक, मानसिक लगायतका झन्झट हुने हुँदा यो अवधारणाप्रति उल्लेख्य लगाव भने रहेनछ । रिचेलले भने हिम्मत गरेर एकल अभिभावकको आनन्द उठाएकी रहिछन् । र, लगालग दुई छोरी जन्माइछन् । निकट भविष्यमै तेस्री छोरी जन्माउने उनको योजना पनि रहेछ । छोरीलाई दोस्रो दर्जाको नागरिक मान्ने र भरसक छोरी जन्माउनै नचाहने मानसिकता भएकाहरूले भरिएको मुलुककी मलाई रिचेलको छोरीप्रतिको आसक्ति लोभलाग्दो हुने नै भयो । उसो त मलाई थाहा थियो, इजरायलमा वंश परम्परा आमाबाट धानिने मानिन्छ । कुनै यहुदी पुरुषले गैरयहुदी महिलाबाट सन्तान जन्माए त्यो स्वत: यहुदी हुँदैन, तर कुनै पनि यहुदी महिलाले जुनसुकै जात–धर्मको पुरुषबाट जन्माएको सन्तान पनि स्वत: यहुदी हुने धार्मिक तथा कानुनी मान्यता छ । तर पनि तीन–तीन वटी छोरीको रहर गर्ने रिचेलबाट म प्रभावित भइरहें । पछिको भेटमा मैले सोधें नै, ‘तपाईं किन अझै छोरी जन्माउन चाहनुहुन्छ ? छोरो मन पर्दैन र ?’


उनले भनिन्, ‘मलाई छोरा मन नपर्ने होइन, छोरीचाहिँ असाध्य मन पर्ने हो । मलाई मेरी हजुरआमा, आमा र म आफू संसारकै असाध्यै सुन्दर मान्छे लाग्छ । अझ भनूँ, हरेक छोरी दुनियाँको अमूल्य गहना लाग्छ । त्यही भएर म आफू पनि यो संसारलाई अझै केही यस्तै सुन्दर उपहार दिएर मर्न चाहन्छु ।’


अनि विवाह ? सन्तान र अझै छोरीप्रति यति आसक्त मान्छे विवाहप्रति किन उदास ? उनले भनिन्, ‘विवाह जिन्दगीको हतकडी मात्रै हो । म आफै बाँच्न सक्षम छु, आफ्ना छोरीहरूको भरणपोषणदेखि यावत् जिम्मेवारी उठाउन सक्षम छु भने किन फेरि कसैको अदबमा बाँधिएर बस्ने रहर गर्नु ?’


उनको भनाइले मलाई पति वा परिवारबाट प्रताडित, दाइजोका कारण जल्न बाध्य, छोरी जन्माएकै कारण बेघर हुन विवश र लिंग पहिचान गरी–गरी गर्भमै छोरी भ्रूणको हत्या गर्न अभिशप्त तमाम नेपाली महिलाको सम्झना गरायो ।


केही वर्षयता नेपालमा पनि लिंग सम्बन्धी विभेदपूर्ण कानुनमा केही सुधार आएको छ । नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न ल्याइएको विधेयकमाथि छलफलका क्रममा सांसदहरू आमाको स्वघोषणाका आधारमा बाबुको नाम, थर, ठेगाना नखुलेको व्यक्तिले पनि नागरिकता पाउने व्यवस्था बनाउन सहमत भइसकेका छन् । लिंग पहिचान गरी छोरी भ्रूणको हत्या हुन नपाओस् भनी मुलुकी अपराध संहिता, २०७४ को दफा १८८ ले गर्भपात गराउने उद्देश्यले भ्रूणको लिंग पहिचान गर्न–गराउन बन्देज लगाएको छ र त्यो कसुर गरे–गराए दफा १८९ अनुसार कैद तथा जरिवानाको व्यवस्था छ । तर कानुन मात्रै बनेर के हुन्छ ? प्राय: नेपालीको मानसिकतामा छोराछोरीबीच विभेदको खाडल अझै उस्तै छ । समाजले छोराको महिमागानलाई सर्वोच्चतामा राखिरहेकै कारण अझै पनि डर, त्रास, प्रलोभन, जोरजुलुम, करकापमा पारेर छानी–छानी छोरी भ्रूणको हत्या भैरहेकै छ । पुरुषहरू यसलाई मातृत्व अधिकारको दुरुपयोग भन्दै पन्छिने गर्छन् । तर तिनले के बुझ्न जरुरी छ भने, भ्रूणहत्या पुरुषकै दबाबले हुने गर्छ । एउटी आमाका लागि छोराछोरी बराबर हुन्छन् । छोरा वा छोरी जे भए पनि जन्माउँदा सहनुपर्ने पीडा र जन्माइसकेपछिको सुखानुभूति एकै हुन्छ ।


कागजमा सीमित नियम–कानुनलाई व्यवहारमा कडाइसाथ लागू गर्दै जनचेतना फैलाउन सके हाम्रामा पनि रिचेलहरू निकै हुने थिए ।

[email protected]

प्रकाशित : कार्तिक २८, २०७६ ०८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?