कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तराईमा छूत, पहाडमा अछूत !

हीरा विश्वकर्मा

नेपालको दलित आन्दोलन एक प्रकारले पहिचानविहीनताको आन्दोलनजस्तो देखिएको छ । हामी नेपालको संविधान, २०७२ मा ‘दलित’ शब्द मात्रै राख्न सफल भएका छैनौं, दलितका लागि छुट्टै मौलिक हकको समेत व्यवस्था भएको छ । यति हुँदाहुँदै पनि ‘दलित’ शब्दप्रति वितृष्णा देखिन्छ नै । कसैले आफूलाई ‘शिल्पी’ भन्न थालेका छन् त कसैले जात लुकाई ठूला जात जनाउने थर लेख्न । यस्तो हुनुको कारण हो— आफ्नो वास्तविक पहिचानबारे पत्तो नपाउनु, आफ्नो वास्तविकताप्रति गर्व गर्न नसक्नु ।

तराईमा छूत, पहाडमा अछूत !

आफ्नो वास्तविकता थाहा पाउन त्यो जाति वा समूहको इतिहास, भूगोल र छुट्टै संस्कृति हुनुपर्छ, तर यी सबमा हामी पछाडि परेका छौं । न त हाम्र्रो कुनै लिखित इतिहास छ, न निश्चित भूगोल, न हामीलाई चिनाउने छुट्टै संस्कृति । धेरै लामो समयसम्म हामीले यही भ्रम पालेर बसेका थियौं, तर यो भ्रमलाई धेरै हदसम्म हटाउने काम दानबहादुर अर्थात् डीबी नेपालीको एउटा खोजले गरेको छ ।


मलाई सधैं एउटा प्रश्नले घोचिरहन्थ्यो— नेपालको एउटा भूगोल तथा संस्कृतिमा अछूत मानिनेहरू अर्को भूगोल र संस्कृतिमा किन अछूत मानिन्नन् ? हामीले मान्दै आएको छुवाछूत नेपालको मौलिक उपज होइन, दक्षिण भारतबाट आयात भएको हो । यसो हो भने त्यहाँ अछूत मानिएकाहरू यहाँ अछूत मानिनु आश्चर्य भएन । तर त्यहाँ कुनै पनि कोणबाट अछूत नमानिनेहरू नेपालमा कसरी अछूत मानिए ? पेसाकै कुरा गर्ने हो भने पनि, एउटै पेसा भएकाहरू फरक भूगोलमा कसरी अछूत भए ? उदाहरणका लागि, पहाडका सुनार तथा कामीहरूलाई नेपालकै तराईमा अछूतको व्यवहार गरिँदैन । जहाँ पहाडेको पनि बसोबास छ, त्यहाँ विभेद भए पनि मधेसी मूलका जातिहरू बसेका ठाउँमा कुनै विभेद छैन । त्यस्तै, मधेसी मूलका लोहार तथा सुनारलाई पनि त्यहाँ विभेद हुने कुरै भएन । त्यहाँ ‘विश्वकर्मा’ थर लेख्नेभित्र थुप्रै उपथर र पेसा छन् । तीमध्ये कतिले आफूलाई ‘बढई’ भनी चिनाउँछन् त कसैले ‘ठाकुर’ लेख्छन् । कतै–कतै ‘शर्मा’ पनि लेख्ने गरेको पाइएको छ । ‘शर्मा’ भन्नेबित्तिकै पहाडका बाहुन भन्ने बुझिन्छ । त्यस्तै, सुनारहरूले ‘सर्राफ’ वा ‘वर्मा’ लेख्छन् ।


तराईका सुनारहरूको हैसियत त नेपालका माडवाडी समुदायको जस्तै देखिन्छ ! यस्तै कुरा सिलाइ पेसा गर्नेहरूमा पनि लागू हुन्छ । पहाडमा दमाई भनेर चिनिने जातिको तराईको मधेसीबहुल क्षेत्रमा बसाइँसराइ भयो भने उसलाई पनि त्यहाँका समुदायले अछूत मान्दैनन् । तर पहाडेबहुल क्षेत्रमै बस्न गए विभेदको मात्रा कम हुँदैन । मधेसमा सिलाइको पेसा गर्ने ‘जुलाहा’ जाति मुस्लिम धर्मावलम्बी हुन्छ र उसलाई पनि छुवाछूतको व्यवहार गरिँदैन । छालाको पेसा गर्ने सार्कीहरूको अवस्था भने अलि फरक देखिन्छ । पहाडका सार्कीहरूले पेसागत रूपमा छालाको काम गर्ने र तराईका चमारहरूले पनि सोही पेसा गर्ने भएकाले मधेसीबहुल क्षेत्रमा उनीहरूलाई पनि विभेद हुन सक्छ ।


त्यस्तै, खस–आर्यहरू नेपालका मूलवासी होइनन् भन्ने सबैलाई थाहा छ । किनभने खस क्षत्री भनेर चिनिने कर्णालीका क्षत्री–बाहुन समुदाय खस मात्रै हुन्, आर्य होइनन् । यसो भन्नुको पहिलो आधार हो— आर्यहरूका देवीदेवतालाई कर्णालीका अधिकांश समुदायले आफ्नो आराध्यदेवका रूपमा धेरै नपुज्नु । उनीहरू मूलत: मष्टो देवतालाई पुज्ने गर्छन् र यो पूजा संस्कार प्रकृतिपूजकसँग धेरै मिल्दोजुल्दो छ । त्यस्तै, कर्णालीका दलितहरूले मष्टोलाई केही मान्ने र ‘शामिनिजम’ अर्थात् धामीझाँक्रीलाई बढी मान्ने गर्छन् । छुवाछूत मान्ने समुदायले पनि यस्ता धामीझाँक्रीलाई देवतालाई जस्तै पुज्ने गर्छन् । त्यसको अर्थ उनीहरूलाई पहिले अछूतको व्यवहार गरिँदो रहेनछ । यसो हो भने, कर्णालीबाट पूर्वतर्फ फैलिएका मानिने पहाडे दलितहरूलाई कसरी छुवाछूतको व्यवहार गर्न थालियो त ? यो अत्यन्तै गम्भीर प्रश्न हो र यसको उत्तर खोज्ने काम पनि डीबी नेपालीले गरेका छन् ।


मान्छे वा कुनै समुदायलाई गरिने छुवाछूतको व्यवहारलाई दास प्रथासँग तुलना गर्न सकिन्छ । दास बनाइएकाहरूको इतिहास केलाउने हो भने त्यसको मुख्य आधार देखिन्छ— युद्धमा पराजय । अहिले ‘दलित’ भनिने पहाडेहरूको इतिहास खोतल्दा थाहा हुन्छ, उनीहरूको आफ्नै राज्य तथा संस्कृति र शासन व्यवस्था थियो । त्यसको उदाहरणका रूपमा कर्णालीको सिंजामा नाचिने कामी नाच तथा त्यस पूर्वको पश्चिम क्षेत्रमा दसैंका बेला नाचिने सराय नाचलाई लिन सकिन्छ । नेपाली सेनाका जर्नेल तथा अनुसन्धाता प्रेमसिंह बस्न्यातले सैन्य इतिहास सम्बन्धी लेखमा उल्लेख गरे अनुसार, पृथ्वीनारायण शाहले एकीकरण अभियान थाल्नुपहिले सैनिकहरू ब्यारेकमा बस्दैनथे, न त उनीहरूलाई राज्यले कुनै नियमित तलब तथा अन्य सुविधा नै दिन्थ्यो । उनीहरूको पुरस्कार भनेको युद्धमा जितेको भूभागमा रजाइँ गर्नु र हारेकालाई कमारा–कमारी वा दास बनाउनु थियो । आफ्ना हातहतियारमध्ये केही घर–घरमा राख्ने र बाँकी कोट वा देवीको मन्दिरमा राख्ने गरिन्थ्यो । देवी मन्दिर वा कोटमा राखिएका हतियारलाई कम्तीमा वर्षको एक पटक निकालेर सरसफाइ गरिन्थ्यो अनि विभिन्न कर्तव देखाइन्थ्यो ।

यसरी कर्तव देखाउँदा हातहतियारको स्याहार–सम्भार र युद्धाभ्यासका साथै संस्कृतिको पनि विकास हुने भयो । यसको ज्वलन्त उदाहरण हेर्न पाल्पाको जोगीपानी पुग्नुपर्छ । त्यहाँ लिपिन्देवीको मन्दिर छ, जहाँ वर्षको एक चोटि कोजाग्रत पूर्णिमाको दिन मेला लाग्छ । अघिल्लो दिन रातभर देवीका नाममा जाग्राम बस्ने, भोलिपल्ट ‘वाखैडुंघडुंघ वा’ भन्दै सराय नाच नाच्ने र दमाहा तथा पञ्चेबाजाका तालमा तरबार नचाएर कर्तव देखाउने गरिन्छ । यो सब स्थानीय सुनार तथा कामीहरूले गर्ने गर्छन्, अनि बाजामा साथ दिन्छन् दमाईहरूले । सो मन्दिरको गुठियारमा सुनार, कामी तथा अन्य जाति छन् । यसको अर्थ परापूर्व कालदेखि नै त्यहाँका सुनार तथा कामीहरूको आफ्नै राज्य थियो, जसलाई जोगाउन यस्तो परम्पराको थालनी भयो ।


दलित समुदाय शासककै रूपमा थिए भने, शासकलाई कसरी छुवाछूतको व्यवहार भयो त ? डीबी नेपालीका अनुसार, शासकमा कसैले पनि छुवाछूतको अपमान लाद्न सक्दैन । यहाँ चर्चा गरिएका जातिहरूको हकमा के देखिन्छ भने, मानव सभ्यताको विकासको सम्बन्ध युद्धसँग अन्योन्याश्रित देखिन्छ । नेपालमा पनि अनेकौं युद्ध भए । पहाडका जति पनि दलितहरू छन्, खास गरी कामी, दमाई र सार्कीहरूका छुट्टाछुट्टै बाइसी–चौबीसी राज्यहरू थिए, दसौं शताब्दीसम्म । उनीहरूलाई पश्चिमका मल्ल ठकुरीहरूले विभिन्न युद्धमा साम–दाम–दण्ड–भेदको नीति लिई हराएनन् मात्रै, हिन्दु धर्मको आड लिएर अछूत पनि बनाइदिए । त्यस उप्रान्त उनीहरू अछूतका रूपमा रहन बाध्य भए । त्यसलाई अझ संस्थागत रूप दिने काम चौधौं शताब्दीमा काठमाडौं उपत्यकामा जयस्थिति मल्ल र पन्ध्रौं शताब्दीमा गोरखाका राजा राम शाहले पश्चिमी पहाडमा गरे ।


एकीकृत नेपालमा त्यसलाई थप सुदृढ पारे जंगबहादुर राणाले । अनि नेपालका, खास गरी पहाडका दलितहरू (जसलाई न नेपालको तराईमा न त भारतको कुनै ठाउँमा अछूतको व्यवहार हुन्छ) लाई छुवाछूत जस्तो अमानवीय व्यवहार भोग्न बाध्य बनाइयो । अत: पहाडका दलितहरूलाई धार्मिक रूपमा अछूत बनाइए पनि मूल रूपमा यो राजनीतिक प्रतिशोध थियो, ताकि उनीहरू कहिल्यै विद्रोही शक्तिका रूपमा उठ्न नपाऊन् । अत: हामीले पनि आफ्नो भूगोल, संस्कृति र इतिहासको खोज तथा निर्माण गर्दै पहिचानसहितको, आत्मसम्मानयुक्त जीवनको खोजीमा अगाडि बढ्नुपर्छ ।


प्रकाशित : कार्तिक २७, २०७६ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?