कालापानीमा चाहिएको कूटनीतिक अग्रसरता

सम्पादकीय

भारतले नेपालको कालापानी क्षेत्रलाई आफ्नो सिमानाभित्र पर्ने गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि लामो समयदेखि नेपालीहरूको भावनामा ठूलो ठेस पुर्‍याइरहेको एउटा राष्ट्रिय घाउ फेरि बल्झेको छ । सकारात्मक पक्ष, यस मामिलालाई लिएर मुलुक जसरी एकजुट भएको छ, त्यसलाई राष्ट्रिय हितका पक्षमा प्रयोग गर्न सकेमा यो घाउलाई सदाका लागि निको पार्ने अवसर यसले दिलाएको छ ।

भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यमार्फत सरकारले यो विषयमा कूटनीतिक पहल थालिसकेको छ । परराष्ट्र सचिवस्तरीय वार्ताको प्रयास भइरहेको छ । एकातिर, यो वार्ता माहोल तातेकै बेला जतिसक्दो छिटो गर्न आवश्यक छ भने अर्कोतिर, नेपालले सुगौली सन्धिअनुसार लिम्पियाधुरा नै कालीको उद्गम भएका प्रमाणहरू पनि पुग्दो जुटाउनुपर्छ । र, प्रक्रियागत वार्ताहरू त छँदैछन्, विषयको गम्भीरता र संवदेनशीलताअनुसार सार्थक परिणामका लागि राजनीतिक नेतृत्वबाटै यस विषयलाई सल्टाउन अग्रसरता लिइनुपर्छ ।

देशभित्र विरोध चर्कंदै गएपछि परराष्ट्र मन्त्रालयले वक्तव्य निकालेर कालापानी क्षेत्र नेपालकै भूमि भएको जनाइसकेको छ । उता भारतले पनि आफ्नो धारणा राखिसकेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले उक्त नक्साले ‘भारतको सार्वभौम भूभागलाई सही ढंगले चित्रण गरेको’ उल्लेख गर्दै ‘नेपालसँगको सीमामा कुनै फेरबदल नगरिएको’ दाबी गरेका छन् । यद्यपि, दुई देशबीचको घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्धको भावनाअनुसार आपसी संवादबाट समाधान खोज्न भारत प्रतिबद्ध रहेको उनले बताएका छन् । वार्ताबाट विवाद सल्टाउन इच्छुक रहेको भारतीय कूटनीतिक वृत्तबाट आएको खबर सकारात्मक छ । तर, छ दशकदेखि भारतले एकतर्फी रूपमा नेपाली भूमि अतिक्रमण गरेको विषय प्रशासनिक तहबाट मात्र सायदै सल्टिन सक्ला । त्यसैले नेपालको प्रधानमन्त्रीस्तरबाटै भारतीय समकक्षीसित यसबारे संवादको पहल गर्न आवश्यक छ ।

भारतसित वार्ता गरी कालापानी क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्न नेपालमा अहिले सबै हिसाबले अनुकूल परिस्थिति छ । बलियो जनसमर्थनमा बनेको सरकार मात्र छैन, राष्ट्रिय हित तथा सीमा रक्षाका लागि मुलुकका सबै राजनीतिक शक्तिबीच अभूतपूर्व एकता पनि देखिएको छ । सडक र सार्वजनिक वृत्तबाट पनि राष्ट्रियताका पक्षमा सरकारमाथि पर्याप्त दबाब छ । भारतीय नाकाबन्दीताका नेपाली नेतृत्व जसरी उभिएको थियो र त्यसप्रति जस्तो जनसमर्थन थियो, अहिले पनि माहोल र अवसर त्यस्तै छ । यस्तो अवस्थामा वार्ताको टेबलमा बस्दा स्वाभाविक रूपमै नेपाली पक्षको आत्मबल बलियो बन्न सक्ने स्थिति छ । तर आत्मस्वाभिमान र आत्मबलले मात्र वार्ताको नतिजा आफ्नो पक्षमा आउँदैन । त्यसका लागि नेपालले अतिक्रमित भूमि नेपालको भएको बलियो तथ्यप्रमाण जुटाउनैपर्छ । र, संकलित सबुदहरूलाई वार्ताको टेबलमा दह्रोसँग प्रस्तुत गर्न सक्नुपर्छ । यतिबेला मुलुकभित्र संगृहीत सम्पूर्ण शक्तिको प्रभाव नेपालले वार्ता कौशलमा देखाउन सक्नुपर्छ, जुन अहिलेको सबभन्दा ठूलो चुनौती हो ।

नेपालले आफ्नो ‘पोजिसन’ जति बलियो बनाउँछ, त्यति नै वार्ता उपलब्धिमूलक बन्न सक्छ । ब्रिटिस भारतकै पालामा भएको नक्साका आधारमा छलफल गरी सीमा निर्धारण गर्न नेपालले भारतलाई मनाउन सक्नुपर्छ । नेपाल र ब्रिटिस इन्डियाबीच सन् १८१६ मा भएको सुगौली सन्धिले काली नदीलाई दुई देशको सिमाना मानेको छ । त्यसैअनुसार १ फेब्रुअरी १८२७ मा प्रकाशित ‘गढवाल कुमाउ’ नक्सामा लिम्पियाधुराबाट उद्गम भएको नदीलाई ‘काली नदी’ भनिएको छ । यो लगायतका काली नदीको उद्गम लिम्पियाधुरा अंकित गरिएका अरू नक्साहरूसमेत संकलन गरेर, विगतमा नेपालले भोगचलन गरेका तथ्यहरू जुटाएर काठमाडौंले दिल्लीसित आफ्ना अकाट्य प्रमाण पेस गर्न सक्नुपर्छ । औपचारिक रूपमा विभिन्न संयन्त्रमार्फत छलफल हुने भए पनि निष्कर्षमा पुग्ने र परिणाम आउने वार्ताका लागि मुख्य अग्रसरता प्रधानमन्त्री केपी शर्मा ओलीले नै लिनुपर्छ । उनले भारतीय समकक्षी नरेन्द्र मोदीसित प्रत्यक्ष संवाद थालेर समस्या समाधानको प्रक्रिया आरम्भ गराउनुपर्छ । नेपाल–भारतबीच सीमा समस्या समाधान गर्ने यो उचित अवसरको सदुपयोग गर्नबाट प्रधानमन्त्री चुक्नु हुँदैन ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:१०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

अमेरिका जान खोज्दा बन्धक

मलावीमा ६ नेपालीको उद्धार, ५ जना अझै गिरोहको कब्जामा
जनकराज सापकोटा

काठमाडौँ — दक्षिणपूर्वी अफ्रिकी राष्ट्र मलावीमा ३२ दिनदेखि बन्धक बनाइएका चार नेपालीलाई प्रहरीको मानव बेचबिखन ब्युरोले उद्धार गरेको छ । अमेरिका जाने आसमा मानव तस्करको फन्दामा परेका उनीहरू सोमबार राति काठमाडौं आइपुगेका छन् । 

चारै जना एक वर्षअघि भारतीय एजेन्टको पछि लागेका थिए । एजेन्टले बोलिभिया हुँदै अमेरिका पुर्‍याउने आश्वासन दिएको थियो । शारीरिक र मानसिक यातना दिएर राखिएका उनीहरूलाई ब्युरोले मलावी प्रहरीसँगको समन्वयमा छुटाएको हो ।

गिरोहले उनीहरूलाई भियतनाम, इथियोपिया, मादागास्कर, जोर्डन, दुबई, अजरबैजान हुँदै मलावी पुर्‍याएको थियो । प्रारम्भिक बयानमा उनीहरूले गुमाएको यकिन रकम नबताए पनि प्रत्येकले १५ लाख रुपैयाँभन्दा बढी फसाएको हुन सक्ने प्रहरीले जनाएको छ ।

चारै जनालाई मलावीको राजधानीबाट ३ सय किमि टाढा ब्लान्टायर सहरमा बन्धक बनाइएको थियो । सोही क्षेत्रबाट अमेरिका जाने नाममा अलपत्र परेका अन्य दुई नेपालीको समेत उद्धार गरिएको छ । ती दुई जना टिकट खर्च नजुटेकाले फर्कन पाएका थिएनन् । चार जनालाई भने परिवारले नै टिकट व्यवस्था गरिदिएका थिए । मलावी प्रहरीले मानव तस्करलाई आश्रय दिने घरधनी नाजिर अहमदलाई पक्राउ गरेको छ । उद्धार भएकाहरूले मलावीमै अन्य पाँच नेपाली पनि मानव तस्कर गिरोहको फन्दामा परेको तर उनीहरू प्रहरीको सम्पर्कमा आइनसकेको सूचना ब्युरोलाई दिएका छन् ।

उद्धार भएकामध्ये तीन जना २६ वर्षमुनिका र एक ३६ वर्षका  छन् । काठमाडौंबाट भियतनामका लागि उडेका उनीहरूलाई सुरुमा भारतीय एजेन्टले सजिलै बोलिभिया पुर्‍याइदिने वाचा गरेको थियो । २० दिनसम्म भियतनामको होटलमा राखेपछि इथियोपियाको राजधानी अदिस अबाबा लगियो । एजेन्टले छिट्टै बोलिभिया पुर्‍याइदिने भन्दै त्यहाँ ४ महिनासम्म होटलमा राखेको थियो । त्यसपछि दक्षिणपूर्वी अफ्रिकाको मादागास्करस्थित होटलमा २५ दिन राखेर तीन जनालाई सोझै र एक जनालाई दुबई हुँदै जोर्डन पुर्‍याइयो ।

झन्डै एक साता जोर्डन बसेका उनीहरू एजेन्टकै सहयोगमा फेरि दुबई पुगेर दुई महिना बसे । त्यहाँको भिसा अवधि सकिएपछि एजेन्टले अजरबैजान पुर्‍यायो । १८ दिन अजरबैजान बसेर मलावी उडेका उनीहरूलाई त्यहाँ पुगेको केही दिनपछि नै गिरोहले थप रकम माग्दै बन्धक बनाएको हो ।

‘भारतीय नागरिक एजेन्टले हामीलाई धम्क्याउँदै कुटपिट गर्थे,’ एक पीडितले प्रहरीसँग भनेका छन्, ‘एकाध दिनको अन्तरमा स्थानीय केटाहरू आउँथे र पैसा माग्दै कुटपिट गर्थे ।’ गिरोहले उनीहरूको राहदानी र अन्य परिचय खुल्ने कागजात कब्जामा लिएको थियो । एजेन्टले नेपाल फर्कने भए ३ लाख भारु र २५ डलर खाना खर्च तथा बोलिभिया उड्ने भए ७ लाख भारु मागेको थियो ।

रकम नदिए मिर्गौला निकालेर बेचिदिने धम्की दिइएको पीडितको भनाइ छ । बोलिभिया पुग्न सके अमेरिका नै जाने, नसके चिली वा ब्राजिल जाने उनीहरूको योजना थियो । तर १५ लाखभन्दा धेरै रकम खर्चंदा पनि काम नभएपछि उनीहरूका सपना चकनाचुर भयो ।

एजेन्टले निरन्तर धम्की र कुटपिट गर्न थालेपछि पीडितहरू परिवारको सम्पर्कमा आएका थिए । परिवारले दिएको सूचनाका आधारमा ब्युरोले उद्धारकार्य अघि बढाएको हो । ब्युरोका डीएसपी नरहरि रेग्मी संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा मलावी पुगेका बेला स्थानीय प्रहरीका उच्च अधिकारीसँग चिनजान भएको थियो । त्यही अनौपचारिक स्रोत प्रयोग गरेर रेग्मीले बन्धक बनाइएकाहरूको सूचना र ठेगाना त्यहाँको प्रहरीलाई दिएपछि उद्धार सुरु भएको थियो । गत असोजमा पनि अवैध रूपमा मलावीको डान्सबार पुर्‍याइएका तीन नेपाली महिलाको उद्धार गरिएको थियो ।

ब्युरोका अनुसार अमेरिका छिर्न तस्करको पछि लागेर विभिन्न देशमा अलपत्र परेकाहरूको संख्या सयभन्दा धेरै हुन सक्छ । इन्डोनेसियामा झन्डै ६ महिनादेखि अलपत्र रहेका ६ जनालाई बुधबार नेपाल फर्काइँदै छ । गिरोहले जनही २८ देखि ३० लाखसम्म खाइसकेको उनीहरूले प्रहरीलाई बताएका छन् । अफ्रिकी देश इथोपियामा अलपत्र अन्य ८ नेपालीको पनि उद्धार प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ । उनीहरू ७ महिनादेखि त्यहाँ छन् । समूहका केही व्यक्ति अझै पनि अमेरिका छिर्ने आसमा एजेन्टको सम्पर्कमा बसिरहेका छन् । केही भने नेपाल फर्कने बाटो खोजिरहेका छन् ।

तस्करका अनेक रुट
पहिले नेपालबाट भारत अनि त्यहाँबाट रुस, ब्राजिल वा स्पेन हुँदै बोलिभिया, पेरु, कोलम्बिया, इक्वेडर, पानामा, कोस्टारिका, निकारागुवा, होन्डुरस, ग्वाटेमालाबाट मेक्सिको लगिन्थ्यो । अहिले ल्याटिन अमेरिकी देश बोलिभिया, ब्राजिल, सुरिनाम, गुयना वा कोलम्बिया हुँदै मेक्सिको छिराउने विभिन्न रुट चल्तीमा देखिएको ब्युरोले जनाएको छ । विभिन्न देशमा सक्रिय रहने तस्करहरूले अनुकूलता हेरेर रुट बदल्ने गरेका छन् ।

२०७५ वैशाखमा अमेरिका हिँडेका युवतीलाई गिरोहले भारतबाट रुस, कोलम्बिया हुँदै हैटी पुर्‍याएको थियो । हैटीबाट क्यारेबियन समुद्र तरेर बहामास टापु जाँदै गर्दा बाटो बिराएपछि १८ दिनसम्म जहाज समुद्रमै हरायो । पर्याप्त खाद्यान्न र पानी नभएपछि भक्तपुरकी सुमित्रा कुँवरको जहाजमै ज्यान गुमाइन् । मलावीबाट उद्धार गरिएकाहरूलाई पनि गिरोहले मेक्सिकोबाट अमेरिका छिराउने प्रयत्न गरेको थियो । तर, सेटिङ नमिलेर वा पीडितबाट थप पैसा असुल्न तस्करहरूले महिनौं विभिन्न देशमा झुलाएर बन्धक बनाउने गरेको देखिन्छ ।

अनअराइभल भिसा पाइने भएकाले पहिले बोलिभिया पुर्‍याउने र त्यहाँबाट ठाउँठाउँका एजेन्टलाई पैसा खुवाएर विभिन्न रुट हुँदै मेक्सिको लगिन्छ । कतिपय एजेन्टले सुरिनाम, गुयना, बेलिजजस्ता टापु राष्ट्र हुँदै मेक्सिको लैजाने गरेको देखिन्छ । पछिल्लो समय प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोल र अमेरिकी सुरक्षा निकायहरूको चासोसमेत बोलिभियाको अध्यागमनमा केन्द्रित हुन थालेको छ ।

डीएसपी रेग्मीको अनुभवमा तस्करहरूले अनेक देशको भिसा लिने र त्यहाँबाट सेटिङ मिलाएर मेक्सिको जाने रुट प्रयोग गर्छन् । ‘ती देशमा सक्रिय तस्करहरूले सुरुमा जसरी हुन्छ लैजाने, पछि विभिन्न बहानामा झुलाउँदै आर्थिक शोषण गर्ने र उपाय नलागेपछि धम्क्याउँदै बन्धक बनाउने गरेको देखिन्छ,’ उनले भने ।

प्रकाशित : कार्तिक २७, २०७६ ०८:०६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×