न घरभित्र चैन न बाहिर

मञ्जु भट्ट

काठमाडौँ — एक दिन कामविशेषले चाबहिल जानुपर्दा मैले एक कक्षा पढ्ने छोरालाई पनि सँगै लगेकी थिएँ । चाबहिल चोकमा उसले सडक पार गर्न मानेन । ‘स्कुलमा सरले जेब्रा क्रसिङबाट मात्र सडक पार गर्नू भन्नुभा’ छ, खै त जेब्रा क्रसिङ ?’ भन्दै ऊ यताउता हेर्न थाल्यो ।

न घरभित्र चैन न बाहिर

शिक्षकले ‘परिवारसँग गएर ट्राफिक बत्ती र जेब्रा क्रसिङ हेरेर आउनू’ भन्नुभएको रहेछ । अति नै व्यस्त चोकमा एक ट्राफिक प्रहरीले धूलो खाँदै गाडीलाई सिटीको भरमा सञ्चालन गरिरहेका थिए । न कतै जेब्रा क्रसिङको निसान, न त ट्राफिक बत्तीकै ।


छोराले किताबमा पढेका कुरालाई व्यवहारमा देख्न पाएन, बरु बिजुलीका तारहरू पोल नै ढल्ने गरी अल्झेको भने देख्न पायो ! मर्मत–सम्भार गरेका ठाउँमा पनि काटेर फालिएका तारहरू कति दिनसम्म उठाइएका हुँदैनन् । यसले सवारी साधन र पैदल यात्रुहरूलाई असजिलो भएको हुन्छ ।


सडक बढीजसो सद्दे छैनन् । पाइलैपिच्छे भएका खाल्डाखुल्डीले दुर्घटनालाई अझै बढावा दिएका छन् । भर्खर मोटरसाइकल चलाउन थालेका युवाहरू आँखा चिम्लिएर हुइँकिने गर्छन्, जसका कारण स्कुल, अस्पतालअगाडि दुर्घटनाको हुने जोखिम बढ्दै गइरहेको छ । सडकपेटीमा हिंँड्नै नमिल्ने गरी तरकारी, फलफूल र लुगाफाटा बेच्न राखिएका हुन्छन् । मोटरसाइकल वर्कसप तथा घर निर्माणका सामग्रीले सडक उत्तिकै ओगटेका हुन्छन् ।


साथै व्यस्त सडकका दुवैतिर दुईपांग्रे र चारपांग्रेको अनधिकृत पार्किङबाट सडकमा सकस झन् थपिने गरेको छ । धूवाँधूलो बढी तर हरियालीको कमीका कारण सहरको मध्यभाग पुग्दा नै अक्सिजन अभावले सास फेर्न पनि मुस्किल हुने गरेको छ । जामका कारण गन्तव्यमा पुग्न सधैं ढिलो हुने गर्छ, जसबाट काठमाडौं उपत्यकावासी आजित भइसकेका छन् । घण्टौंको जामले उपत्यकाका मानिसको मात्रै होइन, पुलहरूको आयु पनि छोट्याइरहेको छ ।


सार्वजनिक सवारीमा एकदमै भीडभाड हुने गर्छ । महिला तथा किशोरीहरूले ठेलमठेलमा यात्रा गर्दा दुर्व्यवहार सहनुपरेको छ । एक दिन चाबहिलबाट साँगा महादेव मन्दिर दर्शन गर्न जाँदा मैले देखें— गाडीको सिटमा एक किशोरी डल्लो परेर बसेकी छन् । एकातिरबाट भीडले र अर्कातिरबाट छेउकै सिटका व्यक्तिले उनलाई अप्ठ्यारो पारेका रहेछन् ।


ठाउँठाउँमा थुप्रिने फोहोर र त्यसको दुर्गन्धले उपत्यकावासीलाई इन्तु न चिन्तु पार्दै आएको छ । गर्मीयाममा वाग्मती र विष्णुमती लगायतको कुहिगन्धले घरभित्र पनि बस्न नदिने अवस्था सिर्जना गरेको म स्वयंले वर्षौं गौरीघाटमा बसेर झेलेकी छु । रक्सी, चुरोट खान टाढा जानुपर्दैन । घरैपिच्छे खोलिएका पसलमा चुरोट, गुट्खा र रक्सीको निर्बाध किनबेच देख्दादेख्दा बालबालिकाले बाटो नबिराउलान् भन्न सकिन्न ।


सार्वजनिक स्थान, पसल तथा सडकमा धूमपान गर्न नपाइने नियम बनेको धेरै भइसक्यो, तर व्यवहारमा लागू भएको पाउन सकिएको छैन । बाटोमा हिंँड्दै या चियापसलमा बसेर चुरोट तान्दै धूवाँको कुहिरीमण्डल बनाइरहेका युवाहरू तमाम देखिन्छन् । अरू त अरू, प्रहरी कार्यालयदेखि सय मिटरको दूरीमै यस्ता युवा भेटिने गरेका छन् । एक चियापसले भन्दै थिए, ‘एक गिलास चिया खान आउनेले पनि एक बोतल जारको पानी सिद्ध्याउँछ, अनि चुरोट नबेचेर के गर्नु त ? पानीको पैसा असुल्न भए पनि चुरोट बेच्नैपर्छ । चुरोट नबेचे चियापसल बन्द गरे पनि हुन्छ ।’ कस्तो विडम्बना !


घरबाहिर त निस्किसक्नु छैन नै, घरभित्रै पनि चैनले बस्न पाइन्न । चाबहिलमै धेरै अस्पताल घरहरूसँगै जोडिएका छन् । अस्पतालले बेलाबेला जेनरेटर चलाउँदा आउने धूवाँ, गन्ध र आवाजले हैरान हुने गरेको मेरा साथीसंगातीहरू बताउँछन् । बिहान एक छिन छतमा डुल्दा, कोठाभित्रै योग र व्यायाम गर्दा पनि जेनरेटरको प्रदूषणले बस्न खान नदिएको उनीहरूको गुनासो रहने गरेको छ ।


अर्कातिर, पार्टी प्यालेस लगायतको आतंक छ । राति बेलैमा सुत्न नदिने पार्टी प्यालेसहरूले बिहान पाँच बजेदेखि नै कसरतका लागि भन्दै ‘लडकी आँख मारे’ घन्काएर बालबालिकालाई मानसिक तनाव थपिदिने गरेका छन् । बिहानबिहानै जुम्बा डान्स, बेली डान्स गर्ने भन्दै चर्को स्वरमा त्यसरी गीत बजाउनेहरूले अरूको मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सके कस्तो जाती हुने थियो !

कुनै पनि काम रातारात गर्न सम्भव नहोला, तर सुधारका लागि आ–आफ्ना ठाउँबाट हरेकले स्वच्छ मनले प्रयास भने हरपल गरेकै हुनुपर्छ । लामो समयदेखि व्यग्रताका साथ देश विकासको पर्खाइमा बसेका नागरिकले कुराभन्दा काम देख्न सके राहत महसुस गर्ने थिए । नेतादेखि ठूलठूला व्यापारी, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म बस्ने भद्रगोल काठमाडौंलाई स्मार्ट सिटी बनाउन चौतर्फी पहल गर्नुपर्छ । ‘हाम्रो देशका सडकको पिचभन्दा त केटीले लगाएकै लिपस्टिक बढी टिक्छ’ भन्ने भनाइ चरितार्थ हुन दिइरहनु भएन ।

प्रकाशित : कार्तिक २५, २०७६ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?