न घरभित्र चैन न बाहिर

मञ्जु भट्ट

काठमाडौँ — एक दिन कामविशेषले चाबहिल जानुपर्दा मैले एक कक्षा पढ्ने छोरालाई पनि सँगै लगेकी थिएँ । चाबहिल चोकमा उसले सडक पार गर्न मानेन । ‘स्कुलमा सरले जेब्रा क्रसिङबाट मात्र सडक पार गर्नू भन्नुभा’ छ, खै त जेब्रा क्रसिङ ?’ भन्दै ऊ यताउता हेर्न थाल्यो ।

शिक्षकले ‘परिवारसँग गएर ट्राफिक बत्ती र जेब्रा क्रसिङ हेरेर आउनू’ भन्नुभएको रहेछ । अति नै व्यस्त चोकमा एक ट्राफिक प्रहरीले धूलो खाँदै गाडीलाई सिटीको भरमा सञ्चालन गरिरहेका थिए । न कतै जेब्रा क्रसिङको निसान, न त ट्राफिक बत्तीकै ।

छोराले किताबमापढेका कुरालाई व्यवहारमा देख्न पाएन, बरु बिजुलीका तारहरू पोल नै ढल्ने गरी अल्झेको भने देख्न पायो ! मर्मत–सम्भार गरेका ठाउँमा पनि काटेर फालिएका तारहरू कति दिनसम्म उठाइएका हुँदैनन् । यसले सवारी साधन र पैदल यात्रुहरूलाई असजिलो भएको हुन्छ ।

सडक बढीजसो सद्दे छैनन् । पाइलैपिच्छे भएका खाल्डाखुल्डीले दुर्घटनालाई अझै बढावा दिएका छन् । भर्खर मोटरसाइकल चलाउन थालेका युवाहरू आँखा चिम्लिएर हुइँकिने गर्छन्, जसका कारण स्कुल, अस्पतालअगाडि दुर्घटनाको हुने जोखिम बढ्दै गइरहेको छ । सडकपेटीमा हिंँड्नै नमिल्ने गरी तरकारी, फलफूल र लुगाफाटा बेच्न राखिएका हुन्छन् । मोटरसाइकल वर्कसप तथा घर निर्माणका सामग्रीले सडक उत्तिकै ओगटेका हुन्छन् ।

साथै व्यस्त सडकका दुवैतिर दुईपांग्रे र चारपांग्रेको अनधिकृत पार्किङबाट सडकमा सकस झन् थपिने गरेको छ । धूवाँधूलो बढी तर हरियालीको कमीका कारण सहरको मध्यभाग पुग्दा नै अक्सिजन अभावले सास फेर्न पनि मुस्किल हुने गरेको छ । जामका कारण गन्तव्यमा पुग्न सधैं ढिलो हुने गर्छ, जसबाट काठमाडौं उपत्यकावासी आजित भइसकेका छन् । घण्टौंको जामले उपत्यकाका मानिसको मात्रै होइन, पुलहरूको आयु पनि छोट्याइरहेको छ ।

सार्वजनिक सवारीमा एकदमै भीडभाड हुने गर्छ । महिला तथा किशोरीहरूले ठेलमठेलमा यात्रा गर्दा दुर्व्यवहार सहनुपरेको छ । एक दिन चाबहिलबाट साँगा महादेव मन्दिर दर्शन गर्न जाँदा मैले देखें— गाडीको सिटमा एक किशोरी डल्लो परेर बसेकी छन् । एकातिरबाट भीडले र अर्कातिरबाट छेउकै सिटका व्यक्तिले उनलाई अप्ठ्यारो पारेका रहेछन् ।

ठाउँठाउँमा थुप्रिने फोहोर र त्यसको दुर्गन्धले उपत्यकावासीलाई इन्तु न चिन्तु पार्दै आएको छ । गर्मीयाममा वाग्मती र विष्णुमती लगायतको कुहिगन्धले घरभित्र पनि बस्न नदिने अवस्था सिर्जना गरेको म स्वयंले वर्षौं गौरीघाटमा बसेर झेलेकी छु । रक्सी, चुरोट खान टाढा जानुपर्दैन । घरैपिच्छे खोलिएका पसलमा चुरोट, गुट्खा र रक्सीको निर्बाध किनबेच देख्दादेख्दा बालबालिकाले बाटो नबिराउलान् भन्न सकिन्न ।

सार्वजनिकस्थान, पसल तथा सडकमा धूमपान गर्ननपाइने नियम बनेको धेरै भइसक्यो, तर व्यवहारमा लागू भएको पाउन सकिएको छैन । बाटोमा हिंँड्दै या चियापसलमाबसेर चुरोट तान्दै धूवाँको कुहिरीमण्डल बनाइरहेका युवाहरू तमाम देखिन्छन् । अरू त अरू, प्रहरी कार्यालयदेखि सय मिटरको दूरीमै यस्ता युवा भेटिने गरेका छन् । एक चियापसले भन्दै थिए, ‘एक गिलास चिया खान आउनेले पनि एक बोतल जारको पानी सिद्ध्याउँछ, अनि चुरोट नबेचेर के गर्नु त ? पानीको पैसा असुल्न भए पनि चुरोट बेच्नैपर्छ । चुरोट नबेचे चियापसल बन्द गरे पनि हुन्छ ।’ कस्तो विडम्बना !

घरबाहिर त निस्किसक्नु छैन नै, घरभित्रै पनि चैनले बस्न पाइन्न । चाबहिलमै धेरै अस्पताल घरहरूसँगै जोडिएका छन् । अस्पतालले बेलाबेला जेनरेटर चलाउँदा आउने धूवाँ, गन्ध र आवाजले हैरान हुने गरेको मेरा साथीसंगातीहरू बताउँछन् । बिहान एक छिन छतमा डुल्दा, कोठाभित्रै योग र व्यायाम गर्दा पनि जेनरेटरको प्रदूषणले बस्न खान नदिएको उनीहरूको गुनासो रहने गरेको छ ।

अर्कातिर, पार्टी प्यालेस लगायतको आतंक छ । राति बेलैमा सुत्न नदिने पार्टी प्यालेसहरूलेबिहान पाँच बजेदेखि नै कसरतका लागि भन्दै ‘लडकी आँख मारे’ घन्काएर बालबालिकालाई मानसिक तनाव थपिदिने गरेका छन् । बिहानबिहानै जुम्बा डान्स, बेली डान्स गर्ने भन्दै चर्को स्वरमा त्यसरी गीत बजाउनेहरूले अरूको मानसिक स्वास्थ्यको पनि ख्याल गर्न सके कस्तो जाती हुने थियो !

कुनै पनि काम रातारात गर्न सम्भवनहोला, तर सुधारका लागि आ–आफ्ना ठाउँबाट हरेकले स्वच्छ मनले प्रयास भनेहरपल गरेकै हुनुपर्छ । लामो समयदेखि व्यग्रताका साथ देश विकासको पर्खाइमा बसेका नागरिकले कुराभन्दा काम देख्न सके राहत महसुस गर्ने थिए । नेतादेखि ठूलठूला व्यापारी, मन्त्रीदेखि प्रधानमन्त्रीसम्म बस्ने भद्रगोल काठमाडौंलाई स्मार्ट सिटी बनाउन चौतर्फी पहल गर्नुपर्छ । ‘हाम्रो देशकासडकको पिचभन्दा त केटीले लगाएकै लिपस्टिक बढी टिक्छ’ भन्ने भनाइ चरितार्थ हुन दिइरहनु भएन ।

प्रकाशित : कार्तिक २५, २०७६ ०९:४१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

मेघौली चिनाउँदै थारू होमस्टे

रमेशकुमार पौडेल

(चितवन) — पश्चिम चितवनमा पर्ने मेघौली कुनै नौलो पर्यटकीय क्षेत्र होइन । यहाँ विश्वप्रसिद्ध होटल ताजको साझेदारी रहेको चौधरी समूहको मेघौली सेराई, बराहीजस्ता ठूला होटल छन्, जसका लक्षित ग्राहक खर्च गर्न सक्ने विदेशी पर्यटक नै हुन् । विदेशी पर्यटकमाझ दशकौंदेखि चिनिएको मेघौली स्वदेशीका लागि भने अपरिचितजस्तै बनेको छ ।

चितवन राष्ट्रिय निकुञ्ज स्थापना हुनुअघि २०२२ सालमा नै मेघौली आडको वन क्षेत्रमा बेलायती नागरिक जीम इडवर्डले टाइगर टप्स जंगल लज खोलेर पर्यटक घुमाउन सुरु गरिसकेका थिए । मेघौली हुँदै जानुपर्ने टाइगर टप्स विश्वप्रसिद्ध जंगल लज हो । अर्थात्, मेघौलीमा ५० वर्षअघि नै पर्यटक पुगिसकेका थिए ।

चितवन भन्नासाथ स्थानीय र अन्य जिल्लाका पर्यटक सौराहामै रमाउन थाले । अहिले भने मेघौलीमा बल्ल आन्तरिक पर्यटकको चहलपहल देखिन थालेको छ । आदिवासी थारू र कुमाल समुदायको बाक्लो बसोबास रहेको मेघौलीमा थारू समुदाय नै पर्यटनमा अगाडि बढ्ने जमर्को गर्दै छ । आन्तरिक पर्यटकलाई लक्षित गरेर मेघौलीमा थारू समुदायले होमस्टे चलाउन थालेको छ । माछा र हाँसका परिकारको स्वाद लिन आन्तरिक पर्यटक मेघौली पुग्न थालेका छन् ।

शनिबार दिउँसो जीवन महतो मुस्कुराउँदै १०/१५ जनालाई हाँसको परिकारसहितको खाजा खुवाउँदै थिए । श्रीमती देवी उनलाई सघाइरहेकी थिइन् । एक टोलीले खाजा खाँदै गर्दा दुई जना व्यक्ति रात बस्ने गरेर आए । उनीहरूलाई कोठा देखाइदिएर जीवन फेरि खाजा खाँदै गरेकाहरू सामुन्ने आएर मासु–भुजा थप्ने, नथप्ने सोध्न थाले । सदरमुकाम भरतपुरदेखि झन्डै २५ किलोमिटर पश्चिममा छ मेघौली विमानस्थल । विमानस्थल आडमा छ जीवनको घर । भरतपुर महानगरपलिका–२७ मा पर्ने यो ठाउँमा उनले होमस्टे चलाएको नौ वर्ष हुन थाल्यो । सानो घरमा उनले होचो ढोका राखेका छन् । घरको पालीलाई कलात्मक बनाउन दुईपाखे बनाएका छन् । पुरानो थारूघरजस्तो देखिने उनको होमस्टेले यहाँ पुग्ने पर्यटकलाई लोभ्याएकै छ ।

यहाँ ०६७ माघ १४ गतेबाट होमस्टे सुरु भएको हो । त्यसबेला पाँच घरले होमस्टे सुरु गरेका थिए । अघिल्लो वर्षदेखि तीनवटा घर थपिए । ‘पहिला हामीलाई निकै गाह्रो भयो । मान्छे आउँदै आएनन्,’ जीवन भन्छन्, ‘अहिले पनि त्यति बाक्लो आउने त होइन । अब चाँडै हाम्रो गाउँमा १०/१२ होमस्टे हुनेछन् ।’

अघिल्लो वर्ष होमस्टेमा आएर ५२ सयजना पाहुना बास बसेको उनले जानकारी दिए । उनी होमस्टे सञ्चालक समितिका सचिव पनि हुन् । आठवटा होमस्टेमा दिनमा ५६ जनासम्म बास बस्न मिल्छ । एउटा कोठाको पाँच सय रुपैयाँ तिर्नुपर्छ । खानामा हाँस वा लोकल कुखुराको मासु खाए३५० रुपैयाँ लाग्छ । सय रुपैयाँमा नास्ता पाइन्छ । सस्तो र मीठो परिकार पाइने भएका कारण होमस्टेमा बिस्तारै चहलपहल बढेको उनले बताए ।

मेघौली चितवन राष्ट्रिय निकुञ्जको आडमा छ । नारायणी र राप्ती नदीले तीनतिरबाट घेरेको छ । यहाँ नौवटा मध्यवर्ती सामुदायिक वन छन् । राप्ती र नारायणी नदीको संगमस्थल घोलागाटबाट सूर्यास्तको निकै आकर्षक दृश्य देखिन्छ । पर्यटकलाई आकर्षित गर्ने धेरै कुरा यहाँ छन् तर स्थानीय र स्वदेशी पर्यटक लक्षित होटल खासै भएनन् । ‘होमस्टेले मध्यम आय भएका स्वदेशी पर्यटकलाई तान्न सक्छ । त्यसैले होमस्टेको प्रवर्द्धनमा वडा कार्यालय पनि सहयोगी भएको छ,’ भरतपुर–२७ का वडाध्यक्ष गोविन्द तामाङले भने । बाटाको सुविधा राम्रो नभएका कारण स्वदेशी पर्यटक भरतपुरबाट मोडिएर मेघौली लाग्नुभन्दा सिधै सौराहा जाने गरेको जीवनको भनाइ छ तर अहिले मेघौली पुग्ने सडक प्रायः कालोपत्रे भएको छ । एकदुई ठाउँ बन्न लागेका पुल पनि तयार हुँदै छन् ।

भङ्गाहा भरतपुरबाट लगभग २७ किलोमिटर पर रहेको मेघौलीको थारू गाउँ हो । माछाको झोल र तारेको माछा खानेका लागि यो त्यति अपरिचित ठाउँ होइन । शनिचरा महतोले पनि पर्यटकका लागि रेस्टुरेन्ट चलाएका छन् ।

उनको चौधरी रेस्टुरेन्टमा पाक्ने माछा र हाँसका परिकार खान धेरै जना हुरुक्क हुन्छन् । उनले माछाका परिकार बनाएर बेच्न थालेको २५ वर्ष भयो । ‘चितवन बाहिरबाट पनि आउँछन् । एक पटक यहाँ माछा खाएर गएकाहरू फेरि खान भन्दै आउने गरेका छन्,’ शनिचराले भने । अहिले उनको वरपर मात्रै माछाका परिकार बेच्ने तीनवटा रेस्टुरेन्ट छन् ।

मेघौलीमा मात्रै माछाहाँस बेच्ने रेस्टुरेन्ट २५ वटा पुगेको उनले बताए । ‘सस्तो र स्वादिलो माछा र हाँसको मासु खान मान्छेहरू आउने गरेका हुन्,’ उनले भने, ‘पहिला बाटोको समस्या थियो । अहिले त्यस्तै छैन । अब पर्यटक बढ्लान् कि ।’

सुनसान थारू संग्रहालय
मेघौली क्षेत्रमा थारूहरूको घना बस्ती भएका कारण पनि थारू संस्कृति हेर्न मान्छे लालायित हुने गरेका छन् । होमस्टेमा आएका वा अन्य पाहुनालाई मौलिक सांस्कृतिक कार्यक्रम देखाउन भनेर मेघौली क्षेत्रमा दुईवटा थारू सांस्कृतिक समूह छन् । मेघौलीमा थारू सांस्कृतिक संग्रहालय पनि छ । संग्रहालयका अध्यक्ष मायाराम चौधरीले भने पर्याप्त पर्यटक नआउँदा र सामग्री राख्न नपाउँदा संग्रहालय पूर्ण रूपमा चल्न नसकेको गुनासो गरे । ‘पर्यटक बढे संग्रहालयमा पनि चहलपहल बढ्ने थियो,’ उनले भने ।

मेघौली पर्यटन विकास समितिका अध्यक्ष हरिचन्द्र महतो विदेशी पर्यटक मेघौली आउन थालेको आधा शताब्दी बिते पनि स्वदेशी पर्यटकको रोजाइमा मेघौली पर्न नसकेकाले प्रवर्द्धनका योजना बनाउन थालेको बताउँछन् । ‘मेघौली विदेशी महँगा पर्यटकको रोजाइमा छ,’ उनले भने, ‘आन्तरिक पर्यटकलाई उनीहरूको रुचिअनुसार कार्यक्रम राखेर सुलभ दरमा सेवा दिने योजना बनाउँदै छौं ।’

प्रकाशित : कार्तिक २५, २०७६ ०९:३६
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
×