कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

दाइजो हैन, शिक्षा

मधु राई

के स्थानीय, के राष्ट्रिय, गत असोज महिना उपर्युक्त शीर्षकका समाचारले विराटनगरबासीको ध्यानाकर्षण गरायो । विराटनगर–११ निवासी उमा सहनीकी नातिनी रञ्जना सहनीको विहारको अररिया ताकियाका भीम बहरदारसँग आठ महिनाअघि मागी विवाह भएको थियो ।

विवाहमा थोरै दाइजो दिएको भन्दै पटक–पटक रञ्जनालाई मानसिक र शारीरिक यातना दिइयो । आर्थिक अवस्था कमजोर भए पनि बिहेताका तिलकस्वरुप ज्वाइँलाई रु. १ लाख ७० हजार दिए भने केही समय अघिमात्रै पुन: मोटरसाइकल किनिदिएका थिए, सहनी परिवारले । त्यसपछि पुन: पसल सञ्चालन गर्ने भन्दै दुई लाख नगद माग गर्दै आएका बहरदार परिवारले पन्ध्र दिनअघि उक्त रकम उपलब्ध नगराए छोरीको हत्या गर्ने भनी खबर पठाएका थिए । उनीहरूको माग पूरा नभएपछि बहरदार परिवारले रञ्जनाको हत्या गरी घरदेखि करिब एक किलोमिटर दूरीमा परमान खोलामा शव फालेको समाचार बाहिरियो ।


पछिल्लो समय मधेसी समुदायमा छोरीलाई शिक्षित बनाउनुभन्दा पनि उमेर नपुगी बिहे गराइदिन हतारिने अभिभावकका कारण रञ्जनाजस्ता छोरीबुहारीहरूले दाइजोका कारण अनाहकमा ज्यान गुमाउनुपरेको छ । बहुसंख्यक यस्ता अभिभावक ‘आ छोरीलाई पढाएर के नै हुन्छ र, त्यही चुलाचौकाको काम त गर्नु हो’ भन्ने गर्छन् । यस्तो सोचबाट ग्रस्त अभिभावकहरू चाँडोभन्दा चाँडो छोरीलाई बिहे गरिदिएर पठाउन चाहन्छन् । दाइजोकै कारण कतिपय छोरीहरू बिहेपछि प्रताडना सहन नसकी माइतीमै बस्न थालेका छन् ।


आर्थिक अवस्था कमजोर हुने अभिभावकहरूलाई आफ्नै जातबिरादरीले पनि बेवास्ता गरेको देखिन्छ । यतिका दिन बितिसक्दा पनि उमा सहनीको पक्षमा मधेसी समुदाय मौन देखिन्छ । छिमेकी लगायत आफ्नै समुदायको मौनताले पनि दाइजो प्रताडित छोरीनातिनीहरूको वर्तमानमात्र हैन, भविष्य नै अन्धकारमय बन्दै गएको छ । खासगरी मधेसमा दाइजो प्रथाले नराम्ररी जरा गाडेको छ । छोरीनातिनीलाई सामर्थ्यभन्दा बढी दाइजो दिने र छोराको बिहेमा दाइजो लिने प्रचलनले मधेसी समुदाय नराम्ररी थलिएको छ । ज्याला मजदुरी गरी जीविकोपार्जन गर्ने अभिभावकले आफ्नो सामर्थ्यले नभ्याए पनि धुमधामका साथ छोराछोरीको बिहे गरिदिने प्रचलन बढ्दैछ ।


आफै पनि छोरानातिको बिहेमा दाइजो लिने गरेकाले पनि कतिपयले छोरीनातिनीहरू दाइजोका कारण प्रताडित हुँदा त्यति धेरै हारगुहार गर्नसकेका छैनन् । यी र यस्ता कतिपय कुसंस्कारहरूले निरन्तरता पाइरहनुका मुख्य कारण अशिक्षा र गरिबी हो भन्ने कुरा मधेसी समुदायका अभिभावकले बुझ्नसकेका छैनन् । विशेषगरी अशिक्षित सासूआमाहरू छोराको बिहेमा टन्न दाइजो पाइन्छ भनेर छोरानातिलाई हुर्काइरहेको पाइन्छ । यसरी हुर्केका अधिकांश छोरानातिहरू दाइजो पाइन्छ भन्नेमा विश्वस्त हुन्छन् । कदाचित दाइजो नपाएपछि यस्ता परिवारले बुहारीलाई प्रताडना दिन्छन् । यति गर्दा पनि दाइजोको माग पूरा नभए हत्या गर्नसमेत गरेका दृष्टान्त छन् ।

यस्तो दाइजोरूपी सर्पले छोरीनातिनीको जीवनलाई मात्र डसेको छैन, यसले सभ्य समाजलाई लज्जित तुल्याएको छ । बुहारी कति शिक्षित छे र कहाँ जागिर खान्छे भन्ने कुरा पो वरपक्षले विचार गर्नुपर्छ । छोरीनातिनीलाई पनि छोरानातिसरह उच्चशिक्षा हासिल गर्ने अवसर पो प्रदान गर्नुपर्छ ।


छोरा र छोरीप्रति समान व्यवहार गर्नुपर्छ । तर औंलामा गन्न सकिने हुनेखाने अभिभावकहरूले छोरीनातिनीलाई पनि छोरानातिसरह उच्चशिक्षा हासिल गर्ने अवसर प्रदान गर्दै आएको देखिन्छ । तर यस्ता पढेलेखेका अभिभावकहरू समग्र समाजका लागि अनुकरणीय बन्नसकेका छैनन् । यसो हुनुमा जनप्रतिनिधिहरूको विरोधाभाष चरित्र पनि एक हो । बहुसंख्यक सांसद, मन्त्री लगायत स्थानीय निकायका जनप्रतिनिधिहरूले दाइजो प्रथाविरुद्ध बोल्ने गरेको कहीँ कतै सुनिएको छैन । उनीहरूको यस्तो विरोधाभाष चरित्रका कारण पनि मधेसमा दाइजो प्रथाले मलजल पाइरहेको देखिन्छ ।


वर्तमान शिक्षाले दाइजो लिनुदिनु सामाजिक अपराध हो भन्ने सिकाउनसकेको छैन । कानुनले पनि दाइजो प्रथालाई सामाजिक अपराध हो भने पनि कानुनविद्हरूले यसबारे जनचेतना टोलसमाजमा पुर्‍याउनसकेका छैनन् । दाइजोको कारण पीडितलाई न्याय दिलाउन पनि समाज चुक्ने गरेको छ ।


वास्तवमा नेपाली समाजमा दाइजो प्रथा उन्मूलन गर्न अभिभावकहरूलाई नै प्रशिक्षण दिन जरुरी छ । यसका साथै विद्यालयको पाठ्य–सामग्रीमा समेत दाइजो सम्बन्धी पाठ समावेश गर्न जरुरी छ । प्राथमिक तहदेखि नै दाइजो प्रथाको दुष्परिणामबारे अवगत गराउने हो भने माध्यमिक तह पुग्दा छोरानातिहरू स्वयं दाइजोको विरुद्ध खडा हुन सक्छन् । यसरी नेपाली शिक्षा र कानुनले दाइजो प्रथालाई उन्मूलन गर्न सामाजिक अभियान थाल्ने हो भने ढिलो–चाँडो देशभर दाइजो प्रथा उन्मूलन हुनसक्छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?