कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०३

मधुमेहले आँखामा पार्ने असर

डा. रबा थापा

मधुमेह नसर्ने रोग हो । यो संसारभरि नै विकराल स्वास्थ्य समस्याको रूपमा बढ्दै गइरहेको छ । पछिल्ला वर्षहरूमा अल्पविकसित मुलुकहरूमा मधुमेहबाट प्रभावितहरूको संख्या धेरै देखिएको छ । त्यसमा पनि सहरी क्षेत्रमा यो संख्या निकै बढेको पाइन्छ । 

मधुमेहले आँखामा पार्ने असर

नेपालमा मधुमेह एक प्रमुख स्वास्थ्य समस्याको रूपमा बढ्दै गइरहेको छ । हाल करिब १० लाख मधुमेहबाट प्रभावित भएको अनुमान छ । सहरी क्षेत्रमा यो रोग बढी देखिएको छ ।


मधुमेहले शरीरका महत्त्वपूर्ण र संवेदनशील अंगहरूमा असर पुर्‍याउँछ । खास गरेर मृगौला, आँखा, मुटु, दिमाग, नसा र खुट्टाहरूमा मधुमेहको असर प्रत्यक्ष रूपमा देखापर्छ । मधुमेह भएकाहरूलाई आँखाको समस्या अन्यको तुलनामा दुई गुण बढी हुन्छ भने अन्धोपनको समस्या २५ औं गुणा बढी हुन्छ ।


मधुमेहले आँखाको प्राय: सम्पूर्ण भागमा असर पुर्‍याउँछ । तर पनि यो रोगका बिरामीमा मात्र देखिने असर ‘डाइबेटिक रेटिनोपेथी’ले आँखाको भित्री भागमा रहेको दृष्टि पर्दामा समेत असर पुर्‍याउँछ ।


मधुमेहले खासगरी शरीरका रक्तनलीहरूमा असर गर्छ । आँखाको पनि भित्री भागमा रहेको स्नायु तन्तुले बनेको पारदर्शी झिल्ली जसलाई दृष्टि पर्दा (रेटिना) भनिन्छ, यस भागको रक्तनलीमा मधुमेहले असर पुर्‍याउँछ । रक्तनलीमा असर गर्न थालेपछि रेटिनामा रक्तस्राव हुने, मुख्य रेटिनाको देख्ने भाग सुन्निने र नयाँ हानिकारक रक्तनलीको विकास भई आँखाभित्र अत्यधिक रक्तस्राव हुन थाल्छ । यदि समयमै उपचार नभएको खण्डमा रेटिना खुम्चने र अन्त्यमा आँखाको दृष्टि पूर्णरूपमा बिग्रन्छ । मधुमेहले आँखाको रेटिनामा पुर्‍याउने यिनै असरलाई ‘डाइबेटिक रेटिनोपेथी’ भनिन्छ ।


डाइबेटिक रेटिनोपेथी हुँदा सुरुको अवस्थामा बिरामीमा कुनै पनि लक्षण देखिँदैनन् । रेटिनामा निकै क्षति भइसकेपछि मात्र आँखा देख्न विस्तारै धमिलो हुने गर्छ । आँखामा धेरै रक्तस्राव हुँदा एक्कासी आँखा धमिलो हुने र आँखा अगाडि छायाजस्तो देखापर्छ ।


डाइबेटिक रेटिनोपेथीले आँखाको रेटिनामा एकपटक धेरै असर गरेपछि उपचारपश्चात पनि पहिलेको अवस्थामा फर्काउन सकिँदैन । मधुमेहका बिरामीमध्ये करिब एक तिहाइलाई डाइबेटिक रेटिनोपेथीको समस्या देखिन्छ भने तिनीहरूमध्ये करिब एक तिहाइलाई तुरुन्त आँखा उपचारको आवश्यकता हुन्छ ।


मधुमेह बढ्दै जाँदा डाइबेटिक रेटिनोपेथीको जोखिम पनि बढ्दै जान्छ । मधुमेह भएको २० वर्षमा पहिलो प्रकार (३० वर्ष अगाडि देखापर्ने मधुमेह) को मधुमेहका प्राय: सबै बिरामीलाई डाइबेटिक रेटिनोपेथी देखापर्छ भने दोस्रो प्रकारको मधुमेह (३० वर्षपछि देखापर्ने मधुमेह) करिब दुई तिहाइ बिरामीलाई देखा परिसकेको हुन्छ । मधुमेह पत्ता लाग्दासमेत विकसित मुलुकका करिब ५ प्रतिशत बिरामीलाई डाइबेटिक रेटिनोपेथी देखापरेको अध्ययनले देखाएका छन् । हाम्रो देशमा यो संख्या अझ बढी पाइएको छ । यसको प्रमुख कारण मधुमेह समयमै पत्ता नलागी रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनु नै हो ।


रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनेहरू, उच्च रक्तचाप भएकाहरू र रगतमा खराब चिल्लोको मात्रा बढी हुनेहरूलाई डाइबेटिक रेटिनोपेथी छिटो देखापर्छ । त्यस्तै रक्तअल्पताको समस्या, मृगौलाको समस्या, गर्भावस्थाको समय र धूमपान गर्नेहरूमा डाइबेटिक रेटिनोपेथी बढी देखिन्छ ।


त्यसैले यी व्यक्तिहरूको विशेष सावधानी राख्नुपर्ने हुन्छ भने रोगको पनि उपचार गरी नियन्त्रण राख्नु जरुरी हुन्छ । मधुमेहले निम्त्याउने डाइबेटिक रेटिनोपेथी अन्धोपनको एक प्रमुख कारण हो । विश्व स्वास्थ्य संगठनका अनुसार कुल अन्धोपनमध्ये ४.८ प्रतिशत डाइबेटिक रेटिनोपेथीकै कारण हुन्छ । विकसित मुलुकहरूमा समेत काम गर्ने उमेर समूहका व्यक्तिहरूमा अन्धोपनको प्रमुख कारण डाइबेटिक रेटिनोपेथी भएको पाइएको छ । अल्पविकसित देशहरूमा भने ९० प्रतिशतभन्दा बढी डाइबेटिक रेटिनोपेथीबाट अन्धोपन भएको पाइन्छ । यसको मुख्य कारण रगतमा चिनीको मात्रा नियन्त्रणमा नहुनुका साथै समयमै रोगको पहिचान र उपचारमा ढिला हुनगएकोले हो ।


डाइबेटिक रेटिनोपेथीको उपचार गम्भीरता अनुसार लेजर पद्धति, आँखाको भित्री भागमा औषधि पुर्‍याउने विशेष खाले सुई र शल्यक्रियाद्वारा गरिन्छ । डाइबेटिक रेटिनोपेथीको उपचार ढिला हुनगएमा उपचारपश्चात पनि राम्रो दृष्टि फर्काउन सकिँदैन । अत: रोगको समयमै पहिचान र उपयुक्त उपचार गर्नसके दृष्टि बचाउन सकिन्छ ।


रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने, उच्च रक्तचाप र रगतमा चिल्लोको मात्राको उपचार र नियन्त्रण गर्ने, गर्भावस्थामा कम्तीमा तीन महिनामा एकपटक रेटिना परीक्षण गर्ने, धूमपान र मध्यपानबाट बच्नुका साथै मृगौलाका बिरामीले नियमित आँखा परीक्षण गराउनुपर्छ ।


वर्षमा एकपटक आँखा परीक्षण गराउनु पर्छ । डाइबेटिक रेटिनोपेथी भइसकेका बिरामीको रोगको गम्भीरता अनुसार नेत्र चिकित्सकको सल्लाहमा आँखाको परीक्षण र उपचार गराउनुपर्ने हुन्छ । मधुमेहका बिरामीमा देखिने अन्य आँखाका समस्यामा मोतीविन्दु, जलविन्दु, आँखाको नसाको समस्या, सुक्खापन र संक्रमणका समस्या मुख्य हुन् ।


थापा तिलगंगा आँखा प्रतिष्ठानकी नेत्ररोग तथा रेटिना विशेषज्ञ हुन् ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?