रस राजनीति

विमल निभा

राजनीतिमा रसको के स्थान अथवा महत्त्व रहेको छ, यो एक साहित्यिक व्यक्ति भएको नाताले मलाई थाहा हुने कुरै भएन । परन्तु नेपालको ताजा राजनीतिक परिदृश्य पूर्णरूपेण रसमय रहेकोमा कुनै आशंका रहेको छैन । यहाँका नेता तथा उपनेता (राजनीतिक अभिनेता पनि) हरूका उदार रसनिष्पत्तिको के बखान गर्नु ?

वर्तमान सदनका भूतपूर्व सभामुख कमरेड कृष्णबहादुर महरा रसमयताको मामलोमा एक उदाहरणीय राजनीतिक व्यक्तित्व भएर देखापरेका छन् । केही दिन अघिसम्म उनी शृंगार रसमा चुर्लुम्म डुबेका थिए । कुन्नि, कसरी एक दिन त्यो करुण रसमा फेरियो (हेर्नोस्, रोशनी शाही–कृष्णबहादुर महरा प्रकरण) । र यही हठात् परिवर्तनको परिणामस्वरुप अहिले कमरेड महरा बलात्कारको गम्भीर आरोप बोकेर राजधानीस्थित सर्वोच्च न्यायालयको नित्यनिरन्तर परिक्रमा गरिरहेका छन् । होइन, कालकोठरी–लुन्ठित अवस्थामै पुगिसकेका छन् क्यारे !

(आजको अखबार पढ्नुछ मलाई) । अब यो सारा रसहरूमा कुनचाहिंँ रस हुनगयो भनेर म अलमलिएको छु । कदाचित राजनीतिमा नभएर साहित्यमा भएको भए खाँटी शान्त रस हुन्थ्यो ।

नेपालको राजनीतिमा एउटा अर्को रस हाल प्रस्फुटित भएर पुष्पित एवं पल्लवित भइरहेको छ । यसलाई कुन रसको श्रेणीमा राख्ने ? एउटा कोणबाट अवलोकन गरेमा विलकुलै वीररस प्रतीत हुन्छ । किन्तु यथार्थमा यो शत–प्रतिशत भयानक रस हो । मेरो स्पष्ट संकेत नेपाली कांग्रेस पार्टीका वरिष्ठ नेता मोहम्मद आफताव आलमको झन्डै सवा दशक अगाडिको कुकृत्य (यहाँ केवल ‘कृत्य’ शब्दको प्रयोग पर्याप्त नभएकोले ‘कु’ थप्नुपर्ने भएको छ) तर्फ हो । दुई दर्जन जतिका व्यक्तिलाई जीवितावस्थामै ह्वारह्वार्ती बलिरहेको इँटाभट्टामा डढाउने कार्यलाई के भन्ने ? हाम्रा कांग्रेसी भाइ–बन्धुहरूले चाहिँं निर्धक्क आफ्नो नेता आलमको वीररसपूर्ण सत्कार्य भनिरहेका छन् । अन्यथा नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवादेखि लिएर नेपाल विद्यार्थी संघका फुच्चाफाच्चा कांग्रेसीहरूसमेत किन ‘इँटाभट्टा काण्ड’को समर्थनमा ओर्लिन्थे ? (अद्भुत रस !) ।

केही दिनदेखि सामाजिक सञ्जालमा एउटा रंगीन तस्बिर भाइरल भएको छ । यसमा नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा अतिशय कुपित मुद्रामा देखिएका छन् । याने रातारात आँखा (चस्माबाटै देखिने), पूरै खुम्चिएको निधार र डेढ डिग्रीको हिसाबले बक्र मुखाकृति । यसले सहजभाव, विभाव र अनुभावमा रौद्ररसको थोक भावमा उत्पत्ति गरेको छ । वास्तवमा उनी आफ्नो विरोधमा सडकमा ओर्लिएका नेविसंघे केटाहरूमाथि सशब्द क्रुद्ध भएका हुन् । अब तस्बिरका शब्दहरू सुन्नु सम्भव नभएकोले म के भनुँ ? परन्तु त्यहाँ सशरीर उपस्थित व्यक्तिहरूले जे भनिरहेका छन्, त्यो विचारणीय छ । यसको कारण के हो भने ‘श्लील’ शब्दमा एक अतिरिक्त ‘अ’ थप्नुपर्ने परिस्थितिको अनायास सिर्जना भएको छ । त्यसउसले रौद्ररस विखण्डित भएर विभत्स रस भएको पनि हुनसक्छ । अथवा विकल्पमा एउटा अर्को रस पनि रहेको छ । अर्थात् सर्वांग भयानक रस ।

साहित्यमा कुल नौ रस अर्थात् नवरसको सविस्तार उल्लेख भए तापनि राजनीतिमा भने रसको कुनै सीमितता रहेको छैन । यहाँ अपरिमित रसहरू सलबलाइरहेका देख्न सकिन्छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का एक अध्यक्ष कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को अनुहारमा एकसाथ जति रसहरू सञ्चारित हुन्छन्, त्यसको गणना गरेर साध्य छैन । (अद्भुत रस !) । अँ यही पार्टीका अर्का वरिष्ठ नेता कमरेड माधवकुमार नेपालको सपाट मुखमण्डल भने सदैव रसविहीन देखापरेको छ । त्यहाँ कुनै भूमिगत खालको गोप्य रस प्रवाहित भइरहेको भए अर्कै कुरो हो । यस सम्बन्धमा म के भन्न सक्छु ? हाम्रा प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओली पनि माधव कमरेडसरह रस शून्यतामा हाल विराजमान छन् । यसको कारण उनको स्वास्थ्य हो । अहिले उनी बिरामी भएर अस्पताल भर्ना भएका छन् । अथवा बिसेक भएर बाहिर आइसके कि ? जे होस्, कमरेड प्रधानमन्त्री ओलीको गाथमा आराम छैन । तसर्थ हामीले उनको वाणीबाट प्राय: नि:सृत भइरहने हास्य रसबाट बलात् वञ्चित हुनुपरेको छ । म हास्य रसप्रेमी भएकोले उनको शीघ्र स्वास्थ्यलाभको हार्दिक कामना गर्छु ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:३६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिउँडी : मनयुद्ध

विमल निभा

काठमाडौँ — नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का युगल अध्यक्षमध्ये एक अध्यक्ष अध्यक्ष कमरेड पुष्पलाल दाहाल ‘प्रचण्ड’ एकपटक फेरि आन्दोलन गर्ने आकस्मिक मुडमा देखिएका छन् ।

एक अर्धसरकारी समारोहमा उनले महाप्रचण्ड शैलीमा उद्घोष गरे- ‘म पुन: क्रान्तिमा जान सक्छु ।’ अब खुद क्रान्तिले चाहिँं कमरेड प्रचण्डलाई उही जोश एवं स्फुर्तीका साथ स्वीकार गर्ने हो या होइन, यो बेग्लै कुरोहो । म त्यतातिर नगएर फगत के भन्न चाहन्छु भने
कदाचित पुराना माओवादी कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकपटक फेरि क्रान्तिको दुनियाँमा प्रवेश गरेके हुनेछ !

१. कुनै समय कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले साँच्चिकै जनयुद्धमा नेतृत्वदायी भूमिकाको निर्वाह गरेका थिए । उनकै पहलमा क्रान्ति भएकोमा कुनै सन्देह छैन । यद्यपि जनयुद्धले एक प्रकारको अपूर्णता बेहोर्नुपरेको पनि सम्पूर्ण सत्य हो । जे होस्, कमरेड प्रचण्डले एकपटक फेरि क्रान्तिमा जाने मनस्थिति बनाएका छन् । त्यसउसलेअबको युद्ध मनयुद्ध हुने निष्कर्षमा सहजै पुग्न सकिन्छ ।
यस्तो हुने हो भने यो क्रान्तिको नितान्त नयाँ मोडल हुनेछ । अर्थात फरक मोडल । कुन्नि, मनयुद्धको सार, स्वरुप र पहिचान के हुनेछ !

२. यो मनयुद्ध महान चिनियाँ क्रान्तिका सूत्रधार कमरेड माओत्सेतुङको वैचारिक ढबढाचा बमोजिम हुने कुनै सम्भावना छैन । यसको कारण के हो भने एकदमसँग मनयुद्ध गर्न तम्सिएका कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयम् नै गैरमाओवादीमा परिणत भइसकेका छन् । तसर्थ वैकल्पिक हिसाब-किताबले कमरेड माओका समकालीन अर्का चिनियाँ नेता च्याङकाइसेकको नीति तथा नियममा मनयुद्ध हुने हो कि ?

३. कुनै बेलाको जनयुद्धका अर्का समानान्तर नेता अर्थात् पहिलेका कमरेड बाबुराम भट्टराई (मतलब लालध्वज कमरेड) को साथ कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’को मनयुद्धमा हुनेछ अथवा हुने छैन, यो ज्ञात हुनसकेको छैन । मेरो विचारमा त उनले बाबुरामको सरसहयोग पाउने पक्कापक्की रहेको छ । किनभने यो जनयुद्ध नभएर मनयुद्ध हो । शतप्रतिशत मनयुद्ध । र मनयुद्धका लागि हालका बाबुराम भट्टराई जतिका उपयुक्त योद्धा अरु को हुनसक्छ ?

४. जनयुद्धकालको ‘प्रचण्डपथ’को कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मनयुद्धमा के गर्नेछन्, यो पनि एउटा रोचक विषय हो । मलाई त उनले मनयुद्धमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष याने वर्तमान प्रधानमन्त्री कमरेड खड्गप्रसाद शर्मा ओलीको पथको पूर्णतया अनुशरण गर्नु हुनेछ भन्ने लागेको छ । किनभने मनयुद्धका निम्ति ओलीपथ जतिको व्यावहारिक एवं भरपर्दो अरु हुनै सक्दैन ।

५. यस सन्दर्भमा मेरो ‘मनयुद्ध’ गर्न अग्रसर कमरेड पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई एउटा व्यक्तिगत सुझाव रहेको छ । मेरो भन्नु के हो भने उनले तमाम झञ्झट-सञ्झटको त्याग गरेर सोझै कुनै विदेशी अथवा स्वदेशी एनजीओलाई मनयुद्धको सम्पूर्ण अभिमारा किन नदिने ? यसले एकसाथ दुई लाभ हुनेछ । एक, आफ्नो आरामीमा कुनै खलल पुग्ने छैन । र अर्को के भने एनजीओको देशी/विदेशी सम्बद्धताले मनयुद्ध सुचारु ढंगले हुने ग्यारेन्टी प्राप्त हुनेछ ।

अन्त्यमा,
ऐतिहासिक जनयुद्ध बाह्र बुँदेमा टुंगिएको थियो । अब मनयुद्धको समाप्तिचाहिँं कति बुँदामा हुनेछ, यो पनि कम्ता रोचक विषय होइन । अर्थात् एकचोटी फेरि बाह्र बुँदेमा मनयुद्ध पनि सकिनेछ या यसमा अरु एकाध बुँदा थपथाप हुनेछ, यो प्रतीक्षाको विषय हो ।

प्रकाशित : कार्तिक ९, २०७६ ०९:०८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT