चिनियाँ तेस्रो क्रान्ति

योगेन्द्र शाही

चीन माओकालमा अणुबमसम्म निर्माण गर्न सफल भयो । उक्त कालखण्डमा प्रविधिभन्दा श्रमको प्रयोगबाट रोजगारी सिर्जना हुने बुझाइ थियो । तेङ सियाओ पिङकालमा आएर मात्र प्रविधि विकासको रहस्यलाई चीनले राम्ररी बुझेको हो । जापानले बीस वर्षमा प्रविधिमा गरेको प्रगतिलाई चीनको अवस्थासँग तुलना गर्दै चिनियाँ नेता तेङ सियाओ पिङले भनेका थिए कि चीन अर्को बीस वर्ष यसरी नै बर्बाद गर्न सक्दैन ।

सन् १९८८ चेकोस्लाभाकिया राष्ट्रपतिको हुसाकसँगको एक भेटघाटमा विज्ञान तथा प्रविधि विकासको प्रश्नमा आफ्नो एउटा सैद्धान्तिक निष्कर्ष सुनाउँदै उनले भनेका थिए, ‘मार्क्सले विज्ञान र प्रविधि उत्पादक शक्तिको एक भाग हो भनेको ठिकै हो । तर मेरो विचारमा विज्ञान र प्रविधि प्राथमिक उत्पादक शक्ति हो । हामीले अन्य क्षेत्रको खर्च कटौती गरेर पनि शिक्षा र प्रविधि विकासमा लगानी गर्न आवश्यक छ ।’

प्राचीन चीन (अझ सोङ र ताङ वंश) उन्नयनको केन्द्र थियो । तत्कालीन बेलायती प्रधानमन्त्री मार्गरेट थ्याचर चीन भ्रमण गर्दा तेङले प्रसङ्गवश उनलाई भनेका थिए कि कागज, नोट, बारुद, सिल्क र सेरामिक हामीले बनाएका हौं । अरु बाँकी तपाईहरूले । औद्योगिक क्रान्तिको अगुवा देशको नेतृत्वलाई यसो भनेर तेङले मानव सभ्यताका महत्त्वपूर्ण चिज चीनले उन्नयन गरेको संकेत गरेका हुन् । औद्योगिक क्रान्तिको नेता बेलायतले प्रविधिमा विकास गरिरहँदा चीनको मिङ वंशले प्रविधि सिक्न ध्यान दिन सकेन । औद्योगिक क्रान्तिले ल्याएको प्रविधिलाई आत्मसात गर्न नसक्नु चिनियाँ पराजय र पतनको महत्त्वपूर्ण कारणमध्ये एक थियो ।

यस बीचमा याङ्सी र ह्वाङहो नदीमा धेरै पानी बगिसकेको छ । चीनले इतिहासको नमिठो पाठबाट शिक्षा लिएको छ । सुधार र खुल्लापनको सुरुवातसँगै पश्चिमा उत्पादनको नक्कल गर्दै चिनियाँ उद्यमीहरूले सामानहरू बनाउन सिके । धनी हुँदै जाँदा चिनियाँहरू पश्चिमा कम्पनीबाट प्रविधि सिक्न र किन्न थाले । गुणस्तरीय शिक्षा, अनुसन्धान र प्रविधिमा लगानीमार्फत चीन उन्नयनतर्फ गइसक्यो । अहिले अनुसन्धान र विकासमा ४०९ अर्ब अमेरिकी डलर लगानी गरेर चीनले अमेरिकालाई नजिकबाट (४९७ विलियन डलर) पच्छाएको छ । चीनले १५ अर्ब अमेरिकी डलर त ‘टेक फन्ड’मा छुट्याइएको छ । हुवावे संसारकै सबैभन्दा बढी अनुसन्धान र विकासमा लगानी गर्ने र ‘पेटेन्ट राइट’ दर्ता गर्ने चिनियाँ कम्पनी हो । सूचना प्रविधिका कतिपय अत्याधुनिक कौशलहरूमा चीनले उच्च सफलता पाएको छ । ‘टेक टाइटन अफ चाइना’की लेखिका रेविका फेनिनका अनुसार चीनले नक्कलमात्र गर्‍यो भन्नु हास्यासपद कुरा हो । बरु चीनले कसरी छोटो समयमा प्रविधिको विकास गरी विश्वलाई चुनौती दिइरहेको छ भन्ने ख्याल गर्नुपर्छ ।

‘मेड इन चाइना २०२५’ भिजनका साथ राष्ट्रपति सीले चीनलाई वैज्ञानिक उन्नयनको केन्द्र बनाउने घोषणा गरे । उनले ‘उन्नयन प्राथमिक उत्पादक शक्ति हो’ भनेका छन् । रणनीतिक महत्त्वको यो सोच एतिहासिक भौतिकवादको सार हो । श्रमलाई प्राथमिक उत्पादक शक्ति ठान्ने वाम परम्पराभन्दा यसले उन्नयनलाई श्रम प्रक्रियाकै समुच्य मान्छ । चीनले सस्तो श्रम र प्रविधिलाई राम्ररी उपयोग गरी व्यापक उत्पादनमार्फत आफ्नो निरन्तर आर्थिक वृद्धि गर्नसकेको थियो । चीनका लागि अब त्यो अवधि सकिएको छ । चीनसँग पैसा छ, तर श्रम महँंगो भएको छ । चीनको आफ्नै जबर्जस्त आन्तरिक बजार पनि बनेको छ । चीन प्रविधि उन्नयनमार्फत गुणस्तरीय अर्थतन्त्रमा नजाँदा मध्यआयकै चक्रमा फँस्न सक्थ्यो । कुनै बेला खेलौनाजस्ता लाग्ने चिनियाँ मोबाइल र इलेक्ट्रोनिक सामानहरू प्रविधि नक्कलका सुरुवाती नमुना हुन् । आइफोन र सामसुङसँग प्रतिस्पर्धा गर्दै विकास भएका हुवाई र ओप्पो मोबाइलहरू प्रविधि उन्नयनका नमुना हुन् ।

हाइस्पिड सिन्कान्सेन रेलमा बसेर जापान यात्रा गर्दा तेङ सियायो पिङको दिमागमा पनि त्यस्तै रेल बनाउने सपना थियो । मित्सुविसी, युरोपेली र क्यानडेली कम्पनीबाट उनीहरूले ती प्रविधि सिके । फलस्वरुप चीन आज द्रुतगतिको रेल सञ्जालको अगुवा देश हो । बेइजिङबाट शाङघाई चल्ने ४२० किमि प्रतिघन्टा क्षमताको रेल विश्वकै द्रुतगतिको हो । चिनियाँ सुपर कम्प्युटरहरू संसारकै शक्तिशाली मानिन्छन् । बेइजिङ–शाङघाई क्वान्टम केवल लाइन विश्वकै पहिलो र ह्याक नहुनेमा पर्छ । विश्वकै ठूलो क्वान्टम स्याटेलाइट र सी ९२९ ठूलो जेट विमान, चन्द्रमा नदेखिने क्षेत्रमा यान अवतरण, कृत्रिम चन्द्र र सूर्य निर्माणका परियोजना, हरित प्रविधिमा लगानी, आर्कटिक अन्वेषण, मरुभूमि हरियाली र म्यारिन अनुसन्धान आदि चिनियाँ प्रविधि उन्नयनका पछिल्ला उदाहरण हुन् । चीनले सोभियत कालको पुरानो एयरक्राफ्ट मर्मत गर्दै एउटा उन्नत घरेलु एयरक्राफ्ट क्यारियर बनाइसकेको छ भने दुईवटा निर्माणाधीन छन् । चीनले अमेरिका र रूस दुबैबाट सिकेर जे २० जस्तो अत्याधुनिक स्टिल्थ फाइटर जेट बनाएको छ भने एन्टिस्टिल्थ राडर पनि चीनसँग मात्र भएको दाबी गरिएको छ (२।११।२०१९ एसिया टाइम) । चिनियाँ क्रान्तिको ७० औं वर्षगाँठ मनाउने सन्दर्भमा डीएफ ४१, डीएफ १७, डब्लु जेट ८ ड्रोन, जे २० फाइटर आदि अत्याधुनिक अस्त्रहरूको प्रदर्शनले सैन्य प्रविधिमा चीनले अमेरिका र रूससँगै गति पक्रेको देखिन्छ । डीएफ ४१ व्यालेस्टिक मिसाइलले १० वटा टार्गेट एकैपटक हान्न सक्छ र यो आवाजको गतिभन्दा २५ गुणा छिटो उड्ने मानिन्छ ।

अमेरिकाले २० औं शताब्दीको मध्यतिर असफल भएर त्यागेको हाइस्पिड हेलिकप्टर निर्माण परियोजनामा चीनले अमेरिकी अपाचे र रूसी एमआई ट्वान्टी सिक्स लगायतका हेलिकप्टरका सबल पक्षहरू अध्ययन गरी यो सफलता हात पारेको रूसी समाचारपत्र स्पुतनिकको विश्लेषण छ । यसले अहिलेको चीन प्रविधि ‘कपिक्याट’ होइन, बरु अन्वेषणकारी शक्ति भइसकेको पुष्टि हुन्छ ।

चीन सेमिकन्डक्टर र एरो स्पेसमा अमेरिकाभन्दा पछि मानिन्छ । तर हुवावे परीक्षण केस बनेको छ । अमेरिकी प्रतिबन्धका बावजुद हुवावेले आफ्नै सीपीयु र एप्समात्र बनाएन, यो अवधिमा ६० भन्दा बढी फाइभ–जी पूर्वाधार सम्झौता र चार लाख स्टेसन निर्माण गरी आफ्नो आयलाई २४.४ प्रतिशतले वृद्धि गर्न सफल भयो । अमेरिकाको अन्तरिक्ष जहाज रेकर्डेड यात्रा गरी फर्किरहँदा चीनले अन्तरिक्षमा सटल बोक्ने र छुट्याउन मिल्ने जहाज परीक्षण गरेको छ । अन्तरिक्ष वायुयान निर्माणमा अमेरिका रूस र चीनभन्दा अझै निकै अघि छन् ।

एक दशक अगाडिसम्म अमेरिकी सैन्य शक्तिसँग चीन र रूसको खासै तुलना हुँदैनथ्यो । तर अहिले अमेरिकी सिनेट र थिंक ट्याङ्कमाझ रूस र चीनले हाइपरसोनिक हतियारमा अमेरिकालाई समेत उछिनेको हुनसक्ने बारे ठूलो चिन्ता छ । कामना गरौं, ‘होमो डिउस’ का लेखक युभल नोह हरारीले भनेझैं शक्तिराष्ट्रहरूसँग रहेका प्रविधियुक्त संहारकारी हतियारहरूले युद्ध होइन, शक्ति सन्तुलन कामय गरी विश्व शान्ति कायम गर्न मद्दत गरुन् !

सूचना प्रविधिलाई हेर्दा अमेरिकाले गुगल र याहु बनायो, चीनले आफ्नै सर्च इन्जिन वाइडु बनायो । अमेरिकाले फेसबुक र ट्वीटर बनायो, चीनले वी च्याट र सिना वाइवो बनायो । अमेरिकाले अनलाइन बिजिनेस अम्याजन विकास गर्‍यो । चीनमा अलिबाबा बन्यो । अमेरिकामा फेसबुकबाट जुकरवर्ग जन्मिए र चीनमा अलिबाबाबाट ज्याकमा जन्मिए ।

सूचना पद्धतिलाई रोबोटिक, आर्टिफिसियल इन्टेलजेन्स र इन्टरनेट अफ थिङ्सको तहमा विकास गरी चीन स्मार्ट सिटी, फाइभ जी, सोसियल क्रेडिट सिस्टम, फेस प्लसजस्ता पद्धतिहरूमार्फत समाजलाई अटोमेसन मोडमा लाँदैछ । वर्ल्ड इकोनोमिक फोरमका संस्थापक क्लाउज स्क्वाजले यसलाई चौथो औद्योगिक क्रान्ति भनेर किताबै लेखेका छन् । फोरजीभन्दा सय गुणा शक्तिशाली फाइभजी प्रयोगबाट मोबाइलबाटै बिल तिर्ने, कम्प्युटरले स्वत: चिनेर प्रवेश पाउने, होटलमा रोबोट वेटर, अटोमेटेड उद्योग, समयमा कर नतिरेमा बैंकबाट ऋण नपाउने जस्ता कैयौं विशेषता भएको एकीकृत पद्धति विकासमा चिनियाँ आईटी कम्पनीहरू धमाधम लागिपरेका छन् । पश्चिमा सञ्चार माध्यममा यस्तो पद्धतिले व्यक्तिको निजत्व नरहने र सरकारले निगरानी राख्न सक्ने चर्चा हुने गरेको छ । सार्वजनिक स्थलहरूमा सुरक्षा क्यामेरा राख्ने परिपाटी पश्चिमा देशहरूमा पहिला विकास भएको हो र चीनले यसलाई द्रुत, पद्धतिगत र अटोमेटेट बनाएको छ । मानवरहित ट्याक्सी र ड्रोन चीनले प्रयोगमै ल्याइसकेको छ भने मानवरहित रेल र जहाज निर्माणमा लागिपरेको छ । वृद्ध जनसंख्या बढिरहेको चीनले रोबोटबाट मानव संसाधनको अभाव समाधान खोज्दैछ ।
आजका चिनियाँ कम्पनीहरू नक्कलकर्ता र सिकारु होइनन् । राष्ट्रपति सीले घोषणा गरेको ‘मेड इन चाइना २०२५’ अवधि पूरा हुन अझै ६ वर्ष बाँकी छ । तर चीनमा ‘टेक्नो बुम’ भइसक्यो । एक या आधा दशकभित्रै हाम्रो छिमेकमा यी काम धमाधम भइरहेका छन् ।
आधुनिक चीनमा माओको नेतृत्वमा भएको चिनियाँ क्रान्ति र तेङको आर्थिक क्रान्तिपश्चात् चिनियाँ राष्ट्रपति सीले समुन्नत, सुसंस्कृत, सुन्दर र बलियो समाजवादी देश निर्माणका लागि तेस्रो क्रान्तिको उडान भरेका छन् । यो प्रविधि क्रान्ति सी विचारधाराको उडान भर्ने इन्जिन हो । तेस्रो क्रान्तिको लागि उडान भरेको चीन चौथो औद्योगिक क्रान्तिको पनि नेतृत्व गर्दैछ ।

दुई शताब्दी अगाडिसम्म अफिममा लठ्ठ परेको चीनका बारेमा नेपोलियन बोनापार्टले ठिकै अनुमान गरेका थिए, ‘ड्रागन मस्त सुतिरहेको छ । उसलाई सुत्न देऊ, किनकि ऊ जाग्यो भने संसार नेतृत्व गर्नेछ ।’ चिनियाँ सुनौलो ड्रागन अहिले जागिसकेको छ र पूर्वबाट संसारको नेतृत्व गर्न तम्सिएको छ ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:३४
प्रतिक्रिया
पठाउनुहोस्

फरिद जकारियाको सूचना–राजनीति

रमेश के.सी.

सीएनएनका फरिद जकारिया सूचनाको राजनीति गर्छन् । प्राज्ञिक क्षेत्रबाट सञ्चार माध्यममा आएका जकारिया भारतीय मूलका पत्रकार, लेखक र चिन्तक हुन् । भारतको व्यावसायिक सहर मुम्बईमा जन्मेर हुर्किएका उनी इस्लाम धर्म र राजनीतिका प्राध्यापक राफिक जकारियाका सुपुत्र हुन् ।

भारतबाट अमेरिकी सपना हासिल गर्न अमेरिका पुगेका करिब ५० वर्षका उनी वर्तमान उदार विश्वका ‘पोष्टर ब्वाई’ हुन् । हरेक आइतबार सीएनएनमा ‘फरिद जकारिया जीपीएस’ नामको एक घन्टाको कार्यक्रम लिएर आउने उनको शृङखलाले भर्खरै ११ वर्ष पार गरेको छ । यस कार्यक्रमको दर्शक बन्नु अघि मैले उनको ‘दि फ्युचर अफ फ्रिडम’ पढिसकेको थिएँ । विश्वमा प्रजातन्त्रको भविष्यलाई लिएर चिन्ता व्यक्त गरिएको यस पुस्तकमा प्रजातन्त्रको क्षय र रूस लगायतका देशमा एकाधिकारवादको वर्चस्वबारे लेखिएको छ । अमेरिकाभित्र दुईदलीय राजनीति र विसंगतिलाई केलाइएको छ । स्वतन्त्रताको भविष्यमाथि आज जुन खतरा देखिएको छ, त्यो उनले १५ वर्षअघि नै आँकलन गरिसकेका थिए ।

आफ्नो टेलिभिजन कार्यक्रमको ११ वर्षको उपलक्ष्यमा जकारियाले विशेष प्रस्तुति दिए । जहाँ सेनाका पूर्वप्रमुख र पूर्व विदेशमन्त्री कोलिन पावेललाई अतिथि बनाइएको थियो । एक घन्टाको उक्त कार्यक्रम विशेष गरेर अन्तर्राष्ट्रिय राजनीति र दर्शनमा केन्द्रित भए पनि त्यसमा विभिन्न क्षेत्रका विचारक, आविष्कारक र वैज्ञानिकसमेत उपस्थित हुन्छन् । तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा विशेष गरेर अमेरिकी बुद्धिको भूगोलमा उनले भ्रमण गराउँछन् । साम्यवादको पतनपछि सर्वेसर्वा बनेको अमेरिकाको क्षय, द्विविधा र हतासालाई बुझ्न यसले मद्दत गर्छ । बौद्धिक कार्यक्रम भए पनि सूचना, पुस्तक परिचय, अन्तर्वार्ता र टिप्पणीहरूले भरिएको यस कार्यक्रम रोचक छ र शिक्षाप्रद पनि छ । व्यावसायिक टेलिभिजनमा अन्तर्राष्ट्रिय राजनीतिमाथि ११ वर्षसम्म साताको एक घन्टा कार्यक्रम सञ्चालन गर्न ठूलो बौद्धिक कसरत चाहिन्छ ।

आज अस्ताउँदो सूर्य बन्दै गएको अमेरिकाको सैन्य, आर्थिक र राजनीतिक चिन्ताहरू यस कार्यक्रममा व्यक्त हुन्छन् । जहाँ पूर्व विदेशमन्त्रीहरू हेनरी किसिन्जर, मेडलिन अलब्राइट, हिलारी क्लिन्टन, कोन्डालिजा राइसजस्ता हस्तीहरू आइरहन्छन् भने वाल्टर रसेल मेड र फ्रान्सिस फुकुयामा जस्ता चिन्तक पनि उपस्थित हुन्छन् । सीआईएका प्रमुखहरू, सैनिक जनरलहरू, प्राध्यापकहरू, न्युयोर्कका पत्रकारहरू र वैज्ञानिकहरूमार्फत बदलिँदो बुद्धिका आयामबारे छलफल गर्छन् । अमेरिकामा एउटा घारणा छ– ‘सिटी अन द हिल’ अर्थात अमेरिकाले जे गर्छ, कल्याण गर्छ । तर विश्व व्यवस्था लिएको करिब सय वर्ष पुग्नलाग्दा अमेरिका अहिले थकित र चकित छ । थकित यसकारणले कि अफगानिस्तान, इराक र लिबियाको संकटले उसको अन्तर्राष्ट्रिय लागतमा प्रश्न उठेको छ । चकित यसकारणले कि एसियाको सबैभन्दा ठूलो राष्ट्र चीनको अद्भुत उदयले शीतयुद्धपछि उसले शत्रु भेटेको छ । यी यस्ता प्रश्नहरू हुन्, जहाँ जकारिया घोत्लिन्छन्, सूचना विश्वव्यापी बनाउँछन् र साम्राज्यको रक्षा गर्छन् । एक्काइसौं शताब्दीको अमेरिकामा केन्द्रित उनको यो कार्यक्रम उदार विश्वको व्यवस्था रक्षा गर्न सञ्चालन गरिएको हो । उनी अमेरिका अद्भुत छ, आर्थिक र वैज्ञानिक दृष्टिले भनेर बारम्बार दाबा गर्छन् । लोकप्रियतावाद विरुद्ध उदार प्रजातन्त्रको रक्षा गर्छन् र भन्छन् कि पुँजीवादसँग मानव समस्या समाधान गर्ने क्षमता छ ।

सन् १९४५ पछि विश्व रंगमञ्चमा उदाएको अमेरिका नेतृत्वको वर्तमान विश्व व्यवस्थाको कवच बन्नु मानव जकारियाको धर्म हो । आखिर शीतयुद्धकालीन राजनीतिका यी गहन अध्येता विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट अमेरिकी विदेश नीतिमा विद्यावारिधी न हुन् । यस अघि ‘न्युजविक’का अन्तर्राष्ट्रिय सम्पादक बनेका उनी हाल वासिङटन पोष्टका स्तम्भकार छन् । आधा दर्जनभन्दा बढी किताब लेखेका उनको पछिल्लो पुस्तक ‘पोष्ट अमेरिकन वर्ल्ड’ हो । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दाउपेच र एकाधिकारवादलाई भण्डाफोर गर्दै एक घन्टाको वृत्तचित्र बनाएका छन् । उनका कार्यक्रमका सार हुन्— उत्तर कोरिया, इरान, भेनेजुएलाको नीति ठिक छैन । चीन दीर्घकालीन खतरा हो । ट्रम्प राष्ट्रपति हुन योग्य छैनन् । संसारमा छाएको लोकप्रियतावाद उदार प्रजातन्त्रका लागि खतरा छ, अमेरिका सम्हालिनुपर्छ । यो अझै विश्वको हैकम गर्न योग्य छ । आदि–आदि ।

विश्वका प्रमुख जर्नलहरू, विविध विषयका प्रतिवेदनहरू र स्रोत व्यक्तिलाई उद्धरण गर्नु उनको विशेषतै हो । तैपनि प्रश्न भने उठ्छ— के जकारियाको सूचना राजनीति सही छ ? उता अलजजिरामा मारवान विसारा ‘इम्पायर’ अर्थात साम्राज्य कार्यक्रममा चिच्याउँछन् । साम्राज्य ठिक हैन, अमेरिका विश्वका लागि खतरा हो, साम्राज्यले शोषण र पुँजीवादमार्फत विश्वलाई मरणासन्न बनाएको छ जस्ता विचारहरू व्यक्त गर्छन् । वर्तमान विश्वमा पश्चिमी सञ्चार माध्यमको बोलवाला रहेको बेला अलजजिरामा विसारा वैकल्पिक स्वर दिएर देखापर्छन् । पेरिसस्थित अमेरिकी विश्वविद्यालयका पूर्वप्राध्यापक विसारा टेलिभिजनका वामपन्थी स्टार हुन् भने फरिद जकारिया पुँजीवादी विश्वको प्रवक्ता हुन् । विचार र सूचनाको सुनामी चलेको वर्तमानमा यी प्रस्तोताहरू आज आफ्नै सत्यको व्यापार गर्छन् ।

फरिद जकारिया विश्वशक्ति सन्तुलन संक्रमणकालमा गुज्रिरहेको बेला पश्चिमका सेवक हुन् । उनी आफ्नो कर्मभूमि अमेरिकाका सही रक्षक पनि हुन् । तर विश्व जकारियाले भनेजस्तो मात्रै छैन । गैरपश्चिमी समाजका समस्याहरू र विमर्श विरलै प्रस्तुत हुन्छ, उनको कार्यक्रममा । आफ्नो जन्मभूमि भारतलाई पनि उनी अमेरिकी आँखाले हेर्छन् । उनी बुद्धिको व्यापार गर्ने सम्भ्रान्त पत्रकार हुन् । जकारियाले जति साम्राज्यको सेवा गरे पनि र वैकल्पिक विश्वबारे ध्यान नदिए पनि दक्षिण एसियाली पत्रकारका लागि उनी सफल उदाहरण हुन् । अमेरिकामा सफलता पाएका अनेकौं आप्रवासी मध्येका एक चम्किला तारा हुन् ।

विशेषज्ञ भएर होला, अमेरिकी विदेश नीतिमा उनको आफ्नै दाबी छ । कस्तो विदेश नीति अपनाउने ? यथार्थवादी, आदर्शवादी वा हस्तक्षेपकारी । उता वामपन्थी चिन्तक तथा प्राध्यापक नोम चम्स्की भन्छन् कि ‘म सीएनएन हेर्दै हेर्दिन । यो विदेश मन्त्रालयको प्रवक्ता हो ।’ अमेरिकी संस्थापन पक्ष र पुँजीवादी दृष्टिकोणलाई सूचनाको राजनीतिमार्फत प्रचार गर्ने कार्यक्रमका सञ्चालक हुन् जकारिया, जसलाई भारतीय कूटनीतिज्ञ शशी थरुरले अमेरिकाका विदेशमन्त्री बन्न योग्य छन् भनी टिप्पणी गरेका थिए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:२८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT