कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

फरिद जकारियाको सूचना–राजनीति

रमेश के.सी.

सीएनएनका फरिद जकारिया सूचनाको राजनीति गर्छन् । प्राज्ञिक क्षेत्रबाट सञ्चार माध्यममा आएका जकारिया भारतीय मूलका पत्रकार, लेखक र चिन्तक हुन् । भारतको व्यावसायिक सहर मुम्बईमा जन्मेर हुर्किएका उनी इस्लाम धर्म र राजनीतिका प्राध्यापक राफिक जकारियाका सुपुत्र हुन् ।

फरिद जकारियाको सूचना–राजनीति

भारतबाट अमेरिकी सपना हासिल गर्न अमेरिका पुगेका करिब ५० वर्षका उनी वर्तमान उदार विश्वका ‘पोष्टर ब्वाई’ हुन् । हरेक आइतबार सीएनएनमा ‘फरिद जकारिया जीपीएस’ नामको एक घन्टाको कार्यक्रम लिएर आउने उनको शृङखलाले भर्खरै ११ वर्ष पार गरेको छ । यस कार्यक्रमको दर्शक बन्नु अघि मैले उनको ‘दि फ्युचर अफ फ्रिडम’ पढिसकेको थिएँ । विश्वमा प्रजातन्त्रको भविष्यलाई लिएर चिन्ता व्यक्त गरिएको यस पुस्तकमा प्रजातन्त्रको क्षय र रूस लगायतका देशमा एकाधिकारवादको वर्चस्वबारे लेखिएको छ । अमेरिकाभित्र दुईदलीय राजनीति र विसंगतिलाई केलाइएको छ । स्वतन्त्रताको भविष्यमाथि आज जुन खतरा देखिएको छ, त्यो उनले १५ वर्षअघि नै आँकलन गरिसकेका थिए ।


आफ्नो टेलिभिजन कार्यक्रमको ११ वर्षको उपलक्ष्यमा जकारियाले विशेष प्रस्तुति दिए । जहाँ सेनाका पूर्वप्रमुख र पूर्व विदेशमन्त्री कोलिन पावेललाई अतिथि बनाइएको थियो । एक घन्टाको उक्त कार्यक्रम विशेष गरेर अन्तर्राष्ट्रिय राजनीति र दर्शनमा केन्द्रित भए पनि त्यसमा विभिन्न क्षेत्रका विचारक, आविष्कारक र वैज्ञानिकसमेत उपस्थित हुन्छन् । तीव्र रूपमा परिवर्तन भइरहेको विश्वमा विशेष गरेर अमेरिकी बुद्धिको भूगोलमा उनले भ्रमण गराउँछन् । साम्यवादको पतनपछि सर्वेसर्वा बनेको अमेरिकाको क्षय, द्विविधा र हतासालाई बुझ्न यसले मद्दत गर्छ । बौद्धिक कार्यक्रम भए पनि सूचना, पुस्तक परिचय, अन्तर्वार्ता र टिप्पणीहरूले भरिएको यस कार्यक्रम रोचक छ र शिक्षाप्रद पनि छ । व्यावसायिक टेलिभिजनमा अन्तर्राष्ट्रिय राजनीतिमाथि ११ वर्षसम्म साताको एक घन्टा कार्यक्रम सञ्चालन गर्न ठूलो बौद्धिक कसरत चाहिन्छ ।


आज अस्ताउँदो सूर्य बन्दै गएको अमेरिकाको सैन्य, आर्थिक र राजनीतिक चिन्ताहरू यस कार्यक्रममा व्यक्त हुन्छन् । जहाँ पूर्व विदेशमन्त्रीहरू हेनरी किसिन्जर, मेडलिन अलब्राइट, हिलारी क्लिन्टन, कोन्डालिजा राइसजस्ता हस्तीहरू आइरहन्छन् भने वाल्टर रसेल मेड र फ्रान्सिस फुकुयामा जस्ता चिन्तक पनि उपस्थित हुन्छन् । सीआईएका प्रमुखहरू, सैनिक जनरलहरू, प्राध्यापकहरू, न्युयोर्कका पत्रकारहरू र वैज्ञानिकहरूमार्फत बदलिँदो बुद्धिका आयामबारे छलफल गर्छन् । अमेरिकामा एउटा घारणा छ– ‘सिटी अन द हिल’ अर्थात अमेरिकाले जे गर्छ, कल्याण गर्छ । तर विश्व व्यवस्था लिएको करिब सय वर्ष पुग्नलाग्दा अमेरिका अहिले थकित र चकित छ । थकित यसकारणले कि अफगानिस्तान, इराक र लिबियाको संकटले उसको अन्तर्राष्ट्रिय लागतमा प्रश्न उठेको छ । चकित यसकारणले कि एसियाको सबैभन्दा ठूलो राष्ट्र चीनको अद्भुत उदयले शीतयुद्धपछि उसले शत्रु भेटेको छ । यी यस्ता प्रश्नहरू हुन्, जहाँ जकारिया घोत्लिन्छन्, सूचना विश्वव्यापी बनाउँछन् र साम्राज्यको रक्षा गर्छन् । एक्काइसौं शताब्दीको अमेरिकामा केन्द्रित उनको यो कार्यक्रम उदार विश्वको व्यवस्था रक्षा गर्न सञ्चालन गरिएको हो । उनी अमेरिका अद्भुत छ, आर्थिक र वैज्ञानिक दृष्टिले भनेर बारम्बार दाबा गर्छन् । लोकप्रियतावाद विरुद्ध उदार प्रजातन्त्रको रक्षा गर्छन् र भन्छन् कि पुँजीवादसँग मानव समस्या समाधान गर्ने क्षमता छ ।


सन् १९४५ पछि विश्व रंगमञ्चमा उदाएको अमेरिका नेतृत्वको वर्तमान विश्व व्यवस्थाको कवच बन्नु मानव जकारियाको धर्म हो । आखिर शीतयुद्धकालीन राजनीतिका यी गहन अध्येता विश्व प्रसिद्ध हार्वर्ड विश्वविद्यालयबाट अमेरिकी विदेश नीतिमा विद्यावारिधी न हुन् । यस अघि ‘न्युजविक’का अन्तर्राष्ट्रिय सम्पादक बनेका उनी हाल वासिङटन पोष्टका स्तम्भकार छन् । आधा दर्जनभन्दा बढी किताब लेखेका उनको पछिल्लो पुस्तक ‘पोष्ट अमेरिकन वर्ल्ड’ हो । उनले रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको दाउपेच र एकाधिकारवादलाई भण्डाफोर गर्दै एक घन्टाको वृत्तचित्र बनाएका छन् । उनका कार्यक्रमका सार हुन्— उत्तर कोरिया, इरान, भेनेजुएलाको नीति ठिक छैन । चीन दीर्घकालीन खतरा हो । ट्रम्प राष्ट्रपति हुन योग्य छैनन् । संसारमा छाएको लोकप्रियतावाद उदार प्रजातन्त्रका लागि खतरा छ, अमेरिका सम्हालिनुपर्छ । यो अझै विश्वको हैकम गर्न योग्य छ । आदि–आदि ।


विश्वका प्रमुख जर्नलहरू, विविध विषयका प्रतिवेदनहरू र स्रोत व्यक्तिलाई उद्धरण गर्नु उनको विशेषतै हो । तैपनि प्रश्न भने उठ्छ— के जकारियाको सूचना राजनीति सही छ ? उता अलजजिरामा मारवान विसारा ‘इम्पायर’ अर्थात साम्राज्य कार्यक्रममा चिच्याउँछन् । साम्राज्य ठिक हैन, अमेरिका विश्वका लागि खतरा हो, साम्राज्यले शोषण र पुँजीवादमार्फत विश्वलाई मरणासन्न बनाएको छ जस्ता विचारहरू व्यक्त गर्छन् । वर्तमान विश्वमा पश्चिमी सञ्चार माध्यमको बोलवाला रहेको बेला अलजजिरामा विसारा वैकल्पिक स्वर दिएर देखापर्छन् । पेरिसस्थित अमेरिकी विश्वविद्यालयका पूर्वप्राध्यापक विसारा टेलिभिजनका वामपन्थी स्टार हुन् भने फरिद जकारिया पुँजीवादी विश्वको प्रवक्ता हुन् । विचार र सूचनाको सुनामी चलेको वर्तमानमा यी प्रस्तोताहरू आज आफ्नै सत्यको व्यापार गर्छन् ।


फरिद जकारिया विश्वशक्ति सन्तुलन संक्रमणकालमा गुज्रिरहेको बेला पश्चिमका सेवक हुन् । उनी आफ्नो कर्मभूमि अमेरिकाका सही रक्षक पनि हुन् । तर विश्व जकारियाले भनेजस्तो मात्रै छैन । गैरपश्चिमी समाजका समस्याहरू र विमर्श विरलै प्रस्तुत हुन्छ, उनको कार्यक्रममा । आफ्नो जन्मभूमि भारतलाई पनि उनी अमेरिकी आँखाले हेर्छन् । उनी बुद्धिको व्यापार गर्ने सम्भ्रान्त पत्रकार हुन् । जकारियाले जति साम्राज्यको सेवा गरे पनि र वैकल्पिक विश्वबारे ध्यान नदिए पनि दक्षिण एसियाली पत्रकारका लागि उनी सफल उदाहरण हुन् । अमेरिकामा सफलता पाएका अनेकौं आप्रवासी मध्येका एक चम्किला तारा हुन् ।


विशेषज्ञ भएर होला, अमेरिकी विदेश नीतिमा उनको आफ्नै दाबी छ । कस्तो विदेश नीति अपनाउने ? यथार्थवादी, आदर्शवादी वा हस्तक्षेपकारी । उता वामपन्थी चिन्तक तथा प्राध्यापक नोम चम्स्की भन्छन् कि ‘म सीएनएन हेर्दै हेर्दिन । यो विदेश मन्त्रालयको प्रवक्ता हो ।’ अमेरिकी संस्थापन पक्ष र पुँजीवादी दृष्टिकोणलाई सूचनाको राजनीतिमार्फत प्रचार गर्ने कार्यक्रमका सञ्चालक हुन् जकारिया, जसलाई भारतीय कूटनीतिज्ञ शशी थरुरले अमेरिकाका विदेशमन्त्री बन्न योग्य छन् भनी टिप्पणी गरेका थिए ।

प्रकाशित : कार्तिक २३, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?