१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

विखण्डित हुँदै मूल्य–मान्यता

वसन्त महर्जन

काठमाडौँ — समाज हेर्दा स्थिर देखिए पनि गतिशील नै हुन्छ । धर्म, संस्कृति, राजनीति, परम्परा लगायत यसका अवयवहरू स्थिर होऊन् भन्नेमा वर्गविशेष सदैव सचेत रहे पनि प्राकृतिक रूपमा त्यस्तो हुँदैन । समाजका ती अवयव आफै गतिशील भएका कारण समाज पनि स्थिर नरहने गरेको हो ।

विखण्डित हुँदै मूल्य–मान्यता

यस्तो गतिशीलता समाजविशेषको आफ्नै मूल्य–मान्यताको दायराभित्र हुन्छ । अन्य मूल्य–मान्यताको स्थापना भन्नु एउटा पहिचान छाडेर अर्कोमा संक्रमण हुनु हो । व्यक्ति, परिवार, सम्बन्ध तथा अन्य कुरा यथावत् रहे पनि मूल्य–मान्यतामा परिवर्तन आए पहिचान परिवर्तन हुँदै जान्छ र त्यस्तै समाजलाई पतनोन्मुख भनिन्छ । पतनको तात्पर्य परिवर्तन वा विकास नभई उक्त समाजले बोक्दै आएको निश्चित मूल्य–मान्यतासहितको दर्शनको परित्याग हो । भूगोल, व्यक्ति, परिवार तथा अन्य कुरा यथावत् रहे पनि त्यसलाई एउटा समाजको पतन र अर्को समाजको उत्थान भनेर बुझ्न सकिन्छ ।


बाह्य सम्पर्कमा रहेको समाज तुलनात्मक रूपमा अन्यभन्दा गतिशील हुन्छ । ज्ञानविज्ञान तथा सूचना प्रविधिले पनि समाजलाई बढी मात्रामा बाह्य सम्पर्क गराउने र गतिशील पार्ने गर्छ । यस सन्दर्भमा विश्व नै तीव्र रूपमा गतिशील भइरहेको छ, जसलाई ‘ग्लोबलाइजेसन’ भनिएको छ ।


‘ग्लोबलाइजेसन’ का क्रममा कतिपय समाजको विकास वा परिवर्तन हुन्छ भने कतिपयको पतन र नयाँ उद्भव पनि साथै हुन्छ । कुनै पनि समाजको पतनलाई लामो समयदेखि विकास हुँदै आएको जीवन दर्शनको समाप्ति वा क्षति पनि भन्न सकिन्छ । समाज विज्ञानको अध्ययनमा यो गम्भीर कुरा हो, जसको सूक्ष्म अध्ययन अपेक्षित हुन्छ ।


समाजको पतन कसरी हुन्छ भन्ने सन्दर्भमा थुप्रै उदाहरण दिन सकिन्छ । तथापि सहजताका लागि नेपालको एउटा प्रमुख समुदायका रूपमा रहेको नेवार समाजलाई भर्खरै सकिएको तिहारको परिप्रेक्ष्यमा हेरौं । तिहारको एउटा पक्ष भाइटीका हो । नेवार समाजमा यसैलाई किजापूजा भनिन्छ । अन्य समुदायमा भन्दा बेग्लै विधिविधानले यो पूजा सम्पन्न गरिन्छ । किजापूजालगत्तै सामाजिक सञ्जालमा छाएका तस्बिरमध्ये भाइले दुई दिदीका खुट्टा ढोगिरहेको दृश्य यो लेखको मुख्य विषयवस्तु हो ।


आदरसत्कारमा खुट्टा ढोग्ने चलन नेवार लगायत अन्य नेपाली समुदायमा पनि पाइन्छ । कुन सन्दर्भमा कसले कसलाई ढोग्ने, त्यो निश्चित हुन्छ । नेवार समाजमा किजापूजाको दिन दिदीले भाइलाई ढोग्ने हो । यही दसैंका बेला एउटा यस्तै तस्बिरले धेरै चर्चा पाएको थियो । टीका लगाउने बेला अन्य समाजमा छोरीलाई बाबुले ढोग्ने चलन छ । उक्त तस्बिरमा टीका लगाइदिने बाबु बिरामी परेर ओछ्यानमा पल्टिरहेका हुँदा छोरीले खुट्टा उचालेर बाबुको निधारमा छुवाइदिएकी थिइन् ।


यो दृश्य सम्बन्धित समुदायका लागि स्वाभाविक होला, तर सोही समुदायले यसलाई अतिरञ्जित प्रस्तुतिका रूपमा लिएको पनि पाइयो । एउटा अमुक नगरपालिकामा उपमेयर रहेकी ती छोरीको तस्बिर चर्चित मात्रै नभएर आलोचित पनि भयो । सम्भवतः दसैंको त्यही तस्बिरबाट प्रभावित हो किजापूजामा दुई दिदीले भाइलाई खुट्टा ढोगाइरहेको तस्बिर । नेवार समाजमा हुँदै नभएको चलन भनेर प्रतिक्रिया आए पनि सम्बन्धित एक व्यक्तिले त्यसको बचाउ गर्दै महिलाप्रति सम्मान गरेको तर्क राखे ।


एक समय आफूलाई परिवर्तनशील र क्रान्तिकारीका रूपमा प्रस्तुत गर्ने राजनीतिक विचार बोक्ने पार्टी सम्बद्ध व्यक्तिको उक्त तर्क सांस्कृतिक दृष्टिबाट निकै फितलो मात्रै नभएर आपत्तिजनक पनि रह्यो । आफ्नो बचाउका लागि उनले ‘यो मेरो परम्परा नै हो’ भन्नसम्म भ्याए । व्यक्तिगत वा पारिवारिक भएको भए चासोको घेरा सीमित हुन्थ्यो, तर यसैलाई ‘परम्परा’ भनेपछि सामाजिक रूपमा यो गम्भीर चासोको विषय बन्यो नै । किनभने नेवार समाजका मूल्य–मान्यता तथा सांस्कृतिक दर्शनसँग त्यसले कुनै सामञ्जस्य राख्दैन ।


कुनै देवमूर्तिको पूजा गर्दा होओस् वा व्यक्तिको, पूजितलाई बडो आदरसत्कारका साथ ढोग्ने चलन हुन्छ । नेवार समाजमा कन्यापूजा भनेर बालिकाहरूको पूजा गरिन्छ । यसमा हजुरबुबा उमेरकाले पूजा गरेका भए पनि ती बालिकालाई विधिपूर्वक ढोग्छन् नै । किजापूजामा विशुद्ध रूपमा भाइको पूजा हुने भएकाले स्वभावतः भाइलाई नै ढोग्ने हो । ढोग्न भनेर भाइको खुट्टामा निधार छुवाउनैपर्छ भन्नेचाहिँ छैन, हातैले खुट्टा छोए पनि पर्याप्त मानिन्छ । उनै भाइले अर्को सन्दर्भमा भने दिदीलाई नै ढोग्नुपर्छ । सामान्यतः प्रसादका रूपमा टीका लगाइदिंँदा ठूला उमेरकाले सानालाई टाउको मात्रै निहुर्‍याएर भए पनि ढोगेको भाव प्रकट गर्ने चलन छ ।


नेवार समाजमा म्हपूजा होओस् वा किजापूजा, मण्डल बनाएर गर्ने चलन छ । लक्ष्मीपूजा गर्दा पनि लक्ष्मीको तस्बिर वा मूर्तिअघि मण्डल तयार पारिन्छ । मण्डल पुजिने व्यक्तिको प्रतीक पनि हो । यही भएर सम्बन्धित व्यक्तिको अनुपस्थितमा पनि म्हपूजा र किजापूजा सम्पन्न गर्न सकिन्छ । मण्डल लेख्ने स्थानमा सबैभन्दा पहिला पानीले चोख्याउने गरिन्छ र पानीले चोख्याएपछि उक्त स्थानलाई कुल्चन त के, नाघ्नु पनि नहुने मान्यता छ । मण्डल बनाएपछि पूजा नसकिउन्जेल त्यहाँ आध्यात्मिक भाव प्रबल रूपमा प्रकट भइसकेको हुन्छ । दुई दिदीले खुट्टा उचालेर भाइलाई ढोगाइरहेको भाइरल तस्बिरमा मण्डलमाथि खुट्टा परेका छन्, जुन सांस्कृतिक रूपमा ठूलो गल्ती हो । र समाजलाई पाच्य भएन ।


नेपालका उल्लेखनीय जातीय समुदायमध्ये जनसंख्याका दृष्टिले सानै आकारको भए पनि इतिहास, संस्कृति, कला, साहित्य, संस्कृति तथा व्यापार–वाणिज्यका दृष्टिले नेवार पनि अगाडि नै पर्छ । नेवार समाज आफ्नै मूल्य–मान्यताका आधारमा यस्तै बाह्य प्रभावहरूलाई पचाउँदै यो स्थितिसम्म विकसित भएको हो ।


बाह्य कुराले प्रभावित हुने र अनेक अभ्यासका नाममा आफ्ना मूल्य–मान्यताविपरीत विषयलाई पनि समेट्दै जाँदा भूगोल, व्यक्ति र सम्बन्धहरू यथावत् रहे पनि समाज अर्कै बनिसक्ने खतरा प्रबल हुन्छ । भूगोल नै परिवर्तन भइसकेको अवस्थामा पनि समाजका मूल्य–मान्यतालाई जोगाइराख्न सक्यो भने समाजले आफूअनुकूल कुराहरू पचाएर विकासको गति लिइरहेकै हुन्छ ।


यो लेखमा उदाहरणका लागि नेवार समाजमा आएको एउटा भ्रम वा विकृतिलाई मात्रै उल्लेख गरिएको हो, यस्ता विसंगति अन्य समाजमा पनि छन् । यस्तो अभ्यासलाई पतनोन्मुख समाजको पहिलो चरण भन्न सकिन्छ र यसको उपचार हो— आफ्ना सामाजिक मूल्य–मान्यतालाई पर्गेल्नु र सचेत हुनु ।


प्रकाशित : कार्तिक २१, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?