कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लद्दाखले सिकाएको पाठ

सुजाता तामाङ

भारतको लद्दाखमा आधुनिक विकासले पारेको प्रभावबारे बेलायती अनुसन्धानकर्ता हेलेन नोवर्ग–होजले ‘एन्सियन्ट फ्युचर : लर्निङ फ्रम लद्दाख’ (आदिम भविष्य : लद्दाखले सिकाएको पाठ’ लेखेकी छन् । उनको यही पुस्तकको आधारमा वृत्तचित्रसमेत बनेको छ । यो किताब पढेर, वृत्तचित्र हेरेर लद्दाख हेर्ने र हिमाल तथा पहाडमा मैदानी विकासको प्रभाव थाहा पाउने कौतूहल थियो ।

लद्दाखले सिकाएको पाठ

केही महिनाअघि लद्दाख र यसैसँग जोडिएको उत्तराखण्डमा पर्ने कुमाउँ पुग्ने अवसर जुर्‍यो । हाम्रो जस्तै पहाडी हावापानी र भूगोल भएका ठाउँको खेतीपाती, ग्रामीण जनजीवन, संस्कृति र स्थानीय अर्थतन्त्रमा मैदानी विकासको प्रभाव देख्न र सुन्न पाइयो ।


२८ वर्षअघि प्रकाशित उक्त पुस्तकमा हेलेनले लद्दाखको राजधानी लेह र वरिपरिका गाउँमा आएको फेरबदलको विस्तृत विवरण प्रस्तुत गरेकी छन् । यसमा उल्लिखित धेरै कुरा आधुनिक विकासको बहसमा सान्दर्भिक छन् । लद्दाखी समाज पहिले बौद्ध धर्ममा आस्था राख्ने, समुदायको अन्तर्निर्भरताको संस्कृतिमा आधारित आत्मनिर्भर समाज थियो, सडक नपुगेको र बाहिरी दुनियाँसँग धेरै सम्बन्ध नभएको निर्वाहमुखी खेतीपातीमा आधारित स्वावलम्बी र आत्मनिर्भर स्थानीय अर्थतन्त्रमा आधारित थियो । त्यहाँको खेतीपाती प्राकृतिक प्रणाली र सामूहिकतामा आधारित थियो । समुदायमा आधारित रैथाने तरिकाबाट स्रोतको बाँडफाँड गर्ने चलन थियो । समुदायका सबै मानिसको जीवनयापन स्थानीय स्रोतसाधन, ज्ञान र सीपमा आधारित थियो । गाउँमा को धनी, को गरिब धेरै ठूलो भिन्नता थिएन ।


जब ७० को दशकमा औद्योगिक र आधुनिक विकास लद्दाखमा भित्रियो, त्यसले रैथाने र परम्परागत ज्ञान, प्रविधि र सीपहरू एकाएक हराउँदै गए, मानिसहरू बाहिरी कुरामा परनिर्भर हुन थाले । लद्दाखमा जीवन निर्वाहका लागि आवश्यक सामग्री मात्र आयात भएन, जीवनशैली र विचारसमेत आयात भयो । गरिब र धनी छुट्याउन नसकिने गाउँघरमा सबैले आफूलाई पछौटे, गरिब र अभावग्रस्त देख्न थाले । यस्तो आयातित विचारको स्रोत भने विदेशी पर्यटक र बाहिरबाट आउने कर्मचारी थिए । त्यति बेला ती क्षेत्रमा विदेशी पर्यटकहरू जो विदामा आउँथे र मनग्गे खर्च गर्थे, उनीहरूलाई हेरेर लद्दाखीहरूले पश्चिमाहरूको जीवन धेरै राम्रो भएको र आफ्नो समुदाय यिनको तुलनामा पछाडि परेको हीनताबोध गर्न थाले । त्यसैले पश्चिमी कुरालाई अनुसरण गर्न थाले । यस्तो परनिर्भर सोच ल्याउन विज्ञापन, बजार, शिक्षा र विकासे कामले टेवा दियो ।


नेपालको पश्चिमी सिमानानजिक पर्ने भारतकै उत्तराखण्डको पिथौरागढ, अल्मोडा, नैनीताल लगायत क्षेत्रले केही वर्ष अघिदेखि बढ्दो जमिन बाँझिने क्रम मात्र होइन, गाउँ नै रित्त्याउने र नजिकका सहरहरू हल्दवानी, खटिमा हुँदै दिल्ली र मुम्बईसम्म सर्ने चलन भोगिराखेका छन् । यो नेपालको अहिलेको अवस्थासँग धेरै मिल्छ । भारतमा यो अवस्था चार दशक अघिदेखि सुरु भयो भने नेपालमा त्यसको केहीपछि सुरु भए पनि अहिलेसम्म झेलिँदै छ । उत्तराखण्डको शिक्षा तथा कृषिमा सक्रिय केहीको कुरा सुन्दा र देख्दा समयमै यिनबाट पाठ सिकेर पहाडी सभ्यता र कृषि संस्कृतिलाई नबचाउनु हाम्रो ठूलो गल्ती हुनेछ भन्ने महसुस भयो ।


बजारिया रहन–सहनले युवा पुस्तालाई आकर्षित गर्ने नै भयो । शिक्षा, स्वास्थ्य, रोजगारी र आम्दानीका लागि सहर पस्ने चलन ह्वात्तै बढ्यो । गाउँ बाँझिदै गयो भने सहरको आकर्षणले परम्परागत जीवनशैली र संस्कृति धरापमा पर्‍यो । यो कुरा लद्दाखको राजधानी लेह र कुमाउँको पिथौरागढमा प्रस्ट देख्न सकिन्छ । अहिले ती बजारमा थुप्रिएका मानिसलाई पर्याप्त काम छैन । साथै आधुनिकताको दौडमा रमाउने होडले भौतिक सुविधासम्पन्न मैदानी सहरहरूमा बसाइँ सर्ने क्रम तीव्र छ ।


चिसो र शुष्क हावापानी भएको लद्दाख हिमाली क्षेत्र नेपालको उच्च हिमाली क्षेत्र खासगरी माथिल्लो कर्णालीका शुष्क क्षेत्रजस्तै छ भने उत्तराखण्डको कुमाउँ नेपालको मध्य पहाडसँग मेल खान्छ । चीनको तिब्बतसँग जोडिएको लद्दाख क्षेत्रलाई सानो तिब्बत पनि भनिन्छ । ती क्षेत्रमा मैदानी आधुनिक विकासको प्रभावले समाजमा जेजस्तो असर पारेको छ, हामी पनि विकसित हुने दौडमा कतै त्यही बाटोमा त गइरहेका छैनौं भन्ने लाग्छ ।


विकास र आधुनिकीकरणले अहिले समुदायहरूको जीवनयापन र सोच्ने तरिकामा व्यापक परिवर्तन आएको छ । तर उपनिवेशमा आधारित पश्चिमीे विकासको प्रतिफल सबै समुदायले उत्तिकै पाउन नसक्ने र यसले प्रकृतिको विनाश निरन्तर बढ्ने हुँदा विकासकै पुनर्व्याख्या गर्नुपर्ने आवश्यकता रहेको छ । यस्तो विनाशमूलक विकासको बाटो गलत छ भन्ने महसुस गरेर पर्यावरण र विकासमा चासो राख्ने केही युवा लद्दाखी समूहले समयमै परम्परागत ज्ञान, सीप, संस्कृति तथा सामाजिक सद्भाव गुमाउने खतरा देखेर सजग हुने अभियान चलाइरहेका छन् । लद्दाखको वैकल्पिक विकास, कुमाउँ–गढवालको चिप्को र ठूला बाँधविरोधी आन्दोलन यसका सशक्त उदाहरण हुन् ।


उक्त क्षेत्रमा विकासले ल्याएको वातावरणीय विनाश, सामाजिक विभाजन र बाहिरीयाहरूको हातमा जाँदै गरेको स्रोत र शक्तिलाई जोगाउँदै स्थानीय समुदायमा फिर्ता गर्ने सही रणनीति हो भन्ने बहस गहिरोसँग चलिरहेको छ । यो बहसमा सामेल अभियन्ताहरू समयमा नै सचेत भएर स्थानीय अर्थतन्त्र जोगाउने, स्थानीय वातावरण तथा स्रोतको संरक्षण र सदुपयोग गर्ने, स्थानीय संस्कृति र मूल्य–मान्यता कायम राख्दै असल पर्यटन बढाउन लागिरहेका छन् । पश्चिमी ढाँचाको शिक्षा अँगाल्दा हिमाली तथा पहाडी भूभागमा आवश्यक जीवनोपयोगी ज्ञानबाट टाढा हुँदै गएको गल्तीलाई सच्याउन स्थानीय विशेषता र जीवन पद्धति बुझाउने शिक्षालाई महत्त्व दिन उनीहरू लागिपरेका छन् । यो सन्दर्भ हाम्रो लागि पनि महत्त्वपूर्ण सिकाइ हुनसक्छ ।


विकास र भूमण्डलीकरणको प्रभावबाट पूर्णरूपमा टाढा हुन नसके पनि त्यसको न्यूनतम प्रभाव कायम राख्दै अघि बढेको लद्दाखी समुदायबाट सिक्न सकिने अर्को असल कुरा हो– स्थानीय अर्थतन्त्रलाई बलियो बनाउँदै हिमाली, पहाडी सामाजिक संरचनाको संरक्षण ।


यो अनुभवबाट उस्तै भूगोल र वातावरण भएको नेपाली समाजले विकासका नकारात्मक प्रभाव बुझ्न र राम्रा प्रयासको सिको गर्न सक्छन् । यसो भनिरहँदा पुरानो परम्परा, रीतिरिवाज, जीविकाको ढाँचा जस्ताको त्यस्तै फर्काउनुपर्छ भन्ने होइन । त्यहाँका समुदायले जस्तै मानवीय मूल्य–मान्यता, समाजमा कायम भाइचारा र अनुशासन, सामूहिकतामा आधारित परम्पराहरूलाई समयानुकूल परिमार्जन गर्दै समाजलाई उन्नत बनाउँदै जान आवश्यक छ । स्थानीयतालाई बुझ्ने मात्रै होइन, स्थानीय स्रोतको सदुपयोग र संरक्षण साथै अरूको अवस्था पनि महसुस गर्नसक्ने सचेत समुदायले मात्र दिगो उन्नतिको मर्म आत्मसात् गर्न सक्छ । आफ्नो जीवनशैली अपनाउँदा अरु समुदायको जीवनयापन र अन्य ठाउँका पर्यावरणमा सकेसम्म कम असर परोस् भन्ने मान्यता आत्मसात गर्न लद्दाखबाटै सुरु भएको ‘सरल जीवन जिऔँ’ अभियानबाट बुझ्न सकिन्छ ।


अहिले नेपाली समाज विकास र आधुनिकताको नाममा आफ्ना आधारहरू बिर्सिएर उल्टो दिशातिर हिँंडिरहेको छ । विकास र समाज जोड्न नसक्नु नै हाम्रो मुख्य चुनौती हो । त्यसमा पनि पुरुषप्रधान पहाडी समाजमा आधुनिक विकासले झनै उत्पीडन थोपरेको छ । यसको मुख्य प्रभाव पहाडमा बस्ने महिलालाई परेको छ । पहाडबाट सहर र मैदानी भूभागमा गएका महिलालाई कुनै उत्पीडन छैन भन्नेचाहिँ होइन । खेतीपाती, पर्यावरण, विकास र जीविकोपार्जनको बहसमा भने प्राय: महिला छुट्ने गरेका छन् । आधुनिकताको नाममा महिलाहरूलाई अझै पाखा लगाइएको छ ।


मैदानमा आधारित कृषि प्रविधि र लवाइ–खवाइलाई उच्च मान्ने गरेको । तर पहाडले सिंगो पर्यावरण, हावापानी, खेतीपातीदेखि सिंचाइ र जमिन व्यवस्थापनलाई पुर्‍याउने मद्दतलाई बिर्सिएको अवस्था छ । मानव, प्रकृति र खेतीपातीको सम्बन्धलाई बिर्सिएर आफ्नो श्रम अर्कैका लागि बेच्ने, रगत–पसिना गरी विदेशमा कमाएको सम्पत्ति सुविधा र विलासिताको नाममा सहरतिरै पठाएर कोलाहल र साँघुरोमा रमाउँदै जाने प्रवृत्ति बढेको छ । पहाडी भू–भागको बाहुल्य रहेको नेपालले सहरमुखी हुँदै पहाडलाई बाँझो बनाउँदै छ । यही क्रममा पहाडबाट समुदायको विस्थापन भइरहे यसले हाम्रो अस्तित्वमा नै संकट ल्याउनेछ ।


प्रकाशित : कार्तिक २०, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?