स्रष्टा अर्थात् सारंगी !

यादव खरेल

जमिनदारहरूले सोझा– साझा अनपढ रैतीहरूलाई पुस्तौंपुस्ता शोषण गरेको इतिहाससँग हामी सबै परिचित छौं । त्यो शोषणको सम्बन्ध मूलत: जमिनसँग थियो ।

निर्धाको बालीमा बलियाको दाइँ

सारंगी रोयो र्‍याइँ, र्‍याइँ, र्‍याइँ ।


जमिनदारी प्रथा उन्मूलन भएको धेरै दशक भैसके पनि त्यो अस्तित्वमा छ । फरक स्वरूप र क्षेत्रमा । नेपाली गीत–संगीतका क्षेत्रमा । हाम्रो संविधानले गीत–संगीतलाई बौद्धिक सम्पत्तिका रूपमा परिभाषित गरेको छ, प्रतिलिपि अधिकार ऐन र नियमावलीले स्रष्टा र प्रस्तोताको हक–अधिकारको पनि व्याख्या गरेको छ । तर पनि धेरै सन्दर्भ र व्यवहारमा त्यो लागू हुन सकेको छैन । निजी त निजी भइहाले, सरकारी सञ्चार माध्यमहरूले पनि स्रष्टाको बौद्धिक र आर्थिक अधिकारको उल्लंघन गरिरहेका छन् ।


कथा यसरी सुरु हुन्छ । स्रष्टाले सम्पूर्ण लगानी गरेर गीतहरूको रेकर्डिङ गराउँछ । अनि ऊ क्यासेट वा सीडी बनाउनका लागि म्युजिक कम्पनीकहाँ धाउँछ । म्युजिक कम्पनीले सम्झौतापत्रमा हस्ताक्षर गराउँदै भिडियो, क्यासेट वा सीडी बनाएर बिक्री गर्छ । म्युजिक कम्पनीसँग क्यासेट, भिडियो र सीडी मात्र बनाएर बिक्री–वितरणका लागि सम्झौता गरिएको हो भन्ने स्रष्टाको बुझाइ हुन्छ । म्युजिक कम्पनीले भने सम्बन्धित सिर्जनाको सम्पूर्ण अधिकार र स्वामित्व आफ्नो हुने गरी काइते भाषामा स्रष्टाको सम्पत्ति जमिनदारले जमिन हडपेजस्तै हडपिसकेको हुन्छ । यस्ता धेरै उदाहरण र प्रमाण छन् ।


नेपाली संगीतको बजारमा आयामिक परिवर्तन आइसकेको छ । यसबाट हुने आम्दानी करोडमा नभएर अर्बमा हिसाब गर्नुपर्ने भएको छ । ८० देशमा नेपालीहरूको बसोबास छ । ४० लाखभन्दा बढी नेपाली विभिन्न मुलुकको श्रम बजारमा छरिएका छन् । विशेष गरी खाडी मुलुकहरूमा । प्राविधिक विकासका कारण संगीतको बेचबिखन हुन सक्ने डिजिटल माध्यमहरू धेरै छन् । हामी स्रष्टाहरू युट्युबलाई मात्र माध्यमका रूपमा हेर्छौं, तर युट्युबभन्दा धेरै आर्थिक लाभ दिने न्यापस्टर, टिडल, एप्पल म्युजिक, गुगल प्ले, स्पोटिफाई, अमेजन म्युजिक, पान्डोरा, नाइन ट्युन्सजस्ता स्ट्रिमिङ एपहरूमा नेपाली संगीतको व्यापार भैरहेको छ । धेरै स्रष्टालाई यसको जानकारी छैन । त्यस्तै, संगीत डाउनलोड गर्ने एपहरूमा पनि विश्वभरि नेपाली संगीतको व्यापार भैरहेको छ । यसबाट पनि स्रष्टाहरूले न्यायोचित लाभ प्राप्त गर्न सकेका छैनन् । खाडीका २८ भन्दा बढी मुलुकमा मोबाइल रिङब्याक टोन बेच्न राखिएको छ र व्यापार भैरहेको छ । एक पटक डाउनलोड गर्दा उपभोक्ताहरूले नेरु १२५ सम्म तिरिरहेका छन् । धेरैजसो स्रष्टाले यो पैसा पाएका छैनन् । नेपालका केही म्युजिक कम्पनीले आफ्नै एप सञ्चालनमा ल्याएका छन्, तर यसबाट हुने व्यापार पारदर्शी छैन । स्रष्टा हकदारहरू यसमा पनि ठगिएका छन् भनी शंका गर्नुपर्ने अवस्था छ । एनटीसी र एनसेलले सीआरबीटी र पीआरबीटीको आम्दानी स्रष्टाहरूलाई दिनुको सट्टा एग्रिगेटरहरूलाई बुझाउने गरेकाले पनि स्रष्टाहरू शोषणमा परेका छन् ।


एनटीसी र एनसेलका सीआरबीटी र पीआरबीटी मात्र नभएर एप्पल म्युजिक, अमेजन म्युजिक, युट्युब म्युजिक, साउन्ड क्लाउड, इम्युजिक, चाइना युनिकन, वानसिक्सथ्री म्युजिक, डिस्कजाम, सेभेन डिजिटल, म्युजिकल्ली, विन्क, इलेक्ट्रिक जुकबक्स, स्पेन्सेट लगायतका पोर्टलहरूबाट नेपाली गीत–संगीतको बिक्री–वितरण भैरहेको छ । तर यसबारे पनि धेरैजसो स्रष्टा अनभिज्ञ छन् । यस्ता माध्यमबाट प्राप्त आम्दानी संगीत संसारका जमिनदारहरूले अर्थात् म्युजिक कम्पनी र एग्रिगेटरहरू तथा संगीत प्रयोग गर्ने मूल प्लेटफर्महरूले खाइरहेका छन् र यसका हकदार स्रष्टाहरूको व्यापक शोषण भैरहेको छ । संगीतबाट भएको आम्दानी लगानीकर्ता, स्रष्टा र एग्रिगेटरका बीचमा बाँडफाँड भएका केसहरूमा पनि एग्रिगेटरहरूले अनुचित प्रतिशत लाभ लिइरहेका थुप्रै उदाहरण छन् ।


शोषित स्रष्टा र संस्थाहरूमध्ये सबैभन्दा बढी शोषण रेडियो नेपालको भएको छ । तर रेडियो नेपालले यस विषयमा संवेदनशील भई चासो राखेको देखिएको छैन । सूचना तथा सञ्चार मन्त्रालयलाई त झन् मतलब हुने कुरै भएन !

हरेक कुराको सीमा हुन्छ । शोषणले त्यो हद नाघिसकेको हुनाले स्रष्टाहरू एकबद्ध भएर आवाज उठाउनुपर्छ । अन्यथा, स्रष्टाहरूले गाइरहनु पर्नेछ—


स्रष्टाको सिर्जनामा जमिनदारको दाइँ

संगीतमै जीवन बिताएँ, खै मैले के पाएँ ?


प्रकाशित : कार्तिक २०, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?