कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

कोरसमै सीमित महिला स्वर

सविता विमली

काठमाडौँ — वर्षैपिच्छे देउसी खेलेको सिस्नुपानीले यसपालि भने तालीमात्र पाएन, गाली पनि पायो । सिस्नुपानीको देउसीसँग केही वर्षयता नेपाल प्रज्ञा प्रतिष्ठानले पनि सहकार्य गर्दै आएको छ । यही सहकार्यले नै यो देउसी सुन्न, हेर्न राष्ट्रका कार्यकारिणीदेखि ठूला भनिएका सबै मानिस पुग्न थालेका छन् । सर्वसाधारणको पहुँचको देउसी अहिले प्रज्ञाको प्रेक्षालयमा थुनिएको सत्य हो ।

कोरसमै सीमित महिला स्वर

तिहारसँगै आउने यो देउसीको स्वाद पर्खिनेको संख्या सानो छैन । हास्यव्यङ्ग्य कर्म गर्नेहरूको संस्था हो यो । पञ्चायती प्रशासनको धरपकडमा परेका तथा पञ्चायती तानाशाहीले दिएको सास्ती देखेर हुर्किएको पुस्ताले प्रजातन्त्रको पुनःस्थापनापछि देखिएका त्यस्तै विकृतिमाथि प्रहार गर्ने उद्देश्यले यो संस्था स्थापित भएको हो ।


यसमा आबद्धहरू पूर्व एमाले निकट अझ प्रधानमन्त्री केपी ओली निकट हुन् भनिन्छ । अधिकांश पूर्वी नेपालका हुनु, अझ त्यसमा पनि झापा जिल्लाका हुनु, झापामा पनि प्रधानमन्त्री ओलीकै निर्वाचन क्षेत्रकै व्यक्तिहरूको संख्या ठूलो हुनुले पनि यो आशंकामात्रै रहँदैन । हास्य कर्म गरिरहेको यो संस्था र यसले खेल्ने देउसीलाई यसमा संलग्न व्यक्ति र तिनका राजनीतिक पृष्ठभूमि, आस्था र पहुँचका आधारमा मात्र हेरिनु त्यति युक्तिसंगत नहुन सक्छ । २०७५ को देउसीलाई खबरदारी देउसी नाम दिइए पनि खबरदारीको भाषा र प्रस्तुति त्यति पेचिला तथा खरा भने थिएनन् ।


जब खबरदारीले मात्रै काम गरेन, तब व्यङ्ग्य तिखो बनेर घोच्नु कुनै आश्चर्य होइन । सरकार स्थापनाका पाँच महिनामै कामको फेहरिस्त सार्वजनिक गरेको सत्ता जब दुई वर्ष बित्न लाग्दा पनि देखिने र सुनिने काम देखाउन र सुनाउन सक्दैन, तब पाँच वर्ष पुग्न तीन वर्ष बाँकी रेशम फिरिरी भन्नु बिराउनु होइन ।


जब हास्य कलाकार तथा कवि शैलेन्द्र शिम्खडाको आफूलाई सिस्नुपानी नेपालले अन्तिम समयमा देउसीबाट अलग गरेको गुनासो बाहिरियो, तब एउटा गहिरो आशंकाले घेर्न पुग्यो । कस्तो होला, यसपालिको देउसी ? खबरदारी देउसी भनिएको अघिल्लो सालकै जस्तो नरम होला कि ? अथवा अझै धेरै नरम होला ? कि सत्ताकै गुणगान पो गर्ला कि ? देउसीको पूर्णपाठ पढेपछि सिम्खडाको व्यङ्ग्य पचाउन नसकेको भन्ने गुनासोलाई देउसीले जितेको महसुस भयो ।


सत्तालाई खबरदारी गर्न, बेथितिमाथि औंला उठाउन गाईजात्रा कुर्नु पर्दैन । विकृति माथिका तमाम प्रहारलाई गाईजात्रे आँखाले मात्रै हेर्नु नागरिकको बोल्न पाउने हकको विपरीत हो ।


२०५५ सालमा स्थापित भएर त्यही वर्षदेखि नै निरन्तर व्यङ्ग्यात्मक देउसी खेल्दै आएको सिस्नुपानीले प्रारम्भमा कवि, लेखककै घरमा देउसी खेल्यो । त्यसको केहीपछि यो विभिन्न सञ्चार माध्यममा पुग्यो देउसी लिएर । त्यही देउसी नै वास्तवमा जनताले देखेको देउसी थियो । जनताले सिस्नुपानीलाई चिन्न, सुन्न र पर्खिन थालेको सम्भवतः त्यहींबाट हो । सत्तरीको दशकको प्रारम्भबाट भने प्रज्ञा प्रतिष्ठानको डबली हुँदै अहिले प्रज्ञाको प्रेक्षालयमा देउसी विराजमान छ । प्रारम्भमा निःशुल्क हल उपलब्ध गराएको प्रज्ञालाई गत वर्षदेखि विज्ञापन बापत उठेको रकमबाट भाडा तिर्न थाले पनि सिस्नुपानी र प्रज्ञा प्रतिष्ठानसँगको सहकार्य भने यथावत छ ।


२०५५ सालमा नौजना संस्थापक सदस्य रहेको यस संस्थामा हाल सदस्य संख्या १५ पुगेको छ । प्रारम्भमा हरिकला उप्रेतीमात्र महिला सदस्यका रूपमा थिइन् । अहिले दुई दशकको यात्रामा अर्की सदस्य सुमी लोहनी थपिएकी छन् ।


मञ्चमा देउसी भट्याउने अनुहारहरू बाइस वर्षदेखि उही छन् । पुरुष सदस्य फेरिएका छैनन्, जो थपिए उनीहरू निरन्तर छन् । तर उप्रेती र पछिल्लो समयमा लोहनीदेखि बाहेकका महिला सदस्यको आउने–जाने क्रम चलिरहेको छ । साहित्यकार हरिमाया भेट्वाल, कवि मोमिला, सन्ध्या पहाडी, रूपा न्यौपाने, देवु लुइँटेल, रुमु न्यौपाने, ओजस्वी भट्टराई, जयन्ता पोखरेल, गरिमा लुइँटेल लगायतका महिलाको उपस्थितिले निरन्तरता भने पाएन । यसपालि उप्रेती, लोहनीसँगै रूपा झाको उपस्थिति रहेको थियो ।


सिस्नुपानीको देउसीमा महिलाको आउने–जाने क्रम चलिरहेको छ । सायद चलिरहला पनि । तर कार्यसमितिमै रहेका महिलाहरूले पनि देउसीमा भूमिका पाएको देखिँंदैन । लाग्छ कि उनीहरू मात्र कोरम पुर्‍याउन उभ्याइएका पात्रमात्र हुन् । कोरस हुन्, गायक होइनन् । कोलाज हुन्, चित्र होइनन् ।


सिस्नुपानीको बाइसवर्षे देउसी यात्रामा देउसी भट्याउने महिला किन जन्मन सकेनन् ? राष्ट्रका तमाम विकृतिमाथि औंला ठड्याउने सिस्नुपानीले उपमै चुप पारिएका महिलाका अवस्थालाई आवाज त दियो, तर आफ्नो मञ्चमा उभिएका महिलाका आवाजलाई किन न्याय गर्न सकिरहेको छैन ? किन महिला स्वरलाई कोरसमै अलमल्याएको छ ? महिलालाई देउसीमा एकल आवाज भर्न दिन किन सिस्नुपानीको नेतृत्व तर्किरहेको छ ? अझै पनि महिलालाई मञ्चको शोभामात्रै ठान्ने साइँदुवा सोच हावी रहेको सिस्नुपानीमा महिलाले भट्याउने देउसीको प्रतीक्षा कहिलेसम्म गर्नुपर्ने हो, हामीले ?


प्रत्येक पटकका अपेक्षामा हिलो छ्यापिरहेछ, सिस्नुपानी ।


देउसी संस्कृतिमाथि सिस्नुपानीले धावा बोलिरहेको भन्नेहरू छन् । हिजोसम्म सिस्नुपानीको देउसीको वाहवाही गाउनेहरू अहिले राष्ट्रका उच्चपदको अपमान गर्‍यो भनिरहेछन् । आलोचना गरिरहेछन् । आलोचना, प्रश्न, सल्लाह नसुन्नु, मन नपराउनु, नसहनु, नपचाउनु सत्ताको स्वभाव हो । अहिलेसम्म पाच्य देउसी आजै आएर आलोचित किन भइरहेछ ? आलोचना गर्नेहरूको अनुहार हेरे पुग्छ ।


मलाई लागेसम्म यसले गाउने देउसीले न संस्कृति बिगारेको छ, न सपारेकै छ । बस् ! यो देउसी परम्पराको निरन्तरता होइन । एउटा क्रमभंगता हो । देशका बेथिति माथिको प्रहार हो । देउसीको विनिर्माण हो । उत्तर–आधुनिक आँखाले यसलाई विपठन वा विप्रयोग पनि भन्न सक्ला ।


तर यसले परम्पराको अनुशरण भने महिलाको प्रतिनिधित्वको नाममा मात्र गरिरहेछ । महिलाका आवाजलाई खुम्च्याउने परम्परा धानिरहेको सिस्नुपानीले बुझ्नुपर्छ कि यो समय महिला कोलाजभित्र मात्रै अटाउँदैनन् । यो समय महिला कोरसमा मात्रै सीमित छैनन् । यो महिलाका सग्ला चित्र कोरिने समय हो । यो महिलाका आवाज अलग्गै चिनिने समय हो । कोरस र कोलाजभन्दा माथि उठेर अलग्गै चिनिने र सुनिने समयमा सिस्नुपानीको मञ्चमा गुञ्जिने तिख्खर र प्रभावशाली आवाजको प्रतीक्षा गरिरहेछ, समय ।


प्रकाशित : कार्तिक १८, २०७६ ०८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?