आर्थिक समृद्धि र हाम्रा चाडपर्व

सुनिता बराल

भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले भनेका छन्, ‘संस्कृति मन र आत्माको विस्तार हो ।’ सामान्य रूपमा बुझ्दा नेहरूको भनाइले मानिस र संस्कृतिबीचको एउटा पक्षलाई मात्रै उजागर गरेझैं लाग्छ तर गम्भीर विवेचना गर्दा संस्कृति मानव इतिहासको जीवन्त अतीतसँग जोडिएर निर्माण भएको अविराम शृंखलालाई हो भन्ने बुझिन्छ । अनेक सभ्यताको जगमा निर्माण भएको नेपाली संस्कृति इतिहास हजारौं वर्ष पुरानो छ ।

चाणक्यको भनाइमा मौलिक सभ्यता र संस्कृति भएको समाजलाई कहिल्यै कुनै शक्तिले परास्त गर्न सक्दैन र त्यही समाजको इतिहास जीवन्त हुन्छ । नेपाली समाज पनि अनेक मौलिक संस्कृतिलाई पहिल्याउँदै र पछ्याउँदै अघि बढिरहेको छ ।


काठमाडौंलगायत सहरी क्षेत्रमा बस्ने मानिस दसैंतिहार मनाउन गाउँघर फर्किने गर्छन् । रमाइलोसँग चाडपर्व मनाएर र वर्षभरिको तनाव भुलेर नयाँ दैनिकी प्रारम्भ गर्ने प्रण गर्ने बेला पनि हो । यही परम्परा सदियौंदेखि चलिआएको छ । मुग्लानमा काम गर्न जाने नेपाली दाजुभाइको कथा त्यसै लेखिएको होइन । दसैंतिहार र चाडपर्वका बेला वर्षभरि श्रम र पसिनाले कमाएको पुँजी संकलन गरी साहुलाई मनाएर घर फर्कने गर्थे तर अहिले कथा अलिकति बदलिएको छ । मुग्लान पस्नेहरू, भारतका विभिन्न सहरमा काम गर्न पुग्नेहरू अचेल खाडीको तातो घाममा डोब खन्दै छन् । उत्तिकै संख्यामा नेपाली चेलीबेटी परदेशमा श्रम गरिरहेका छन् । त्यो पसिनाको कमाइसहित घर फर्केर उल्लासपूर्वक चाडपर्व मनाउन उनीहरूले प्राय: पाउने गरेका छैनन् । कार्ल मार्क्सले भनेझैं विश्वको पुँजीवादी अर्थव्यवस्थाले हाम्रो गाउँठाउँलाई पनि पिरोलिरहेको छ ।


कार्ल मार्क्सले भनेका छन्, ‘सामाजिक परम्पराले असमानता बोकेको हुन्छ ।’ धर्मलाई अफिमको संज्ञा दिँदै मार्क्सले कुनै पनि परम्पराको विकास, विस्तार र प्रवर्धन सामन्ती सत्तासँग सधैँ निकट रहने तर्क गरेका छन् । उनका अनुसार परम्पराले सामन्ती व्यवस्थालाई प्रवर्द्धन गर्न प्रेरित गर्छ तर संस्कृतिले आधुनिक सभ्यतालाई परिष्कृत गर्न प्रेरित गर्छ ।


मार्क्सका अनुसार सामाजिक–आर्थिक अवस्था तथा वर्गीय सम्बन्धले व्यक्तिगत जीवनका धेरै पक्षलाई प्रभावित पार्छ । धार्मिक विश्वास, वैधानिक पद्धतिदेखि सांस्कृतिक संरचनाहरूसम्म यसैबाट प्रभावित हुन्छन् । हरेक कालखण्डको निर्माण निश्चित उत्पादन प्रणालीबाट विकसित हुँदै आएको हुन्छ । यसरी, समाज श्रमिक, सामन्त र पुँजीवादी हुँदै साधनहरूको आवश्यकतामा केन्द्रित उत्पादन प्रणालीमा आइपुगेको छ ।


संस्कृतिले समाजको उत्पादन प्रणालीलाई सन्तुलित पार्न योगदान दिएको हुन्छ । त्यसैले समाजलाई सही मार्गनिर्देशन गर्नकै लागि पनि चाडपर्व, सभ्यता र संस्कृतिलाई नवीन चेतनासाथ अघि बढाउनुपर्छ ।


पछिल्ला दुई दशकमा नेपालको अर्थतन्त्रको ठूलो हिस्सा रेमिट्यान्सले धान्यो । अहिले पनि धेरै नेपाली युवा विश्वका कैयौं देशमा श्रम गरिरहेका छन् । उनीहरूको श्रमबाट प्राप्त ठूलो धनराशि नेपालको अर्थतन्त्रको हिस्सा बनेको छ । अर्कातर्फ, लगानीको बाटो खुला गर्दै सरकारले विभिन्न क्षेत्रको पहिचान गरी मुलुकलाई आर्थिक रूपान्तरणका बाटामा अघि बढाउने जमर्को गरिरहेको छ ।


‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानको प्रतिफलस्वरूप नेपालमा रोजगारीको प्रवर्धन, सुरक्षण र सम्भावनाको व्यापक खोजी हुन थालेको छ । यसले मुलुकलाई सबल र समृद्ध बनाउन सहयोग पुर्‍याउनेछ तर आर्थिक रूपान्तरणसँगै हाम्रा चाडपर्वको ऐतिहासिक र सांस्कृतिक महत्त्व ओझेलमा पर्न थालेको प्रतीत हुन्छ । आर्थिक समृद्धि र विकासका बाटामा अघि बढ्दै गर्दा सामाजिक मूल्यमान्यतालाई पनि शिरोपर गर्नुपर्छ ।


नेपाली चाडपर्वका विशिष्ट सामाजिक, सांस्कृतिक र आर्थिक महत्त्व छन् । चाडपर्व र परम्पराका अन्तर्य भनेकै पारिवारिक एकता, सामाजिक मेलमिलाप, आपसी विश्वास, प्रेम र सद्भावको प्रसार हो । यसले नै नेपाली समाजलाई एकताबद्ध बनाएको छ । सामाजिक संरचनामा अनेकता भए पनि अनेक सांस्कृतिक आयामले नेपाली समाजलाई मालाजस्तै उनेर कसिलो बनाएका छन् । हाम्रो यो सामाजिक संरचनाको विशेषता विकसित भनिएका धेरै देशका लागि पनि अनुकरणीय मान्न सकिन्छ किनभने नेपालको शान्ति प्रक्रिया द्रुत गतिमा पूरा हुनुमा हाम्रो सांस्कृतिक–सामाजिक विशेषताको पनि हात छ ।


प्रकाशित : कार्तिक १७, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?