२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

साग तयारीमा चाहिएको अग्रसरता

सम्पादकीय

दक्षिण एसियाको ओलम्पिक मानिने दक्षिण एसियाली खेलकुद (साग) को १३ औं संस्करण सुरु हुन एक महिना पनि बाँकी छैन । तर समय जति घर्किंदै छ, त्यहीअनुसार आयोजक राष्ट्र नेपालले तयारीका कामहरू गर्न सकेको देखिँदैन । मुख्य खेलस्थल दशरथ रंगशाला नै पूर्ण रूपमा बनिसकेको छैन ।

साग तयारीमा चाहिएको अग्रसरता

यसअघि गत फागुन २५ देखि चैत ४ गतेसम्मका लागि काठमाडौं र पोखरामा हुने तय भएको साग तयारी नपुगेकैले आउँदो मंसिर २५–२४ का लागि तोकिएको हो । यस पटक पनि तयारी नपुगे हाम्रो राष्ट्रिय कार्यक्षमतामै प्रश्न उठ्नेछ । त्यही भएर, जसरी पनि तोकिएकै समयमा भव्यताका साथ खेल आयोजना गर्नुपर्ने दायित्व आयोजक राष्ट्रसित छ ।


दक्षिण एसियाली खेलकुदसित नेपालको ऐतिहासिक साइनो र राष्ट्रिय सान जोडिएको छ । यस उपमहाद्वीप स्तरीय खेलकुद आयोजना गर्ने सोच र पहलको श्रेय नेपाललाई नै जान्छ । पहिलो संस्करणको दक्षिण एसियाली खेलकुद सन् १९८४ मा नेपालमै भएको थियो । अहिले पनि नेपालले आयोजना गर्न सक्ने सबभन्दा ठूलो खेल महोत्सव यही हो । नेपाली खेलाडीले बलियो चुनौती पेस गर्न सक्ने ठूलो प्रतियोगिता पनि यही हो । आजपर्यन्त प्रत्येक नेपाली खेलाडीको सपना उही हुन्छ– देशका लागि यो प्रतियोगिता खेल्ने र पदक जित्ने ।


अहिलेसम्म कुनै पनि भौतिक पूर्वाधारको तयारी शतप्रतिशत पूरा भएको छैन । अबका दिनमा पनि यही गतिमा काम भइरहने हो भने झारा टार्ने हिसाबले मात्र खेल हुनेमा दुविधा छैन । अन्य व्यवस्थापन पक्षको तयारी पनि फितलो छ । नेपालले आफ्नै विगतको सफलताबाट सिक्नसमेत सकेको देखिएन । यसअघि सन् १९९९ मा नेपालले दोस्रो पटक दक्षिण एसियाली खेलकुदको आठौं संस्करण आयोजना गरेको थियो । त्यतिबेला निकै राम्रो तयारी थियो । धेरै अगाडिदेखि खेलकुदको माहोल थियो । खेलाडीलाई एक वर्षअघिदेखि बन्द प्रशिक्षणमा राखिएको थियो । यस पटक तीन महिना राख्ने भनिए पनि कतिको एक महिनाबाट मात्रै सुरु भएको छ । अहिलेसम्म आधाजसो खेलको मात्रै अन्तिम नामावली सार्वजनिक भएको छ । यसपल्ट त्यतिबेलाको कौशलको पूर्ण अभाव देखिएको छ । आठौं खेलमा नेपाल समग्र पदक तालिकामा दोस्रो स्थानमा थियो । यस पटक पनि राम्रो तयारी गरेको भए यस्तै गौरव दोहोर्‍याउने मौका बढी हुन्थ्यो, खेल व्यवस्थापकहरूले यसतर्फ ध्यान दिएको देखिएन ।


सबै देशहरूबीच पालो प्रणालीमा यो खेल आयोजना हुन्छ । पछिल्लो समय हरेक दुई वर्षमा खेल आयोजना गर्ने अवधारणा छ । तर सन् २०१० मा ११ औं साग बंगलादेशमा आयोजना भएपछि १२ औं संस्करण भारतले सन् २०१६ मा मात्र गर्‍यो । त्यतिबेलै नेपालले १३ औं संस्करण आफूले गर्ने प्रतिबद्धता व्यक्त गरेको थियो । यति लामो अवधिमा पनि पर्याप्त तयारी गरिएन । कमनवेल्थ खेल आयोजना गरिसकेको भारतले सागलाई प्राथमिकतामा नराख्नुका आफ्नै कारण होलान् तर नेपालले यस खेलकुद आयोजनालाई कम आँक्न मिल्दैन । तसर्थ, यस पटकको सागमा समावेश २७ वटै खेललाई सानदार ढंगले सम्पन्न गराउन नेपालले कुनै कसर बाँकी राख्नु हुँदैन । अहिले मुलुकसामु एकसाथ दुइटा चुनौती छन्– एउटा साग राम्ररी सम्पन्न गर्ने, अर्को मुलुकले धेरै पदक हासिल गर्ने । यी दुवै तयारीलाई तीव्रतासाथ अघि बढाउनुपर्छ ।


नेपाली खेलकुदमा ठूलो समस्याका रूपमा छ– राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीच खराब सम्बन्ध । साग तयारीको विलम्बमा पनि यही समस्या कारक देखिएको छ । दक्षिण एसियाली खेलकुदको कुम्भ मेला भव्य रूपमा सम्पन्न गरेर राष्ट्रिय गौरव प्रदर्शन गर्नुपर्ने यस बेलामा सबै पक्ष एकजुट भएर काम नगरी धर छैन । अहिले छोटो समयमा धेरैभन्दा धेरै काम गर्नुपर्ने चुनौती छ । केही दिनमा सातै देशका ओलम्पिक कमिटीका प्रतिनिधिले खेल आयोजनास्थल काठमाडौं र पोखरा भ्रमण गर्नेछन् । तिनीहरूले प्रतियोगिताबारे अन्तिम निर्णय लिनेछन् । नेपालले आफ्नो राष्ट्रिय अठोट लगाएर ती प्रतिनिधिलाई सन्तुष्ट पार्ने आधार प्रस्तुत गर्न सक्नुपर्छ ।


प्रतियोगिता सफलतापूर्वक गर्नु खेलकुद क्षेत्रको मात्र नभएर पूरै देशको जिम्मेवारी हो । कदाचित निर्धारित समयमा प्रतियोगिता नभएमा दक्षिण एसियाली खेलकुद वृत्तमा नेपालको आलोचना हुने निश्चितै छ, त्यसले देशकै छविमा आँच आउनेछ । तसर्थ, अब एउटै विकल्प छ– जति समय बाँकी छ, त्यसको अधिकतम प्रयोग गरेर देशको इज्जत बढाउने । त्यसका लागि सरकारले बजेट, जनशक्ति र व्यवस्थापन कौशलका लागि राष्ट्रिय अठोर र शक्ति प्रयोग गर्नुपर्छ । दक्षिण एसियाली क्षेत्रमा आफ्नो व्यवस्थापन दक्षता प्रदर्शन गर्ने र छवि उजिल्याउने यस महत्त्वपूर्ण मौकाको पूर्ण सदुपयोग गर्न नेपाल चुक्नु हुँदैन ।


प्रकाशित : कार्तिक १७, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?