१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

टोरन्टोमा नेपालको साहित्य बहस

अभि सुवेदी

हामीले साहित्यको बाटो गरेर चेतनाका अनेकौं युग हिँडेछौँ । एकतन्त्री शासन होस् कि लोकतान्त्रिक साहित्यको बाटोबाट चेतनाका कालखण्डहरू बनाएछौँ । यसरी नेपाल र बाहिर हाम्रा रचना नै हामीले बुझ्ने र बुझाउने युगका बहस भएछन् । हामीले रोजेको माध्यम साहित्य र कला राजनीतिजनिन ऐतिहासिक प्रणालीको समानान्तर शक्ति हो ।

टोरन्टोमा नेपालको साहित्य बहस

साहित्य मौखिक वा गेय होस् कि लेख्य वा मुद्रित, त्यो एक समानान्तर धार र शक्ति भइआएको इतिहास छ । यसका चेतना बनाउने र फैलाउने आफ्नै प्रणाली हुन्छन् । मैले २५ अक्टोबर २०१९ को दिन क्यानाडाको टोरन्टो विश्वविद्यालयको दक्षिण एसियाली विभागको निमन्त्रणामा प्रस्तुत विचारको सार थियो यो । यो लेखमा तिनै प्रस्तुतिका केही सार र यात्राको अनुभव राखेको छु ।


दुवईबाट एकोहोरो अलास्का हुँदै १४ घन्टाको उडानबाट अलिक काठमाडौँली भाइरल बिमारले थाकेको देह र मन लिएर टोरन्टो पुग्नु मेरानिम्ति एउटा निकै चुनौतीको विषय थियो । मैले यस्तो पट्यारलाग्दो उडान सन् १९९४ मा अमेरिका जाँदा गरेको थिएँ, त्यसपछि यही हो । निकै यात्रा गरें, तर मेरो देह र मनले भने अनुसार यो निकै असहज यात्रा थियो । शंकर लामिछाने दाइको शीर्षक अर्धमुदित नयनका सूक्ष्म कल्पना नभएर ती पट्यारका क्षणहरू थिए । यही अर्धमुदित अवस्थामा एउटा श्वैरकल्पनाको उपन्यास लगभग बनाएँ । त्यसमा म आफैं पात्र थिएँ । ‘म्याजिक रियालिजम’ को त्यो उपन्यास लेखेँ भने यो यात्रा सम्झिनेछु, फेरिफेरि । नेपालका घटना शृङ्खलाहरूबाट बुझेका छौँ हामीले, अहिले यथार्थमा पाइला टेक्नुपर्ने बेला आएको छ । युग परिवर्तन भएको उत्तेजना यथार्थ हो । तर मेरो काल्पनिकीमा देख्दै गएँ, हामी सबै त्यो उत्तेजनाले दिएका सुन्दर कुरालाई यथार्थबाट धकेल्दै बाहिर निकालिरहेका छौँ ।


टोरन्टो विमानस्थलमा मलाई लिन त्यहाँ अध्यापन र अनुसन्धान गरिरहेका, नेपाली र अंग्रेजी भाषाका कवि र मित्र अनि आफ्ना पूर्वविद्यार्थी पुष्प आचार्य घना केशमुनि अलिअलि हाँसेर उभिएको देखेपछि लाग्यो, ‘म्याजिक रियालिजम’ को मेरो उपन्यास हुस्सेजस्तै विस्तारै हराउँदै जाँदैछ । कलिलो घाम सफा आकाशबाट झरिरहेको छ । अनि अर्को हँसिलो युवक पनि अगाडि आउँछन् । देख्छु, ती यताको कुनै थलोमा अन्तर्ध्यान भएका थिए, मेरानिम्ति । मेरा प्रिय विद्यार्थी, मेरो जोडले निकै अघि लिम्बु मौखिक काव्यमा एमएको थेसिस लेखेका डिल्ली इन्दिङ्गो थिए ती । पुष्पले भने, ‘भोलि यिनले हामीलाई उनको गाडीमा नायगरा फल्स लाने भनेका छन् ।’ नायगरा फल्स चित्र र पेन्टिङमा देखेको र कल्पना गरेको भन्दा अलिक फरक तर झ्वाम्म समाउने तरल दृश्य थियो । यो अमेरिकी इन्डियन भनिने आदिवासी सभ्यतादेखिका नाम र स्मृति बोकेको झर्नामा युरोपेलीका इतिहास जोडिन पुगे । एकाध अनौठा कथाहरू लेखिए र भनिए । इङ्लिस चेनल पहिलोपटक पौरेर पार गरेका कप्तान माथ्यु वेब यतातिर आफ्नो साहसको अर्को प्रयोग गर्न आए । सन् १८७५ मा नायगरा फल्सबाट पनि चेनलमा जस्तै साहसपूर्वक पौडिँदै निस्कन खोज्दा ती त्यतै हराए ।


युरोपेलीहरूले अमेरिकी महादेशमा आएर देखेको प्रकृति कवि वर्डस्वर्थको बेलायती सुन्दर छाँगो थिएन, अनि प्रकृति सधैँ नयनाभिराम थिएन । अमेरिकी साहित्यमा चित्रण भएको प्रकृति निकै उत्ताल र चुनौतीपूर्ण छ । अमेरिकीहरूलाई (क्यानाडेली पनि पर्छन्) अरुको उत्ताल भूमिमा आएर बसेका छौँ भन्ने चेतनाले अहिले पनि छाडेको छैन । यहाँको प्रकृति उनीहरूको धर्म होइन, कर्ममात्रै हो । त्यसैले ती अहिले पनि आदिवासीका भूमि ध्वस्त पारेर तेलका पाइप ओछ्याउँछन्, संरचना बनाउँछन्, अनि जंगल नष्ट गर्छन् । त्यसको पछिल्लो उदाहरण सरकारकै सहमतिमा लागेको ब्राजिलको अमेजन जंगलको डढेलो हो । यता दक्षिण एसियातिर विशाल जलराशि मिथक र काव्य हो । मानसरोवरको जलराशिको एकाछेउमा एउटा काकभुशुण्डी पन्क्षी बसेर महाकाव्य र सृष्टिका कथा भन्छ । गंगानदीको छाँगो महादेवका जटामाथि खस्छ, अनि नदी भएर प्रवाहित हुन्छ । नेपालका जलराशिसँग महाकवि र कविताका अभिव्यञ्जना जोडिन्छन् । नेपाल र भारतका यस्ता महाकाव्यिक जलराशि विनाश गर्न पुँजीको अन्धाधुन्द युग ल्याउनेहरू लागेका छन् । जलप्रवाह र मानिसको काव्यिक सम्बन्ध भ्रमित हुँदैछ ।


मलाई आमन्त्रण गर्ने दक्षिण एसिया केन्द्रका निर्देशक क्रिस्टोफ एमरिख सन्दर्भहरू र केन्द्रले मबाट चाहेको कुरा सुनाउँछन् । अनि पुष्प आचार्य मेरो परिचय दिन्छन् । लाग्छ, कतै नेपालमै छु । प्राज्ञिक र अन्य कर्मका प्रतिभाशाली नेपालीहरूको पनि उपस्थिति छ, जसमध्ये मेरा पहिलेका त्रिविमा पढाएका विद्यार्थीहरू पनि देख्छु । लाग्छ, मैले लेखेको संकथन पत्र लामो छ, अनि अलिक क्यानभास फराकिलो गर्न चाहेको छु ।


यो पत्र मैले केही समयदेखि अध्ययन गरिरहेको विषयमाथि लेखेकोले त्यहाँ सार कुरामात्र राख्छु र छलफलको निम्ति पर्खिन्छु । मेरो भनाइको सार यस्तो छ– नेपाल सामन्ती प्रणालीबाट ढिलो गरी बाहिर निस्केको वा निस्कन लागिरहेको समाज हो । त्यो समाजमा हिजोदेखि आजसम्म हेर्दै जाँदा दुइटा कुराको समानान्तर विकास भएको देखिन्छ । एउटा सामन्ती शासन, व्यवस्था र त्यसको चेतना अघि बढ्न नदिने संस्कार र सरकार अनि अर्कोतिर चेतनालाई स्वतन्त्र राख्ने, अनेकौं उपाय गरेर स्वतन्त्र मानिसको बोल्ने वा गाउने अनि लेख्ने पद्धतिलाई कायम राख्ने समानान्तर सिर्जनशील कर्म । मौखिक परम्परामा लोकगीत र कविताबाट यो कायम गरियो । भाका र लय, लोकस्मृतिको प्रयोग यस परम्पराका शैली भए । राज्यले लेख्न प्रतिबन्ध लाएको नेपाल भाषामा बुद्ध र हिन्दु धर्मजनिन गीतको माध्यम त्यस्तै समानान्तर शक्ति थियो ।


लोक वा मौखिक परम्पराबाट लेख्य परम्परामा नेपाली काव्य वा गद्यविधालाई लानु एउटा समानान्तर शक्तिको रचना गर्नु नै थियो । यो हामी साहित्य समीक्षा लेख्नेहरूले पनि खासै ध्यान नदिएको विषय हो कि त जस्तो लागेको हो मलाई, अहिले । मैले बनारसमा नेपाली साहित्यिक विधाका किताब छापेर नेपालका बजारमा पठाउने यतैबाट गएका नेपाली लेखक र प्रकाशकले गरेका कर्मलाई समानान्तर सिर्जना सामर्थ्य मानेको छु । यस विषयका अध्येताहरूले उन्नाइसौं शताब्दीको अन्त्यदेखि लगभग सन् १९२५ सम्ममा मुद्रण भएका किताबहरूका उदाहरण दिएका छन् । बनारसमा छापिएर नेपाल भित्रनेमा रामायण, महाभारत काव्य, लोकविश्वास र सौन्दर्यशास्त्रका किताब पर्छन् । सन् १८९६ देखि १९२० सम्ममा मात्रै झन्डै तीन लाख थान किताब प्रकाशन र वितरण भएका तथ्य भेटिए । यो बेला नेपालमा राणाशासन थियो । यी सबै प्रकाशनमा राणा शासकहरूले पनि यो समानान्तर शक्तिलाई हात लिन अनुदानहरू गरेका उदाहरण पनि भेटिए । तर सन् १९२५ सम्ममा भानुभक्त आचार्य (१८७१–१९२३) को रामायणको २१ सौं संस्करण बजारमा आउनु त्यो बेलाको मुद्रण र कविताको बजारको हिसाबले सानो कुरा थिएन ।


यो साहित्यले बुझाएको समानान्तर शक्तिको विषयलाई म स्वतन्त्र कल्पनाको वैश्विक तरङ्गको रूपमा उदाहरणसहित प्रस्तुत गर्दै जान्छु । रोमानी कल्पना भनिने त्यो बेलाको लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ र अरु केही कविको प्रयोगलाई राणाशासनकै बेला पनि साहित्यको समानान्तर शक्तिले ल्याएको मुक्ति चेतनाको प्रयोगको रूपमा व्याख्या गर्छु । राज्यशक्ति वा शासकहरू त्यही चेतनाको विस्तारलाई दबाउने कर्म गर्थे । समाजमा स्वतन्त्र कल्पनाको उडान गर्ने अनुमति थिएन, तर पनि साहित्यको, विशेषगरी काव्यको प्रयोग भयो । भन्दै जान्छु, यो समानान्तर शक्ति भनेको युगिन वैश्विक चेतनाको साहित्यमा प्रयोग हो । मार्क्सवाद अनि यो पछिल्लो समयमा आधुनिकता वा ‘मोडर्निजम’, उत्तरआधुनिक वा ‘पोस्ट मोडर्निजम’ भनेर साहित्यमा जुन छलफल भई आए, तिनको सामाजिक, सांस्कृतिक वा राजनीतिक अर्थ हुन्छ । तर साहित्यले यो समानान्तर चेतना प्रवाह र प्रयोगको शैलीलाई अगाडि बढाएको भए पनि राजनीतिक र सामाजिक क्षेत्रमा यी विचारका खासै बहस भएनन् ।


छलफल हुन्छन्, लामै प्रस्तुति हुन्छ । क्रिस्टोफ छलफल गराउन चाहन्छन् । सटिक तर्कहरू उठ्छन् । म आफ्नो सिद्धान्त व्याख्या गर्दै जान्छु । भोलिपल्ट लक्ष्मी जयन्तीको दिन नेपाली साहित्य समाजका रविन थपलिया र खेम गुरागाईंको निमन्त्रणामा जान्छु । देवकोटाको व्याख्या गर्ने पद्धतिमा परिवर्तन आउनुपर्छ भन्ने मेरा पछिल्ला मान्यताका केही बुँदा राख्छु । विद्यावारिधि गरेर शिक्षक भएका मेरा केही पहिलेका विद्यार्थी र साहित्यकार भेटिन्छन् । छलफल हुन्छन् । गोविन्दसिंह रावतको आप्रवासन साहित्य समीक्षाको किताब विमोचन गर्छु । मेरा देवकोटा समीक्षा बारेका पछिल्ला धारणाको संकथन अलग्गै लेख्नु छ ।


टोरन्टोको बसाइ छोटो भए पनि मलाई यो अनुभव तीव्र, आसन्न र प्रेरक भएको छ । पुष्प आचार्य विश्वविद्यालयको तुलनात्मक साहित्यको छलफल उनको विभागमा गराउँदैछन् । म सहभागी हुन्छु । क्यानाडाका विभिन्न सहरमा संगीत प्रस्तुति र प्रवचन गर्दै हिँडेका सलिलले टोरन्टोमा गर्ने प्रस्तुतिमा कविता पनि प्रयोग गर्ने योजना बन्दै रहेछ । नेपाली साहित्य र कलाका साधकहरूले यसरी साहित्य, संगीत र कलाका प्रयोग गरिआएको कुरा समानान्तर शक्तिकै वैश्विक आयाम हो ।


प्रकाशित : कार्तिक १६, २०७६ ०८:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?