लोकतन्त्रका ‘लोक’

सरिता तिवारी

एक जना साहित्यिक संगठक मित्रको घरमा पाहुना बन्न पुगियो । साँझ गफ गर्न वरपरका मान्छे भेला भए । भलाकुसारीका क्रममा साथीका बाले तीस हाराहारी उमेरका छोराबारे जिज्ञासा राखे, ‘नेता बन्छु भनेर हिँड्यो ! कुद्या कुद्यै गर्छ । के छ, यसको छेकछन्द ? अलि ठूलै नेता बन्छ कि भारेभुरे मात्रै ?’

ZenTravel

हामी आफ्नै भविष्यका असंख्य अनिश्चितताका बीचमा हुन्छौं । अरूको व्यक्तित्वको भविष्यवाणी गर्ने दुस्साहस झन् कसरी गर्न सक्छौं ? भोलिका दिनमा को कस्तो बन्ला, अहिल्यै कसरी भन्न सकिन्छ ? फेरि पनि जिज्ञासा राखिएको व्यक्तिबारे हालसम्मको बुझाइबाट बनेको प्रत्युत्तर दिएँ ।

विगतमा विद्यार्थी राजनीतिमा ज्यान फालेर लागेका ती युवा यतिखेर पार्टीको प्रत्यक्ष राजनीतिमा छैनन् । तर पार्टीका कतिपय नेताको गम्भीर नजरमा छन् । पार्टीका लागि आवश्यक पर्दा उद्घोषण, भाषण, पर्चालेखन इत्यादि गर्न बोलाइन्छन् । अध्ययनशीलता, नेतृत्व क्षमता र संगठन गर्ने कला देखेकै कारण म उनीभित्र विशेष सम्भावना देख्छु । इमानदार छन् । खुराफात, तिकडम गर्दैनन् । त्यसो हुँदा आजको ‘राजनीतिक’ रंगमञ्चमा पूर्ण रूपले ‘फिट’ भएर सफलता पाउने सम्भावनाचाहिँ कम देख्छु ।

‘नेता बन्ने हो भने पार्टीकै नेता बन्नुपर्छ, हेर्नुस् । लेखकको नेता भएर के काम ? पढाइले, इमानले के हुन्छ ? हो, सुरु–सुरुमा खुब इमानी बन्नुपर्छ । सबैलाई भरोसामा पार्नुपर्छ । तर भोलि राम्रो ठाउँमा पुगेपछि त्यति बेलासम्मको लागत ब्याजसमेत उठाउनुपर्छ । टन्न सम्पत्ति जोड्नुपर्छ । आफन्त, इष्टमित्रलाई पनि हेर्नुपर्छ । बुझ्नु भो ?’ गफको प्रसंगमा एक जना छिमेकीले राखेको यो भनाइ सीधा र स्पष्ट थियो ।

हामीले झुठ र भ्रष्टतालाई कसरी संस्कृतिकै रूपमा अनुमोदन गरिसकेका रहेछौं ! त्यो कति सामान्य र सहज भैसकेको रहेछ ! खेतीकिसानीबाट आजीविका गर्दै उमेरको ठूलो हिस्सा काटेका ती सरल मानिसको कुराले मेरो दिमागका तार नराम्रोसँग बटारिए ! व्यवस्थाका समस्या र विडम्बनाहरू नेता र नेतृत्व, कर्मचारीतन्त्र र प्रशासनभित्र चाहिँ देख्ने तर लोक अर्थात् जनताको मानसमा जब्बर भएर बसेको भ्रष्टतालाई भने खासै ध्यान नदिने समस्या छ हामीसँग । आखिर नेता यही समाजबाट, यहीँको संस्कार र चरित्रबाट निस्केर उत्पादन हुन्छ । हामी यही चीज बिर्सिरहेका हुँदा रहेछौं ।

अनुभवले देखाउँछ, जनता त्यति बेलासम्म असल, आदर्श नेताको कल्पना गर्छन्, जति बेलासम्म नेतासँग आफ्नो प्रत्यक्ष स्वार्थ–सम्बन्ध स्थापित हुने सम्भावना रहन्न । आफ्ना इष्टमित्र, आफन्त वृत्तबाट कोही नेतृत्वमा पुग्नासाथ सतहमा ‘लोक’ अर्थात् जनसाधारण वर्गको समेत नैतिक हैसियत देखिन थाल्छ । आँ–आँ गरेर माउको चारो पर्खेका बचेराझैँ ती सार्वजनिक पदधारी अमुक आफन्त नेताको कृपाभन्दा पर केही देख्दैनन् । मौका पाए जस्तोसुकै झुठ र अनियमितताका लागि उत्प्रेरित मात्रै गर्दैनन्, आफैसमेत उद्यत हुन्छन् । त्यसैले खराब र दुर्नाम शासकको चर्चा गर्दा ‘जनता’ को दिमागमा झाँगिएको भ्रष्टताको पनि भर्त्सना गर्नु जरुरी छ ।

‘अधम’ हरूको शासन
आधुनिक लोकतन्त्रमा जनताको मतको महत्त्व सर्वोपरि छ । यस्तो पद्धतिमा नेतृत्व मात्रै परीक्षित हुँदैन, पार्टी र नेतृत्वलाई अनुमोदन गर्ने जनताको चेतना पनि परीक्षित हुन्छ । आवधिक निर्वाचनमार्फत देशको स्टेरिङ थाम्ने हात छान्ने हक पाएको साधारण जनता निर्वाचनका बेला जति बलियो लाग्छ, निर्वाचनपछिका वर्षहरूमा त्यति नै कमजोर ! त्यस्तो किन हुन्छ भने, हिजोका ‘बलिया’ तिनै जनता अब अनेक स्वार्थ र आकांक्षा बोकेर नेताको परिक्रमा गर्न थाल्छन् । चाप्लुसी गर्न र रिझाउन थाल्छन् । त्यसपछि नेता तमाम दु:खको मुक्तिदाता, महाबली ‘ईश्वर’ कै आसनमा विराजित भएको अतिरेकमा पुग्छ । त्यस्तो नेताले जनतालाई निरीह रैती मात्रै देख्न थाल्नु आश्चर्य होइन । यस प्रकार आधुनिक युगका ‘महाबली’, दम्भी र मूर्ख शासक आफै जन्मने होइनन्, जनताले जन्माउँछन्, त्यो पनि लोकतन्त्रकै नाममा ।

अंग्रेजीमा एउटा शब्द छ— ककिस्टोक्रेसी । यसको अर्थ हुन्छ— बुद्धिहीन, अधम र बेइमानहरूले चलाउने शासन । सत्रौं शताब्दीमा पल गस्नोल्डले प्रयोग गरेर थालिएको यो शब्दको उपयोग त्यसपछि अनेक कवि–लेखकले गरे । यद्यपि अभिजातवर्गीय शासन (एरिस्टोक्रेसी) को विपरीतार्थमा पनि यसको प्रयोग हुने गरेको छ । बीचको लामो समय लगभग प्रयोगमा नआई थन्किएको यो शब्दलाई पछिल्ला वर्षमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका आलोचकहरूले पुन: प्रचलनमा ल्याएका छन् । ‘वान नेसन अन्डर ट्रम्प’ का सहलेखक नर्मन अर्नस्टेनले ट्रम्पको ह्वाइट हाउस आगमनको वर्षदिनपछि लेखे, शासकको चरित्रसँगै पुरानो शब्द फर्किएको छ, आजको अमेरिकामा ! हुन पनि, मुर्ख्याइँ र सुर्‍र्याइँकै भरमा अमेरिकाजस्तो ‘सुपर स्टेट’ चलाइरहेका ट्रम्पले केही दिनअघि मात्रै फेक पत्रकारिता गरेको, जतिखेरै आफ्नो आलोचना गरेको भन्दै राष्ट्रपति निवासमा ‘वासिङ्टन पोष्ट’ र ‘न्युयोर्क टाइम्स’ दैनिकको सदस्यता नवीकरण रोकिदिएका मात्रै छैनन्, ती अखबारलाई निषेध नै गरिदिएका छन् । सत्य के हो भने, यस्ता ट्रम्पलाई देशको सर्वोच्च पदमा पुर्‍याउने अरू कोही होइनन्, त्यहीँका लोक अर्थात् जनता हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पका आलोचकद्वारा अत्यधिक प्रयोग गरिएको ‘ककिस्टोक्रेसी’ नेपाली सान्दर्भमा हुबहु मिल्छ । हामीले पटक–पटक अक्षम र अधमहरूलाई आफ्नो भाग्य र भविष्य कोर्ने जिम्मा दिएका छौं । वर्तमान सरकारको गतिविधि र प्रधानमन्त्रीले बोलेका कुरा सुन्दा ककिस्टोक्रेसी अर्थात् ‘अधम’ शासनको उत्कर्ष रूप यस्तै हुन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ ।

अलि पहिले प्रधानमन्त्रीले भने, ‘संविधानले मिल्ने भए दुइटा प्रधानमन्त्री पनि बनाउँथ्यौं । यो पावरको कुरो होइन, देश बनाउने कुरा हो ।’ जगत्लाई थाहा छ, शक्तिको उत्कट लोभ नहुँदो हो त उनकै पार्टीमा कहीँ नभएको द्वैध–अध्यक्षताको अभ्यास किन गरिन्थ्यो ? शक्तिको दर्पले गजक्क फुलेको मुद्रामा उनी बोलिरहँदा भिडियोको पार्श्वमा गललल हाँसो छुट्यो । पंक्तिकारलाई भने प्रधानमन्त्रीका यस्ता बोली व्यवस्थामाथिको चरम उपहास र व्यंग्यका रूपकभन्दा बढी केही लाग्ने गरेका छैनन् । उनी बेलाबेला बुद्धि र बौद्धिकप्रतिको तुष ओकलिरहन्छन् । नैतिक संकटको भुमरीमा फसिरहेको प्रतिपक्षी दलभन्दा कता हो कता बलियो र आक्रामक बौद्धिक वर्गलाई थला पार्ने कुरा दोहोर्‍याइरहँदा उनी आफूलाई मैदानको एक्लो विजेता महसुस गर्दा हुन् । तर बारम्बार बुद्धिको उपहास गरिरहँदा उनी बौद्धिकहरूप्रति कतिसम्म भयाक्रान्त भएर यस्ता मूर्ख अभिव्यक्ति दिन्छन् भन्ने पत्तो पाउन गाह्रो छैन ।

‘लोक’ स्वाधीन विवेकले सोच्ने र विवेकसम्मत निर्णय गर्न सक्ने अवस्थामा नपुग्दासम्म ‘ककिस्टोक्रेसी’ अर्थात् अधमहरूको शासन लोकतन्त्रको त्रासदी रहिरहनेछ ।

उन्मुक्त विवेकको क्रान्ति
नेपाल र अपवादलाई छोडेर विश्वका लगभग सबै देशमा पुँजीवादी प्रजातन्त्र भर्सेस साम्यवादी अधिनायकत्व बीचको द्वन्द्व करिब–करिब समाप्त भएको छ । ‘पावर सिफ्ट : नलेज, वेल्थ एन्ड भोइलेन्स एट द इड्ज अफ द ट्वेन्टी फर्स्ट सेन्चुरी’ का लेखक एभलिन टफलर एक्काइसौं शताब्दीको लोकतन्त्रको चुनौतीका रूपमा शासकको दिमागमा बौरिएको एघारौं शताब्दीको अन्धयुगीन चेतलाई देख्छन् । आजको लोकतन्त्रका सबैभन्दा ठूला सकस लोकतान्त्रिक पद्धतिको माध्यमबाटै निर्माण भएका मूर्ख शासकहरू हुन् । गलत शासनको आलोचना गर्न जनताको पंक्ति सही र ठीक विन्दुमा उभिएको हुनुपर्छ । त्यहाँ क्षुद्र व्यक्तिगत लोभ, स्वार्थ र अपेक्षा हुनु हुँदैन । त्यसो हुनलाई जनता स्वाधीन विवेक र उन्मुक्त चेतनाको क्रान्ति गर्न तयार हुनुपर्छ । हाम्रो बीचबाट जन्मेर निस्कने नेतासँग हाम्रा अपेक्षाहरू नैतिक, मर्यादित र सामूहिक–सामाजिक स्वार्थसँग जोडिएको हुनुपर्छ, तब मात्रै सक्षम, योग्य र समाजको भविष्यप्रति विश्वस्त हुन सक्ने नेतृत्व निर्माण हुन सक्छ ।

अक्षम शासकका हर्कतले वाक्क–दिक्क परेर तिनलाई धीत मरुन्जेल गाली गरिरहँदा अति व्यक्तिगत आशाको पुलिन्दा बोकेर साम, दाम, दण्ड, भेद हरेक कुरामा पारङ्गत भए मात्रै नेता बनिन्छ भन्ने पारिवारिक, सामाजिक स्कुलिङ कति जब्बर छ भन्ने पनि ख्याल राख्नुपर्छ । आज बन्दै गरेका नेता भोलि देशको नेतृत्व थाम्ने मिहिँखम्बा हुन् । हामीले कल्पना गरेको असल र आदर्श नेता अभ्यासमा पनि त्यस्तै होओस् भन्न ‘लोक’ को चेतना सबै खालका भ्रष्टताको रोगबाट मुक्त हुनुपर्छ । जनसाधारणको मनोदशा नै भ्रष्ट र स्वार्थी रहिरहुन्जेल शुद्ध र चोखो लोकतन्त्रको कल्पना निरर्थक छ । जायज–नाजायज अपेक्षाको चाङ तेर्स्याएर ताक परे जस्तोसुकै तरिकाले पनि चाप्लुसी गर्ने, नेतृत्वलाई ईश्वर र मुक्तिदाताको स्थानमा विराजित गरी तिनका मूर्खता र बहुलट्ठीपनमाथि आँखा चिम्लेर शक्ति र सत्तासँग नतमस्तक हुने ‘लोक’ नै वास्तवमा लोकतन्त्रका खतरा हुन् । लोकको विवेकमा शुद्धीकरणको क्रान्ति नभई व्यवस्थाको, नेतृत्वको शुद्धीकरण सम्भव छैन ।


प्रकाशित : कार्तिक १४, २०७६ ०८:४०
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

रूपान्तरणको व्यंग्य

सरिता तिवारी

‘स बैभन्दा पहिलो रूपान्तरण, पहिलो क्रान्ति आफूविरुद्ध गरौं । आफैंविरुद्ध निर्मम र कठोर बनौं । सांस्कृतिक रूपान्तरण सम्भव छ ।’ 

गत असोज ११ गते चितवनको एउटा अन्तरक्रियामा वक्ताका रूपमा आमन्त्रित नेता चित्रबहादुर केसी यसो भन्दै थिए । पंक्तिकारले सहजीकरण गरेको उक्त कार्यक्रमका अर्का वक्ता थिए, प्रेम रिमाल । रिमाल चितवनको बौद्धिक वृत्तमा वचन र कर्म दुबैले सांस्कृतिक रूपान्तरणको इमान राख्ने आँटिला व्यक्तिका रूपमा चिनिन्छन् । वर्तमान कम्युनिस्ट आन्दोलनमा सांस्कृतिक रूपान्तरणको सान्दर्भिकता खोजिएको त्यस बहसको आयोजक थियो— प्रगतिशील लेखक सङ्घ, चितवन शाखा ।

दुई सय बढी सहभागीले खचाखच हलमा अधिकांशतः कम्युनिस्ट स्कुलिङका मानिसहरू थिए । सांस्कृतिक रूपान्तरणको विषयमा अनेकौंपल्ट प्रशिक्षण लिएका, बहस गरेका स्थानीय नेता र कार्यकर्ता ! तर सत्ताधारी नेकपातर्फका सहभागी भने अति कम थिए । सत्तानिःसृत खान्की सोहोर्ने, नेतागणको चाकरी गर्ने व्यस्तता छोडेर यस्ता बहसमा आइरहने फुर्सद तिनलाई कहाँ हुनु ?
000
भौतिकवादी, विज्ञानसम्मत, स्पष्ट चिन्तन । सादा, नैतिक, समतावादी कर्म । यी दुई कुराले सुसज्जित मानिस कम्युनिस्ट हुन्छ भन्ने मानिन्छ । संस्कृति र आचार व्यवहारमा क्रमिक विकास (इभोल्युसन) होइन, क्रान्तिकारी छलाङ (रिभोल्युसन) हुनेगरी व्यक्ति र समाजको संस्कार परिवर्तन हुनुपर्छ भन्ने दीक्षालाई जीवनको न्युनतम आदर्श मान्ने र व्यवहारमा पनि चरितार्थ गर्नेहरू कम्युनिस्ट हुन्छन् । व्यक्तिगत हितभन्दा सामूहिक हितलाई सर्वोपरी राखेर जीवनलाई जनवादी, समाजवादी आदर्शले चलाउने मानिसहरू कम्युनिस्ट हुन्छन् । यो कुरो मार्क्सवादी पाठशालाको आधारभूत सिकाइ हो । यो अर्कै कुरा हो कि नेपालमा आफूलाई कम्युनिस्ट भन्न चाहने ठूलो पंक्ति अहिले कम्युनिस्ट आदर्शबाट पूर्णरूपले च्युत भैसकेको छ, तथापि ऊ आफूलाई कम्युनिस्ट नै भनाइरहन चाहन्छ ।

तै, चितवन प्रलेसले यतिको पहल गर्‍यो । किनभने बहस थाल्नै पनि अलिबेर घोरिएर सोच्नुपर्ने अवस्था छ । एक, सांस्कृतिक रूपान्तरणको विषयमा छलफल गर्ने नैतिक हैसियत र रुचि दुबै भएका नेता वा बौद्धिक पाउनै मुस्किल ! छातीमा हात राखेर वचन र कर्मको सन्तुलन देखाउन सक्ने सत्पात्र भेटाउनै मुस्किल ! दुई, सत्तासुखको लुतो कन्याइमा आस्वाद लिइरहेका कार्यकर्ता र तथाकथित बुद्धिजीवी जमातबाट यस्तो बहसमा सहभागी बन्ने मानिसहरू जम्मा गर्न झनै मुस्किल । कतिपयलाई यस्ता छलफल पूरै वाहियात र बेकामे लाग्छन्, किनभने ती अब पार्टीहरू, नेतृत्व र तिनका गतिविधिसँग पूर्णरूपले निराश भैसकेका छन् । बाँकी केही पहुँचवाला छन् । ती हरदम सत्ताधारीको वरिपरि रिँगेर तिनको प्रशस्ति गर्दै एकबारको जिन्दगी बिताउन व्यस्त छन् । उनीहरूसँग ठेक्का, कमिसन र दलालीको भ्याई–नभ्याई माचो छोडेर यस्ता ठाउँमा झुल्किने जाँगरको अपेक्षा गर्नु एउटा ठूलो दुःख पाल्नु हो । त्यसैले रिमालजीले व्यंग्यकै भाषामा भने, ‘जो स्वस्थ छन्, तिनलाई दबाइको खाँचो नै थिएन । रोगीहरू बाहिरै छुटेर गरिएको बहस कति सार्थक होला ?’

चितवनमा यस्तो बहस चलिरहँदा काठमाडौंका अखबार र अनलाइन पोर्टलहरू कृृष्णबहादुर महराका कारनामा छाप्न व्यस्त थिए । यौनजन्य अपराधको स्क्यान्डलमा बहालवाला सभामुख ! पत्याउन असजिलो लागे पनि यो खबर असत्य सावित भएन । त्यसयता पीडितमाथि गरिएको दबाब र नियन्त्रणको खेल ! यसपछि झनै कुरूप बनेर उदाङ्गिएको पार्टीसत्ताको नैतिक धरातल । तर कम्युनिस्ट पार्टीमा न यो पहिलो प्रकरण थियो न अन्तिम नै । कांग्रेस वा अन्य पार्टीभित्रका यस्ता किस्सासँग त जोकोही अचम्भित हुनछोडेको वर्षौं भैसकेको छ । कम्युनिस्टहरूसँग न्यूनतम सदाचार र नैतिकताको अपेक्षा गरिनु अस्वाभाविक थिएन । तर कम्युनिस्ट भनेका पनि कुनै अद्भुत र अपूर्व पात्र होइन रहेछन् । कामना, तिकडम, षड्यन्त्र र सत्ताभोगको निर्लिप्ततामा घाँटीसम्म डुबेका यही लोक र समाजका पुरुष (र सायद स्त्री पनि) त्यहाँ पनि उत्तिकै छन् भन्ने कुरा महरा प्रकरणले एकपल्ट फेरि सावित गरेको छ ।

निजी सम्पत्ति जम्मा गर्ने, विलासी जीवन बिताउने, सुखसयल, मोजमस्ती आदि गतिविधिको विरोध गरेर ‘वर्ग शत्रु सफाया’ गर्दै निम्न र मध्यमवर्गीय जनताका माझमा लोकप्रिय बनेका कम्युनिस्ट नामधारी पार्टीहरूको नेतृत्वदेखि कार्यकर्ता पंक्तिसम्मको आजको जीवनशैली हेरौं । तिनको खानपान, बोली र व्यवहार हेरौं । तिनको उठबस र सङ्गत हेरौं । ती कुन कोणबाट कम्युनिस्ट लाग्छन् ? नेपाली अनुभवमा कम्युनिस्ट आन्दोलन केवल संसदवादी सत्तारोहणको एउटा चिप्लो तर्कभन्दा बढी हुन नसक्नुको कारण राजनीतिक प्रतिबद्धता र समर्पणको मात्रै अभाव हो या सांस्कृतिक रूपले नै ठूलो फट्याइँ र मजाक भइरहेको हो ? यसको अन्तर्य बुझ्नु जरुरी छ ।

अपवादलाई छोडेर नेपालको कम्युनिस्ट नेतृत्व सांस्कृतिक रूपले सुरुदेखि नै वास्तविक अर्थमा कम्युनिस्ट बन्न प्रतिबद्ध थिएनछ भन्ने यतिखेर छर्लङ्ग भैसकेको छ । सिद्धान्तको विचलन वास्तवमा व्यवहारमै घटित भएको पलायनको रूप हो । यद्यपि यहाँ सिद्धान्तको दाम्लोले बाँधिएर विचारलाई धर्मशास्त्रजस्तो बनाउनुपर्थ्यो भन्न खोजिएको होइन ।

कम्युनिस्टहरूले राम्रो लगाउन, मीठो खान र सुविधा भोग्नै हुन्न भन्ने पनि होइन । तर विचारको विज्ञान र त्यसप्रतिको निष्ठालाई धुलिसात पारेर सामन्तवादकै पक्षपोषण गर्ने हो भने कम्तीमा आफूलाई कम्युनिस्ट दाबी गर्न छोड्नुपर्छ भन्नेचाहिँ स्पष्टै हो । माफिया र दलाल वर्गसँग घाँटी जोडेर आफैंले हिँडेको बाटो र जनता दुबैलाई धोका दिने नेतृत्व अरु कहाँ–कहाँ चुक्दै जान्छ भन्ने हिसाब–किताब गर्न गाह्रो छैन । नेतृत्वको पलायन र विचलनको शृङ्खला केशरजङ्ग रायमाझीदेखि आजसम्म आइपुग्दा विकराल र बदनाम भैसकेको स्पष्ट छ । इतिहासका कतिपय विचलन वैयक्तिक स्तरका भएरै पनि धेरै आलोचित थिए । तर पछिल्ला दशकमा देखिएका विघटन र स्खलन सामूहिक चरित्रका छन् । कसले कसको आलोचना गर्ने ? कसले कसलाई सच्याउने ? यस्ता स्खलनले बनाएको खाडल अपूरणीय छ ।

सांस्कृतिक पतन र ध्वस्तीकरणको चित्र यति डरलाग्दो छ कि कम्युनिस्ट पार्टीबाट मनोनित राष्ट्रपति र विगतका महारानीको शाही आडम्बरमा रौंबराबर भिन्नता देखिन्न । प्रधानमन्त्री र मन्त्रीहरूको चकचकी र शासकीय दम्भ यसरी प्रकट हुन्छ कि त्यसले जनविरोधी, सामाजिक न्यायविरोधी राजनीतिक अपराधीकरणलाई मलजल गर्न बाहेक उल्लेख्य प्रगति गरेकै देखिन्न । सत्ताधारी पार्टीका कार्यकर्ता र बुद्धिजीवी पंक्तिमा पनि कम्युनिस्ट आदर्श र संस्कारका न्यूनतम मूल्यको रक्षा गर्न नेतृत्वलाई चुनौती दिने आँट र सरोकार दुबै कत्ति पनि देखिन्न । यसमा शक्ति, सत्ता र पद–पीठको भोक बाहेक अरु कुनै चिन्ता देखिन्न । यो पंक्ति झन् हदैसम्मको निकम्मा र सत्ताको पुच्छर भएर स्खलनको भीरमा अड्केको छ । यसले आफू स्वयम्लाई उद्धार गर्नसके धन्य !
000
संस्कृति भनेको केवल चाडबाड र नाचगान मात्रै होइन । जीवन चलाउने संस्कार र चलन मात्रै पनि होइन । संस्कृति भनेको उठबस, वाणी, व्यवहार र समग्र जीवनशैली हो ।

जीवनपर्यन्त मानवीय मर्यादा र चरित्रको अभिव्यक्ति हो । त्यति मात्रै होइन, संस्कृति समाजको अमूर्त र घुमाउरो रूपको राजनीति पनि हो । समाजका कतिपय संरचनागत विभेदजन्य राजनीतिलाई आन्तरिक रूपले र जरैदेखि बदल्न संस्कृतिको रूपान्तरण जरुरी छ भन्ने यथार्थ आत्मसात गरेरै कम्युनिस्ट चिन्तकहरूले समाजवादी संस्कृति निर्माणको तर्क गरेका हुन् । उनीहरू संस्कृतिको रूप आत्मिक ज्यादा देखिए पनि यसको निर्माण भौतिक उत्पादनका आधारमा हुन्छ भन्छन् । समाजको अर्थ–राजनीतिक बदलावले संस्कृतिमा परिमार्जन र परिवर्तन हुन्छ भन्छन् । त्यसरी हेर्दा समाजको आर्थिक/भौतिक संस्कार शिष्ट र मर्यादित हुनसके संस्कृति पनि संगठित र मर्यादित हुने कुरा स्पष्ट छ ।

नेपाली कम्युनिस्ट नेतृत्वको रुचि राजनीतिक क्रान्तिमा मात्रै सीमित भयो । तिनले न अर्थराजनीति बदले न देशको भिखमागा चरित्रमा सुधार ल्याए न माफियातन्त्र र भ्रष्टाचारमा कुनै कमी आयो । व्यवस्थाको नाम फेरिदिएपछि पूरै पद्धति फेरिएको भ्रम बेचेर ती सत्तासीन भए । आफूले पछ्याएको सिद्धान्तप्रति प्रतिबद्ध पनि हुनुपर्छ भन्ने कुरालाई लत्याएर ती नवसामन्तमा फेरिए । नयाँ राजा बने, नयाँ रानी बने । केवल पुराना शासक फालिए, फेरि उही र तीभन्दा पनि बेइमान चरित्रका शासक स्थापित भए । यसले सांस्कृतिक भ्रष्टीकरणलाई संस्थागत गर्न अझै बल पुर्‍याइरहेको छ । कम्युनिस्ट नामधारीहरूकै भयावह रूपको यो स्खलन र पतनले सांस्कृतिक रूपान्तरण केवल एक भद्दा र क्रूर व्यंग्य बनिरहेको छ ।

अहिले पनि दसैंको टीका बहिष्कार गरेर, जनवादी, अन्तरजातीय वा साधारण शैलीको विवाह गरेर, बाबुआमाको काजकिरिया नगरेर इत्यादि तरिकाले नेपाली कम्युनिस्टहरूले आफूलाई प्रगतिशील सावित गर्ने गरेका छन् । तर यो केवल तदर्थ रूपान्तरण हो । खालि ‘टेक्निकल’ कुरा हो । दसैं वा काजकिरिया बहिष्कार गर्ने तर अवसर पाए जस्तोसुकै अनैतिक, अमर्यादित काम गर्न पछि नपर्ने हो भने नाम मात्रका क्रान्तिकारी (रिभोल्युसनरी) बन्नुभन्दा नैतिकवान सुधारवादी (इभोल्युसनरी) बन्नु नै बरु ठीक हो । जनवादी विवाहको वकालत गर्ने तर श्रीमती, छोरी, बुहारीलाई ज्यानले धान्नै नसक्नेगरी गहनाले पुर्न सक्दा प्रतिष्ठाको चुलीमा पुगेको महसुस गर्ने ‘हिपोक्रेसी’ रहँदासम्म रूपान्तरणको अभ्यास प्राविधिक र देखावटी नाटकभन्दा बढी हुन सक्दैन ।

प्रकाशित : आश्विन २८, २०७६ ०८:३२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×