प्रतिपक्षी कांग्रेसको तनाव

किशोर नेपाल

देशको सबभन्दा ठूलो लोकतान्त्रिक पार्टी यति बेला राजनीतिक हिसाबले अस्तव्यस्त मात्र छैन, तनावग्रस्त पनि छ । सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति विमति जनाउँदै प्रतिस्पर्धी रामचन्द्र पौडेल र उनका सहयोगीहरूले सभापतिको निरन्तर विरोध गर्दै आएका छन् । उनीहरूको आरोप छ, सभापति देउवामा नेपाली कांग्रेसजस्तो ऐतिहासिक पार्टी सञ्चालनका लागि ‘भिजन’ भएन । उनले पार्टी एकता मजबुत तुल्याउन सकेनन् ।

प्रतिपक्षी कांग्रेसको तनाव

पार्टीभित्र निरन्तर उठिरहेका असहमतिका स्वरहरूलाई सभापतिले न सम्बोधन गर्नसके, न आवश्यक सम्मान । सभापतिका रूपमा उनले भ्रातृ संगठनका लागि आवश्यक संगठनात्मक संरचनासम्म दिन सकेनन् । विद्यार्थी संघ, तरुण दल, महिला संघ, किसान संघ लगायतका वर्गीय संगठनहरूको अवस्था दयनीय रह्यो । एउटै भ्रातृ संगठनका दुई समानान्तर कार्यक्रम हुन थाले । सभापति देउवाले पार्टीभित्रका अराजक गतिविधि रोक्न सकेनन् । उनी ‘असक्षम’ सभापति हुन् ।


यो सत्य हो, देशमा कम्युनिस्ट शासनको राप र ताप बढ्दै गएका बेला नेपाली कांग्रेस पार्टीले प्रतिपक्षको भूमिका सक्रिय रूपले निर्वाह गर्न सकेको छैन । देशका विभिन्न प्रदेश र स्थानीय तहमा कहाँ के भइरहेको छ ? सरकार र सरकार सञ्चालन गर्ने पार्टीले कस्ता गतिविधि गरिरहेका छन् ? त्यसमा सामान्य जनताको प्रतिक्रिया के छ ? यी सबै जानकारी एकीकृत हिसाबले आउने व्यवस्था कांग्रेसमा देखिँदैन । पार्टीका नेताहरूले मूलधारका सञ्चार माध्यमले भन्दा पनि सामाजिक सञ्जालले छरेका अप्रशोधित सूचनाका आधारमा राजनीतिक प्रतिक्रिया दिने गरेको पाइन्छ । पार्टीका प्रवक्ताको हातमा जहाँबाट जे सूचना आइपर्छ, त्यसको प्रतिक्रिया दिनेसम्मको बाध्यता छ । पार्टीबारे जनताको अभिरुचि बढ्दै गएको अवस्थामा पनि कांग्रेस पार्टीको सूचना संयन्त्र ध्वस्त छ भन्न हिचकिचाउनु पर्दैन । पार्टीले आफ्नो मुखपत्रसमेत चलाउन सकेको छैन ।


यसलाई विडम्बना नै मान्नुपर्ला, सभापति देउवाविरुद्ध उनका प्रतिपक्षीको आरोपमा नयाँ कुरा केही छैन । ‘भिजन’ का हिसाबले, जसरी सभापति देउवामा कुनै भिजन छैन, त्यसरी नै प्रतिस्पर्धी नेता रामचन्द्र पौडेलमा पनि कुनै भिजन छैन । अहिले देउवासँग एउटा गुट छ, जसको परिधि पौडेल गुटको भन्दा फराकिलो देखिन्छ । किनभने देउवा सभापति छन् । उनका गुटमाथिका उपगुट पनि धेरै छन् । सरकारको प्रमुख प्रतिपक्षका नेता र नेपाली कांग्रेसका सभापतिका रूपमा पार्टीका विभिन्न स्रोतमाथि उनको स्वाभाविक नियन्त्रण छ । देउवाकी पत्नी श्रीमती आरजु देउवा राजनीतिमा सक्रिय छिन् । सभापति देउवाको ‘गृहपृष्ठ’ को सञ्चालन उनैले गर्दै आएकी छन् । उमेरले ७५ वर्ष कट्नै लागेका देउवालाई भरोसालाग्दो सहयोगीको जरुरत हुन्छ नै । त्यस्तो भरोसालाग्दो सहयोगी आफ्नी धर्मपत्नीभन्दा अर्को कोही हुने कुरा भएन । श्रीमान् देउवाको राजनीतिलाई आफ्नो हकमा सुदृढ गराउन खोज्नु श्रीमती देउवाका लागि पनि अस्वाभाविक नहोला ।


देउवा र पौडेल गुटमा बाँडिएका कांग्रेसका थुप्रै प्रभावशाली नेताका आ–आफ्नै गुट छन् । अहिले कुनै पनि नेता चलायमान देखिएका छैनन् । स्वयं देउवा गुटका नेताहरूलाई सभापतिको पहिलो कमजोरी बुढ्यौली हो भन्ने थाहा नभएको होइन, तर बुढ्यौलीको कुरा उठाउनु मानवीय नहुने तर्कका आडमा उनका अन्य कमजोरीमा समेत पर्दा हालिएको छ । यही तर्कको आडमा अर्का वयोवृद्ध नेता पौडेलका बारेमा पनि उनका समर्थकहरू कुनै टिप्पणी गर्न चाहँदैनन् । बडो अनौठो अवस्था छ कांग्रेसको । अहिलेका जति पनि झगडा छन्, त्यसको मूलमा देउवाको उच्चताबोध र पौडेलको लघुताबोधले जन्माएको क्षोभ रहेको छ । कुनै बेला कांग्रेसमा ‘राशश’ अर्थात् रामचन्द्र, शैलजा र शेरबहादुर त्रिमूर्तिका रूपमा देखिन्थे । ती तीन मूर्तिमध्ये शैलजाको अत्यन्त दु:खद निधन भयो । शेरबहादुर चार पटक देशको प्रधानमन्त्री हुँदा रामचन्द्र एक पटक पनि भएनन् । उनी आफ्नो पराजयलाई मूल विषय बनाएर पार्टीका समस्याहरूबाट छड्किन चाहन्छन् । एक पटक पार्टीसत्ता र सरकारको ताजपोशी गर्ने चाहना छ उनको । तर त्यो समय भिड्किइसकेको छ ।


कांग्रेसभित्र देशव्यापी रूपमा विस्तार भएको आत्मघाती गुटबन्दी २०४६ सालको राष्ट्रिय जनआन्दोलनपछि त्यति बेला जन्मिएको हो, जब राजनीतिक हिसाबले दिगो र मजबुत पार्टीमा अचानक विग्रह आयो । अहिले जसले जतिसुकै ढाकछोप गरे पनि, गिरिजाप्रसाद कोइरालाले सर्वमान्य नेता गणेशमान सिंह र सभापति कृष्णप्रसाद भट्टराईसँग ‘सरकार सञ्चालन’ को विधि र प्रक्रिया तथा पार्टी र सरकारबीचको सम्बन्धमा सिंह र भट्टराईसँग ‘असहमति’ जनाएपछि कांग्रेसभित्र गुटका थुप्रै मुना पलाउन थालेका हुन् । एक समय यस्तो पनि आयो, जब तत्कालीन अर्थमन्त्री महेश आचार्यको चेम्बरबाट ‘राजा वीरेन्द्रलाई अपदस्थ गरी गणेशमान सिंह गणतन्त्र नेपालका राष्ट्रपति बन्ने तयारी भएको’ धूवाँ बाहिर सहरभरि फैलाइयो । यो धूवाँबाट प्रभावित तत्कालीन श्री ५ को सरकारका कतिपय उच्च ओहदाधारीहरू जिज्ञासाको अतृप्तिले छटपटाएका थिए ।


हिजो के भएको थियो ? आजको राजनीतिमा त्यसको सन्दर्भ नरहेको सोच्ने धेरै होलान् । तर भविष्यको धार इतिहासले नै कोरेको हुन्छ । २०५८ सालसम्म प्रधानमन्त्रीका रूपमा पूरै कांग्रेस संगठनलाई आफनो कमान्डमा राखेर शासन गर्ने गिरिजाप्रसाद कोइराला ‘आमूल परिवर्तन’ को बाटोमा ‘हठात्’ लागेका थिएनन् । परिवर्तनको यो बाटोमा लाग्दा उनको मनमा राजा ज्ञानेन्द्रबाट भएको आफ्नो निरन्तरको अपमानको चोट मात्रै थिएन, कांग्रेस संगठनको कमजोर अवस्था र कांग्रेस कार्यकर्ताको मनोदशाको पीडासमेत थियो ।


पहिलो संविधानसभाको चुनावमा कांग्रेसको हार अकल्पनीय थियो । देशमा शान्ति प्रक्रियाको प्रारम्भ गर्ने र गणतन्त्र स्थापना गर्ने पार्टीको चुनावमा पराजय कार्यकर्ताका लागि अनौठो थियो । स्वास्थ्यका कारणले कोइराला चुनाव प्रचारमा गएनन् । यो हारसँगै कोइरालाका राजनीतिक परिकल्पना ओझेलमा परे । देशमा जनआन्दोलन भएको थियो । तर सजिलै गणतन्त्र आउनमा माओवादी ‘जनयुद्ध’ को भूमिका सशक्त थियो । मूलधारका भनिने राजनीतिक दलहरूको चेतनामा समेत गणतन्त्र घुस्न सकेको थिएन । आज पनि मूलधारका नेता गणतन्त्र र संघीयताका बारेमा भ्रमित छन् ।


पौडेल समूह जतिसुकै हतारिए पनि देउवाले स्वैच्छिक अवकाश लिँदैनन् । वर्तमान कांग्रेस कार्यसमितिको म्याद २०७६ फागुनमा समाप्त हुन्छ । विधान अनुसार, त्यसपछि एक वर्षको अवधि देउवा कार्यसमितिले नै थप गर्न सक्छ । त्यतिले नपुगे ६ महिना म्याद थप्ने प्रावधान पनि छ । यो हिसाबले अहिले नै महाधिवेशनको मुद्दा उठाउनु र त्यसका लागि देउवाका विरोधीहरू बटारिनुको खासै अर्थ देखिँदैन । देउवाको विरोधमा अहिले जो–जो लागेका छन्, ती कसैसँग पनि पौडेललाई सभापति वा प्रधानमन्त्री बनाउने क्षमता छैन । पौडेलको विरोधमा रहेका देउवापक्षीय नेताहरूको क्षमता पनि यही हो । देउवासँग आफ्ना समर्थकहरूको चित्त बुझाउन सक्ने तागत छ । तर पौडेलसँग त्यो छैन ।


नेपाली कांग्रेसको सबभन्दा उच्चाटलाग्दो प्रचलन पार्टी सदस्यहरूका बीचमा कहिल्यै कुनै पनि विषयमा गम्भीर छलफल नहुनु हो । अहिले देशमा ठूला घटना भएका छन् । चीनको बीआरआई र अमेरिकाको इन्डो–प्यासिफिकका बारेमा पार्टी सचेत र सजग रहनुपर्ने हो । त्यस्तो चासो कांग्रेसका नेताहरूले अहिलेसम्म देखाएका छैनन् । देशमा भ्रष्टाचारको बिगबिगी छ, पार्टीका नेताहरूलाई कुनै मतलव छैन । दुईतिहाइको सरकारको लगाम कस्नेभन्दा हेरेर बस्ने परिपाटी खतरनाक छ ।


सन्तनेता कृष्णप्रसाद भट्टराईको उत्तराधिकारीका रूपमा गिरिजाप्रसाद कोइराला पार्टीको अविच्छिन्न सभापति बने । उनले कहिल्यै कुनै पनि महत्त्वपूर्ण विषयमाथि पार्टीमा छलफल गराएनन् । यसो भनौं, छलफलको त्यो संस्कार सुरु नै भएन । खुमबहादुर खड्काले ‘सभापति गिरिजा कोइरालाले पार्टीको कार्यसमितिमा प्रस्ताव नै नराखी देशलाई धर्मनिरपेक्ष बनाएको’ बताएका हुन् ।


खड्काले पनि यो कुरा कोइराला जीवित रहेका बेला उच्चारण गरेनन् । अहिले खड्का र कोइराला दुवै जीवित छैनन् । तर कांग्रेसभित्र खड्काले लगाएको हिन्दु राष्ट्रको नारा बोकेर हिंँड्ने निकै छन् ।


यो सत्य हो, राजनीतिमा कांग्रेसको हस्तक्षेपकारी भूमिका खोज्ने प्रबुद्ध वर्ग र सर्वसाधारण नेपाली जनता, कांग्रेसका सामान्य तर निष्ठावान् कार्यकर्ता तथा राजनीतिमा कांग्रेसको उपस्थिति खोज्ने राजनीतिक शक्तिहरू कांग्रेस कमजोर भएकामा चिन्तित छन् । उनीहरूलाई देउवा वा पौडेलमा को प्रभावशाली हुन्छन् भन्ने चिन्ता छैन । उनीहरूको मुख्य चिन्ता भनेको राजनीतिमा कांग्रेसको शक्तिशाली पुनरागमन हो । किनभने देशमा कांग्रेस मात्र एउटा यस्तो स्थापित राजनीतिक शक्ति हो, जसले एकाधिकारवादी चिन्तनलाई चुनौती दिन सक्छ । कांग्रेस अहिले त्यो अवस्थामा छैन । गएको चुनावयता कांग्रेसको हालत ‘सातो’ गएको सानो बच्चाको जस्तो भएको छ । यो प्रतिदिन शक्तिहीन हुँदै गएको छ । सुशील कोइरालाको सभापति कालदेखि नै यसले नीतिगत गल्ती गर्दै आएको छ । मधेसी र जनजातिको आस्थामाथि कांग्रेसले पटक–पटक अन्तर्घात गरेको छ । यही कारण हो, विगत चुनावमा यसको आधार नराम्रोसँग हल्लिएको थियो ।


देउवा होऊन् वा पौडेल, हाल नेतृत्वको वृत्तमा रहेका कुनै पनि नेतामा नेपाली कांग्रेसको नेतृत्व गर्ने क्षमता देखिँदैन । वर्तमान नेतृत्वका प्रखर आलोचक शेखर कोइरालादेखि शेरबहादुर देउवासम्म सबैको उमेर ७० वर्ष कटिसकेको छ । यो अवस्थामा रहेका नेतागणबाट कांग्रेसले जीवन्त नेतृत्वको आशा गर्नु मृगमरीचिका मात्र हुनेछ । हो, पहिलो लहरका नेताहरूको विकल्पमा कांग्रेसमा आशा र भरोसा गर्न सकिने नेताहरूको कमी भएको होइन । उनीहरू सहर–बजार र समाचार माध्यममा परिचित भए पनि जनताका माझ जनताका मानिस भएर स्थापित हुन बाँकी नै छ ।


कांग्रेस राजनीतिमा दुइटा धार स्पष्ट देखिएको छ । एउटा धारको प्रतिनिधित्व गिरिजाप्रसाद कोइरालाले गरेका छन् । यो धारले राजनीतिलाई उपयोगिताका आधारमा हेर्छ । तर यसका जरा बलिया छैनन् भन्ने पछिल्लो समयमा देखिएको छ । नेपालको राजनीतिमा गिरिजाप्रसाद कोइरालाको योगदानलाई कसैले इन्कार गर्न सक्दैन । नेपालबाट २४० वर्ष लामो राजतन्त्र उखेलेर त्यसको ठाउँमा गणतन्त्रको स्थापना गर्नु चानचुने कुरा थिएन । तर उनको प्रधानमन्त्री कालमा भएका अनेकौं चलखेलले गर्दा उनको व्यक्तित्व सर्वस्वीकार्य हुन सकेको छैन । सामान्य मानिसको मनमा बीपी कोइरालाको छवि अहिले पनि चम्किलो र उजागर रहेको छ । बीपीको अठारमहिने शासनमा त्यस्तो चामत्कारिक कुरा केही हुन पाएनन् । तर त्यो शासनकालमा ‘ठोस नेपाली भिजन’ तयार भयो । बीपीले नेपालको आधुनिकीकरणको सूत्रपात गरे । जनताको स्वतन्त्रताका लागि आजीवन संघर्ष गरे । २०३३ सालमा राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर निर्वासनबाट स्वदेश फर्किएका बीपीलाई जनताले नजिकबाट चिने । अहिले नेपाली कांग्रेस भन्नेबित्तिकै बीपीको नाम पर्यायवाची हिसाबले आउने गर्छ ।


यति बेला जनताले कांग्रेस नेताका रूपमा त्यस्तो व्यक्तिको खोजी गरेका छन्, जसले बीपीबाट सुरु भएको ‘राजनीतिक धर्म’ को पालना गर्न सकोस् । कांग्रेसमा अहिले जो देखा परेका छन्, तिनले कुन हदसम्म बीपीका मान्यताहरूलाई अघि बढाउन सक्छन् ? यसै भन्न सकिने अवस्था छैन । २०५६ सालको निर्वाचनमा कांग्रेसको अवस्था अहिलेको जस्तै कमजोर थियो । परिस्थितिको तकाजाले सभापति गिरिजाप्रसाद कोइरालाले कृष्णप्रसाद भट्टराईलाई कांग्रेसका तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बनाए । भट्टराईको विजय अपेक्षित थियो । त्यो महामारीबाट कांग्रेस उम्कियो । अहिलेको अवस्थामा कांग्रेस सभापति देउवाले यस्तै दूरदर्शी कदम चाल्न सके भने कांग्रेस अहिलेको हाहाकारबाट उठ्न सक्ने सम्भावना छ । राजनीतिमा अबको प्रयोगका पात्र बीपीका कान्छा छोरा तथा कुनै समयका प्रसिद्ध आँखा चिकित्सक डा. शशांक कोइराला हुन सक्छन् । अपेक्षाकृत कम उमेरका शशांक कोइराला तीन पटक संसद सदस्य भइसकेका छन् । उनी अघिल्लो पटक नै देउवालाई चुनौती दिन तम्तयार थिए । त्यो बेला ‘राजनीतिक सहमति’ मा शशांक पछि हटेका थिए ।


यो तथ्य हो, आजको समयमा विरासतको राजनीति खतरनाक प्रावधान हो । तर दक्षिण एसियामा विरासतको आकर्षण पनि घटेको छैन । शशांक आफ्ना पिताप्रति इमानदार र संवेदनशील देखिन्छन् । उनले बीपीका आदर्शहरूको ‘फँडानी’ गर्नेछैनन् भन्ने आशा राख्ने धेरै छन् । उनी सभापति पदका लागि योग्य छन् कि छैनन् ? त्यसको जाँच उनी आफैले दिनुपर्नेछ । अहिलेका लागि यी कुरा प्रस्ताव मात्रै हुन् । राजनीति कुलो होइन, नदी हो । नदीले आफ्नो बाटो आफै बनाउँछ ।


प्रकाशित : कार्तिक १४, २०७६ ०८:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?