१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विद्युत्‌मा फेरिएको चुनौती

सम्पादकीय

तीन वर्षअघिसम्म तिहार अन्धकारमै हुन्थ्यो । २०७३ सालमा नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजाको दिनदेखि काठमाडौं उपत्यकालाई लोडसेडिङ मुक्त घोषणा गर्‍यो । गत वैशाखदेखि त सबै क्षेत्रमा लोडसेडिङ अन्त्य भएको घोषणा गरेको छ । विद्युत् अभावमा अन्धकारमा बस्नुपर्ने वा बत्ती कति खेर आउला भनेर कुरिरहनुपर्ने नेपालीको दैनिकी फेरिएको छ, हरपल ढुक्कसँग बिजुली उपभोग गर्न पाएका छन् । चाडबाडलाई झिलिमिली बनाएका छन् । नेपाल विद्युत्‌मा आत्मनिर्भर बन्ने बाटोमा हिँडेको छ ।

विद्युत्‌मा फेरिएको चुनौती

विद्युत्‌को माग र व्यवस्थापनका लागि तिहार चुनौतीपूर्ण मानिन्थ्यो । तर, प्राधिकरणले यो वर्षको तिहारमा भारतबाट नगण्य विद्युत् आयात गरी माग धानेको छ । लक्ष्मीपूजाको दिन देशभर विद्युत्‌को उच्चतम माग एक हजार ८९ मेगावाट पुग्यो, जुन प्राधिकरणले अनुमान गरेको भन्दा कम हो । प्राधिकरणले यसवर्ष लक्ष्मीपूजाको दिन १ हजार १ सय ९० मेगावाटसम्म पुग्ने अनुमान गरेको थियो ।


सोचेभन्दा कम विद्युत् माग भएपछि उच्चतम विद्युत् माग हुने दिन पनि भारतबाट निकै कम विद्युत् आयात गर्नुपर्‍यो । लक्ष्मीपूजाको दिन साँझ साढे ६ बजे भारतबाट जम्मा १ सय ७ दशमलव ३ मेगावाट आयात गर्नुपरेको थियो । यो भनेको कुल मागको करिब १० प्रतिशत मात्रै हो । प्राधिकरणको अनुमान अनुसार आगामी वर्षदेखि तिहारको समयमा भारतबाट विद्युत् आयात गर्नु पर्दैन । पुसदेखि चैतसम्मको अवधिबाहेक अन्य बेला भारतबाट विद्युत् ल्याउनु पर्दैन, आन्तरिक उत्पादन नै बढी हुन्छ ।


हाल निर्माणाधीन विद्युत् आयोजनाको सूची र त्यसको निर्माण सम्पन्न हुने लक्ष्य हेर्दा यो वर्ष मात्रै राष्ट्रिय प्रणालीमा करिब १ हजार मेगावाट विद्युत् थपिनेछ । यो भनेको करिब एक सय वर्षको अवधिमा नेपालले उत्पादन गरेको कुल विद्युत् परिमाण बराबर एकै वर्षमा थपिनु हो । यस हिसाबले हेर्दा विद्युत् क्षेत्रका लागि यो वर्ष निकै उत्साहजनक छ ।


सरकारले गत वर्ष बजेटमार्फत १० वर्षमा १५ हजार मेगावाट उत्पादन गर्ने महत्त्वाकांक्षी योजना अघि सारेर सोही अनुसार नीतिगत प्रक्रिया अघि बढाएको छ । उत्पादित विद्युत् कहाँ र कसरी बिक्री गर्ने वा आन्तरिक खपत बढाउनेतर्फ भने कम प्राथमिकता परेको देखिन्छ ।


नेपालमा प्रतिव्यक्ति ऊर्जा खपत वार्षिक २ सय ४५ किलोवाट छ, जुन एसियाली मुलुकको तुलनामा पनि निकै कम हो । जल तथा ऊर्जा आयोगको एक अध्ययनअनुसार पनि नेपालमा ऊर्जा खपत सोचेअनुसार बढ्न सकेको छैन । आयोगले केही वर्षअघि वार्षिक आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने सामान्य अवस्थामा पनि सन् २०१५ मा विद्युत् माग १ हजार ७ सय २१ मेगावाट र २०२० मा २ हजार २ सय ८४ मेगावाट पुग्ने प्रक्षेपण गरेको थियो । तर, केही वर्षयता देशको आर्थिक वृद्धिदर ६ प्रतिशतभन्दा माथि रहँदा पनि वार्षिक विद्युत्‌को उच्चतम माग १२ सय मेगावाट हाराहारीमा मात्रै छ ।


बत्ती बाल्नका लागि मात्रै विद्युत्को प्रयोग हुनु, विद्युत्‌को गुणस्तरीयता र मूल्यमा प्रश्न उठाउँदै औद्योगिक क्षेत्र बिजुलीको बढी प्रयोगमा अनिच्छुक रहनु, सबै क्षेत्रमा विद्युतीकरण नहुनुजस्ता कारणले विद्युत्को माग बढ्न नसकेको अनुमान गर्न सकिन्छ । त्यसैले केही वर्षअघिसम्म विद्युत् अभावले पिरोलिने प्राधिकरणलाई अब अर्को चुनौती छ— देशभित्र उत्पादित विद्युत् कसरी खपत गर्ने ?


यसका लागि ऊर्जा मन्त्रालय र विद्युत् प्राधिकरणले क्षेत्रीय बजार खोज्ने काम सुरु गरिसकेका छन्, यस कामलाई थप तीव्रता दिन जरुरी छ । नेपालमा उत्पादित विद्युत् भारत र बंगलादेशमा बिक्री गर्ने नेपाली योजना अहिले प्रारम्भिक चरणमा छ । यसलाई तीव्रता नदिए आगामी दिनमा उत्पादित विद्युत् खेर जाने अवस्था आउन सक्छ । स्वदेशमा उत्पादित विद्युत् केही घण्टा पनि खेर जाने अवस्था आउनु बिक्री गरेर आम्दानी गर्ने अवसर त गुमाउनु हो नै लगानीकर्ताले चर्को व्याजमा ऋण लिएर आयोजनामा गरेको लगानीलाई सरकारले उपेक्षा गर्नु पनि हो ।


उत्पादित विद्युत् खेर जान्छ भन्ने अनुमानका आधारमा मात्रै नभई नेपालको तुलनात्मक लाभको यस क्षेत्रबाट बढीभन्दा बढी फाइदा लिन पनि सरकारले विद्युत्‌को खपत र प्रयोगलाई बढाउन जरुरी छ । विद्युत्को क्षेत्रीय बजार खोज्दै गर्दा सरकारले आन्तरिक रूपमा पनि खपत बढाउनेतर्फ कदम चाल्नुपर्छ । त्यसका लागि डिजेल/पेट्रोल र ग्यास आयातलाई प्रतिस्थापन गर्दै विद्युतीय सवारी र विद्युतीय चुल्हो प्रयोगका लागि प्रोत्साहित गर्नु सरकारको दायित्व हो । जसले गर्दा बर्सेनि २४ अर्बभन्दा बढीको पेट्रोलियम आयातलाई कम गराउन र बढ्दो व्यापार घाटाको घाउमा मल्हम लगाउन सकिन्छ ।

प्रकाशित : कार्तिक १४, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?