१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

डाक्टर र विश्वास

डा. अरुणा उप्रेती

काठमाडौँ — केही दिनअघि काठमाडौंको एउटा ठूलो अस्पतालमा भर्खर जन्मेको बच्चाको ‘मस्तिष्क’ को शल्यक्रिया तीन–चार चोटि गरेपछि पनि बच्चाको स्वास्थ्य राम्रो नभएको र पछि त रोगको निदान नै ठीक नभएको कुरा प्रचारमा आयो ।

डाक्टर र विश्वास

त्यस्तै, सुत्केरीको शल्यक्रियापछि वा सामान्य प्रसवपछि पनि मृत्यु भयो भने त्यो समाचार एकै छिनमा फैलिन्छ । ‘डाक्टरले वास्ता गरेनन्,’ ‘डाक्टरको लापरबाहीले मृत्यु’ जस्ता खबर पत्रपत्रिकामा आउँछन् र आममानिसले डाक्टरकै दोष ठान्छन् । कुनै पनि अस्पतालमा बिरामीको मृत्यु हुनेबित्तिकै आफन्तहरूले ‘डाक्टरले गलत औषधि दिनाले मृत्यु भयो’ भनेर आरोप लगाउँछन् । कहिलेकाहीँ त अस्पतालमा तोडफोड पनि हुन्छ । यस्तो बेला प्रशासन चुप लागेपछि अस्पतालले थप नोक्सानीबाट बच्न बिरामीका परिवारजनलाई दस–बाह्र लाख दिन्छ । यो परिपाटीले समाजमा ‘अस्पतालको गल्ती नभएको भए किन पैसा दिन्थ्यो’ भन्ने मान्यता स्थापित भएको छ ।


हरेक डाक्टरले आफ्नो नाम बचाउन पनि राम्ररी काम गरेको हुन्छ । डाक्टरले राम्ररी उपचार गर्दागर्दै पनि मृत्यु हुन सक्छ भन्ने वास्तविकता छलफलमै आउँदैन । यसले गर्दा पनि आमजन र डाक्टरबीच अविश्वास झन् बढ्दो छ । उपचार गर्दागर्दै बिरामीको मृत्यु भयो भने निजी अस्पताल र डाक्टरले अपमान र आर्थिक क्षति ब्यहोर्नुपर्ने अवस्थाले नेपालको स्वास्थ्यसेवा ग्रस्त छ । अहिले निजी अस्पतालमा केही डाक्टर कडा खालका रोगी आए भने भन्ने गर्छन्, ‘हामीकहाँ उपचार हुँदैन । अन्यत्र जानुस् ।’


घाँटीको धेरैजसो भित्री भाग जलेकी महिलालाई काठमाडौंस्थित सरकारी अस्पतालको मेडिकल कलेजमा लगियो । तर, ‘हामीकहाँ यो उपचारको सुविधा छैन’ भनि आकस्मिक उपचार कक्षबाट फर्काइयो । मैले सुने अनुसार, त्यहीँका एक डाक्टरले पछि भनेका थिए, ‘उपचार गर्दागर्दै उनको मृत्यु भयो भने समुदाय नै उर्लेर आई तोडफोड गर्छन् भन्ने डरले गर्दा ती बिरामीलाई फर्काइएको थियो ।’


ती महिलालाई बल्लतल्ल एक सिनियर डाक्टरको सिफारिसमा एउटा निजी अस्पतालमा भर्ना गरियो । त्यहाँ ‘बिरामीको मृत्यु भए परिवारले केही नगर्ने’ कागज गराएपछि मात्र उपचार थालिएछ । दुई हप्तापछि ती महिलाको अवस्थामा सुधार त आयो, तर फेरि घाँटीको शल्यक्रिया गरियो । ३ लाख रुपैयाँ लाग्यो । महिला ठीक भइन् । सरकारी अस्पतालमा उपचार हुन सकेको भए त्यत्रो खर्च लाग्दैनथ्यो ।


डाक्टर सबै दूधले नुहाएका हुन्छन् भन्ने चाहिँ छैन । केही समयपहिले वीर अस्पतालको ट्रमा सेन्टरमा बिरामीको शल्यक्रिया गर्दा सर्जनले ‘फलानो व्यापारीबाटै मालसामान किन्नुपर्छ’ भनेको र ३० प्रतिशत कमिसन लिएको समाचार पत्रपत्रिकामा आयो । तर राजनीतिले धेरै ठाउँ पाउने नेपाली जगत्मा यस्तो बदमासीबारे अपेक्षित छलफल हुन सकेन । उपभोक्ता ठगिँदा पनि स्वास्थ्य मन्त्रालय सधैंझैं मौन रह्यो । स्वास्थ्य मन्त्रालयमै कार्यरत मेरा एक साथीले भने, ‘वीर अस्पताल वा नीजि अस्पतालको बदमासीको वास्ता गर्न कसले भ्याउँछ र ?’

जबसम्म कसैलाई स्वास्थ्य मन्त्रालयकै विश्वास हुन्न, जबसम्म सरकारी वा निजी अस्पतालमा गए पनि ठगिइन्छ भन्ने विश्वास रहिरहन्छ, जबसम्म अस्पतालले गम्भीर बिरामीलाई उपचार गर्न चाहँदैन, तबसम्म नेपाली डाक्टरप्रति अविश्वास पनि घट्ने सम्भावना छैन । जबसम्म नेताहरू, हुनेखानेहरू सानो उपचारका लागि पनि विदेश पुग्ने वातावरण रहिरहन्छ, तबसम्म नेपाली स्वास्थ्य क्षेत्रले विश्वास आर्जन गर्न पनि सक्दैन ।


प्रकाशित : कार्तिक ११, २०७६ १४:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?