पुस्ता हस्तान्तरणको सकस - विचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पुस्ता हस्तान्तरणको सकस 

केशव दाहाल

काठमाडौँ — राजनीतिमा पुस्ता हस्तान्तरण के हो ? यो प्रश्नमा प्रवेश गर्नु अगाडि ‘खपुमाझशेरा’ हरूको कुरा गरौं । खपुमाझशेरा अर्थात् खड्गप्रसाद ओली, पुष्पकमल दाहाल, माधव नेपाल, झलनाथ खनाल, शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरू, जसलाई म सम्मान गर्छु ।

म त्यो पुस्ताका अरू नेताहरूलाई पनि सम्मान गर्छु, जो लोकतन्त्रका लागि लडे । निश्चय नै उनीहरूको इतिहास ओजपूर्ण छ । तर वर्तमान ? वर्तमानमा मेरो उनीहरूप्रति तीव्र आक्रोश र गुनासो छ । म उनीहरूलाई घृणा गर्छु । मेरा आक्रोश, घृणा र गुनासाहरू अकारण छैनन् ।


राजनीतिक परिवर्तनलाई मैलो, दिशाहीन र अर्थहीन बनाउन उनीहरू जे गरिरहेका छन्, त्यसप्रति मेरो आक्रोश हो । तीव्र भ्रष्टाचार, अहंकार, विभेद, गरिबी र अविकास हामीलाई उनीहरूले दिएको उपहार हो । राजा फालेर स्वयं सिंहासनमा विराजमान खपुमाझशेराहरूलाई लोकतन्त्रमाथिको पछिल्लो खेलवाडका लागि इतिहासले कहिल्यै माफ गर्ने छैन ।


प्रश्न स्वाभाविक हुन्छ, एउटै पात्रलाई आदर र अनादर कसरी सम्भव छ ? के यो विरोधाभास जायज छ ? छ, समयको चक्र यस्तै त हुन्छ ! सबैले बुझेको कुरा हो, प्रत्येक विरोधाभास समय, चेतना र प्रयोजनसँग सम्बन्धित हुन्छन् । नेता र नेतृत्वले समय र युगको चेतनालाई नबुझ्दा घृणाहरू जन्मिन्छन् । यस्तै घृणाले इतिहासका अनेक पात्रलाई कहिले हिरो बनाउँछन् त कहिले जिरो । वस्तुतः हरेक आदर र अनादर समय र प्रयोजनले निर्धारण गर्छन् । कसैको पनि समय अजर–अमर हुँदैन । त्यसैले नै राजनीतिमा पुस्ता हस्तान्तरण अनिवार्य हुन्छ ।


पुस्ता हस्तान्तरणको सन्दर्भलाई स्थापित गर्न मसँग दुइटा उदाहरण छन् । पहिलो उदाहरण साझा पार्टीका प्रवक्ता सूर्यराज आचार्यबाट सापटी लिन्छु । डोजरको उदाहरण । जस्तो कि, सडक बनाउन डोजरको ठूलो महत्त्व छ । अप्ठ्यारो भीर, अक्कर र जब्बर पहाड फुटाउँदै डोजरले सडकको रेखांकन गर्छ । त्यसपछि फुस्रो बाटोमा अन्य औजार प्रयोग हुन्छन् ।


क्रमशः कालोपत्र राखिन्छ । जब सडकको रेखा कोरिन्छ, डोजरको प्रयोजन सकिन्छ । विचार गरौं, कालो सडकमा निरन्तर डोजर चल्यो भने के हुन्छ ? सडकको सत्यानाश हुन्छ ।


डोजरमाथि धारेहात उठ्छन् । घृणाहरू जन्मिन्छन् । यहाँ ‘सडक’ र ‘डोजर’ विम्ब मात्र हुन् । मुख्य कुरा समय, चेतना र नेतृत्व हो । जस्तो कि नेपालमा लोकतान्त्रिक गणतन्त्र ल्याउन पक्कै पनि खपुमाझशेराको योगदान छ । त्यो आन्दोलनको युग थियो । दुर्भाग्य, उनीहरू पिचमा गुड्ने डोजर बने । र लोकतन्त्रको सत्यानाश भयो । उनीहरूले आफ्नो युग, प्रयोजन र सीमा बुझेनन् । खपुमाझशेराप्रतिको मान र अपमानको रहस्य यही हो । पुस्ता हस्तान्तरणको मुख्य प्रसंग पनि यसैमा निहित छ ।


दोस्रो उदाहरण छ, टाइपराइटर र कम्प्युटरको । टाइपराइटरको आविष्कार पनि विज्ञानको चमत्कार थियो । टाइपराइटरले यो लोकमा अर्बौंअर्ब अक्षर जोड्यो होला । तर आज कम्प्युटर आयो । कम्प्युटर आउनु अर्को चमत्कार हो । प्रश्न आउँछ, अब के गर्ने ? टाइपराइटर समाएर बस्ने कि कम्प्युटरमा जाने ? वस्तुतः कम्प्युटरको माग गर्नु टाइपराइटरको अपमान होइन । हिजो टाइपराइटर थियो, त्यो इतिहास हो । त्यसलाई सम्झिनुपर्छ । तर आज हामीलाई चाहिन्छ, कम्प्युटर । किनभने टाइपराइटर र कम्प्युटरको समय र प्रयोजन नै फरक छ । यो अर्थमा हाम्रा खपुमाझशेराहरू टाइपराइटर हुन् । अतः आज उनीहरूको महत्त्व राजनीतिमा छैन, म्युजियममा छ । जब खपुमाझशेराहरू यो तथ्यलाई इन्कार गर्छन् र सत्तामा जमजमाउँछन्, तब के हुन्छ ? पुस्ता हस्तान्तरणको हाम्रो सकस यही हो ।

लोकतन्त्रको दुःख

हाम्रा खपुमाझशेराहरू लगभग २०३० देखि निरन्तर राजनीतिक नेतृत्वमा छन् । र २०४६ पछि छन्, निरन्तर सत्ताको केन्द्रमा । यो ४५ वर्षमा युरोप, अमेरिका, चीन र भारतमा नेतृत्व परिवर्तन कसरी भयो ? तथ्यहरू जगजाहेर छन् । हामी भने किन डोजर चडेर पिचबाटोमा सयर गर्न अभिशप्त छौं ? अथवा हाम्रा टाइपराइटरहरू अझै राजनीतिमा किन खटखटाउँदैछन् ? २०४६ पछिको दस वर्ष पुराना नेताहरूको परीक्षणको वर्ष थियो । त्यसलाई स्वीकार गरियो । प्रजातान्त्रिक आन्दोलनमा उनीहरूले गरेको योगदानकै लागि पनि २०४६ पछिको सत्तामा उनीहरूको नेतृत्व स्वाभाविक मानियो । तर कति समयका लागि ? त्यसपछि पुस्ता हस्तान्तरण किन भएन ?


कल्पना गरौं, २०६३ को लोकतान्त्रिक आन्दोलनपछि खपुमाझशेराले राजनीतिबाट बिदा लिएका भए के हुन्थ्यो ? युवा पुस्ताले जिम्मेवारी लिन्थ्यो । व्यवस्था परिवर्तनसँगै नेतृत्वमा पनि परिवर्तन आउँथ्यो । राजनीति ताजा बन्थ्यो । नयाँ आशा र भाषा बुझेका युवाहरू सत्ताको केन्द्रमा हुन्थे । उनीहरूको सिर्जनशीलता र सपनाले फुल्ने मौका पाउँथ्यो । युवा संगठनमा युवाहरू नै हुन्थे । विद्यार्थी संगठनमा काकाहरूको रजगज हुने थिएन ।

हुनसक्छ, राजनीतिमा देखिने पुस्ता परिवर्तनले प्रशासनिक, शैक्षिक र प्राज्ञिक क्षेत्रमा पनि बदलाव ल्याउँथ्यो । राजनीतिमा आलम र महरा प्रवृत्तिले रजगज गर्ने थिएन । राजनीतिक प्रभावकारिता बढ्थ्यो । तर सत्ताको लोभमा खपुमाझशेराहरू यति धेरै मोहित बने, उनीहरूकै पौंठेजोरीमा हाम्रा सुन्दर दस वर्ष सकिए ।


मानौं २०६३ को लोकतान्त्रिक उपलब्धिलाई संस्थागत गर्न अर्को दस वर्ष उनीहरूलाई दिइयो । तर २०७२ मा संविधान बनेपछि त पुराना नेताहरूले विश्राम लिँदा हुन्थ्यो नि ! २०७२ पछि सबैले भनेकै थिए— नयाँ युग आयो । युग नयाँ आउने तर नेतृत्व पुरानै हुने, कसरी मिल्छ ? नयाँ संविधानको घोषणा खपुमाझशेराहरूको बिदाइका लागि सबैभन्दा सुन्दर अवसर थियो । तर त्यो अवसर पनि खेर गयो र हामी पुनः पुरानै सोच, सपना र नेतृत्वबाट शासित हुन अभिशप्त भयौं । हो, यही नै नेपाली लोकतन्त्रको सबैभन्दा ठूलो दुःख हो ।


पुस्ता हस्तान्तरणको संकथन

राजनीतिमा पुस्ता हस्तान्तरण एउटा बहुआयामिक बदलाव हो । यो खपुमाझशेरालाई ‘घयोगविध’ हरूले गर्ने विस्थापनको कुरामात्र होइन । घयोगविध अर्थात् घनश्याम, योगेश, गगन, विश्वप्रकाश वा धनराजहरू । यो विचार, संस्कार, संस्कृति र सपनाहरूको पुनर्गठनको प्रस्ताव हो । यो समाज रूपान्तरणका मुद्दाहरूमा आउने बदलाव हो । पुस्ता हस्तान्तरण निश्चय नै उमेरको कुरा हो, तर सँगै समय–चेतना, भविष्यबोध र सिर्जनशीलताको कुरा हो । त्यसैले राजनीतिमा पुस्ता हस्तान्तरण एउटा सूत्र होइन, बरु बृहत्तर राजनीतिक, आर्थिक, सामाजिक ढाँचाको नवीकरण हो ।


भन्नुपर्दैन, समाजको चेतना र समय दुवै गतिशील हुन्छन् । त्यो गतिलाई समात्नुपर्छ, राजनीतिले । त्यति मात्र होइन, कहिलेकाहीँ राजनीतिले समाजलाई अझ धेरै गतिशील बनाउनुपर्छ । यसर्थ नै भनिन्छ, ‘राजनीतिको चेतना र गति बेजोड हुनुपर्छ ।’ तर जब थाकेका नेताहरू राजनीतिमा हावी हुन्छन्, तब के हुन्छ ? समयभन्दा पछाडि हिँड्ने नेतृत्वको प्रयोजन हुँदैन । या त उनीहरूको उपादेयता सकिन्छ या विश्राम अनिवार्य बन्छ । अन्यथा समाजले नेतृत्व गुमाउँछ । त्यसैले नै राजनीतिमा पुस्ता हस्तान्तरण एउटा स्वच्छ र गतिशील परिघटना हो ।


प्रश्न आउँछ, पुस्ता हस्तान्तरण कसरी हुन्छ ? यसका तीन वटा बाटा छन् । पहिलो, स्वाभाविक र स्वैच्छिक बाटो । दोस्रो, हस्तक्षेप र दबाबको बाटो । तेस्रो, बृहत्तर ध्रुवीकरणको बाटो । सुरुका दुइटा बाटा पार्टीभित्रै स्वचालित हुनुपर्छ । जस्तो– पुराना नेताहरूले आफ्नो प्रयोजन सकिएको बोध गर्नु र नयाँ पुस्तालाई बाटो छोडिदिनु पुस्ता हस्तान्तरणको एउटा स्वाभाविक प्रक्रिया हो । जब खपुमाझशेराहरू यो प्रक्रियामा जान निरुत्साहित हुन्छन्, तब दोस्रो बाटो सुचारु हुन्छ । दोस्रो बाटो अलिक कठिन छ । चाकडी, चाप्लुसी गरेर यो बाटो हिँड्न सकिँदैन ।


बाहिर ठूलो कुरागर्ने र भित्र पुरानै पुस्ताको अंकगणितमा रमाउनेहरूका लागि दोस्रो बाटो कठिन छ । दोस्रो बाटो मूलतः वैचारिक, राजनीतिक अवसर लिन नयाँ पुस्ता तयार भएपछि सुरु हुन्छ । यो बाटोमा हिँड्न नयाँ पुस्ताले व्यापक राजनीतिक तथा सांगठनिक हस्तक्षेप गर्नुपर्छ । यो साहसिक बाटो हो, जसमा क्षमता पनि चाहिन्छ, हिम्मत पनि । प्रश्न उही हो— के खपुमाझशेरालाई ‘रिटायर्ड गर्न’ घयोगविधहरू तयार छन् ? अन्यथा गनगन गरेर न त पुस्ता हस्तान्तरण हुन्छ, न नेतृत्व नै फेरिन्छ ।


तेस्रो बाटो सामाजिक हलचलको बाटो हो । तेस्रो बाटो हिँड्न माथिका दुवै प्रक्रियाको उपादेयता अन्त्य भएको घोषणा गर्नुपर्छ । तेस्रो बाटोमा जाँदा दलहरूका सीमा तोडिन्छन् र नयाँ पुस्ताले आफ्नो बाटो आफै तय गर्छ । यो नै व्यापक ध्रुवीकरणको बाटो हो । यो नै बृहत्तर राजनीतिक विकल्प निर्माणको बाटो हो । जब पुरानो राजनीतिले काम गर्दैन, जब पुरानो नेतृत्वले काम गर्दैन, जब पुराना भित्रका युवाहरू गनगन मात्र गरिबस्छन्, त्यो बेला तेस्रो बाटो अनिवार्य बन्छ ।


अन्तिम प्रश्नहरू । के खपुमाझशेराले स्वैच्छिक अवकाश लिएर पुस्ता हस्तान्तरणको प्रक्रिया सुरु गर्लान् ? के घयोगविधहरूले आफ्नै शिरमा आगो लगाउने साहस देखाउलान् ? वस्तुतः दुवै सम्भावना असम्भव लाग्छन् । त्यसो भए के पुस्ता हस्तान्तरणको प्रक्रिया व्यापक राजनीतिक–सामाजिक प्रक्रिया बन्ला ? आशा गरौं, नेपाली समाजको पछिल्लो पुस्ताले ऐतिहासिक पहल गर्नेछ । यही नै पुस्ता हस्तान्तरणको अन्तिम र निर्णायक बाटो हो । अन्यथा याद गरौं, न गोरुगाडा चढेर चन्द्रमा पुगिन्छ, न त डोजरमा चढेर रेलको तिर्सना नै मेटिन्छ ।


प्रकाशित : कार्तिक ११, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

उज्यालो पर्वको शुभकामना

सम्पादकीय

काठमाडौँ — आफ्नो र परिवारको जीवनस्तर उकास्न सहरमा दौडधुप गरिरहेका मानिसहरूलाई चाडबाडले समाजसँग जोड्ने मौका दिन्छ । व्यस्त दैनिकीलाई थाती राखी टोल–छिमेक तथा टाढा रहेका आफन्तसँग घुलमिल गर्ने समय दिने भएकाले चाडबाडको धार्मिक र पौराणिक मात्र होइन, व्यावहारिक महत्त्व पनि छ ।

वर्षभरिको शारीरिक श्रमपछि अन्नबाली भित्र्याएर आराम गर्ने तथा खुसियाली मनाउने उत्सवका रूपमा पनि दसैं–तिहारजस्ता चाडको महत्त्व रहँदै आएको छ । मानवशास्त्रीहरूका भनाइमा, १०–१२ हजार वर्षअघि कृषि युगमा प्रवेश गरेसँगै मानव समाजले यस किसिमका उत्सव तथा चाडहरू मनाउँदै आएको छ ।

पौराणिक कथा र श्रुतिहरूमा यिनको धार्मिक महत्त्वका बारेमा उल्लेख भएको पाइन्छ । बहुजाति र संस्कृतिको देश नेपालमा जातीय, धार्मिक र क्षेत्रीय हिसाबले मनाइने अनगिन्ती चाडपर्व छन् । यसबाट पनि नेपाली समाजको अन्तरघुलन र सद्भाव प्रस्टिन्छ ।

तिहारको महत्त्व भने उज्यालोको पर्वका रूपमा विशेष रहँदै आएको छ । ‘अप्प दिपो भव’ (आफैं प्रज्वलित होऊ) भन्ने बुद्ध धर्म र ‘तमसो मा ज्योतिर्गमय’ (अँध्यारोबाट उज्यालोतिर) भन्ने हिन्दु धर्मले बोकेका दर्शनलाई पनि तिहारले स्मरण गराइदिन्छ । साथै यसले समाज र व्यक्तिलाई पनि उज्यालाको खोजीमा लाग्न प्रेरित गर्छ । उज्यालाको अर्थ सत्य र प्रगति भन्ने हो ।

तिहार आपसी सम्बन्धको पनि चाड हो । दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई उत्सवका रूपमा मनाउन यसले सिकाउँछ । एकले अर्कालाई टीका लगाउने र पूजा गर्ने परम्परा अरू धेरै समाजमा पाइँदैन । एउटै घरमा बाल्यकाल बिताएर छुट्टिएका दाजुभाइ– दिदीबहिनीका लागि यो समयमा स्मृतिका पुराना दिनमा पुग्ने बहाना पनि बनिदिन्छ । एउटै मुहानबाट निस्केर बेग्लै भूगोलमा बग्दै गएका खोलाहरू पुनः भेटिएजस्तो, समय परिस्थितिले टाढा टाढा पुगेका दाजुभाइ–दिदीबहिनीको भेट आफैंमा विशेष अवसरझैं हुन जान्छ । संयुक्त परिवारबाट टुक्रिएर एकल परिवारमा गइरहेको नेपाली समाजका लागि यसको महत्त्व झन् बढी छ ।

आजसम्मको मान्छेको कथा भनेकै मान्छेले गरेका संघर्षका कथा हुन् । हरेक मान्छेको जीवन कथा फरक होला । भूगोल, राजनीति र समयले ती कथामा फेर पारिरहेका हुन्छन् । समग्रमा मानव जातिको कथा भने, उसले उजागर गरेको सत्य र भोगेको यथार्थ नै हो । वर्षौंका यस्ता अनुभव र कथाहरूलाई एकअर्कासँग जोड्ने मौका पनि चाडपर्वले नै दिन्छन् ।

केही वर्षअघिसम्म पनि नेपाली जनताले खेप्नुपरेको १८ घण्टासम्मको विद्युतीय ‘लोडसेडिङ’ ले दीपावलीलाई ‘अँध्यारोमा मनाइने उज्यालोको पर्व’ जस्तै बनाइदिएको थियो । पछिल्ला वर्षमा लोडसेडिङ हटेपछि भने तिहारमा उज्यालोको रौनक साँच्चै देखिन थालेको छ ।

पहिले–पहिले केराका सुप्लामा कपासको दियो बालेर गरिने दीपावलीलाई अहिले थरीथरीका रंगीचंगी बिजुली बत्तीले विस्थापित गरिरहेको छ । यसैले पनि तिहार सबभन्दा बढी विद्युत् खपत हुने समय पनि हो । तिहारमा सहर झिलिमिली बनाउन सक्ने गरी स्वदेशमै विद्युत् उत्पादन हुन थालेको छ ।

यो आत्मनिर्भरता आफैंमा सकारात्मक छ, तर तिहारमा खपत हुने अन्य सामग्रीमा भने हामी झन्झन् परनिर्भर बन्दै गएका छौं । भाइ मसलामा मात्र होइन, मुलुकमै उत्पादन हुने सयपत्री फूल र मालामा समेत हामी बाहिरबाट हुने आयातमै निर्भर भइरहेका छौं । हरेक वर्ष चाडबाड मनाउँदा ठूलो रकम विदेशिनु भनेको राष्ट्रिय अर्थतन्त्रका लागि दुःखद कुरा हो ।

बाली सप्रिएर उत्सव मनाउने समयका रूपमा सुरु भएको चाड मनाउन विदेशबाट सामान आयात गर्नुपर्ने अवस्था देखिनु भनेको हाम्रो आफ्नो उत्पादन शक्तिमाथि व्यंग्यसरह हो । यसतर्फ उत्पादक, व्यवसायी, सरकारी निकायलगायत सम्बन्धित सबैको ध्यान जानु जरुरी छ ।

उज्यालो र भाइचाराको चाड तिहारको उपलक्ष्यमा हाम्रा समस्त पाठकहरूमा कान्तिपुर परिवारका तर्फबाट धेरै–धेरै शुभकामना ।

प्रकाशित : कार्तिक ११, २०७६ ०९:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×