२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

हामी बच्चालाई माया गर्दैछौं कि घात ?

रामेश्वरी पन्त

नियमित आँखा जाँचको क्रममा तिलगङ्गा आँखा प्रतिष्ठान पुगेकी म संयोगले बाल नेत्रपरीक्षण कक्षसँगै रहेको डाक्टरकहाँ पठाइएँ । सधैंजसो ‘मानव महासागर’ रहने प्रतिष्ठानको पल्लो भवनमा पुगेपछि देखिएको दृश्य अर्कै थियो । एकातिर ससाना नानीबाबुहरू रमाउँदै खेलिरहेका थिए भने अर्कोतिर बच्चा समातेर लामबद्ध भएका आमाहरू । सबैजना आ–आफ्ना बच्चाको आँखा देखाउने पालो पर्खिरहेका थिए ।

यति धेरै बच्चा आँखाको समस्या लिएर अस्पताल आएको पहिलोपटक देखेर पनि होला, मलाई आश्चर्य लाग्यो । अझ अधिकांश साना नानीबाबुहरूको आँखामा चस्मा थियो र धेरैको चस्माको सिसा झनै मोटो । आफ्नो पालो पर्खने क्रममा केही बच्चा र केही आमाहरूसँग कुरा गरेँ । सबै आमाको गुनासो थियो– ‘मोबाइल त छोड्दै छोड्दैन ।’ काखे नानीहरू नि ? ‘के गर्नु, मोबाइलमा भिडियो नहेरेसम्म दूध/लिटो नै खाँदैनन् ।’ प्रविधिको विकासले हरेक ठाउँमा राम्रो गर्छ भन्नु मुर्खता हुन्छ । सञ्चारको दुनियाँमा अतिसय फड्को मारेको मोबाइलले सहरियामात्र होइन, दूरदराजका ग्रामीण बालबालिकाहरूको शारीरिक र मानसिक स्वास्थ्यदेखि उनीहरूको भविष्यमाथि नै नराम्रो खेलबाड गरिरहेको छ । तर यो गम्भीर विषयप्रति अभिभावकहरूको ध्यान पुग्नसकेको छैन । मोबाइल फोनको लतले आफ्ना बालबालिकामा पर्ने असरबारे जानकार अभिभावकहरू पनि जानी–जानी उनीहरूको हातमा मोबाइल थमाएर ढुक्क छन् ।


कुनै समय थियो, नानीहरूले खाना खान मानेनन् भने आफ्नो घर वरपर रहेका कुकुर, बिराला, परेवा, ढुकुरजस्ता चराचुरुङ्गी अनि गोठमा बाँधेका गाई, भैंसी तथा बाख्रा देखाउँदै डुलाई–डुलाई खाना खुवाउने गरिन्थ्यो । बच्चाहरू पनि यसैमा रमाउँथे । रमाउने मात्र होइन, यसबाट बालबालिका र जनावर अनि प्रकृतिप्रतिको साइनो प्रेमिल बनेको थियो । तर आजका आमाहरू आफ्ना बच्चालाई खाना खुवाउन प्रकृति र वरिपरिको वातावरण होइन, मोबाइल र ट्याब्लेटको प्रयोग गर्छन् । लिटोको चम्चा समात्नु अघि नै भिडियो अन गरेर बच्चाको हातमा यी उपकरण थमाइदिन्छन् । यिनलाई समात्न नसक्ने साना बच्चा रहेछन् भने पनि तकियाको आड लगाएर भए पनि बच्चालाई आकर्षित गर्ने भिडियो देखाएर खाना खुवाउँछन् । आमाको भनाइ छ– ‘के गर्नु, यति नगर्ने हो भने त कसरी काम गर्न पाइन्छ र ? डुलाएर, फकाएर खाना खुवाउँदा घन्टौं लगाइदिन्छन् ।’


जागिरे महिलाको हकमा त उनीहरूको पक्षबाट हेर्दा ठिकैजस्तो लाग्ला, तर फुर्सदिला र दिनभर घरमै बस्ने आमाहरूले पनि खाना खुवाउने तथा भुलाउने नाममा आफ्ना बच्चाहरूलाई प्रविधिको होइन, जन्मदैदेखि दुर्व्यसनको लत लगाइरहेका हुन्छन् । सानोमा रमाइला चित्र र भिडियो हेरेर रमाउने बच्चाहरू हुर्कंदै गएपछि अरु जिज्ञासु बन्छन् र नयाँ–नयाँ कुराको खोजीमा स्मार्ट फोनमै भुलिरहन्छन् । यति भुल्छन् कि पछि–पछि त उनीहरूलाई न खानाको स्वाद थाहा हुन्छ, न आमाबाबुको मायाको स्वाद । न बोलाएको सुन्छन्, न अह्राएको गर्छन् । यतिबेलासम्म उनीहरूको दुनियाँ अर्कै भइसकेको हुन्छ । बल्ल अलिअलि आमाबाबाले थाहा पाउँदै जान्छन्– ‘बच्चाबच्ची त बिग्रिसकेछन् ।’ अब मोबाइल नचलाओ भनेर मान्नेवाला कहाँ छन् र ? बरु जबर्जस्ती गरे उल्टै केही नराम्रो गर्लान् कि भन्ने पीर ।


प्रविधि स्मार्ट भयो, समय स्मार्ट भयो र अचेल हाम्रा बालबालिकाहरू पनि जन्मदै स्मार्ट हुनथाले । अहिले कुनै घरमा जाँदा त्यहाँ बच्चाहरू भए पनि कुनै मायालु रुवाई सुनिंँदैन । निर्दोष हाँसो र खिलखिलाहट सुनिँदैन । बच्चाहरूको लडाइँ, झगडा र रुवाबासी सुनिँदैन, कुनै टोलमा । सुनसान, सुनसान । सबै आ–आफ्ना घर र कोठाचोटाका कुनामा बसेर स्मार्ट जिन्दगी हुर्कंदै गरेका हुन्छन् । न आमाबाबुलाई आफ्ना बच्चासँग खेल्ने पुर्सद छ, न बच्चालाई आमाबाबुको खाँचो छ । दिनभर कामबाट फर्केर सुस्ताएको बाबुको काखमा दौडिँदै आएर बस्दै बच्चाले जुँगा तानोस्, दाह्री मुसारोस्, यो न बच्चा चाहन्छ न बाबुलाई फुर्सद छ । किनकि अचेल दुनियाँ नै स्मार्ट जो भएको छ । फुर्सद भए बाबुको मोबाइल पनि ‘किलिक्क’ भैहाल्छ । न त आमाको काखमा बसेर कलिला हातहरूले निधारको टीका झिकेर यताउता टाँसिदिने वा आफ्नै निधारमा टाँस्ने प्रयासमा आँखा वा नाकतिर टाँस्ने चञ्चल रहर जाग्छ अचेलका बच्चाहरूलाई, न आमाहरूलाई नै बच्चाले यसरी ‘डिस्टर्ब’ गरोस् भन्ने चाह । आमाहरू पनि कम स्मार्ट छैनन्, अचेलका । दुबै पक्ष बेफुर्सदी । फुर्सदिला आमाहरू पनि बच्चालाई एक्स्ट्रा मोबाइल वा ट्याब्लेट जिम्मा लगाएर फुर्सदिला हुन चाहन्छन् । अचेलका बालबालिकाहरू न परिवार चिन्छन्, न आफन्त र नाता सम्बन्धहरू । प्रकृतिसँगको साइनो त कुरै छाडौं । चराको चिरबिर, झरनाको कलकल, वनको हरियाली सबै अचेल कोठाभित्रै यु–ट्युब र गुगलमा भेटिन्छन् । आज दुनियाँ कोठाभित्रै सीमित भएको छ र दुनियाँसँगै हाम्रा बालबालिका पनि ‘कोठे’ र ‘एकलकाँटे’ भएका छन् ।


अर्कोतिर लिटो खाने उमेरदेखि नै बच्चाहरूलाई मोबाइलको लत लगाइदिँंदा आँखाको समस्या बढ्दै जान्छ र अन्तत: दृष्टि कमजोर बन्दै गएर असमयमै मोटो चस्माको भारी बोक्न बाध्य हुन्छन् । यही कारण हो, आज आफ्ना स–साना बाबुनानीहरूलाई डोर्‍याएर आँखा अस्पतालमा लामो लाइन लाग्नुपर्ने बाबुआमाहरूको बाध्यता । यसरी प्रविधिको दुरुपयोगले बालबालिकामा देखिने शारीरिक र मानसिक समस्याले केवल उनीहरूको भविष्यलाई चुनौती नदिएर सिंगो परिवार, समाज भोलिको देशको कर्मठ जनशक्तिलाई नै चुनौती बनेको हुन्छ । त्यसैले हरेक अभिभावकले आफ्ना बालबालिकालाई स्मार्ट फोनको लतबाट टाढै राखौं र राख्ने प्रयास गरौं । मोबाइल फोन नपाएर बच्चा एकछिन रोला, तर उसलाई फुल्याउन मोबाइल फोन दिएर ‘जिन्दगीभर रुने’ नबनाऔं । आज उसलाई केही थाहा छैन, आफूले खोजेको कुरा नपाए रोइदिन्छ, पाएमा फुरुक्क हुन्छ । तर त्यही फुर्क्याइले आफू बर्बाद भएको जब थाहा पाउँछ, तब ऊसँग पछुताउनु बाहेक केही रहँदैन ।


आफ्ना बालबालिकालाई मोबाइल फोनको लत लगाउनुमा बाबुहरूभन्दा पनि आमाहरूको भूमिका ज्यादा देखिन्छ । आफूलाई फुर्सदिलो राख्न वा छिटो खाना खुवाउन आमाहरूले अपनाउने यो तरिका घातक छ । बच्चालाई अरु किसिमले माया गरौं, तर यस्तो ‘विषाक्त माया’ कदापि नगरौं भन्ने समस्त आमाहरूसँग आग्रह गर्छु । बाबुहरू पनि यसमा अछुतो छन् भन्न खोजेको होइन, बाबुहरूले पनि बच्चाले जिद्दी गर्‍यो भन्दैमा उमेर नै नपुगी हातमा मोबाइल फोन, ट्याब्लेट वा ल्यापटप नथमाऔं । धेरै अभिभावकको बुझाइ होला– प्रविधिसँगै छोराछोरी हुर्कंदै जान्छन् । यो बुझाइ गलत नहुन सक्ला, तर यसको ‘साइड इफेक्ट’बारे पनि सचेत बनौं ।

प्रकाशित : कार्तिक ८, २०७६ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?