कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

श्रम सम्बन्धका पाटा

दुर्गा कँडेल छत्कुली

जुनसुकै संगठनमा कर्मचारी आवश्यक हुन्छ । कर्मचारीलाई उचित स्थान दिएर एक हदसम्म स्थिर बनाइराख्न सकिएन भने संगठनको अस्तित्व नै धरापमा पर्न सक्छ । श्रम सम्बन्ध अर्थात कर्मचारी सम्बन्ध भन्नाले कुनै संगठनमा काम गर्ने कर्मचारी व्यवस्थापन तथा मालिकहरू बीचको सम्बन्ध हो ।

संकुचित अर्थमा पहिले श्रम सम्बन्धलाई रोजगारदाता र कामदारहरू बीचको सम्बन्धका रूपमा बुझिन्थ्यो । औद्योकीकरणको फलस्वरुप श्रम सम्बन्धको घेरा फराकिलो भएको छ । आधुनिक समयमा श्रम सम्बन्धभित्र कर्मचारी, रोजगारदाता र समाज बीचको सम्बन्धलाई लिइन्छ ।


श्रम सम्बन्ध सुमधुर भएमा संगठनको उद्देश्य हासिल गर्न सहज हुन्छ । अचेल श्रम सम्बन्धलाई औद्योगिक सम्बन्धसँग जोडेको पाइन्छ । श्रम सम्बन्ध राम्रो भएमा संगठनमा द्वन्द्व तथा विवाद कम हुन्छ, समस्या समाधान छिटोछरितो तरिकाबाट हुन्छ, श्रम सम्बन्ध गतिशीलता र प्रभावकारी बन्छ, सामूहिक कार्य सफल हुन्छ । श्रम सम्बन्धमा कामदार, व्यवस्थापक र सरकारको जटिल अन्तरसम्बन्ध हुन्छ । श्रम सम्बन्धको माध्यमबाट संगठनात्मक उत्पादकत्व वृद्धि, परिवर्तनप्रति कर्मचारीको जागरुकता, कार्य जीवनको गुणमा सुधार आदि संगठनात्मक उद्देश्य प्राप्ति सम्भव हुन्छ ।


संगठनात्मक उद्देश्यलाई आफ्नो उद्देश्यमा समाहित गरी संगठनको उद्देश्य हासिल गर्ने सीप क्षमता र दक्षता प्रदर्शित गर्ने पक्ष कामदार तथा कर्मचारी हुन् । संगठनमा रहेका अनकौं भौतिक साधनको एक निश्चित सीमासम्म काम गर्ने क्षमता हुन्छ । तर मानव साधन जसको क्षमताको सीमा तोक्न कठिन हुन्छ । त्यही कामदार एउटा वातावरणमा एक किसिमको उत्पादकत्व दिन्छ भने अर्को वातावरणमा फरक उत्पादकत्व दिन सक्छ । तसर्थ कर्मचारी अनुकूलको वातावरण सिर्जना गरी उनीहरूबाट बढीभन्दा बढी उत्पादकत्व हासिल गर्न सक्नु व्यवस्थापकको कौशलमा भर पर्छ ।


रोजगारदाता र कामदारको सम्बन्ध सुमधुर हुनु आवश्यक हुन्छ । आजका संगठन तथा रोजगार संस्थाहरूबीच श्रम सम्बन्ध सबल हुन नसक्दा संगठनहरूको उद्देश्य प्राप्तिमा कठिनाइ भएको देखिन्छ, यसो हुनु राम्रो होइन । रोजगारदाताले कर्मचारीलाई शक्तिको रूपमा लिन सक्नुपर्छ । कर्मचारीको समय अनुसार सेवासुविधा, वृत्ति विकासका अवसर, तालिमका अवसर, सरुवा–बढुवा, उचित दण्ड र पुरस्कारको व्यवस्था, संगठनात्मक संस्कारको विकासजस्ता पक्षमा ध्यान दिन सक्नुपर्छ ।


व्यावसायिक संगठन समाजमा घुलमिल भएर आफ्नो व्यावसायिक कार्य गर्छ । उसले समाजवाटै प्रशस्त मुनाफा आर्जन गरिरहेको हुन्छ । समाजमा गरेको क्रियाकलापबाट प्राप्त मुनाफा समाजका लागि पनि केही उत्तरदायित्व बहन गर्न केही रकम खर्च गर्नुपर्छ भन्ने मान्यता पाइन्छ । यसैलाई संस्थागत सामाजिक उत्तरदायित्व भनिन्छ । समाजमा सामाजिक उत्तरदायित्वको बहन गर्दै आफ्ना क्रियाकलाप सञ्चालन गर्ने व्यावसायिक संगठन कालान्तरसम्म जीवन्त रहन सक्छ ।


नेपालमा श्रम व्यवस्थापनको विकासको इतिहास त्यति धेरै लामो छैन । सन् १९३६ स्थापना भएको विराटनगर जुट मिलको स्थापनाबाट औद्योगिक प्रक्रियाको सुरुवात भयो । सन् १९६५ देखि वैदेशिक सहायतामा केही उद्योगहरू खुल्न थाले । उद्योगहरूको स्थापनासँगै श्रमिकहरूको व्यवस्थापन र श्रम सम्बन्धको विषयले महत्त्व पाउन थाल्यो । विभिन्न खालको राजनीतिक चेतनाको विकास र विस्तारले श्रमिक युनियनहरू पनि खडा भए । यस्ता युनियनहरू अस्तित्वमा आउन थालेपछि श्रमिकको हित र कल्याण सम्बन्धी विषयले महत्त्व पाउन थाले र सम्बन्धित ऐन, नियमहरू बन्न थाले ।


तैपनि अझै देशको समग्र विकासको मेरुदण्ड श्रमको व्यवस्थापनजस्तो गहन विषयको महत्त्वलाई बुझ्न नसकी यसतर्फ सरोकारवालाको ध्यान जान नसक्नु दुर्भाग्य हो ।

प्रकाशित : कार्तिक ७, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?