कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११७

कृषिलाई भुइँ छोड्न नदिऊँ

कृष्णप्रसाद पौडेल

दुई वर्षअघि चुनावताका दलहरूले प्रस्तुत गरेका प्रतिबद्धतापत्र होउन् वा स्थानीय तह, प्रदेश र संघीय संसदका उम्मेदवार घोषणा यी सबैमा नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने महत्त्वाकांक्षा बाँडिएको छ । आफ्ना सफलताका कथामात्र लेखिएका यी कुण्डलीमा नेपाली जनजीवनको मुख्य आधार कृषि सपार्ने ओँठेभक्ति त छ, तर कस्तो कृषि किन गर्ने भन्ने विचार र ठोस योजनाको प्रस्ताव भने कतै छैन । 

कृषिलाई भुइँ छोड्न नदिऊँ

नेपालको खाद्य, भूमि र कृषिका सवाललाई सम्बोधन गर्ने स्पष्ट खाका र रणनीतिक प्रस्ताव कुनै दलसँग नभए पनि कृषिको व्यावसायीकरण, आधुनिकीकरण र औद्योगीकरण गर्ने कुरा धेरैजसो दलका घोषणापत्रको साझा थेगो बनेको छ । यी सबैभन्दा अलि फरक वाम गठबन्धनको घोषणापत्रमा भने १० वर्षभित्र मुलुकलाई अर्गानिक बनाउने प्रस्तावसमेत छ । यो प्रस्तावले कृषि बिग्रेकोमा चासो राख्दै सपार्न चिन्तन/मनन गर्न हामी सबैलाई हौस्याएको छ ।

गठबन्धनको यही घोषणालाई आधार मानेर कर्णाली प्रदेश सरकारको पहिलो बैठकले त्यस प्रदेशलाई प्रांगारिक बनाउन आधारहरू तयार गर्ने निर्णय गर्‍यो । यसलाई कार्यान्वयनमा लैजान भन्दै यसले प्रांगारिक कृषि विधेयकसमेत संसदमा दर्ता गराएको छ । प्रधानमन्त्रीको भारत भ्रमणका बेला भारत सरकारले नेपालको कृषि सपार्न साझेदारी गर्ने घोषणा गर्‍यो । यसको केही समयपछि कृषि प्राविधिक र अगुवा किसानलाई प्रांगारिक कृषि तालिमका लागि भारतको गाजियावादसमेत पठाइयो ।


साथै कृषि विकासको विद्यमान ढाँचालाई क्रमश: प्रांगारिक उन्मुख गराउन के कस्ता नीतिगत, संस्थागत र कानुनी ढाँचा अवलम्बन गर्नुपर्छ भन्ने विषयमा सुझावसहितको प्रतिवेदन तयार पार्ने मूल जिम्मेवारीसहित सरकार कृषि तथा पशुपन्छी विकास मन्त्रीको अध्यक्षतामा प्रांगारिक कृषि प्रबर्द्धन उच्चस्तरीय कार्यदल बनाइयो । यसले तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिकसमेत भइसकेको छ ।


१० वर्षमा अर्गानिक मुलुक बनाउँछौं भनेर निर्वाचनका बेला वाचा गरेको वाम गठबन्धनले नै अहिले सरकार चलाउँदैछ । तर आफैले गरेको वाचा पूरा गर्न अर्गानिक कृषिको स्पष्ट खाका र दृष्टिकोण ल्याउनुपर्ने बेला यसको नेतृत्व भने रसायन र विषादी बेच्ने दलालका सामु लुटपुटिएर विषादीयुक्त कृषिको प्रबर्द्धन गर्ने जोडबलमै लागेको छ । सरकार र सरोकारवालाको विवेक नपुग्दा कृत्रिम रसायन र विषादीको बिगबिगी झन् बढेको छ ।


समग्र कृषि यात्राको नीतिगत तथा संस्थागत पहल गर्नुपर्ने नेतृत्व यसका लागि उत्साहितसमेत देखिँदैन । कृषि सपार्ने सरकारी जिम्मेवारी लिएको कृषि मन्त्रालय सिंहदरबारको प्रशासनिक पर्खालभित्र कैद छ । किसानका खेतबारीमा भेटिनुपर्ने कृषि प्राविधिक सेतो सर्ट र निलो कोटमा यही मन्त्रालयका कोठाचोटामा हल्लिएका छन् । यीमध्ये अधिकांश हाजिर गर्ने र हाकिमको चाकडी र तारिफ गर्नमै व्यस्त छन् । यो बाहेक अरुले के काम गरेर दिन बिताउँछन्, केही थाहा छैन ।


अहिलेको कृषि प्रबर्द्धन पद्धति समग्रमा किसानमारा र उपभोक्ता विरोधी छ । मूलत: आसेपासे र बिचौलियालाई मात्र बाँडिने अनुदानमा टिकेको यो पद्धति टिके लोकतन्त्र जत्तिकै उत्ताउलो छ । यसको जरासम्म पुगेर समस्याको समयमै पहिचान र समाधानको पहल नगर्ने हो भने हाम्रो कृषिले पलायनको ओरालो बाटो फेर्न कठिन छ । कृत्रिम रसायन र विषादी घटाउन, खानेकुरा र खेतीपातीबारे जनचेतना फैलाउन, हरित क्रान्ति कृषिले हाम्रो कृषि प्रणाली तहस–नहस पारेको कुरा स्वीकार गर्न आँट गरौं । अगुवा किसानहरूको अनुभव सुनौं । तथ्य र तथ्यांकमा आधारित भएर विश्लेषण गरौं । तत्काल र भविष्यका लागि लिने कृषिको बाटो कस्तो हो भन्ने बहसमा केन्द्रित भएर कुरा गरौं । यसले मात्र हामीलाई बिराएको बाटो फेर्ने र सच्चिने मौका दिनेछ ।


भूउपयोग र व्यवस्थापन हाम्रालागि धेरै महत्त्वपूर्ण छ । जोत्नेसँग जमिन छैन र जमिन हुनेले जोत्दैन भनेर बारम्बार कुरा उठिरहन्छ । यो विरोधाभाष नसल्टाई कृषि अगाडि बढ्न सक्दैन । तसर्थ तत्काल हाम्रो भूउपयोग कसरी गर्ने र भूमिमाथिको किसानको अधिकार कसरी सुरक्षित गर्ने भन्नेमा ध्यान दिऊँ । योसँगै झोलाका सहकारीलाई कृषि प्रबर्द्धनका लागि खेती, किसानी र खेतबारीसम्म पुग्नसक्ने कसरी बनाउने भन्ने प्रश्नको उत्तर खोजौं ।


अहिले खेतीपाती गर्ने भन्नासाथ कृषिको आधुनिकीकरण, औद्योगीकरण र व्यापारीकरण गरी पैसा कमाउने भन्ने बुझिन्छ । आफ्ना बारीमा १० मुठा साग नहुनेले समेत बजार नभएको गुनासो पालेर बसेको छ । हामीले खाने खाना हाम्रो विवेक र बुद्धिले स्थानीय स्रोत र साधनको अधिकतम उपयोग गरेर मात्र उत्पादन गर्नुपर्छ, अन्यथा यो ढिलो या चाँडो रसायनबाट विषाक्त हुँदै जान्छ । यस्तो विषबाट खेतीपाती झन् कमजोर हुँदै जान्छ भन्ने बुझौं । अहिले गाउँघरमा किसानहरू आफ्नै विवेकले रसायनमा आधारित कृषिको बाटो फेर्ने जमर्को गरिरहेका छन् । सहरिया उपभोक्तासमेत सचेततापूर्वक रसायन र विषादीले आफ्नो जीवनमा परेको जोखिमबाट जोगिने प्रयत्न गर्दैछन् । यिनको उत्साह र आसमा विश्वास र भरोसा थपौं ।


सरकारले समृद्धिका लागि व्यावसायिक कृषि प्रबर्द्धनमा नै जोडबल लगाएको छ । यसैमा अनुदान बाँड्ने गरिएको छ र यही अनुदानमा भाडा असुल्ने कामसमेत जारी छ । यसरी अनुदानमा भाडा बुझाउने बिचौलियाले कृषिजस्तो सामाजिक मूल्यको उद्यम गर्दैन । यस्तो प्रवृत्तिले किसानका नाममा ठगी बढाउँदै स्वाभिमानी किसानीको अपमान गरेको छ । परनिर्भरता बढाउँदै लगेको छ । यसमाथि अझ विकासका नाममा लिएका दानका पैसाले सरकार र समुदाय दुवैलाई यस्तो दान दिनेहरूकै अगाडि निरीह र मुख ताक्ने बनाएको छ । यसबाट छुटकारा पाउने उपाय खोजौं ।


यस्तो उपायको बलियो उदाहरण पर्यापर्यटन प्रबर्द्धन हुनसक्छ । तर यसको पूर्वसर्त जैविक खाना र यसको संस्कृति हो । यसका लागि रसायन र विषादीमुक्त खानेकुरालाई मुलुकको राष्ट्रिय गौरव बनाऊँ । साथै खानेकुरामा परनिर्भर नहुने वाचा गरौं, किनकि खानामा समेत अरुको भर पर्नुपर्ने मुलुक स्वाधीन र यसका नागरिक स्वाभिमानी हुन सक्दैनन् ।


खानेकुरालाई पोषणयुक्त र स्वस्थ्यकर बनाउनुको विकल्प छैन । यसतर्फको यात्रा पर्यावरणीय कृषिका सिद्धान्त आत्मसात र अभ्यास गरेर मात्र सम्भव छ । प्रांगारिक खेतीपातीबारे धेरै भ्रम फैलिएका छन् । यस्ता भ्रम चिर्न तथ्यबाट बोल्ने आँट गरेमात्र सम्भव हुन्छ । यस्तो आँट गर्न व्यापारिक कृषिका दलालको फेरो नसमाउने, र्‍याल नचुहाउने या तिनको दबाबसामु नझुक्ने अटल र स्वाभिमानी नेतृत्व चाहिन्छ ।


अहिले शिक्षालाई ठूलो र जान्ने हुने नाममा जीवनका वरिपरिभन्दा अरुको देखासिकी गर्न उक्साउने अभ्यास बनाएका छौं । यतिसम्म कि खेतीपातीको कुरा गर्दा नानीबाबुले किन यो रुखमा केरा फलाएको भनेर सोध्ने जिज्ञासु बनाएका छौं । जबसम्म उनीहरूलाई खाना र खेतीपातीको मर्म सानैदेखि बुझाउँदैनौं, तबसम्म हाम्रो कृषिले खुट्टाले टेक्ने छाँट छैन, किनकि हाम्रा भविष्यका किसान यिनै हुन् । तसर्थ हामीले हाम्रा नानीबाबुहरूलाई खेतीपाती गर्ने कुराको मर्म बुझाउने हो । यो कुरा आधारभूत शिक्षामा खेतीपाती जोडेर मात्र सम्भव छ । यसतर्फ उचित ध्यान दिन सकौं ।


कृषि कर्म पहिले खानको लागि हो । खान पुगेपछि मात्र अन्य घरायसी र सामाजिक, आर्थिक व्यवहार चलाउन बेच्ने र पैसा कमाउने हो भन्ने मनन गर्न र सोही अनुरुपको व्यवहार गर्न जरुरी छ । सबै कुरा पैसामा दाँज्ने र सबै कुरामा पैसामात्र देख्ने मनोरोग नहटेसम्म खानेकुराका लागि खेती गर्ने कुरा असम्भवप्राय: छ । समयमै यो समस्यालाई चिन्न र चिर्न सकेनौं भने निकट भविष्यमै भयंकर संकटको साक्षी हुनेछौं ।


खेतीपाती केवल उत्पादनको प्राविधिक विषयमात्र होइन, यो जीवन पद्धतिलाई समृद्ध बनाउने विचार या दृष्टिकोण हो । अहिले खेतीपातीबारे हाम्रो विचारमै गडबढी छ । अहिले कृषि विकास भनेर जे ज्ञान बढ्दैछ, यो विवेकहीन छ । यो ज्ञानले हामीलाई प्रांगारिक यात्रा तय गर्न दिँदैन । किसानलाई केन्द्रमा नराख्ने र किसानी गरी उनीहरूको जीवन पद्धति सुरक्षित गर्ने सोच र योजना विकास नगर्ने हो भने जैविक खेती गर्न सम्भव हुँदैन । कृषिले भुइँ छोडे यसैमा आश्रित हामी भुइँफुट्टा हुने हो भन्ने नबिर्सौं ।


प्रकाशित : कार्तिक ६, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?