कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चर्चाभित्रका विवश कमलाहरू

उषा थपलिया

काठमाडौँ — यतिबेला ११ वर्षीया बालिका कमला घिमिरे सामाजिक सञ्जालमा सर्वत्र छाएकी छन् । युट्युब च्यानलहरूले उनको दोहोरी गायन क्षमताका भिडियोहरू ‘अपलोड’ गरिरहेका छन् । स्थापित टेलिभिजन च्यानलका प्रख्यात लोकदोहोरी कार्यक्रमदेखि गाउँठाउँका खुल्ला कार्यक्रममा दोहोरी गाउन उनलाई भ्याई–नभ्याई छ ।

चर्चाभित्रका विवश कमलाहरू

बालिका तथा परिवारलाई सहयोग गर्न तत्पर मनकारीहरूको दायरा फैलँदो छ ।


धादिङ, नीलकण्ठ नगरपालिका–१२, साङ्कोश निवासी कल्याण घिमिरे र देवकीकी छोरी कमला स्थानीय पशुपति माविमा ६ कक्षामा पढ्छिन् । पारिवारिक वातावरण सांगीतिक नभए पनि बच्चामै दोहोरी गाउने कलाले उनलाई चर्चित बनायो । यसापालिको तीजमा उनको दोहोरी गायन युट्युबमार्फत सर्वत्र फैलियो ।


त्यसपछि सामाजिक सञ्जालप्रेमीका लागि उनी खोजी–खोजी हेरिने र पढिने पात्र बनिन् । सानै उमेरमा देखिएको अद्वितीय कलाले उनलाई अवसर पनि प्रशस्तै दिलाएको छ । जुनसुकै विषय–वस्तुमा तुरुन्तै दोहोरी गाउन उनी माहिर छिन् । हरेक लय टपक्कै टिप्ने खुबी छ । उमेरका कारण विश्वास नलाग्ने चोटिलो जवाफ विपक्षीलाई फर्काउने क्षमता छ । यिनै कारण राजधानीका टेलिभिजन च्यानलहरूले आफ्ना लोकप्रिय कार्यक्रममा उच्च महत्त्वसाथ उनलाई ठाउँ दिइरहेका छन् । यिनै कार्यक्रमहरूमा उनले देशका दर्जनौं ख्यातिप्राप्त लोकगायकहरूसँग दोहोरी गाएर सबैलाई आच्छु–आच्छु पारेको खबर फैलिरहेकै छ ।


गत भदौसम्म स्थानीय परिवेशमै सीमित उनको कला दुई महिनामै युट्युबरहरूकै कारण सर्वत्र चर्चित भएको हो । कलाको प्रचारसँगै उनलाई सहयोग गर्नेहरू पनि बढ्दैछन् । व्यक्ति पिच्छेका स्वस्फुर्त आर्थिक सहयोगका साथै उनको भविष्य निर्माण गर्ने तत्परता धेरैतिरबाट देखिन्छ । ६–१२ कक्षासम्मको सबै खर्च बेहोर्ने प्रतिबद्धता उनले पाइसकेकी छन् । काठमाडौंमै ल्याएर बोर्डिङमा पढाउन र सांगीतिक गतिविधि अघि बढाउन तयार हुनेसमेत नभएका होइनन् । चर्चा बाहिरिएपछि अध्ययनरत विद्यालयले शुल्क मिनाहा गरेर सबै सुविधा नि:शुल्क दिलाउने घोषणा गरेको छ ।

तर योसँगै चिन्ता पनि थपिएको छ । बालबालिकाका प्रतिभालाई चर्चामा ल्याउनु र उनीहरूको प्रगतिमा आमचासो केन्द्रित गराउनु प्रशंसनीय कार्य हो ।


यसमा संलग्न हुनेले पुर्‍याएको योगदान स्तुत्य छ । तर यसैसँग जेलिएका कतिपय नकारात्मक पाटोले चिन्ता जगाएका छन् । फरक प्रतिभाका जोकोही जब चर्चामा आउँछन्, त्यसपछि सम्बन्धितको हित खातिरभन्दा आ–आफ्ना स्वार्थसँग बढी गाँसिएर सामाजिक सञ्जालका आयामहरू चल्मलाउने क्रम सुरु हुन्छ । दर्शक संख्या बढाउन युट्युबरहरूबीच प्रतिस्पर्धा चल्छ । सनसनीपूर्ण शीर्षक दिएर व्यक्तिबारे सामग्री प्रस्तुत हुन थाल्छन् ।


‘नयाँ खुलासा’ भन्दै परिवारका सत्य/असत्य निजी मामिला चर्चामा ल्याइन्छ । सत्य नै भए पनि ती कुरा बाहिर ल्याउन व्यक्ति/परिवारको स्वीकृतिको परवाह गरिन्न । असंख्य युट्युब सञ्चालकका आग्रह बमोजिम जहिलेसुकै प्रस्तुत भइदिनुपर्ने बाध्यता व्यक्ति तथा परिवारमाथि आइलाग्छ । कमला र उनको परिवार पनि यसबाट अछुतो छैन ।


गृहकार्य गर्दागर्दै एक युट्युबरले कमलासँग अन्तर्वार्ता सकेको भिडियो युट्युबमा देख्न सकिन्छ । आफ्नो पढाइ बिग्रँदै गएको चिन्ताको साथै पारिवारिक हैसियत र विगतमा आफ्नी आमाको राजनीतिक संलग्नताजस्ता चर्चाप्रति क्षोभ प्रकट गर्दै बालिका बोल्न बाध्य भइन् । ‘मेरो फोटो राखेर युट्युब च्यानल खोलिएको छ, तर अरुहरूले नै चलाउँछन् । मेरो राम्रो, नराम्रो सबै भिडियो हाल्छन्, यसले मलाई पछि नराम्रो गर्छ, सबैजना मिलेर ब्लक गर्नुपर्छ ।’ उनी थप्छिन्, ‘विदाको दिन आइदिनु होला । पढाइको बेला नआइदिनु होला । किनकि मेरो पढाइ धेरै बिग्रिएको छ ।’ सामग्री बनाउन जानेले उनको बालापनको ख्याल गरेको पाइँदैन ।


बालिकाको प्रतिभालाई ठाउँ दिने सांगीतिक व्यक्तित्वसमेत कमजोरीमुक्त छैनन् । अब्बल प्रतिभा हुँदाहुँदै पनि उनी बालिका हुन् भन्ने सोचको अभाव देखिन्छ । चर्चा चलेदेखि नै लोकगायनका विभिन्न हस्तीसँग दोहोरीका लागि उनी जबर्जस्त भिडाइँदै आएकी छन् ।


‘कमलाका अगाडि टिकेनन्, दोहोरिका बादशाह,’ ‘प्रख्यात लोकगायक...लाई पनि कमलाले हराएरै छोडिन्’ लगायतका उपमाले तत्काल उनको आत्मबल बढाएको भान होला, तर कालान्तरमा यो प्रत्युत्पादक भइदिन सक्छ । बाल्यकालदेखि जहिलेसुकै जितेको मात्रै चर्चा हुँदा हार्नुलाई जोकसैले सहजै स्वीकार्न सक्दैन । त्यतिबेला सोचेको परिणाम हासिल नभए त्यसको चोटले कहाँ पुर्‍याउला ? अर्को आलोच्य पक्ष, लामो समयसम्म दोहोरीमा भिड्ने माहोल तयार पारिनु हो ।


‘लगातार ५ घन्टा गाउँदा पनि कमलाको उस्तै जोश’, एक प्रतिष्ठित टिभी कार्यक्रमले कमलाका लागि आयोजना गरेको प्रस्तुतिपछि युट्युबमा फैलिएको शीर्षक हो यो । ११ वर्षीया बालिकालाई नाम चलेका गायक/गायिकासँंग भिडाउँदा सुरुमै मानसिक तनाव हुनसक्छ, हार्नु हुँदैन भन्ने मनोविज्ञानले थप असर गर्ने नै भयो, दोहोरी गाउँदा खर्च हुने शक्ति । यस्तो स्थितिमा ५ घन्टा दोहोरी गाउन एक बालिकालाई विवश बनाउनु कति जायज ठहरिएला ? अरु आधुनिक गीतहरूको तुलनामा दोहोरी आफैमा चुनौतीपूर्ण गायन हो । दिमागीय एकाग्रता क्षणभर पनि विचलित हुनुहुँदैन ।


कतिपय बालबालिकामा अन्तरनिहित विशिष्ठ प्रतिभाको कदर र त्यसलाई फैलाउने जमर्को प्रशंसनीय काम हो । मोफसलका बाल प्रतिभालाई यसको बढी जरुरत हुन्छ । तर बाल्यकालमै चर्चित बनाउने नाममा उनीहरूको शिक्षा, स्वास्थ्य, मनोविज्ञान लगायतका पक्षमा नकारात्मक असर पुग्ने गतिविधिहरू प्रत्युत्पादक हुनसक्छन् । त्यसमा ध्यान दिनुपर्छ ।

प्रकाशित : कार्तिक ४, २०७६ ०८:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?