कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

हामीले सिक्नुपर्ने पाठ

जनार्दन शर्मा

काठमाडौँ — हालै सम्पन्न चीनका राष्ट्रपति सी चिनफिङको राजकीय भ्रमणले नेपाल र नेपाली जनताका लागि नयाँ आशा र विश्वास पैदा गरेको छ । भ्रमणका क्रममा भएका सहमति र त्यसको परिणाममुखी कार्यान्वयन गरेरै छाड्ने सीको प्रतिबद्धताले दुई देश बीचको सम्बन्धलाई थप अर्थपूर्ण बनाएको छ । यो भ्रमण नेपालको विकास र समृद्धिको दीर्घकालीन यात्राका लागि रणनीतिक महत्त्वको पनि छ । 

हामीले सिक्नुपर्ने पाठ

चीनको आजको विकास र समतामूलक समृद्धिका पछाडि चिनियाँ जनताको ठूलो परिश्रम, त्याग र समर्पण जोडिएको छ, जसलाई हामीले देख्न जरुरी छ । चीनका नेताहरूले गरेका प्रयास, तिनको अठोट, दृढता र आत्मविश्वाससहितको सपना पनि त्यत्तिकै महत्त्वपूर्ण छ । हो, हामी यहींनेर गम्भीर हुनुपर्छ र यस्तै प्रकारको आत्मविश्वाससहित सपना साकार पार्ने दृढ अठोट चाहिन्छ ।

चीनको पछिल्लो सय वर्षलाई हेर्ने हो भने हामी त्यहाँको विकास र समृद्धिका तीनवटा अत्यन्त महत्त्वपूर्ण मोडहरू पाउँछौं । पहिलो, अध्यक्ष माओले सम्पन्न गरेको सांस्कृतिक एकीकरण, जसले एक चीनलाई स्थापित गर्‍यो ।


दोस्रो, देङ सियाओपिङले सन् १९७६ पछि गरेको आर्थिक नीतिमा सुधार, जसले चीनलाई समाजवादी मोडलको खुला अर्थतन्त्रमार्फत विश्व मानचित्रमा सर्वशक्ति सम्पन्न राष्ट्रको रूपमा स्थापित गर्‍यो । तेस्रो, ठूलो परिवर्तकारी मोड भनेको हालका राष्ट्रपति सीको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अभियान हो । बीआरआईले अन्तरदेशीय रेलमार्ग, राजमार्ग, व्यापारिक बन्दरगाह, विद्युतीय प्रसारण लाइन, विमानस्थल तथा औद्योगिक एंव आर्थिक तथा व्यापारिक करिडोरको विकासमार्फत राष्ट्रहरूबीच परस्पर विकास र समृद्धिलाई समाजवादी मोडलमा कार्यान्वयन गर्दैछ ।


चिनियाँ नेतृत्वले गरेका यिनै प्रयास र उपलब्धिलाई नेपाली नेतृत्व र समग्र राज्य संयन्त्रले आफ्नो देश र समाज अनुकूल बनाई आत्मसात गर्न सक्नुपर्छ । सीको भ्रमणपछि नेपालमा चिनियाँ विकास र समृद्धिको लोभलाग्दो चर्चा पनि भइरहेको छ । सरकारले गरेका सम्झौताहरूबाट देशको आर्थिक परिवर्तनमा ठूलो योगदान पुग्ने आशा हामीले गरिरहेका छौं । तर चिन्ताको कुरा के भने चीन आजको स्थानमा कसरी पुग्यो भन्ने कुराबाट सिक्ने प्रयत्न हुनसकेको छैन । विकास र समृद्धिको नाराले अझै व्यावहारिक रूप लिइसकेको छैन । विभिन्न कारणले विकासको रफ्तार अवरुद्ध भइरहेको छ ।


विकास र समृद्धि एउटा योजनामात्र होइन, संस्कार र संस्कृति पनि हो । आज पनि विकासको नाममा पद प्रतिष्ठा प्राप्त गर्ने, भ्रष्टाचार गर्ने, राजनीतिलाई व्यापारको रूपमा प्रयोग गर्ने विगतको संस्कृतिको अन्त्य भएको छैन । यो अन्त्य नभएसम्म विकासले तीव्रता लिन सक्दैन ।


व्यवस्था बदलिएको भए तापनि राज्यसत्ताका अङ्गहरू चाहे त्यो राजनीतिक नेतृत्व होस् वा कर्मचारीतन्त्र, सैनिक संगठन या अदालत सबैमा पुरानै संस्कार छ । पुरानै संस्कारले नयाँ प्रणालीउपर कब्जा गरेकोले जनअपेक्षा अनुरुप अगाडि बढ्नसकेको छैन । त्यसैले सबभन्दा महत्त्वपूर्ण कुरा हो– संस्कार परिवर्तन, जसलाई हामीले आत्मसात गर्नुको विकल्प छैन ।

विकासका आफ्नै मोडलहरू हुन्छन् । मानव सभ्यताको विकाससँगै मोडलहरू पनि स्थापित र विस्थापित हुँदै आएका छन् ।


नेपाली सभ्यता अनुसार विकासको मोडल सहकार्यताको मोडल हो । हामीले इतिहासतिर फर्केर हेर्‍यौं भने जनताको सहकार्य वा सामुदायिक मोडलमा बनाएका बाटा तथा कुलाहरू तत्कालीन सन्दर्भमा मात्र होइन, आजकै सन्दर्भमा पनि उत्तिकै सफल र वैज्ञानिक देखिन्छन् । मठ, मन्दिर र दरबारहरू जसरी निर्माण भएका छन्, ती सामूहिक प्रणालीमा आधारित छन् । कसैको स्वार्थ या कसैको आदेशमा गरियो होला, त्यो एउटा कुरा हो । तर जनताको क्षमता दरबार, मन्दिर लगायत भौतिक निर्माणको क्षेत्रमा त्यो अभिव्यक्त भएको छ । तसर्थ नेपालको विकासको ‘मोडालिटी’ सामूहिक प्रणालीमा आधारित छ र हुनुपर्छ ।


तर आज हामीले त्यो सत्यलाई बिर्सेर विकासलाई केवल ठेकेदारी प्रथाको रूपमा लिएका छौं । विकासको कुरा जनताले माग्ने र सरकारले दिनेजस्तो भएको छ । हुनुपर्ने त के हो भने राष्ट्रलाई समृद्ध गर्ने सरकारको नीति र योजनाको कार्यान्वयनकर्ता हामी नै हौं भन्ने जनतालाई महसुस गराउँदै उनीहरूको श्रम र क्षमतालाई संगठित गरी उत्पादन र निर्माणमा सहभागी गराउनुपर्ने हो । तर त्यो भइरहेको छैन ।


राष्ट्रको समृद्धिबारे शताब्दी पुरानो अनुभवका आधारमा विश्व अर्थतन्त्र हाँकिरहेको चीनको अनुभव हेर्ने हो भने पनि जुन देशले बलियो संरचना निर्माण गर्‍यो र नेतृत्वले पनि जुन देशमा पारदर्शिता कायम गर्‍यो, तिनै देश आज समृद्ध भएका छन् ।


चीनको विकासको कुरा गर्दा अघिल्लो नेतृत्वले लिएका नीति र योजनाहरूको जगमा जनचेतना र राष्ट्रिय आवश्यकता अनुरुप विकासलाई नयाँ चरणमा उठाउन सफल हुनु पनि हो । नेपालमा भने विकासका गतिविधिलाई तीव्रता दिनभन्दा पद र प्राप्तिलाई प्राथमिकता दिने र आफ्नो व्यक्तिगत स्वार्थ सिद्ध गर्नेमा ध्यान केन्द्रित गर्ने छ । जनताको मन जित्न सक्ने नीति, योजना र नेतृत्वको विकास गरेर मात्र समृद्धिको अभियानले गति प्राप्त गर्छ । नेपालमा राजतन्त्रको अन्त्य हुनुको पछाडि जनयुद्ध, जनआन्दोलनको नेतृत्व गर्दा पार्टीहरूले जनताको मन जित्न सफल भएरै हो ।


हाम्रो विकासको मौलिकपन अर्थात समुदायमा आधारित विकासका लागि आजको विकसित प्रविधि र पुँजीको समायोजन गर्न जरुरी छ । सामन्तवादले समुदायमा आधारित विकासको मान्यतालाई आफ्नो विलासितापूर्ण जीवन बिताउन प्रयोग गर्‍यो । बहुदलीय कालमा व्यक्तिगत स्वार्थ पूरा गर्न समुदायको नाममा केही अमूक व्यक्तिले फाइदा लुट्नु र समग्र विकास कार्य भ्रष्टाचार केन्द्रित हुनुले पनि समुदायको भूमिकालाई स्थापित गर्न दिएन ।


नेतृत्वको इच्छाशक्ति र सपनालाई जनताको मनमस्तिष्कमा पुर्‍याउन नसकेकाले पनि हाम्रो विकास अभियानमा समस्याहरू देखिएका हुन् । यसका लागि व्यवस्थित संगठनात्मक संरचनामार्फत आम जनतासँग एकाकार भई जनअपेक्षा अनुसार नेतृत्वले योजना र यसको परिणाममुखी कार्यान्वयनको संस्कृतिलाई स्थापित गर्न आवश्यक छ ।


हामीले के भुल्नु हुँदैन भने राष्ट्र निर्माणमा नेतृत्वको अहम् भूमिका रहन्छ, जसका लागि संरचनागत सुदृढीकरण पहिलो सर्त हो । यसकै माध्यमबाट जनतासँगको सहकार्यमा विकास निर्माण र उत्पादनका कार्यलाई तीव्रता दिन सकिन्छ र भ्रष्टाचार नियन्त्रण गर्न सम्भव हुन्छ । राष्ट्रपति सीको भ्रमण र त्यसक्रममा भएका ऐतिहासिक सहमतिहरू सफलतापूर्वक कार्यान्वयन गर्न पनि उपरोक्त विषयहरूमा ध्यान दिन अति आवश्यक छ ।


प्रकाशित : कार्तिक ४, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?