३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

बोल्न धेरै गाह्रो छ 

सविता विमली

बोल्न सजिलो छैन । कसैको विरुद्धमा आवाज उठाउन त झनै गाह्रो छ । अझ एउटा निरीह व्यक्तिले आफूमाथि अन्याय भयो भन्न सक्दै सक्दैन । बोलिहाले पनि उसको आवाज सुनिँदैन । कदाचित सुनिहाले पनि कसैले पत्याउँदैन । सत्य बोल्न बडो कठिन छ । 

बोल्न धेरै गाह्रो छ 

यही अप्ठ्यारो जितेर पनि कोही न कोही बोलिरहेकै छ । यिनै आवाजहरूले उज्यालो बाँड्ने कोसिस गरिरहेका छन् । र, म यो उज्यालोलाई असाध्य प्रेम गर्छु ।


प्रतिनिधिसभाका सभामुखले संसद् सचिवालयमा कार्यरत कर्मचारीमाथि गरेको यौन हिंसा सञ्चारमाध्यमले सार्वजनिक गरे । पत्याउन सजिलो थिएन तर यो होइन भन्न आत्माले सकेन । मैले पहिलोपटक उक्त समाचारको लिंक लगभग मेरा सम्पूर्ण फेसबुक मित्रहरूलाई पठाएँ । पीडितको अनुहार छोपेर लिइएको भिडियो वार्ता हेर्दा मध्यरात भयो र निदाउन झनै सकिएन । उज्यालो हुँदा त बिरामी नै भइसकेछु । दिउसो मण्डलामा पुग्न मन थियो । सकिनँ ।


कम्युनिस्ट लिगेसीमा हुर्किएका केही मित्र हुनुहुन्छ मेरो सञ्जालमा । साँच्चै अन्याय भएको अवस्थामा बोल्न मेरा कम्युनिस्ट मित्रहरूलाई केले रोक्यो ? के कम्युनिस्टहरू कमजोरीरहित जन्मिएका हुन् भन्ने लाग्छ उहाँहरूलाई ? मैले बोल्नुहोला भन्ने आस गरेका मित्रहरू चुपचाप बस्नुभयो, जसलाई म कम्युनिस्ट मात्रै देख्दिनथें । अन्यायका विरुद्धमा बोल्ने एउटा प्रतिरोधी दस्ता पनि देख्थें नागरिक समाजको । म स्तब्ध भएँ । तर छक्क परिनँ । किनकि राजनीतिकै फेरो समातेर यसअघि पनि मलाई मेरा केही मित्रहरूले सहयोग गर्नुभएको थिएन ।


साउनको सुरुआतकै घटना । मात्रै भनिएको थियो कि, ‘उसको व्यवहारले असहज भयो, यसरी उसले कसैको कपडा, अंग तथा शरीरमाथि टिप्पणी गर्न पाउँदैन । उसलाई सम्झाइदिनू ।’ बस् यति थियो खोजेको । सम्बन्धित अधिकारी, नजिकका मित्र, केही पुरुष मित्रहरूसँग गुहार मागे पनि सहयोग पाइएन । अन्तत: मैले साउन २४ मा कान्तिपुर लेख लेखें । थुप्रै फोन आए । साँझपख फोन आयो जुन पुरुष मित्रलाई सबैभन्दा पहिले हामीले उक्त घटना सुनाएका थियौं, उहाँको । लामो भूमिकापछि वहाँले पीडकले माफी माग्ने कुरा गरेको सुनाउनुभयो । हुन्छ भनियो । केही दिन बिते, पीडितहरूसँग माफी मागिएन । के गर्दा म गल्छु, कसलाई भन्दा मेरो बोली बन्द हुन्छ भन्ने खोजीमा रहेछ पीडक । उसले के–के सुनायो मेरा विरुद्ध त्यो त थाहा भएन, ‘यस्ता कुराले आफैंलाई ‘ड्यामेज’ गर्छ नि बाबा’ भन्दै मलाई सम्झाएर मेरा अभिभावकले फोन गर्नुभयो । यही, ‘ड्यामेज’ को डर देखाएर कति पीडित आवाजहरूलाई चुप लाग्न विवश पारिएको होला ?


ऊ थियो अखिल (एमाले समर्थित) को राजनीति गरेको पूर्वविद्यार्थी नेता । यही पृष्ठभूमिकै कारण धेरै मित्र चुप बसे र यसरी चुप बस्ने पनि पूर्वएमाले पृष्ठभूमिकै थिए । कुनै उत्तरपुस्तिका परीक्षणस्थलमा भएको घटना थियो यो । ऊ बोर्ड परीक्षाको गोपनीयता भंग भयो भन्नेमा मात्रै चिन्तित थियो, ‘अरू कुनै कुरामा आपत्ति तथा चासो नभएको’ बताइरहेको थियो । बोर्डकी अधिकृतले ‘यति राम्रा भएर आउनुहुँदोरहेछ अनि भन्दैन त’ भनेकी थिइन् । पहिलो गुहार त हामीले बोर्डसँगै गरेका थियौं । तर ती कर्मचारीको भनाइले झनै आहत बनाएको थियो । नेकपाकै शिक्षक नेताहरू भेटिन्छन् । सधैं ‘चेली’ भन्ने उनीहरू अनुहारै नहेरी हिंड्छन् । गरेको नमस्कार पनि बडो गाह्रो मानेर फर्काउँछन् । मलाई यतिचाहिँ विश्वास छ कि पीडक कांग्रेसी पृष्ठभूमिको भए यिनै शिक्षक मित्रहरू ‘हाम्री चेलीलाई यसो भन्ने’ भन्दै जुरुक्कै हुने थिए । परीक्षणस्थलमा कांग्रेस शिक्षक थिए कि थिएनन् मलाई थाहा छैन तर हामीले जोजोसँग सहयोग माग्यौं ती सबै नेकपाआबद्ध थिए ।


समस्यालाई समस्याकै रूपमा हेर्ने दिन कहिले आउला ? सोचमग्न हुन्छु । हरितालिका तीजका दिन अघिल्लो साल लेखिएको एक पत्र सेतोपाटी अनलाइनमा पढ्न पाइयो । लेखकले आफ्नी पत्नीका नाममा पत्र लेखेका थिए । पत्र पढेपछि एक तमासको अनुभूति भइरह्यो । एकप्रकारको बेचैनीले मलाई लखेटिरह्यो र मैले त्यो पत्रका लेखकका नाममा एउटा पत्र लेखें । पत्र प्रकाशित भएपछि एउटा फरक प्रतिक्रिया पनि प्राप्त भयो र उक्त प्रतिक्रिया लेखक आबद्ध दल विवेकशील नेपालीका वरिष्ठतम सदस्यको थियो । उनले मलाई सुझाएका थिए, ‘लेख लेखौं, पुस्तक लेखौं, सबै गरौं तर अर्काको वैयक्तिक जीवनमा छिरेर, हुँदै नभएको समस्यालाई जबरजस्ती ‘समस्या’ देखाएर ‘फेमिनिस्ट’ रोटी सेकाउने कामचाहिँ नगरौं न प्लिज । त्यस्तो मुद्दामा ‘जुनुन’ देख्नेले लोकतन्त्रमा ‘फेमिनिस्ट’ पार्टी पनि खोल्न पाइन्छ नि त, त्यो अप्सन खुलै छ त ।’ उनले थपेका थिए, ‘लैंगिक समानताको लागि काम गरिन्छ, फेमिनिस्ट बनिन्न... आई एम भेरी क्लियर अवाउट इट ।’


ती पत्र लेखकको सोचमा समस्या थियो । उनी पितृसत्ताका पुरानै संरचनामा रमाइरहेका थिए, जसले महिलाको अस्तित्व स्वीकार गर्दैन । महिलालाई राम्रोसँग मान्छे नगन्ने पितृसत्ताकै छत्रछायामा हुर्किएका लेखकले गरिरहेको राजनीति भने आश्चर्यजनक तवरले भिन्न थियो । नवीन राजनीतिक संस्कार र सोच बीजारोपण गर्ने वैकल्पिक राजनीतिक शक्तिप्रतिको अतिशय अपेक्षाकै कारण म दुखें । सम्बन्धमा राखिने अपेक्षाले मात्रै होइन सत्ता तथा राजनीतिसँग राखिने अपेक्षाले पनि उत्तिकै दुखाउँदोरहेछ । शब्दमा मात्रै होइन अबको राजनीतिक शक्ति व्यवहारमै फरक संस्कार बाँचेर उठ्दै छ भन्ने थियो । होइन रहेछ ।


‘लैंगिक समानताको लागि काम गरिन्छ ! फेमिनिस्ट बनिन्न’ भन्नेमा जति नै स्पष्ट भए पनि लैंगिक समानताले माग चैं के गर्छ ? संसारभरिका फेमिनिस्टले के भनिरहेका छन् ? के सबैले पुरुषलाई बाँध्नुपर्छ भनेका छन् ? पुरुष जति सबै घरमा थन्क, हामी बाहिरी संसार चलाउँछौं भनेका छन् ? के हो फेमिनिज्म ? लैंगिक समानताले महिलालाई पढ, जागिर खाऊ अनि घरधन्दा सबै आफैं मात्र सम्हाल, पुरुष जति उस्तै/उही काम गरेर घरमा फर्किएर आदेश मात्र देऊ भन्छ कि महिला–पुरुष एकअर्काका सहयोगी/सहयात्री बनेर सँगसँगै हिंड भन्छ ? के पुरुषहरू घर तथा भान्सासँग तर्सिएकै हुन् त ? भान्सा त जीवनको सर्वाधिक सुन्दर कलाकेन्द्र हो । यसको सीप सिक्दा र प्रयोग गर्दा पुरुष नपुंसक बन्दैन र अहिलेसम्म भान्सा र घरधन्दामा अल्मिलिएको जनशक्ति त्यति निकम्मा पनि छैन ।


महरा प्रकरणमा नेकपाआबद्ध नेता, कार्यकर्ताको मौनताले नेपाली राजनीतिको एउटा त्यस्तो पाटोको पटाक्षेप गरेको छ जसले आफ्ना कमजोरीमा आँखा चिम्लन्छ र गल्ती सधैं अर्को पक्षको मात्रै देख्छ । कमजोरी सधैं विपक्षको मात्रै हुन्छ भन्ने राजनीतिक चेतना विकसित हुनुमा को जिम्मेवार छ ? यसले हाम्रो राजनीतिक संस्कार कस्तो हुँदै छ भन्ने गम्भीर प्रश्न खडा गरेको छ । यो बीचमा थप केही सांसद संगीन आपराधिक आरोपमा समातिएका छन् । तिनका समर्थनमा टायर बल्न थालिसके र यसरी टायर बाल्ने काम सम्बन्धित दलले नै गरेको छ । आफ्ना सांसदमाथि लागेको आरोप सम्बन्धमा कांग्रेस प्रवक्ता त बोले तर सिंगो कांग्रेस कार्यकर्ता पंक्ति भने चुपचाप छ । अपराधलाई अपराध भन्न/मान्न अपराधी विपक्षी हुनुपर्छ र महोदय ? राजनीतिले अन्याय, अपराध, मुद्दालाई कहिलेदेखि आफूअनुकूल व्याख्या गर्न छोड्छ ?


संघीय संसद्मा हाल ३३.५३ प्रतिशत महिला छन् । मुस्किलले १० जना महिलाले महरा प्रकरणमा आफ्नो विचार राखे । त्यसमा पनि पीडित महिलाकै विपक्षमा बोले कतिले । राजनीतिक विचार, सिद्धान्त दल, व्यक्तिसापेक्ष होला । तर पीडामा, अन्यायमा, विपत्तिमा, मुद्दामा राजनीति निरपेक्ष हुनुपर्छ कि पर्दैन ? अन्यायमा परेका महिला, उत्पीडित समुदायका विषय राजनीतिमा त्यस्ता ग्ल्यामर रहेछन् कि त्यो सम्बन्धित दलको आवश्यकतामा मात्रै उठ्ने र मुद्दा बन्ने रहेछन् । साँच्चै अन्यायमा परेकाका लागि राष्ट्रको सिंगो राजनीतिले कहिलेदेखि एकसाथ बोल्न सुरु गर्छ ?, अब पनि बेला भएन र ?


प्रकाशित : कार्तिक ३, २०७६ ०७:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?