को किताब पढ्छन् ?

समय रेखा
अभि सुवेदी

नेपालमा खासगरी काडमाडौं राजधानीमा किताबका पसलहरू धेरै छन् । ती पसलमा सबैभन्दा धेरै किताब अंग्रेजी भाषामा हुन्छन् भन्ने साधारण अनुभवले देखाउँछ ।

पसलहरूमा रंगीचंगी परिधान लाएका अंग्रेजी र नेपाली भाषाका किताबहरू दराज, भुइँ र टेबल ढाकेर अनि छरिएर बसेका दृश्य हामीजस्ता किताब जीवन हो, जीवन किताब हो भनी मान्ने मनुवाहरूको निम्ति नयनाभिराम हुन् । तर किताब थाहा पाउने भए पनि किन्ने पैसा त्यति जुटाउन नसक्ने वर्गमा परेका मानिसलाई तिनमा आकर्षण बढेपछि अथवा तिनको आवश्यकता कि त विषयले कि तिनलाई देखेर बुझेपछि नकिनी नहुने अवस्था परेपछि समस्या पर्छ । हामी जस्ता तलब वा पिल्सिङमा भर पर्नेहरूको निम्ति यो एउटा अस्तिवादी चुनौती हो, जुन एउटा सुन्दर जीवनकै पर्याय हो । प्रेमीहरूका अभाव, ‘प्यासन’ र आवश्यकताको त्रिवेणीबाट अस्तित्वमा आउँछ, किताब । त्यतिबेला मात्रै किताब सार्थक भएको मान्नुपर्छ, जब यो त्रिवेणी हुँदै किताब पाठकको हातमा आइपुग्छ ।

पुस्तकालयहरू सहज नभएका हुनाले किताब पसलबाटै पाठकका चरित्र र तिनका किसिम हेर्नुपर्ने हुन्छ । मैले निकै सयमदेखि केही प्रमुख किताब पसलहरूमा आउने किताबहरू र तिनलाई किनेर पढ्ने मनुवाहरूको विषयमा जानकारी राख्ने कोसिुस गर्दै आएको छु । यो लेख ‘सर्भे रिपोर्ट’ होइन, त्यो अर्कै आलेखको विषय हो । तर यस लेखमा मैले केही महत्त्वपूर्ण कुराका संकेत भने गर्नसकेको छु, जुन मैले किताब पसलेहरू र केही आफ्ना नजिकका किताबप्रेमीहरूका भनाइबाट पाएको हुँ । मलाई आफैं सबै कुराका उत्तर प्रस्ट छैनन् । कुरा किताबहरूबाटै लिनुपर्छ । किताब ऐना, रहस्य र अग्रचेतनाको प्रतीक सबै हो । मैले पाएका उत्तर र मैले थाहा पाएका कुराको आधारमा भन्दा अंग्रेजी भाषाका किताबका पाठक मूलत:नेपालीहरू नै हुन् । तर केही विदेशीहरू पनि त्यसमा पर्छन् । तर ती को हुन् भन्ने कुरा किताब पसलका मानिसहरू पनि प्रस्टसँग भन्न सक्तैनन् । मैले आफ्नो उत्सुकता मेटाउन किताब किन्नेहरूका वर्गीकरण गरेर जानकारी लिने कोसिस गरेंँ ।

वर्गीकरणमा मैले विश्वविद्यालय शिक्षासँग जोडिएका मानिसहरू लिएँ । त्यसमा शिक्षक र विद्यार्थी दुबै पर्छन् । अर्कोमा विदेशी लिएँ, जो अहिले अमेरिकातिर छापिएर भारतको वितरण प्रणाली अन्तर्गत निकै छुटमा आइपुगेका किताब किन्न पसलमा आउँछन् भन्ने मैले अनुमान गरेको थिएँ, तर त्यत्ति धेरै मिलेन । त्यसो त तिनै किताब किन्न नेपाली प्राज्ञिक कर्म गर्ने मानिस पनि पुगेका हुन्छन् । अनि तेस्रोमा मैले राजनीति गर्ने मानिसहरूलाई लिएँ । त्यसमा राजनेता, विभिन्न दलका सक्रिय अनि बौद्धिक चाख भएका मानिस पर्छन् । नेपाली राजनीतिमा चिनिएका र एक-दुईपटक शक्तिमा आसिन भइसकेकाहरू दोहोर्‍याएर आइबस्छन् । त्यसमा चारदेखि पाँचजनासम्म राजनेता आउँछन् । नयाँ मानिसहरू त्यति आउँदैनन् । मैले आफ्ना अनुभव र किताब बिक्रेताहरूसँग पाएका जानकारी अनुसार यो लेखेको हुँ ।

नेपालका किताब पसलहरूमा आउने अंग्रेजी किताबहरूको निकै लामो इतिहास छ । मैले बीसौं शताब्दीको सन् साठीका अन्तिम वर्षदेखि यो विषयमा चाख राखेर आइबसेको हुँ । पहिला पनि यस विषयमा लेखिसकेको हुनाले यहाँ पुनरावृत्ति गर्न चाहन्न । अंग्रेजी भाषामा उपन्यासहरूको एकपटक बाढी लागेको थियो । त्यसपछि हिप्पी आन्दोलनताका विचार र पश्चिमी समाजको बद्लिंँदो समाज र मान्यता विषयका किताबहरू धेरै आए । ती किताबहरूको मोह र प्रभावमा पर्ने पुस्तामा म पनि परेको थिएँ । त्यही बेलादेखि लगभग अंग्रेजी किताब ‘सेकेन्डह्यान्ड’ दाममा नेपालमा आउन थालेका हुन् ।

नेपाल विस्तारै ‘सेकेन्ड ह्यान्ड’ किताबको एउटा ठूलो केन्द्र बन्यो । मलाई काठमाडौंजस्तो ‘सेकेन्ड ह्यान्ड’मा राम्रा किताब पाउने नगर आफू गएका एसियाका कुनै सहर पनि छैनन् जस्तो लाग्थ्यो । पर्यटनको विकास भएपछि काडमाडौं बाहिर पनि ‘सेकेन्ड ह्यान्ड’ किताब पसल खोल्नु एउटा आवश्यकता वा संरचना नै जस्तो भएको हो । अर्कोथरी किताबहरू नेपाल सम्बन्धी नै आउन थाले । विदेशीले नेपाल विषयमा लेखेका किताब पनि नेपाली पुस्तक बजारमा आइपुगे ।

नेपालमा अंग्रेजी भाषाका किताब पसल र नेपाली भाषाका किताब पसलको सम्बन्ध कस्तो रहिआएको छ त ? यो एउटा महत्त्वपूर्ण प्रश्न हो, जसको सम्बन्ध एउटा किताब पसल खोल्नु र बिक्री गर्नुको संस्कृतिसँग जोडिएको छ । अंग्रेजी र नेपालीका किताब पसलहरूको सम्बन्ध सांस्कृतिक पठन-पाठनको विषयमा छ । यो पछिल्लो समयमा देखिएको जस्तो प्रतिद्वन्द्वीको सम्बन्ध होइन ।

अंग्रेजी किताब र नेपाली किताब बरोबरी राख्ने किताब पसलहरू छन् । प्राध्यापक त्रिरत्न मानन्धरको एकेडेमीको जर्नल अफ नेपलिज स्टडिज (२०१९ अंक १) मा भर्खरै एउटा महत्त्वपूर्ण ऐतिहासिक सर्भे भएको लेख निस्केको छ । त्यस लेखले देखाए अनुसार नेपालमा सम्वत् १९४४ मा खुलेको पहिलो किताब पसलदेखि पछिका वर्षहरूमा विभिन्न राजनीतिक व्यवस्था, विश्वास र चाखहरूलाई समेटेर अघि बढेको इतिहास हो, यसको । त्यसैले आज किताब पसलवालाहरूका माग र चाखहरूमा अंग्रेजी र नेपाली भाषाको विभाजन रेखा छैन ।

त्यसो भए नेपालमा किताब पसलको महत्त्व के हो त ? नेपालमा पुस्तकालयको कथा आफ्नै किसिमको छ । विशाल पुस्तकालयहरू अहिले सरकारको निम्ति अदृश्य भएकाले ती कहीं स्कुलहरूका गारतमा थन्किएका समाचार पढेकै हौं । तिनको पनि आफ्नो महत्त्व छ । तर युर्गेन हेबरमासको मलाई अत्यन्त मनपरेको रूपक कफी हाउसको भेटघाट, त्यसबाट ससानै भए पनि प्रकाशनहरू हातहातमै बाँडेर वृत्त वा ‘स्फेयर’ फैलिएको कथानक नेपालमा पुस्तकालय होइन, सरकारी प्रकाशनहरू होइन, किताब पसलहरूको कथाबाट मात्र बुझ्न सकिन्छ । नेपालमा पठन-पाठनको आमवृत्त फराकिलो गर्ने कर्म किताब पसलहरूले गरेका छन् ।

म धेरै जाने एउटा किताब पसलको उदाहरण लिएर हेर्छु । त्यहाँ यो समाजका धेरै किसिमका मानिस आउँछन् । सबैका निम्ति खुलेका, ‘क्याटलग’ र नियमको बन्धन नभएका, विविध र सबैको निम्ति सन्देश बोकेका, किताबहरूलाई हेर्छु, जसमाथि राजनेता बाबुराम भट्टराई र कमल थापादेखि प्राध्यापक लोकराज बराल, विद्वान हरि शर्मा, हरि रोका अनि मेरा थेसिस लेख्न सन्दर्भ खोज्दै हिंँडेका विद्यार्थीहरूसम्मका हात यसै सल्बलाउँछन् । त्यो वैविध्य हो, जुन किताब किन्नेको निम्ति आनन्द र चुनौती हो, अनि हेबर्मासले कफीगृहमा देखेको ज्ञान र साझा संस्कृतिको सुन्दर आमवृत्तको स्वत:फराकिलो हुँदै गएको रचना हो । एउटा उदाहरण दिएको हुँ ।

अरु पनि हेरेको छु, त्यही चरित्र भेटिन्छ । नेपालमा ज्ञानका स्रोत केन्द्रहरू समाजमा गतिशील भएर जाने आधारहरू लगभग शून्य छन् । किताब पसलहरू जो देशभरि हुन्छन्, तिनले त्यो कर्म गरेका छन् । पटक-पटक तिनै किताब पसलहरूलाई निरीह ठान्ने, सोझा व्यापारी, किताब बेचीखाने मनुवा भनेर उपेक्षा गर्ने अनि तिनको कर्म र जीवन असजिलो बनाइदिने सरकारका सम्बन्धित संयन्त्रहरूमा यो चेतना त्यति देखिएन ।

को किताब पढ्छन् ? यो प्रश्नको उत्तर पाउनु प्राय:असम्भव हुन्छ । समाजवाद, आर्थिक पद्धति र कल्याणकारी सिद्धान्तका गतिला छलफल सुनिँदैनन् । मार्क्सवादको व्याख्या गरेका एकाध शीर्ष संकथनबाट बुझ्दा लाग्छ, किताब पढ्ने मोह हराउँदै गएको छ । लेखनका सिद्धान्त, अनि तीसँग जोडिएका पूर्वीय र पाश्चात्यतिरका धेरै नभनौं आधारभूत दर्शनहरूका प्रयोग भएका लेखन र छलफलका अवस्थालाई हेर्दा किताब कति पढिँंदैछन् भन्ने अनुमान गर्न सकिन्छ ।

किताब पसलहरूका कुरा गर्दा एउटा नयाँ र झकझक्याउने (मलाई निकै वाचाल लाग्छ) विषय निस्केको छ । त्यसको पछिल्लो समयमा अमेरिकामा प्रयोग भयो र भइरहेको छ । त्यो शक्तिसाली देशमा पछिल्ला वर्षहरूमा छलफलका आँधी उठे र उठ्दैछन् । पहिलो हो, ‘फेक’ वा अतिरिक्त सत्य/‘अल्टर्नेटिभ ट्रुथ’ । जर्ज अर्वेलले १९८४ शीर्षकको उपन्यास १९४९ मा लेखे । त्यसको छलफल अमेरिका र सोभियत संघको वैचारिक युद्धसँग पनि जोडिएर आएको थियो । अधिनायकवादको उदय अनि तिनले समाज नियन्त्रण गर्न निकालेका ‘न्युज पिक’ नामकरण गरिएको सरकारको बनावटी भाषासहित झुटका सञ्जालको विषयमा त्यो उपन्यास लेखिएको थियो । तर यतिका धेरै वर्षपछि अमेरिकामा त्यो विषयको छलफलमात्र भएन, प्रयोग पनि भयो ।

राष्ट्रपति र उनका मानिसहरूबीच द्वन्द्व हुनु अनि तिनीहरूले नै अनेकौं संस्मरण लेख्नु र तिनलाई पर्खेर बसेका प्रकाशकले तिनलाई प्रकाशित गरिहाल्नुले एउटा किताब पढ्ने संस्कृतिमा नयाँ प्रयोग ल्यायो । क्षेत्रीयदेखि वैश्विक राजनीतिसम्मलाई समेटेर लेखिएका ती किताबमा इतिहासको कालिक चरित्रको विनिर्माण भएको छ । फ्रान्सेली दार्शनिक र लेखक झँ पोल सार्त्रले भने ‘किताब भनेका केरा हुन् । ती प्रयोग भइहाल्नुपर्छ, नभए तिनको प्रयोजन सिध्दिन्छ’ ।

सार्त्रसँग पुरै सहमत हुन नसके पनि केही वर्षदेखि अमेरिकी किताबहरूका प्रकाशन हेर्दा र सरसर्ती पढ्दा लाग्छ, कुरा सत्य हो । यसरी आइपुगेका किताबहरू देखिने ठाउँ किताब पसल हुन् काठमाडौंका, जुन हामीले वैश्विक कालिक तरङ्ग र यथार्थ बुझ्ने थलो भएका छन् । यो सानो उपलब्धि होइन ।

प्रकाशित : कार्तिक २, २०७६ ०८:५६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

सबैको पहुँचमा छैन कन्डम

डा प्रकाश बुढाथोकी

आधुनिकतासँगै अब कन्डम ढाकछोप, लज्जा र कौतुहलको विषय नभई किराना पसल, पान पसल, डिपार्टमेन्ट स्टोर जताततै पाइन्छ । संसारमा दैनिक १५ करोडपटक हुने यौन सम्पर्कमा २ करोड पटकभन्दा बढी कन्डमको प्रयोग हुने गरेको पाइन्छ । जति कन्डम लोकप्रिय भएको छ, त्यति चर्चायोग्य पनि छै, तर प्रयोगकर्ता घटेको समाचारले सबैलाई चिन्तित बनाएको छ । 


नेपालमा एक वर्षमा ५ करोडभन्दा बढी (आधा सरकारबाट निःशुल्क तथा अन्य किनेर) संख्यामा खपत हुने गरेको युनाइटेड नेसन पपुलेसन फन्डले प्रमुख ६ सहरमा गरेको सर्वेक्षणले देखाएको छ । ६३ प्रकारका कन्डम उपलब्ध भए पनि २१ प्रकारका मात्र आधिकारिक बिक्रेतामार्फत नेपाल भित्रिएका छन् । अवैधानिक तवरले भित्रिने कन्डममा न बनेको मिति छ, न समाप्ति मिति । २५० मिलिग्राम लुब्रिकेन्ट (चिप्लो पदार्थ) पनि छैन । ४३ प्रतिशत कन्डम विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा कमसल छन् ।
स्वास्थ्यसेवा विभागको वार्षिक प्रतिवेदनमा कन्डमको प्रयोग ८ प्रतिशत मात्र छ । नेपालमा कन्डमबिना यौन सम्पर्क गर्दा ७७ प्रतिशत एचआईभी पीडित भएको देखिन्छ । जागरुक गराउन सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय स्तरका धेरै योजना, कार्यक्रम, परियोजना सञ्चालित छन् । तर साधनहरूको प्रयोग गर्ने भने आश्चर्यजनक संख्यामा कम पाइएको छ । बजेट, लगानी, जनचेतना र उपयोगबीच ठूलो र गहिरो खाडल परिवार नियोजनको साधन कन्डममा अत्यधिक सहरी क्षेत्रमा ७० प्रतिशत र ग्रामीण क्षेत्रमा ६५ प्रतिशतभन्दा बढी भेटिन्छ । श्रम, लगानी बालुवामा पानी हालेजस्तो भएको छ ।

फाइदा
यौनरोगबाट सुरक्षित रहन, असुरक्षित यौन सम्पर्कबाट टाढा रहनु पहिलो सर्त हो र सुरक्षित यौन सम्पर्कमा कन्डमको विकल्प छैन । यद्यपि परिवार नियोजनका लागि कन्डमका थुप्रै विकल्प छन् । सजिलैसँग चारैतिर पाउन सकिने, सुरक्षित, सस्तो, प्रयोग गर्न सजिलो, स्वास्थ्यकर्मीको सहयोग नचाहिने, नकारात्मक असर नभएको, हल्का, सानो, प्रयोगपश्चात फ्याँक्न सकिने, प्रत्येकपटक नयाँ-नयाँ प्रयोग हुने र गर्भान्तर, गर्भ रहन नदिने मात्र नभई यौन सम्पर्कबाट सर्ने रोग एस.टी.डी.बाट जोगाउने गर्छ । यौनक्रियामा थप आनन्द प्राप्त गर्न गराउन, शीघ्रस्खलन कम गराउन, यौन अवधि लम्ब्याउन, यौनानन्द प्रदान गर्न वीर्य र योनिरसको एलर्जी रोक्न, गर्भावस्थामा पनि यौन गर्न र भ्रूणको संजीवनी, गर्भनिरोध तथा यौनजन्य संक्रमणबाट रोक्न पनि कन्डम सफल छ ।

यौनसाथीको संसर्गबाट थप आनन्द प्राप्त गर्न, असर शतप्रतिशत बनाउन र फाइदालाई थप विश्वासिलो बनाउन विभिन्न सुगन्ध, आकार-प्रकार, चिप्लोपना, खस्रोपना, काँडा तथा शंखाकारमा विभिन्न ब्रान्डका कन्डम भिओभर, कामसूत्र, इन्सपायरल, मेनफोर्स, म्याक्स, माया, सुपरडटेड अनेकन नाममा बजारमा यत्रतत्र उपलब्ध छन् । सही तरिकाले कन्डम लगाएर सम्भोग गर्दा पुरुषको लिङ्ग र महिलाको योनिबीच प्रत्यक्ष स्पर्श हुन पाउँदैन । जसबाट महिलाको गर्भ रहन, पुरुष तथा महिलामा एकअर्कामा रोग संक्रमण हुन, एलर्जी तथा गर्भवती महिलामा पेटमा रहेको बच्चामा रोग संक्रमण हुनबाट बचाउँछ ।

निःशुल्क छोडी बास्नादार कन्डम
स्वास्थ्यसेवा विभागले नेपाल स्वास्थ्य सर्वेक्षण २०१६ मार्फत गरेको अध्ययनमा कन्डमप्रतिको गलत आमधारणा हट्न नसकेका कारण यसको प्रयोग बढ्न नसकी प्रजनन उमेर ४.२ प्रतिशत मात्र छ । सरकारले निःशुल्क पठाइदिने कन्डम हरेक स्वास्थ्य संस्थाले राख्न छाडेका छन् । म्याद जाने र खपत नै नभएपछि बक्स राख्न रझुन्ड्याउन छाडेका छन् । बजारमा गोपनीयता, रंगीन, चिप्लो, डटेड र बास्नादार कन्डम पाउनथालेपछि सरकारी कन्डम खपत ह्वात्तै घटेको हो । तथापि सरकारी संस्थामा भने पिल्स, डिपोको माग अत्यधिक छ । कन्डम पहिले-पहिले पुरुषका लागिमात्र भए पनि अहिले महिलाका लागि पनि उपलब्ध छन् । सार्‍है पातलो रबर वा प्लाष्टिकले कन्डम बनाइएको हुन्छ र कसै-कसैमा शुक्राणु नष्ट गर्ने, विषाणु नष्ट गर्ने तत्त्व पनि मिसाइएको हुन्छ ।

चुनौती
सारै पातलो, मसिना छिद्र भएका कन्डम गर्भान्तरको लागि भए पनि भाइरस तथा यौनजन्य रोग संक्रमण रोक्न सक्दैनन् । समय क्रमसँगै स्कुले छात्रछात्राले पनि यौन सम्पर्क राख्ने भएकाले बजारमा उपलव्ध कन्डमको आकार ती १२-१६ वर्षका बच्चालाई नमिल्ने भएकाले वीर्य पोखिएर गर्भ रहने, यौनजन्य रोगको संक्रमण हुने जस्ता असुरक्षित यौन सम्पर्क कायम रहन्छ । कन्डम प्रयोग गर्दा साइडबाट कैंचीले काटी खोल्ने, दाँतले नखोल्ने तरिका, लुब्रिकेन्ट्सको प्रयोग, मिति गुज्रेको, हावा रहन नदिने, कन्डम खोल्नु अघि र प्रयोगपश्चात सरसफाइमा ध्यान, सही उपयोग, पुन:प्रयोग नगर्ने, जोडी दुबैले एकैसाथ प्रयोग नगर्ने र भए/गरेका भ्रम मनबाटै हटाई सुरक्षित यौन सम्बन्धका लागि ध्यान दिनु पर्नेछ । कन्डमले पनि बचाउन नसक्ने यौनरोगमा यौनांग वरिपरिको दाग रोग—हर्पिस, एक सय पचास बढी विषाणुको समूहले छालामा मुसाजस्तो गिर्खा— एचपीभी जसले यौनांग, छाला, मुख घाँटी र मलद्वारको क्यान्सर बनाउन सक्छ । कडा दुखाइ हुने भाइरल छालामा फोका— मोलुस्कुम तथा मुटु र दिमागमा नकारात्मक असर पार्न सक्ने— सिफिलिस पर्छन् । यस्ता रोग पूर्णरुपेण ठिक नभई यौन जोडीसँग यौन सम्पर्क राख्नु हुँदैन ।

पावन पर्व दसैं, तिहारमा देश/विदेशमा रहेका आफन्त घरमा आई जमघट हुने अवसर पारी परिवार नियोजन तथा साधनहरूको प्रोत्साहन गर्ने, यौनरोग तथा एचआईभी, एड्सको सचेतना, जन्मान्तर र कन्डम प्रयोगमा के पुरुष, के महिला सबैलाई चेतना जागृत गर्ने उद्देश्य साथ मनाउनसके मानव स्वास्थ्यमा हित हुनेछ ।

अन्त्यमा, यौनसुख प्राप्त गर्नु मानिसको नैसर्गिक अधिकार हो । तर यसैसँग हुनेजोखिमको बारेमा पनि विचार पुर्‍याउनुपर्छ । जोखिमको कुरा हाम्रो प्रत्येक दैनिक क्रियाकलापमा हुन्छन् । पानी नै पिउनुस्, पखाला लाग्नेजोखिम, उमालेर पिउनुस्, निकै कम जोखिम । सडकमा हिँड्नुस्, दुर्घटनामा पर्ने जोखिम, सावधानीपूर्वक ट्राफिक नियम पालना गरेर हिँडनुस्, कम जोखिम । शतप्रतिशत खोज्दैनौं । अभ्यस्त भएकाले यसमा जोखिम भएजस्तोपनि लाग्दैन । यो कुरा यौन सम्पर्कको सन्दर्भमा पनि लागू गरौं।

स्वास्थ्यसेवा विभागमा कार्यरत डा. बुढाथोकी नेपाल चिकित्सक संघका केन्द्रीय कोषाध्यक्ष हुन्।

प्रकाशित : कार्तिक २, २०७६ ०८:५३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्