गर्दा त गर्न सकिने रहेछ

श्रीकृष्ण अनिरुद्ध गौतम

गए शनिबार राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीसँगै नेपाल गण–संघको सम्पूर्ण मन्त्रिपरिषद त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा लामबद्ध थियो । मयलपोसमा सजिएका प्रधानमन्त्री, मन्त्रीहरू उत्फुल्ल परम प्रफुल्ल थिए, हुने नै भए । अपवादस्वरुप उपप्रधानमन्त्री उपेन्द्र यादव एक्लै टाइसुटमा फरक थिए । मन्त्रीहरूमध्ये अरु कोही उपेन्द्रजस्तै थिए कि थाहा भएन । देखिएन । कर्मचारी प्रशासन, सैन्य, सशस्त्र, जनपद प्रहरीका उच्च पदाधिकारीहरू आआफ्ना औपचारिक पोसाकमा सजधजका साथ प्रस्तुत थिए । 



दृश्य भव्य थियो, दिव्य थियो । हुनु पनि पर्‍यो । तर अन्यथा नलिनु होला, देख्नेका लागिचाहिँ अलि कस्तो–कस्तो उदेकको पनि थियो । करिब महिना दिन अघिदेखि नै काठमाडौं सजिँदै थियो, दुलहीझैं । अरु बेला फुंग धुलो उड्ने सडकहरू पखालिएका थिए । हिलो जम्ने खाल्डाहरू पुरिएका थिए, पुरिनै पर्‍यो । सबै ठाउँमा होइन, विशिष्ट व्यक्तिहरूको आवागमन हुने मार्ग छानी–छानी चिरिच्याँट्ट पारेर अस्थायी स्तरोन्नति गरिएको थियो । अस्थायी बगैंचा बनेका थिए, गमलामा हुर्किएका थरीथरीका पुष्पहरू पुष्पित र पालुवा पल्लवित भइरहेका थिए । तीनकुनेमा रातारात मौलाएका हरियालीमय डिलहरू, ढिम्कीहरू देख्दा काठमाडौं स्वीट्जरल्यान्ड बन्न कति अबेर नहुने रहेछ भन्ने भान हुन्थ्यो । बिजुलीका खम्बाहरूमा पालैपालो अतिथि र आतिथेयका तस्बिर झुन्ड्याइएका थिए ।

राजधानी यसरी नै सिंगारिने गर्छ बेलाबेला, भानुभक्त आचार्यको ‘अमरावती कान्तिपुरी नगरी’ झल्झली आँखै अगाडि देखिनेगरी । यस्तो दुर्लभ अवसर तब मिल्छ, जब विशिष्ट अतिथि, अतिथिहरू नेपाल आउने साइत जुर्छ । अति विशिष्ट र सुविशिष्ट राजकीय अतिथिहरू नेपालको सुन्दर चित्र आँखैमा लिएर फर्किन्छन् । यस्तो हुनु कहाँ नराम्रो हो र, नराम्रो त भन्नै मिल्दैन र हुँदैन पनि । प्रशंसनीयलाई प्रशंसा गर्न कञ्जुस्याइँ गर्नु हुँदैन । भाग्यमानी भनौं कि अभागी, यो यस्तो राजधानी हो, जसलाई विशिष्ट अतिथि आउँदा जस्तोगरी त कुनै उत्सव, पर्वमा पनि सिंगारिँदैन । सिंगारिनु परै, गरिएकोलाई कायमसम्म राखिँदैन । देखाउन मात्र गरिन्छ । प्रस्तुतियोग्य राख्न अभ्यस्त हुनुपर्ने हो, तर हुँदैन । यस्तो प्रतीत हुन्छ, नेपालमा विशिष्ट पाहुनाको आगमन भनेकै उत्सव हो ।

हो पनि उत्सव किनभने बल्लबल्ल त आउँछन् । ल्याउनै कम्ता मुस्किल छैन । दुई दशक र तीन वर्षपछि आए चीनका राष्ट्रपति । त्यति नजिक भारतकै प्रधानमन्त्री आइपुग्न पुग–नपुग दुई दशक लाग्यो । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति अमेरिकाकै जीवनकालमा जम्माजम्मी एकपटक नेपाल आए । जबकि आधुनिक नेपालको निर्माण र राष्ट्रका रूपमा अमेरिकाको उमेर उस्तै–उस्तै हो, करिब दुई सय पचास वर्षको ।

तारन्तार विदेशी विशिष्ट अतिथिहरू आउँदा मन त्यसै–त्यसै गद्गद् हुने थियो । उनीहरू र उनीहरू जस्तैहरू नेपाल भ्रमणमा आइदिइरहे मुलुकको मुहार छिटै फेरिने रहेछ । किनभने नेपाल भ्रमणमा आएका विशिष्ट अतिथिका देशवासीहरूले भने यहाँ आउँदा आम नेपालीले देखे सरहकै अर्कै काठमाडौं देखेका हुन्छन्, पानी पर्दा हिलाम्य, नपर्दा धुलाम्य । बिरलै मात्र मनमा राम्रो प्रभाव लिएर फर्किन्छन् । विशिष्टका देशवासी र विशिष्टले देख्ने एउटै नेपाल हो, तर उनीहरूले भिन्न देखेका हुन्छन् । कसैका लागि भव्य भने कसैका लागि फुंग ।

यहीं प्रधानमन्त्री ओली स्वयं त यस मामिलामा अँध्यारैमा छन् भने विदेशी विशिष्टको के कुरा !जस्तै– केही समयपूर्व ओली आफैंले भनेका थिए, ‘काठमाडौंमा मानिसले मास्क लगाउन छाडिसके ।’ हो पनि उनी आवागमन गर्ने कालो सिसावाला साधनभित्रबाट बाहिर हेर्दा मास्क लगाउने मानिस नदेखिएका हुन सक्छन् । बालुवाटार, सिंहदरबार, विमानस्थल ओहोर–दोहोर गरिरहँदा उनका नजरमा मास्कधारीहरू नपरेका हुन सक्छन् । झन् सुरक्षा घेरामा हिँड्ने विशिष्ट अतिथिले देख्नै पो कति पाउँछन् र ! उनीहरू त अति विशिष्ट, देखाइएको हेर्ने न हुन् ।

शनिबार काठमाडौं भिन्न देखिने त्यस्तै एउटा विशेष साइत जुरेको थियो । चीनका राष्ट्रपति सी चिनफिङ दुईदिने नेपाल भ्रमणमा आएका थिए । चिनियाँ राष्ट्रपतिको स्वागत गर्न राष्ट्रपति भण्डारी स–मन्त्रिपरिषद् विमानस्थल पुगेकी थिइन् । सीको नेपाल अवतरणजस्तो दुर्लभ अवसर दृष्टिबाट नछुटोस् भन्ने हेतुले नेपाल गण–संघका डल्लै उच्चपदस्थ उपस्थित थिए । २३ वर्षको अन्तरालमा चीनका राष्ट्रपतिको नेपाल आगमनलाई विशेष बनाउन राज्य नै लागिपरेको थियो । यसलाई कतिपयले अन्यथा लिए होला, मैले लिइन । मजस्तै अरु धेरैले लिएनन् । यद्यपि कतिपय मानिस प्रश्न गर्ने गर्छन्, किन होला कोही अति विशिष्ट नेपाल आउँदा हाम्रा राज्याधिकारीहरू गुटमुटिएर एयरपोर्टै पुग्ने गर्छन् ?

पुग्ने कारण छ, तर यो अलि मनोवैज्ञानिक छ । यस्तो परिदृश्यलाई अन्यथा लिनु हुँदैन । किनभने दूरदराज गाउँमा नौलो मानिस विरलै पुग्ने ठाउँमा कुनै नौलो मानिस पुग्यो भने पूरै गाउँ नै उल्टिएर आउँछ नि, हेर्न । यहाँ हुने गरेका यस्ता घटना पनि त्यस्तै हुन् । नेपालमा विश्वका प्रभावशाली मानिस विरलै आइपुग्छन् । तिनलाई प्रत्यक्ष हेर्ने, भेट्ने, हात मिलाउने उत्सुकता धेरैमा हुन्छ । उच्च पदस्थलाई झन् धेरै हुन्छ । त्यसैले कार्यालय नै खाली गरेर हुल बाँधेर गुटमुएिर पुगेका हुन् । कसैले यस्ता प्रकरणलाई लघुताभास भन्ने गरेको पनि सुनिन्छ । तर यो लघुताभास नभएर वास्तवमा प्रभावशाली व्यक्तित्वहरूको भ्रमण विरलै हुने गरेकाले निस्ताएका, नियास्रिएका मानिसले गर्ने उत्फुल्लताको प्रदर्शन हो ।

त्यस्तै अतिथिको स्वागत गर्न नगरलाई सुन्दर बनाउनु किमार्थ अन्यथा होइन । तर केचाहिँ निश्चय नै अन्यथा हो भने बनाउँदा त्यति सुन्दर बनाउन सकिने ठाउँलाई भद्रगोल बनाएर राख्नु र राजकीय पाहुना आयैपिच्छे कटकटिएको फोहोर सफा गर्नुपर्ने अवस्था आउनु । सहरलाई नयनाभिराम सौन्दर्य प्रदान गर्न निर्वाचित पदाधिकारीसहितको महानगर छ । लागिपरिरहे सम्भव छ । सधैं देखरेख गरिरहे के असम्भव छ । वास्तवमा, सी फर्केको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए, ‘गर्दा सकिँदो रहेछ ।’ उनले यो कुरा शतप्रतिशत ठिक भनेका हुन् । प्रधानमन्त्रीका यस भनाइसित असहमत हुने प्रश्नै छैन । हुनु पनि हुँदैन, किनभने ओलीले भनेका सबै वाच्य सधैं अग्राह्य र असत्य हुन्छन् भन्ने ठान्नु एक किसिमको पूर्वाग्रह हो । कहिलेकाहीं त साँच्चि नै उनी सटिक बोल्न पुग्छन् ।

जस्तै– चिनियाँ राष्ट्रपति सीलाई नेपाल भ्रमण गराएरै छाड्ने ओलीको संकल्प थियो । उनी यसमा सफल भएका छन् । चिताएको काम पूरा मनोयोगका साथ गरेपछि पुग्छ । यस मामिलामा उनको अथक र अक्लान्त प्रयत्नको प्रशंसा गर्नैपर्छ । उनकै प्रयत्नले चीनसँग यातायात पारवहन सम्झौताको पहल र प्रोटोकलमा हस्ताक्षरसमेत यसपूर्व नै भइसकेको छ ।

राष्ट्रपति सीले आफ्नो काठमाडौं प्रवासका दौरान पर्वत छिचोल्दै काठमाडौं–केरुङ सुरुङ मार्ग बनाउन सहयोग दिने र राजधानी आइपुग्ने रेलमार्ग बनाएरै छाड्ने वाचा गरेसाथै सिद्धान्तत: नेपाल भारत वेष्टित–निर्भरताबाट भूजडित कनेक्टिभिटीतर्फ उन्मुख भएको छ । यसका साथै देशका अरु विभिन्न नाकाहरूबाट उत्तरागमन सहज बनाउने समझदारी पनि गरिएको सन्दर्भमा देश अगत्यात्मकता (स्टेटिक) बाट गतिशीलता (डायनामिजम) तर्फ उन्मुख हुने मार्गप्रशस्त भएको छ । यसर्थ ओलीलाई कसैले हदै मन नपराए पनि उनकै कारण नेपालीहरूको उत्तराभिमुख अभिकांक्षाले मूर्तरूप लिन लागेको यथार्थ स्वीकार्नैपर्छ ।

अति विशिष्ट अतिथि आउँदा राजधानीको जनजीवन अस्तव्यस्त हुन्छ । तथापि गर्नुपर्छ, सकिन्छ । निश्चय नै पूर्वाधार र क्षेत्रका दृष्टिले काठमाडौं साँघुरो छ, ठूलो आयतनका भ्रमणहरू थेग्ने यसको सामर्थ्य छैन । अरु त अरु विमानस्थल नै पर्याप्त छैन । ठूलाका भ्रमण, सम्मेलनहरू गर्दा यहाँ जहिल्यै जनजीवन नै अस्तव्यस्त हुन्छ । यस्तो अवस्थालाई हालकै सरकारकै मात्र गल्तीका रूपमा हेरिनु हुँदैन । हुँदैन, किनभने विगतदेखि नै राजधानीलाई काठमाडौं उपत्यकाभित्रै कोच्याउने काम भएको छ, जस्तै कि सबै मन्त्रालय सिंहदरबारभित्रै कोच्याउने काम भए, भइरहे जस्तै । राजधानीलाई सेरोफेरोका बनेपा, धुलीखेल, साँखु र उत्तरमा डाँडापारि नुवाकोटसम्म विस्तार गर्न सकिन्थ्यो, गरिएन । फगत यही सानो उपत्यकामा सबै कोच्याउने र कोचिने प्रवृत्तिले गर्दा कुनै विशेष अवसर आइपर्दा व्यवस्थापन अत्यन्तै मुस्किल हुने गरेको हो ।

साथै, अर्को र विशेष ध्यान दिनुपर्ने विषय के भने आधुनिक साधन संशाधन भएर मात्र देश आधुनिक हुने होइन, मनोवृत्तिमा पनि बदलाव आउनुपर्छ । मनोवृत्ति पुरातन रहिरहेसम्म प्रगति नै भए पनि त्यो सतही हुन्छ । विशिष्ट अतिथिलाई भरपूर सम्मान गर्नुपर्छ, तर विमानस्थलमै गएर सबै कोचिँदा सम्मान हुने निश्चय नै होइन । स्वागत गर्ने पात्र विमानस्थल जानैपर्छ, तर लस्करै जानु जरुरी छैन । सम्मान गारद अर्पण गर्दा यसअघि टुँडिखेलमा गर्न थालिएको थियो, त्यसैलाई निरन्तरता दिएको भए हुन्थ्यो । यसपालि सीका अगाडि पूरै मन्त्रिपरिषद नै उनी सामुन्ने देखिने लोभका कारण विमानस्थलमै सम्मान गारद अर्पण गरिएको हुनसक्छ । तर यस्तो मनोवृत्ति किमार्थ सुपाच्य होइन र हुँदैन । त्यसैले मनोवृत्ति बदल्नुपर्छ । किनभने चाहँदा मनोवृत्ति पनि बदल्न सकिन्छ र बदल्नुपर्छ ।

प्रकाशित : कार्तिक १, २०७६ ०८:४६
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

ह्यान्डबलको छनोट

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हयान्डबल महिला तथा पुरुष खेलाडीको बिहीबार पोखरामा अन्तिम छनोट भएको छ ।

मंसिर १५ देखि २४ सम्म पोखरामा हुने १३ औं सागअन्तर्गत ह्यान्डबल महिला र पुरुषतर्फ १६–१६ खेलाडी छनोटमा परेका छन् ।

नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङका अनुसार पुरुषतर्फ छनोटमा खेलाडीमा विशाल बस्नेत, दिनेश श्रेष्ठ, विशाल नेपाली, दिपकसिं बोहोरा, सन्दीप कार्की, रणसिं रावत, इन्द्रनारायण चौधरी, मदन चुनारा, श्रीबहादुर सिंजाली, यमबहादुर पुन, आशिष अधिकारी, केशव विष्ट, सरोज सिंह, सन्तोष श्रेष्ठ, हेमन्त थापा र शरण थापा छन् । महिला छनोटमा बविता श्रेष्ठ, अर्चना न्यौपाने, संगीता चौधरी, कविता राई, बन्दना राई, दुर्गा बोहरा, रन्जना राई, शान्तिकला राई, झिनमाया थापा, आइताल्हामु शेर्पा, रामकुमारी चौधरी, शारदा बिक, कल्पना वली, उमा राई, निशा राई र देवकुमारी बाँस्कोटा परेका छन् ।

छनोट समितिले पुरुष र महिलातर्फ ५–५ बैकल्पिक खेलाडी छनोट गरेको छ । महिलातर्फ जिना राई, साधना बम, विष्णा बोगटी, देवी श्रेष्ठ र मञ्जु राउत छन् भने पुरुषमा शरुणमान श्रेष्ठ, तारा केसी, प्रवीण गुरुङ, जोनेश पुर्जा र पवन छन्त्याल छन् ।

छनोट समितिमा संघका उपाध्यक्ष जीवन बस्नेत, केशव पाठक, विदेशी प्रशिक्षक (पोर्चुगल) जोआ फ्लोरेन्सियो, हयान्डबलका मुख्य प्रशिक्षक एवं तालिम तथा प्रशिक्षण विभाग राखेपका उप–निर्देशकहिमालराज दहाल र वरिष्ठ प्रशिक्षक अरुणलाल कर्ण थिए ।

साग तयारीका लागि ह्य्न्डाबलको दुवै टिमका राष्ट्रिय खेलाडी असोज १६ देखि बन्द प्रशिक्षणमा थिए । बन्द प्रशिक्षण अन्तरगत पहिलो चरणमा २८ र दोस्रो चरणमा २२ खेलाडी बन्द प्रशिक्षणमा थिए । दोस्रो चरणको करिब एक महिनाको बन्द प्रशिक्षणपछि १६–१६ खेलाडी छनोट गरिएको हो ।

प्रकाशित : कार्तिक १, २०७६ ०८:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT