छेउछाउका खजानाको लोकतन्त्र

चन्द्रकिशोर

एउटा कविताको शीर्षक छ, ‘बालकहरूको चित्रकला प्रतियोगिता ।’ त्यसमा बच्चाहरूले अनेकौं चित्र कोरेका छन् । नीलो आकाश, सूर्य, चन्द्रमा र ताराहरू बनाएका छन् । पहाड, नदी, झरना, मकान, सडक, पुल, बस, स्कुटर र कारहरू बनाएका छन् । साइकल चलाउँदै गरेको र पैदल हिँड्दै गरेका मानिसहरू पनि बनाएका छन् ।

कवि लेख्छन्, ‘चित्र बनाउने उत्साहमा यति धेरै चित्रहरू कोरिँदै गयो कि एउटा भकुन्डो राख्ने ठाउँ पनि खाली राखिएन ।’ आखिर बच्चाहरूले सम्झे ठूलाबडाहरूले यस दुनियाँ बनाउन के कस्ता गल्ती गर्दै गएका छन् । हुन पनि यही भएको छ, धर्तीमा । कवितामा बच्चाहरूलेआफ्नो चित्रमा प्रकारान्तरले त्यही सब चित्रित कोरेका छन्, जो हामीले यस धर्तीमा गरेका छौं । हामीले गाउँ–सहर चारैतिर कंक्रिटको जंगल निर्माण गरेका छौं । हिन्दी कवि राजेश जोशीको यस कविताले विकासको नाममा पृथ्वीमा भएको विनाश र यसले बाल मस्तिष्कमा विरासतमा प्राप्त बुझाइबारे बडो सवेदनशील तरिकाले चित्रित गरेका छन् । बच्चाहरूले त्यही कुरा बुझ्छन्, जो तिनले छेउछाउमा देख्छन् ।

एउटा अङ्ग्रेजी आहान छ, ‘एज डेड ऐज डोडो’ अर्थात् यसरी मर्‍यो, जसरी डोडो । लुई क्यारलको किताब ‘एलिसेज एडभेन्चर्स इन वन्डरल्यान्ड’मा डोडोको चर्चा पाइन्छ । डोडो कसरी लुप्त हुँदै गयो, त्यसको वर्णन यसमा छ । त्यसैले यहाँ प्रयोग भएको यो आहान फगत आहान होइन, यसभित्र प्राणीहरूको विलुप्तिको भयावहबारे प्रस्ट पार्ने प्रयास भएको छ । भनिन्छ, डोडो चरा र डोडो रुखबीच गजबको साइनो थियो । सन् १६८० मा डोडो चरा पूर्णरूपमा लोप भएपछि मरिससमा एउटा पनि नयाँ डोडो रुख उम्रिएको छैन । अत्यधिक सिकारका कारण पृथ्वीबाट डोडोको वंश नै समाप्त भयो र आहान नै बन्यो, ‘डेड ऐज डोडो ।’ डोडो चरा र रुख मरिससका स्थानीय जीव थिए, जो दुनियाँमा अन्यत्र पाइँदैनथ्यो । डोडो चराले यस प्रकारको रुखको बीउ अंकुरनमा सघाउ पुर्‍याउँथ्यो । न रह्यो डोडो चरा न उम्रियो नयाँ डोडो रुख ।

जीवहरूको संरक्षण हाम्रै लाभका जरुरी छ । यिनीहरूबीच एकअर्कासँग गाँसिएको भविष्य छ । एकको अस्तित्व संटमा पर्दा अर्को मौलाउन सक्दैन । भनिन्छ, कुनै बखत हवाइद्वीपमा हाउकुवा हिवी नामको फूलैफूलका रुखहरू प्रशस्त पाइन्थ्यो । यसलाई सन् १९९२ मा लुप्त घोषित गरियो । किन यस्तो भयो त ? खोजबिन गरेपछि थाहा भयो, हनिफिसर चरा यसको ठीक उसै प्रकारले सेवा गर्दोरहेछ, जसरी मौरी र पुतलीहरूले अन्य पुष्पीय रुखहरूलाई अर्थात् परागसेचनमा सहायता गर्छन् । यसले हनिफिसरलाई मह प्राप्त हुन्थ्यो । जैविक विविधता प्रकृतिको अनमोल निधि हो । जैविक विविधताको आशय पृथ्वीमा पाइने समस्त जन्तु, रुख–बिरुवा, सूक्ष्म प्रजातिहरूसँग जोडिएको छ । प्राकृतिक सफाइकर्मी गिद्धहरूको सङ्ख्यामा अचानक कमी हुनथालेपछि यसलाई पनि ‘डेड ऐज डोडो’ मान्न थालिएको छ ।

तर्क गर्नेहरू भन्छन्– विलुप्तीकरण हुनु एउटा प्राकृतिक परिघटना हो । के भयो त ? यसैकारण धर्तीमा अस्तित्वमा रहेका हजारौं जीव आज हामीमाझ छैनन् । अहिलेको विलुप्तीकरण प्राकृतिक कारणले भइराखेको होइन । त्यसैले यो चिन्ताको विषय हो । पछिल्ला केही दशकभित्र जसरी तीव्र गतिमा विलुप्तीकरण बढेको छ, त्यो डरलाग्दो छ । यसकारण पनि छेउछाउमा रहेका अनमोल खजानाका रूपमा रहेका चराचुरुङ्गी, रुखबिरुवा, पशु, किराफट्याङ्ग्राहरूबारे परिचय हुनु जरुरी छ । भोलि यसको खाँचो पर्दा ‘हामीलाई त यसबारे थाहै थिएन’ नभनियोस् । विकास वा आयआर्जनको चपेटामा आर्थिक रूपले लाभ लिने वा सुन्दर जीवजन्तुसमेत परेका छैनन् । संरक्षण तिनलाई पनि चाहिएको छ, जसले हामीलाई प्रत्यक्ष रूपमा फाइदा पुर्‍याउँछन् भन्ने छैन । उदाहरणका लागि सर्प र भ्यागुतो, किराफट्याङ्ग्रा यी सबै धर्तीमा जीवनको पहिया गतिमान राख्न आवश्यक छ । यदि व्याक्टेरिया अन्त्य भयो भने हामी सबैको विनाश हुन्छ । मौरी लोप भयो भने त्यसको सोझो अर्थ मानिसको अन्त्य पनि निकट छ । यो अत्यन्त महत्त्वपूर्ण प्रजाति हो, जसको प्रकृतिमाथि प्रभाव त्यसको आकार र सङ्ख्याको तुलनामा बढी बताइन्छ । प्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले भनेका छन्, ‘यदि मौरीहरू लुप्त भए भने मानिसको लागि यस धर्तीमा केवल चार वर्षको जीवन शेष रहनेछ ।’ मौरी नहुँदो हो त फूलमा परागसेचन हुँदैनथ्यो, नयाँ–नयाँ रुखबिरुवाहरू उम्रिँदैनथे र कुनै पनि जनावरको अस्तित्व रहँदैनथ्यो । अन्त्यमा, कुनै पनि मान्छे बाँच्दैनथे । नयाँ अध्ययनहरूले भन्छ, ‘मौरीको सङ्ख्यामा निकै कमी आइरहेको छ । जैविक विविधता धर्तीमा सुचारु जीवनको एकमात्र सूत्र हो । सबै कुरा एकआपसमा जोडिएको छ । अलग–अलग कसैको अस्तित्व छैन । यस महत्त्वपूर्ण शृङखलामा कुनै एउटाको अस्तित्व ढुलमुल भयो भने अर्कोलाई असर पर्छ ।

हामी अहिले जैविक विविधता मासेर आफूमात्र बाँच्ने प्रयास गर्दैछौं । मान्छेको प्रजातिमात्र होस् भनेजस्तो हाम्रा गतिविधि देखिन्छन् । यो अवस्था कति भयावह र डरलाग्दो होला ? कल्पना पनि गर्न सकिन्न । हामी विस्तारै यस्तै खाले अँध्यारो सुरुङभित्रको जीवनयात्रामा छौं । हाम्रै छेउछाउमा खाली जग्गा हुन्थ्यो । अनेकौं प्रकारका रुखहरू थिए । रंगीबिरंगी चराहरू बिहान–बेलुका घर–आँगन हाजिरी हुन्थे । ती सबै मासिँदै, हराउँदै, लोप हुँदै गएका छन् । कस्तो स्थिति भयो भने अनेकन पशुपन्छी र रुखहरूसँग जोडिएका लोककथा र लोकगीत सुनाउनेहरू अब देहातमा समेत विरलै छन् । जलवायु संकट आयो । केही दशक पहिलासम्म हाम्रा वरिपरि जति प्रकारका रुख र चराहरू थिए र तिनप्रति हाम्रो सरोकार थियो, त्यो हाम्रो पारिवारिक विस्तारकै विविध रूपान्तरण थियो । यो कुटुम्बभाव नै हामीलाई चर–अचर, जड–चेतन जगतका साथ कर्तव्यशील बनाउने माध्यम थियो । सांस्कृतिक अनुष्ठानले यिनीहरूप्रति कृतज्ञताको भाव प्रकट गर्ने मौका दिन्थ्यो ।

विजयादसमीको दिन कतिपय ठाउँमा नीलकण्ठ चराको दर्शन गर्ने परम्परा छ । पर्साको बिरञ्चीबर्वामा त नीलकण्ठ यात्रा नै निकालिन्छ । यस लोकमान्यताका पछाडि जीवजगतप्रति प्रेमको भावना निहित छ । अहिलेको समयमा सांस्कृतिक अनुष्ठानमा श्रद्धा कम हुँदै गएको छ उत्सवधर्मिता बढ्दै गएको छ । अब पूजाले फगत एउटा आयोजनको रूप लिएको छ । यसको सार नै प्रकृतिलाई पनि मानिसको छिमेकीकै रूपमा हेर्ने र आदरभाव राख्ने हो । मान्छे र प्रकृति बीचको सम्बन्धको यो शास्त्र कुनै राजामहाराजाले निर्माण गरेका थिएनन् । कुनै ठूलाबडाले चलाएको भए शिलालेखमा लेखिन्थ्यो । यो त जीवनचर्याको अभिन्न हिस्सा थियो । ऋतु अनुसार चराहरूको दर्शन र रुखहरूको पूजन गरिने चलन छ, तर अब यस्ता कुराको महत्त्व हराउँदै गएको छ । समाजमा प्रकृतिसँग जोडिने अद्भुत ज्ञान बाँचेको छ, तर त्यो छरप्रस्टिएको छ । यसलाई सँगाल्न पर्याप्त धैर्य र संवेदनशीलता आवश्यक छ । अझै पनि प्रकृति र मानिस बीचको पारम्परिक ज्ञानलाई जोगाउन सकिन्छ । अब पनि चेतेनौं भने न्याउरी मारी पछुतो हुनेछ ।

अहिलेको पुस्ता निकै हतारमा हुर्किंदैछ । ऊ तात्कालिक लाभहानिको कुरा सोच्छ । त्यही रुख लगाइन्छ, जसले उसलाई तत्काल फाइदा दिन्छ । त्यही चरा वा पशु पालिन्छ, जुन तत्काल आयआर्जनको बलियो स्रोत बन्छ । घरपालुवा मात्रले कुनै नश्ललाई जोगाउन सक्दैन । हेर्दाहेर्दै हाम्रै वरिपरिका रैथाने पशु नश्लहरू लोप हुँदै गएका छन् । जंगल मासेर हरण हुने जैविक विविधताको आपूर्ति पुनर्उत्पादित वनले दिन सक्दैन । जंगल आफैंमा प्रदूषण, भूक्षय, भूस्खलन, जैविक विविधता संरक्षणको आधार हो । पानी भण्डारण र रिचार्जका लागि वरदान नै हो ।

यस सन्दर्भमा सबैभन्दा महत्त्वपूर्ण प्रकृतिसंगको सामञ्जस्यता नै हो । जब–जब मानिसले प्रकृतिसँग छेडछाड गरेको छ, प्रकृतिले पनि त्यसको बदला लिन विनाशलीला मच्चाएको छ । हडप्पा र मोहनजोदाडोको उन्नत सभ्यताको नाश अत्यधिक वन कटाइ र प्रकृतिसँग अत्यधिक छेडछाडको परिणाम थियो । अहिले विकासबारे जुन बुझाइ छ, त्यसले सुदूर देहातमा पनि जताततै कंक्रिटीकरण गर्दैछ । पुराना रुखहरू ढालिँदैछन् । रैथाने र आयातित चराहरू घुमफिर गर्ने सहज परिवेश मासिँदैछ । ऐतरेयोपनिषद्मा शान्ति पाठका लागि प्रार्थना गरिएको छ, ‘मेवाक्मनसि प्रतिष्ठिता मेमन: वाचि प्रतिष्ठितम् ।’ अर्थात् मेरो वाणी मनमा स्थिर होस् र मन वाणीमा स्थित होस् । यो प्रार्थना सरल लाग्छ, तर पनि यसले गहकिलो कुरा उठाएको छ । सङ्कल्पसाथ वचन पनि एक होओस् । आफ्नो छेउछाउ र परिवेशका जीवजन्तु, वनस्पति लगायत प्रकृतिको बाँच्न पाउने लोकतन्त्रलाई जोगाउन सकियो भनेमात्र राष्ट्रिय सुरक्षा हुन्छ ।
datelinetemrai@gmail.com

प्रकाशित : आश्विन ३०, २०७६ ०७:५९
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

गान्धीको सत्ता

चन्द्रकिशोर

‘नाथुराम गोडसेले त ठिकै गरे नि ?’ यसै साता काठमाडौंमा भेटिएका एक बुद्धिजीवीको जिज्ञासा थियो, ‘गान्धीवध किन ?’ पुस्तक पढ्नुभएको छ ? मैले विनम्र प्रतिप्रश्न गरेँ, ‘महात्मा गान्धीबारे सबै पढ्नुभएको छ ?’ उनले स्वीकार गरे, ‘त्यो त छैन ।’

महात्मा गान्धीका बारेमा गहिरो अध्ययन नगरिकन नै हतारमा टिप्पणी गर्ने प्रवृत्ति हामीकहाँ बढ्दैछ । उनी जन्मिएको देश भारत पनि यस्तो प्रवृत्तिबाट अछूतो छैन । ३० जनवरी १९४८ मा नाथुराम गोडसेले गान्धीमाथि गोली प्रहार गरी मारेका थिए । त्यहाँ पनि एउटा तप्का अहिले गोडसेको महिमामण्डन गर्न लागेका छन् । कतिपय यस्ता गर्नेहरू त्यहाँ निर्वाचितसमेत भएका छन् । तर गान्धीको आभामण्डल कम भएको छैन । गान्धीमाथि जति प्रहार हुँदै गएको छ, त्यति नै गान्धी गोरेटो फैलिँंदै गएको छ ।

यतिखेर विश्वभरि नै गान्धीको १५० औं जयन्ती मनाइँदैछ । गान्धीबारे भन्न थालिएको छ, उनको ८ दशकको जिन्दगी वास्तवमा कैयौं जिन्दगीहरूको सगोल इतिहास हो । उनको बाटो र विचारलाई संरक्षण गर्न कुनै राज्यसत्ताको आवश्यकता छैन । तर आधुनिक सत्ताका अभियन्तालाई आफूले बेहोर्नुपर्ने चुनौतीहरूसँग जुध्न गान्धी विचारको साथ चाहिएको छ । यसले नै गान्धीको प्रासंगिकतालाई प्रस्ट्याउँछ । गान्धीले राजनीतिक सङ्घर्षको साथै रचनात्मक गतिविधिलाई समानान्तर रूपमा बढाए । त्यसैले उनलाई २० औं शताब्दीको रूपान्तरणकारी राजनीतिक नेतामध्ये एक मानिन्छ । अमेरिकी भविष्यवादी लेखक एल्विन टफ्लरको किताब ‘फ्युचर शक’ले निकै हलचल मच्चाएको हो । त्यसपछि ‘थर्ड वेभ’मा एउटा अध्यायको नाम नै ‘गान्धी विद सेटेलाइट्स’ राखिएको छ । सादा जीवन, प्रकृतिसँग निकटता र मानवताका लागि गान्धीको शिक्षाले विश्वको ध्यानाकर्षण गरिराखेको छ ।

भारतीय स्वतन्त्रता संग्रामको साथै उनले छुवाछूत उन्मूलन, हिन्दु–मुस्लिम एकता, चर्खा र खादीको प्रसार, ग्राम स्वराज्यको परिकल्पना, आधारभूत शिक्षामाथि जोड, परम्परागत चिकित्सीय ज्ञानको उपयोग, बदलावका लागि अखबारको प्रयोग, आश्रममा सामूहिक बसोबास जस्ता काम गरे । यसैले गान्धीको जीवन र उनको काम निकै विस्तृत हुनपुग्यो । औपनिवेशिक शासनबाट भारत मुक्त भएपछि यिनलाई पत्रकारहरूले सोधेका थिए, ‘भारत विकासको मोडल के हुनेछ ?’ उनको जवाफ थियो, ‘भारतको प्रगति बेलायतीहरूको बाटो समाएर हुँदैन । भारत त्यही बाटोमा हिँंड्यो भने उसलाई पृथ्वीजस्तै कैयौं ग्रहको आवश्यकता पर्न सक्छ ।’ उनको संकेत कथित आधुनिक विकासका कमजोरीतिर थियो, जहाँ केही प्रतिशत मानिसका लागि प्रकृतिको चरम दोहन गरिन्छ । अहिले वातावरणमा आकस्मिक परिवर्तन, असन्तुलित मौसम, मानव सभ्यताको लागि चुनौती बन्दैछ ।

गान्धी पर्यावरणका मुखर हितैषी थिए । त्यसैले उनका प्रयोगहरूमा प्रकृतिसँग समीपता र सन्तुलित प्रयोगको कुरा गाँसिएको थियो । आज बिग्रँदो पर्यावरणले गान्धीलाई सम्झिन दबाब दिँदैछ । यस सन्दर्भमा अहिलेका राज्य व्यवस्थापकहरूलाई गान्धी सत्ताको ओत चाहिन्छ । गान्धीको सत्ता भनेको उनको खुला जीवनमा भए–गरिएका प्रयोग, अनुभवजन्य चिन्तन र उनले आफ्नै प्रयोगबाट देखाएको बाटो हो । गान्धीको सत्ता सत्य, अहिंसा र सहिष्णुता हो । गान्धीको सत्य र अहिंसाबारे निकै चर्चा चल्छ, तर उनको सहिष्णुताबारे त्यति उल्लेख हुँदैन । सहिष्णुता भनेको सहने सामर्थ्य, सतत साधना हो । गान्धीको शब्दकोशमा सहिष्णुताको मतलब कमजोरी भन्ने होइन । अहिंसक सेना निर्माणको अस्त्र हो, सहिष्णुता । उनी क्रियाशील रहेकै बेला कैयौं कोणबाट उनकै मुलुक भारतमा औपनिवेशिक सत्ताविरुद्ध हिंसक प्रतिरोधको अभ्यास र वकालत हुँदै थियो । तर गान्धी समाजमा अहिंसाका पाठ पढाउँदै थिए ।

केही वर्ष पहिला एउटा हिन्दी चलचित्र आएको थियो, ‘मुन्नाभाइ एमबीबीएस’ । त्यसको एउटा संवाद युवा पुस्तामाझ असाध्यै लोकप्रिय भएको थियो, ‘बापु ने पहले गाल पर थप्पड परने पर दुसरा गाल बढाने की नसिहत दी, लेकिन दुसरे गाल पर थप्पड परने पर क्या करें ये नहीं बताया ।’ चलचित्रमा फेरि मुन्नाभाइ पात्रको असली चरित्र मुखरित हुन्छ र उसले आफ्नो विरोधीलाई चुट्छ । यस्ता मुन्नाभाइ तपाई, हाम्रामाझ पनि मौजुद छन्, जसले गान्धीको आदर्शलाई अधुरो बुझेका छन् र गान्धीवादी हुने दम्भमात्र राख्छन् । गान्धीको सहिष्णुताबारे वर्तमान पिढीलाई बताउनुपर्छ । आफ्नो समाज र देशलाई बदल्नुछ भने अहिंसक प्रतिरोधको ताकत हासिल गर्नुपर्छ । गान्धीले भनेका थिए, ‘यदि तपाईं कसैलाई सुधार्न चाहनुहुन्छ भने वा आफ्नै आत्मालाई बलियो बनाउन चाहनुहुन्छ भने क्षमा गर्न सिक्नुस् ।’ क्षमा गर्ने प्रवृत्ति नै सहिष्णु बन्नुको प्रारम्भिक आधार हो । गान्धी कहिल्यै पनि हिंसाको जवाफ हिंसाले दिने पक्षमा थिएनन् । उनले व्यक्तिगत हमलाको जवाफ संयमसाथ दिए । गान्धीको सहिष्णुता मजबुरी होइन । मजबुरीको नाम महात्मा गान्धी होइन । आफ्नो सहिष्णुताको बलबाट मजबुरीलाई मजबुतीमा बदलिदिने व्यक्तिको नाम हो– गान्धी । त्यसैले गान्धीको सत्ता अहिंसक साहसीहरूको सत्ता हो । भयमुक्त योद्धाहरूको सत्ता हो ।

सङ्घर्षका क्रममा गान्धी धेरैपटक जेल परे । जेलमा पनि उनी शौचालय सफाइ, पढाइ, लेखाइ, प्रवचन, चर्खा काट्ने र छालाको जुत्ता–चप्पल बनाउने काम गर्थे । उनलाई दक्षिण अफ्रिका छँदा जेल पठाउने अधिकारी जनरल स्मट्स थिए । सन् १९१३ मा गान्धीले यी अधिकारीलाई जेलबाटै चिठी लेखेर आफूले १५ वटा चप्पल बनाइसकेको बताएका थिए । यदि ती अधिकारीले आफ्नो खुट्टाको नापो दिए भने तिनका लागि पनि चप्पल बनाइदिने बताएका थिए । सन् १९१४ मा जब उनी जेलबाट रिहा भए र दक्षिण अफ्रिका सधैंका लागि छाड्ने सोच बनाए, त्यतिखेर गान्धीले ती अधिकारीलाई आफूले बनाएको चप्पल दिए । पछि भारत आएर गान्धी यहाँका अग्ला नेता भए । उनको राजनीतिक र सामाजिक सक्रियता बढ्दै गयो । तर पनि उनले उद्यम छाडेनन् । चप्पल बनाउनुका साथै मरेका जनावरहरूको छाला निकाल्ने काम पनि सिके ।

एक पटक जवाहरलाल नेहरू र सरदार बल्लवभाइ पटेलका साथ भारतीय कांग्रेसका केही ठूला नेताहरू महाराष्ट्रस्थित सेवाग्राम आश्रम पुगे । उनीहरूले निकै बेर गान्धीलाई कुर्नुपर्‍यो । गान्धीसँग भेट्दा सिकायत पनि गरे । गान्धीले त्यतिखेर आफू आश्रमबासीलाई छालाको चप्पल बनाउन सिकाइरहेको बताउँदै उनीहरूलाई पनि चप्पल बनाउन सुझाए । गान्धी आफ्नो काम आफैंले गर्नुपर्ने सोचका पक्षपाती थिए । उनका विरोधी द. अफ्रिकाका स्मट्सले सन् १९३९ मा लेखे, ‘मैले यो चप्पललाई कैयौंपटक लगाएँ, मलाई लाग्छ, यस्तो महान व्यक्तिको हातले बनाएको चप्पल खुट्टामा लगाउनका लागि म अयोग्य छु ।’ अहिले त्यो चप्पलको जोडी एउटा संग्रहालयमा राखिएको छ । यसरी गान्धी आफ्नो संयम र सिर्जनाले आफूभन्दा फरक विचार राख्नेको पनि मन जित्थे । तमाम असहमतिका बावजुद पनि कसैसँगको निजी सम्बन्धलाई आत्मीय कायम राख्न उनी तत्पर रहन्थे । कसैले व्यक्तिगत मानहानि गर्दा पनि त्यसलाई सहन्थे, जसरी दक्षिण अफ्रिकामा ट्रेनबाट धक्का दिएर खसाल्दा त्यसको तत्काल प्रतिरोध गर्नुभन्दा पनि मन्थन गरेर त्यो प्रवृत्ति विरुद्ध नै लड्ने काम गरे । दक्षिण अफ्रिकाको धर्तीमा भएको अपमानदेखि आफ्नै मुलुक भारतमा भएको हिंसाको प्रचण्ड रापतापमाझ पनि देखिन्छ, एउटा सहिष्णु गान्धी जो आफ्नो प्रतिज्ञाप्रति प्रतिबद्ध छ र त्यसका लागि आहुति पनि दिन्छ ।

स्वयं उनकै भारतभित्रबाट ‘वाट्सप विश्वविद्यालय’द्वारा फैलाइएको गान्धी विरोधी कुतर्क, भ्रामक तथ्य र त्यससँग जोडिएको पक्षधरताका बावजुद पनि गान्धी झन्–झन् विकल्पका रूपमा देखिन थालेका छन् । २००७ जून १५ मा संयुक्त राष्ट्रसंघले घोषणा गर्‍यो— गान्धीको जन्मदिनलाई अन्तर्राष्ट्रिय अहिंसा दिवसको रूपमा मनाइने । यो प्रस्ताव सबैभन्दा पहिला नोबल पुरस्कार विजेता इरानका शिरिन इबाडीले २००४ मा राखेका थिए । अहिले गान्धीको १५० औं जयन्ती मनाइराख्दा हामीले पनि त्यसमा साझेदारी गर्दै पर्यावरणमैत्री नेपालको सङ्कल्प राख्न सक्यौं भने त्यो गान्धी स्मृति मनाएको सार्थक हुनेछ । विकासको बाटोलाई विनाशको पर्यायवाची नबनाउन गान्धीको संकल्पलाई अवसरमा अनुवाद गर्न सक्छ । हामीले देखिराखेका छौं, विनाशमुखी विकासको परिणामले कत्रो मूल्य चुकाउनु परिरहेको छ ।

बदलावका लागि अहिंसक माध्यमको प्रयोग अर्को संकल्प हो । हिंसा एउटा मनोवैज्ञानिक अवस्था हो । यसले अर्को पक्षप्रति निषेध, घृणा र संवादहीनताका लागि उक्साउँछ । बदलावका लागि बन्दुक बोकेको बताउनेहरू पनि हिजोआज यसले जन्माएका विकृतिबाट दिक्दार छन् । आखिर यसको भुक्तभोगी बन्दुक उठाउने समाज नै हुन्छ । चे ग्वेरा वा फिडेल कास्त्रोले क्रान्तिका लागि आफ्नो आधार क्षेत्रका जनतालाई बन्दुक समाउन लगाए, तर जब सत्तामा पुगे ती बन्दुकहरू कसरी फिर्ता ल्याउने चिन्ता छायो । भनिन्छ– समाज, बन्दुक र राज्य एकसाथ चल्न सक्दैन । अन्ततोगत्वा कास्त्रोले जनताबाट बन्दुक फिर्ता लिए । बन्दुकको बलमा राज्यलाई आफ्नो कुरा सुनवाइ गराउने चाहनालाई कदापि स्वीकार गर्न सकिंदैन । ठीक त्यसैगरी बन्दुकको बलमा सरकारले जनविरोधी नीति वा काम थोपर्न खोज्छ भने त्यो पनि अस्वीकार गरिन्छ । शान्तिपूर्ण सङ्घर्षलाई सरकारले संवादमार्फत वैधता दिनुपर्छ । आज नेपालमा यस्तो नागरिक समझदारीको आवश्यकता छ, जहाँ सत्याग्रह र अहिंसाबाट नै जनआकांक्षालाई राज्यले सुन्छ । यसले नै प्रत्येक नेपालीको मनमा गान्धीको सत्तालाई स्थापित गर्न सक्छ ।
datelinetemrai@gmail.com

प्रकाशित : आश्विन १६, २०७६ ०९:२२
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT