कमरेडको हाइट

विमल निभा

काठमाडौँ — कमरेडको अवस्था पहिलेजस्तो थिएन । एकाएक उनको हाइट स्वाट्टै घटेको थियो । र, यो कम भएको हाइटलाई उनी पटक्कै बिर्सन सकिरहेका थिएनन् । यसको कारण उनको बेडरुमको ठूलो ऐना थियो । यो बदमास ऐना बराबर सम्झाइरहन्थ्यो उनलाई, ‘कमरेड यो के भएको हो ?’

‘के भयो ?’ उनी ऐनामा हेरेर भन्थे ।
‘कमरेडलाई थाहै छ नि !’
‘के थाहा छ मलाई ?’
‘तपाईंको हाइट कम भएको छ कमरेड ।’
‘के गरुँ त म ?’ कमरेड झर्किएर भन्थे ।
‘यसलाई साविक बमोजिम गर्नोस् कमरेड ।’
यसरी आफ्नो खस्किएको हाइटले कमरेड निकै दु:खी थिए । यसको स्तरवृद्धि गर्न के गर्ने ? उनलाई केही सुझिरहेको थिएन । यसलाई बेसरी तन्क्याएर लामो गर्न सकेको भए कति बेस हुन्थ्यो कमरेड प्राय: सोच्ने गर्थे । तर यो विलकुलै सम्भव थिएन । त्यसैले यही घटेको हाइटसहित लुखुर–लुखुर हिँडिरहन्थे । घरदेखि पार्टी कार्यालयसम्म । र, सबभन्दा दु:खको कुरा के भने पार्टी कार्यालयमा उनको कुनै मान–मर्यादा रहेको थिएन । अर्थात् हाइटसँगसँगै सबथोक घटेको थियो । (यही समयमा संयोगले नेपाल कम्युनिस्ट पार्टी, नेकपाका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालको हैसियत पनि खस्किएको थियो । उनी अर्का वरिष्ठ नेता कमरेड झलनाथ खनालभन्दा एक स्तर तल पुगेका थिए । तर यो नेपाल कम्युनिस्ट पार्टी, नेकपाका नेताहरूका परस्परको प्राविधिक मामला हो) ।
‘कमरेड, हजुर केही किन गर्नुहुन्न ?’ एक दिन उनको एक कार्यकर्ताले भन्यो ।
‘के गरुँ म ?’ उनले उसरी नै झर्किएर भने ।
‘हजुरको हाइट बढाउनुपर्‍यो कमरेड ।’
‘कसरी बढाउने हाइट ?’
‘मसँग एउटा उपाय छ ।’ कार्यकर्ताले अघि
बढेर भन्यो ।
‘के उपाय छ ?’ कमरेड थोरै उत्साहित भए ।
‘हजुर नियमित व्यायाम गर्न थाल्नोस् ।’ कार्यकर्ताले विस्तारै भन्यो, ‘जिमले पनि हाइट बढाउन राम्रो मद्दत
मिल्छ कमरेड ।’
‘यो कुनै शारीरिक हाइट हो र ?’ कमरेड सहसा क्रुद्ध भए, ‘यो त राजनीतिक हाइट हो ।’
‘ए, हो र कमरेड ?’
‘एकदमै हो नि !’
‘त्यसो भए हजुर विचारको सहयोग लिनोस् कमरेड ।’ कार्यकर्ताले गम्भीर भएर भन्यो, ‘मार्क्सवादले हजुरको हाइट बढ्न सक्छ ।’
‘हुन त हो ।’ कमरेड पनि गम्भीर भए, ‘तर मैले वर्गसंघर्ष, लालझन्डा, जनतन्त्र, हँसिया–हथ्यौडा, साम्यवाद आदि छाडेको धेरै भइसक्यो ।’
‘समाजवाद त बाँकी छ नि कमरेड ।’
‘ए, त्यो त नक्कली समाजवाद हो ।’
‘अब के गर्नु हुन्छ त कमरेड ?’ कार्यकर्ता
निराश भयो ।
‘मार्क्सवादमा जाने अब कुनै अभ्यास नै रहेन ।’ कमरेडले मानौं आफैंसँग सुस्तरी भने, ‘तर हाइट बढाउन केही न केही गर्नु पर्ला ।’
‘के गर्नु पर्ला ?’ एकछिन पछि फेरि
आफैंसँग भने ।
‘केही त जरुर गर्नेछु ।’ कमरेड आश्वस्त भए । (मनमनै) ।
केही दिनपश्चात् के अचम्म देखियो भने कमरेड बढेको हाइटसहित लमक–लमक अघि बढिरहेका छन् । उनको हाइट हलक्कै बढेको थियो । अब कमरेड अग्लो हाइटका भइसकेका थिए । यसको परिणामस्वरूप पार्टीमा पनि कमरेडको मान–मर्यादा कायम भएको थियो । उनी एक पटक फेरि हाइटवाला कमरेड भएका थिए । यसको कारण के हो भने कसैले प्रश्न गर्दा उनी प्रत्युत्तरमा तनक्क तन्किन्थे । र,
आफ्नो वरिपरि उभिएका डन, तस्कर, कालाबजारी, भ्रष्ट, भूमाफिया, दलाल, दुईनम्बरी, मण्डले आदितिर हेरेर रहस्यमयी पाराले हलुका मुस्कुराउँथे ।

प्रकाशित : आश्विन २५, २०७६ ०८:०१
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

सिउँडी : कुइँकेल किचेन

विमल निभा

‘कुइँकेल किचेन’ मा निकै चहलपहल थियो । कविहरू यथासमयमा आइपुगेका थिए । एकाध कवि सडकजाममा फँसेकाले आइपुगेका थिएनन् । अन्यथा समयसँग हिंँड्न अभ्यस्त कविहरू समयमा नआइपुग्ने कुरै थिएन । कोही-कोही अतिरिक्त समयचेतका उत्साही कवि समयभन्दा अगावै आइपुगेका थिए ।


‘माननीय कविज्यू कहिले
आइपुग्नु हुनेछ ?’
‘खोइ, बेलैमा आइपुग्नेछु भन्नुभएको थियो मसँग ।’
‘मसँग त वाचा नै गर्नुभएको थियो, माननीय कविज्यूले ।’
‘निकै अबेर भइसकेको छ ।’
‘रात पनि पर्न लागिसक्यो ।’
‘अब आउनै लाग्नुभएको होला
माननीय कविज्यू ।’
‘कुनै खबर पनि आएको छैन ।’
आज ‘कुइँकेल किचेन’ मा विशेष खाले काव्य जमघट हुने भएको थियो । यसको कारण कुनै कवितादि नभएर अर्थोक थियो । किनभने प्रमुख अतिथिमा सत्ताधारी पार्टीका सांस्कृतिक विभागका प्रधान माननीयज्यू आउन लागेका थिए । र संयोगले उनी कविता लेख्ने एक कवि नै । वास्तवमा उनै माननीय कविज्यूको व्यग्र प्रतीक्षा भइरहेको थियो । कविहरू लामबद्ध भई मूलद्वारमा उभिएका थिए । (हातमा एक-एकवटा फूलमाला) । एकाएक के फोन आयो भन्ने विशेष कारणवश माननीय प्रमुख अतिथिको आगमन रद्ध भएको छ । यो अप्रत्यासित खबरले मर्माहत कविगण उदास मुद्रामा मास्तिर उक्ले । (एक तला माथि) ।
‘के भयो हँ ?’ कुइँकेल हात हल्लाउँदै किचेनबाट निस्किए ।
‘माननीय प्रमुख अतिथि नआउने
खबर आयो ।’ सबै कवि एक स्वरमा अभिव्यक्त भए ।
‘किन कविज्यूहरू ?’
‘खोइ, विशेष कारणले मिलेन रे !’ एक कविले सुस्केरा हाले ।
‘आउनु त पर्ने हो, माननीय कविज्यू ?’
‘धत्तेरिका !’ किचेनका मालिक कुइँकेल दु:खी भए, ‘आज विशेष हाँसको मखमली छोएला बनाउन लगाएको थिएँ ।’
कविहरू निराश भावमा एउटा ठूलो कोठामा पसे । त्यहाँ चारैतिर नरम-नरम चकटी राखिएको थियो । र ठीक बीचमा काठको लम्बोत्तर तर पुड्को खालको टेबुल । यसकै वरिपरि लहरै बसेर कविहरू आआफ्ना कविता, गीत, गजल, मुक्तक, हाइकु, तांका, सनेट, सायरी आदि सुन्ने/सुनाउने गर्थे । यही मासिक काव्य गोष्ठीको मोटामोटी नियम थियो । तर आज भने कविहरू चुपचाप टाउको निहुराएर केही सोचिरहेका थिए । सबै अति चिन्तित पनि देखिन्थे । अर्थात् अब के गर्ने ? अन्तत: यो समसामयिक प्रश्नको उत्तर दिन मासिक काव्य गोष्ठीका संयोजक कवि चकटीबाट उठे, ‘कविहरू, आज काव्यगोष्ठी यहीं स्थगित गर्नुपर्ने बाध्यता आइपरेको छ ।’
‘आज विशेष कविता लेखेर ल्याएको थिएँ मैले ।’ एक कवि कुनाको चकटीमा चलमलाए ।
‘मैले पनि आफ्ना नयाँ गजल सुनाउने विचार गरेको थिएँ ।’ अर्का कविको मन्द स्वर आयो ।
‘तपाईहरूका संगतले मैले पनि
एउटा मुक्तक कोरेको थिएँ ।’ कुइँकेल पनि निराश भए, ‘प्रमुख अतिथिलाई सुनाउने
मन थियो ।’
‘मेरो आज हुने गीतिकाव्य संग्रहको विमोचनको के हुने भयो ?’ एक युवाकविले चिन्ता व्यक्त गरे, ‘माननीय कविज्यू
आउनु भएन ।’
प्रत्येक महिनाको आखिरी शनिबार ‘कुइँकेल किचेन’ मा केही समकालीन युवाकवि भेला हुने गर्थे । कुनै-कुनै शनिबार ‘वयप्रतिष्ठित’ अर्थात केवल उमेरले पाका कवि पनि सामेल हुन आउँथे । प्रमुख अतिथि अथवा विशिष्ट अतिथिको रूपमा तत्पश्चात थरीथरीका कवित्त आदिको विशेष कार्यक्रम चल्ने गर्थ्यो । (ठोस एवं तरल) ।
‘हाम्रो अर्को मासिक काव्य भेलाको समय दसैं पर्ने भएकोले के गर्ने ?’ अघिदेखि मौन एक कविको बोली सुनियो, ‘आउने महिना दसैं हो ।’
‘हो, त्यसबखत भेला हुन गाह्रो हुन्छ । अर्का एक कविले समर्थनमा भने, ‘दसैंमा किचेन पनि बन्द हुन्छ क्यारे !’
‘अनि के गर्ने त ?’ कविहरूका चिन्ता घनिभूत भयो ।
काव्य गोष्ठी संयोजक केही सोचिरहेका थिए । पुरै गम्भीर पनि देखिन्थे । एक्कासी उनी फेरि चकटीबाट उठे, ‘यस सम्बन्धमा मेरो एउटा प्रस्ताव छ, कविज्यूहरू ।’
‘के प्रस्ताव छ ?’ सबै कविहरू
उत्सुक देखिए ।
‘दसैंको शुभ अवसरमा हामी कविहरूले सम्माननीय प्रधानमन्त्रीज्यूकहाँ कविता सुनाउन गए के हुन्छ ?’ संयोजकले एक सासमा भने, ‘उहाँ काव्यप्रेमी हुनुहुन्छ ।’
‘सम्माननीय प्रधानमन्त्रीज्यू त राष्ट्रकविको कवितामात्र सुन्न रुचाउनु हुन्छ ।’ एक कविले विस्तारै भने, ‘उहाँले हाम्रो कविता सुन्नु होला र ?’
‘हो, उहाँ राष्ट्रकविको घरैमा गएर कविता सुन्नु हुन्छ ।’ अर्का कविले लगत्तै थपे, ‘सम्माननीय प्रधानमन्त्रीज्यूले लैनचौर पुगेर राष्ट्रकविलाई आफ्नो कविता पनि सुनाइ सक्नुभएको छ ।’
‘त्यसो भए यो दसैंको खाली समयमा हामीले के गर्ने त ?’ सबै कविहरूका एउटै स्वर थियो, ‘कुइँकेल दाइलाई किचेन खुला राख्न भन्नुपर्‍यो ।’
‘हेर्नोस्, सम्माननीय प्रधानमन्त्रीज्यू मान्नु भएन भने हामीले उहाँको साटो कुनै एक माननीय मन्त्रीज्यूलाई कविता सुनाए पनि हुन्छ ।’ एक कविले समाधान प्रस्तुत गर्न खोजे, ‘मेरो साडुभाइ एक माननीय मन्त्रीज्यूको पीए भएकोले म समय
मिलाउन सक्छु ।’
‘हुन्छ, हुन्छ ।’ सबै कविका एकमुष्ट सहमति भयो, ‘हामीले माननीय मन्त्रीज्यूलाई दसैंको अवसरमा एक-एकवटा ताजा
कविता सुनाउने ।’
‘म आफ्नो नयाँ खण्डकाव्यबाट केही महत्त्वपूर्ण पंक्तिहरू सुनाउनेछु ।’
‘माननीय मन्त्रीज्यूका लागि म आज राति नै कविता लेख्नेछु ।’
‘मसँग थुप्रै नयाँ कविताहरू छन् ।’
‘मेरो गीतिकाव्य संग्रहको माननीय मन्त्रीज्यूसँग विमोचन गराउन पाए हुन्थ्यो ।’
यस प्रकार वर्तमान सरकारको एक माननीय मन्त्रीज्यूको सरकारी निवासस्थानमा गई, आआफ्ना कविता सुनाउने सर्वसम्मत निर्णय गरेर समकालीन चर्चित एवं अचर्चित (चर्चा हुन बाँकी) युवाकविहरू परम सन्तुष्ट मुद्रामा ‘कुइँकेल किचेन’ बाट निस्की रातको सुनसानमा आआफ्ना घरतर्फ जाँदा भए ।

प्रकाशित : आश्विन ११, २०७६ ०८:२५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT