कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९३

कमरेडको हाइट

विमल निभा

काठमाडौँ — कमरेडको अवस्था पहिलेजस्तो थिएन । एकाएक उनको हाइट स्वाट्टै घटेको थियो । र, यो कम भएको हाइटलाई उनी पटक्कै बिर्सन सकिरहेका थिएनन् । यसको कारण उनको बेडरुमको ठूलो ऐना थियो । यो बदमास ऐना बराबर सम्झाइरहन्थ्यो उनलाई, ‘कमरेड यो के भएको हो ?’

‘के भयो ?’ उनी ऐनामा हेरेर भन्थे ।

‘कमरेडलाई थाहै छ नि !’

‘के थाहा छ मलाई ?’

‘तपाईंको हाइट कम भएको छ कमरेड ।’

‘के गरुँ त म ?’ कमरेड झर्किएर भन्थे ।

‘यसलाई साविक बमोजिम गर्नोस् कमरेड ।’

यसरी आफ्नो खस्किएको हाइटले कमरेड निकै दु:खी थिए । यसको स्तरवृद्धि गर्न के गर्ने ? उनलाई केही सुझिरहेको थिएन । यसलाई बेसरी तन्क्याएर लामो गर्न सकेको भए कति बेस हुन्थ्यो कमरेड प्राय: सोच्ने गर्थे । तर यो विलकुलै सम्भव थिएन । त्यसैले यही घटेको हाइटसहित लुखुर–लुखुर हिँडिरहन्थे । घरदेखि पार्टी कार्यालयसम्म । र, सबभन्दा दु:खको कुरा के भने पार्टी कार्यालयमा उनको कुनै मान–मर्यादा रहेको थिएन । अर्थात् हाइटसँगसँगै सबथोक घटेको थियो । (यही समयमा संयोगले नेपाल कम्युनिस्ट पार्टी, नेकपाका वरिष्ठ नेता कमरेड माधवकुमार नेपालको हैसियत पनि खस्किएको थियो । उनी अर्का वरिष्ठ नेता कमरेड झलनाथ खनालभन्दा एक स्तर तल पुगेका थिए । तर यो नेपाल कम्युनिस्ट पार्टी, नेकपाका नेताहरूका परस्परको प्राविधिक मामला हो) ।

‘कमरेड, हजुर केही किन गर्नुहुन्न ?’ एक दिन उनको एक कार्यकर्ताले भन्यो ।

‘के गरुँ म ?’ उनले उसरी नै झर्किएर भने ।

‘हजुरको हाइट बढाउनुपर्‍यो कमरेड ।’

‘कसरी बढाउने हाइट ?’

‘मसँग एउटा उपाय छ ।’ कार्यकर्ताले अघि

बढेर भन्यो ।

‘के उपाय छ ?’ कमरेड थोरै उत्साहित भए ।

‘हजुर नियमित व्यायाम गर्न थाल्नोस् ।’ कार्यकर्ताले विस्तारै भन्यो, ‘जिमले पनि हाइट बढाउन राम्रो मद्दत

मिल्छ कमरेड ।’

‘यो कुनै शारीरिक हाइट हो र ?’ कमरेड सहसा क्रुद्ध भए, ‘यो त राजनीतिक हाइट हो ।’

‘ए, हो र कमरेड ?’

‘एकदमै हो नि !’

‘त्यसो भए हजुर विचारको सहयोग लिनोस् कमरेड ।’ कार्यकर्ताले गम्भीर भएर भन्यो, ‘मार्क्सवादले हजुरको हाइट बढ्न सक्छ ।’

‘हुन त हो ।’ कमरेड पनि गम्भीर भए, ‘तर मैले वर्गसंघर्ष, लालझन्डा, जनतन्त्र, हँसिया–हथ्यौडा, साम्यवाद आदि छाडेको धेरै भइसक्यो ।’

‘समाजवाद त बाँकी छ नि कमरेड ।’

‘ए, त्यो त नक्कली समाजवाद हो ।’

‘अब के गर्नु हुन्छ त कमरेड ?’ कार्यकर्ता

निराश भयो ।

‘मार्क्सवादमा जाने अब कुनै अभ्यास नै रहेन ।’ कमरेडले मानौं आफैंसँग सुस्तरी भने, ‘तर हाइट बढाउन केही न केही गर्नु पर्ला ।’

‘के गर्नु पर्ला ?’ एकछिन पछि फेरि

आफैंसँग भने ।

‘केही त जरुर गर्नेछु ।’ कमरेड आश्वस्त भए । (मनमनै) ।

केही दिनपश्चात् के अचम्म देखियो भने कमरेड बढेको हाइटसहित लमक–लमक अघि बढिरहेका छन् । उनको हाइट हलक्कै बढेको थियो । अब कमरेड अग्लो हाइटका भइसकेका थिए । यसको परिणामस्वरूप पार्टीमा पनि कमरेडको मान–मर्यादा कायम भएको थियो । उनी एक पटक फेरि हाइटवाला कमरेड भएका थिए । यसको कारण के हो भने कसैले प्रश्न गर्दा उनी प्रत्युत्तरमा तनक्क तन्किन्थे । र,

आफ्नो वरिपरि उभिएका डन, तस्कर, कालाबजारी, भ्रष्ट, भूमाफिया, दलाल, दुईनम्बरी, मण्डले आदितिर हेरेर रहस्यमयी पाराले हलुका मुस्कुराउँथे ।


प्रकाशित : आश्विन २५, २०७६ ०८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पूर्वउपराष्ट्रपतिका छोरा तथा अखिल क्रान्तिकारीका महासचिव दिपेश पुनपछि सत्तारूढ माओवादीका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करी अनुसन्धानमा पक्राउ परेका छन् । के सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाएकै हो त ?