पैसाको मैला र संक्रमण 

रामचन्द्र अधिकारी

दसैंका बेला मानिसका हातमा अरू बेलाभन्दा बढी नै पैसा घुमफिर गर्छ । यस समयमा पैसा बैंकबाट मानव समुदायमा वितरित हुन्छ भनिन्छ तर कहिल्यै सोच्नु भएको छ– पैसामा कति फोहोर र हानिकारक जीवहरू होलान् । महाकवि देवकोटाले पैसा वा सम्पत्तिलाई हातका मैलाका रूपमा लिएका थिए ।

हातमा नरहने, चलिरहने, पखालिएर जाने आशयभावमा यसो भनिएको होला । वैज्ञानिक दृष्टिले हेर्ने हो भने हातका मैला पैसामा सरिजान्छ र पैसाको मैलाचाहिँ नपखालिने गरी गडेको हुन्छ ।

पैसा खासमा साह्रै फोहोरी वस्तु हो । सम्झौं न आफ्नो हातमा आएको पैसा कस्ता कस्ता व्यवसाय गर्ने मानिसका हातहातमा घुमेर आइपुगेको होला । मान्छेले सुरक्षित राख्न पैसा कस्ता कस्ता ठाउँमा राख्छन् होला । पैसा शरीर या बाहिर कस्ता ठाउँमा राखिँदोरहेछ भनेर गरिएको एक अध्ययनले देखाएको छ– कतिपयले स्तन छोप्ने कपडा (ब्रा) को भित्रपट्टि, कसैले मोजाभित्र, कसैले गुप्तांग छोप्न लगाइने भित्री लुगाभित्र, कसैले कम्मरमा कपडाले बेरेर राख्ने गरेका छन् । घरमा सुरक्षित राख्नेहरूले कहाँ लुकाउँदा रहेछन् भनेर जान्न गरिएको अध्ययनले भन्यो– भकारीका धानमा गाडेर, स्थान निश्चित गरी माटोमुनि, सिरानमुनि, किताबको चेप आदिमा पैसा राख्दा रहेछन् । यस्ता स्थानहरू सुरक्षित मानिए पनि स्वस्थकर भने होइनन् । ती ठाउँको मैला पैसाले टिपी ल्याउँछ । अनि, पैसालाई प्रिय वस्तु ठानेर चाट्ने, सुँघ्ने, चुम्मा गर्ने पनि गरिन्छ । त्यसो गर्दा उक्त फोहोर र हानिकारक जीवहरू मानिसको शरीरमा आइपुग्छ । साना नानीहरूलाई पैसा खेलाउन दिइन्छ, उनीहरू चुसिरहेका पनि भेटिन्छन् । उनीहरूका जीउमा पैसामा भएका हानिकारक जीवले आक्रमण गरिदिन्छन् ।

मानिसको शरीरको सबैभन्दा फोहोरी अंग हात हो । सोचौं न, हाम्रो हात कताकता जान्छ, केकस्ता चीजहरू छुन्छ, के के गर्छ । सबै मानिसका हात सफा हुन्नन् । सफा भनिएकामा पनि हजारौं किसिमका हानिकारक जीवहरू– ब्याक्टेरिया, प्रोटोजाअन्स, फन्जाई, जुकाका फुलहरू हुन्छन् । यस्तै हातैहात घुम्ने पैसा झन् कति फोहोरी होला ?

विश्व स्वास्थ्य संगठनका अनुसार सर्वसाधारण मानिसका हातका टुप्पामा ब्याक्टेरियाका करिब ४६ लाख वटा टुकडी प्रतिवर्ग सेन्टिमिटरमा पाइने गरेको छ । चर्पीमा दिसा गरेर मलद्वार सफा गरी फर्केको मानिसका हातमा त २० करोड ब्याक्टेरिया प्रतिइन्च टाँसिएर आउँछन् ।

दसैंको समयमा बालबच्चा मात्र होइन, वयस्कहरू पनि यदि बिरामी पर्छन् भने धेरैमध्ये एउटा कारण पैसा वा नोट पनि हो । कसैलाई नयाँ नोटको गन्ध पनि एलर्जीलाग्दो हुन्छ । नयाँ नोटमै पनि फन्जाईहरू जमेका हुन सक्छन् । नोटमा हुने विभिन्न भाइरसमध्ये इन्फ्लुएन्जा लगाउने ह्युमन इन्फ्लुएन्जा भाइरस, रुघाखोकी लगाउने राइनो भाइरस, जन्डिस लगाउने हेपाटाइटिस ए भाइरस, ग्यास्ट्रोइन्टेरोटाइटिस तथा फुड पोइजन गराउने नोरो भाइरस, ग्यासट्राइटिस र अल्सर गराउने अनि पखालाका साथमा वाकवाकी लगाउने रोटा भाइरस पैसामा पाइने भनेर किङ अब्दुलाजिज विश्वविद्यालयका वैज्ञानिकहरूले ठम्याएका छन् । साइटोमेगालो भनिने हानिकारक भाइरस र क्यान्सर लगाउने इपिस्टेन बार भाइरसको बासस्थान पनि हात र नोट नै हो ।

मुख र स्त्री यौन अंगमा चिलाउने र संक्रमण हुने रोग (क्यान्डिडिआसिस) गराउने यिस्ट पैसामा प्रशस्त पाइन्छ । ढुसी, अंकुशे जुका, कोर्रा जुका, फित्ते जुका, गोलो जुकाका फुलहरू कागजका नोटहरूमा पाइएको भनेर विभिन्न वैज्ञानिक पत्रिकाहरूमा लेख छापिएका छन् । दम, फोक्सो र श्वास नलीको संक्रमण गराउने एस्परगिलस पनि पैसामा बसोबास गर्छ । यस रोगबाट संसारमा १ करोड ४० लाख मानिस संक्रमित भएका छन् । रोग गराउने अभियन्ताको प्रमुख संवाहक पैसा नै हो ।

खानामा बिगार पार्ने (फुड पोइजनिङ गराउने), बाहिरी इपिथेलियल तन्तु सखाप पार्ने सेलुलाइटिस रोग लगाउने साथै अन्य मृत्युप्रदायक रोग लगाउने स्टाफाइलोकोकस ब्याक्टेरिया पैसामा बस्छ । पैसाकै माध्यमबाट यी रोगहरू एकबाट अर्कोमा सरेका प्रमाणहरू थुप्रै छन् । पिसाबमा संक्रमण गराउने (यूटीआई), श्वासप्रश्वासमा संक्रमण गराउने (आरटीआई), छालामा संक्रमण गराउने (डर्माटाइटिस) लगायत अन्य धेरै रोग विस्तार गर्ने सिउडोमोनास ब्याक्टेरियाको बासघर हो– पैसा । अस्पतालमा प्रयोग भएका पैसामा क्लेब्सिएला हुन सक्छन् जसबाट निमोनियाँ हुन्छ । यो पनि कागजका नोट, सिक्का र पोलिमरका नोटमा पाइयो । टाइफाइडको कारक जीव सालमोनेला, हैजाको भिब्रिओ कोलेरा अनि ई.कोलीलाई पनि पुराना नोटहरूले बास दिएका छन् । पैसाका माध्यमबाट समेत यी रोगहरू फैलिएका छन् ।

पैसा कति फोहोरी वस्तु हो, यसमा कस्ता जीवाणुहरू बस्दारहेछन् भनेर विश्वमा थुप्रै अनुसन्धानहरू भएका छन् । उनीहरूको ठम्याइले पैसालाई सकेसम्म हातले नछुने उपायहरू खोज्न आवश्यक भएको देखाएको छ । नयाँ सफा नोटमा पुरानामा जति जीवाणुहरू हुन्नन् तथापि जीवाणुरहित भने होइनन् । राष्ट्र बैंकको सन् २०१८ को एक प्रतिवेदनअनुसार ४ खर्ब ५८ अर्ब रुपैयाँ नेपालको बजारमा सञ्चालित छ । जसको ३० प्रतिशत पुराना र फोहोर नोटहरू छन् । जनार्दन लामिछानेलगायतका काठमाडौं विश्वविद्यालयका अनुसन्धाताहरूले गरेको अनुसन्धानअनुसार सार्वजनिक यातायातका भाडा संकलक (कन्डक्टर) हरूबाट संकलित नोटका नमुनामा सबैभन्दा धेरै फोहोर र रोगका कारक जीवाणुहरू पाइएका थिए । त्यसपछि खाद्य सामग्री बेच्नेहरूबाट लिइएको नोटमा खराबी पाइएको थियो । नास्टका वैज्ञानिकहरू यमी, जोशी र प्रसाईंद्वारा सन् २००७ मा यसै सम्बन्धमा अनुसन्धान गर्न विभिन्न व्यावसायिक क्षेत्रबाट ६३ वटा नोट र सिक्का नमुना संकलन गरिएको थियो । जसमध्ये ९८.४ प्रतिशत ब्याक्टेरिया संक्रमित थिए । सबैभन्दा बढी सिक्कामा, त्यसपछि पोलिमर र अन्त्यमा कागजका नोटहरूमा ब्याक्टेरियालगायतका जीवाणु पाइएको थियो ।

अरू देशमा पनि संक्रमित नोटहरू चलेका छन् । जस्तै: साउदी अरेबियामा ८८ प्रतिशत, प्यालेस्टाइनमा ९६ प्रतिशत, मेक्सिकोमा ६९, कोलम्बियामा ९१, दक्षिण अफ्रिकामा ९० प्रतिशत संक्रमित नोटहरू बजारमा रहेको एक अनुसन्धानले पत्ता लगाएको छ । साथै अमेरिकामा ९४ प्रतिशत, बंगलादेशमा ८०, नाइजेरियामा ८९ र घानामा शतप्रतिशत नोटहरू संक्रमित पाइए । यसको अर्थ यी नोटहरूले मानिसलाई सजिलै संक्रमण गराउँछन् । विभिन्न देशहरूमा सर्भे गरेर म्यारिया जावेदलगायतले प्रकाशन गरेअनुसार सार्वजनिक यातायातका कन्डक्टरहरूका हातमा संकलित शतप्रतिशत पैसा औधी फोहोर र रोग लगाउने जीवहरू भएको भेटियो । दोस्रोमा माग्नेहरूमा (८२ प्रतिशत) र तेस्रोमा दूध बिक्रेतामा (८० प्रतिशत) मा संक्रमित नोटहरू भेटिएको थियो ।

भारतमा विज्ञान तथा औद्योगिक अनुसन्धान केन्द्र (सीएसआईआर) ले यस विषयमा खोजी गरेर प्रतिवेदन सार्वजनिक गर्‍यो । जसअनुसार संकलन गरिएका नोटहरूमध्ये ७० प्रतिशतमा फन्जाई, नौ प्रतिशतमा ब्याक्टेरिया, १० प्रतिशतभन्दा कममा भाइरस पाइएको थियो । त्यहाँ जम्मा ७८ प्रजातिका रोगका कारक जीवहरू नोटमा पाइएका थिए । पाकिस्तानमा सन् २०१८ मा पैसामा कस्ता फोहोर र संक्रमण गराउने जीव रहेछन् भनेर वैज्ञानिक खोज गर्दा ९७ प्रतिशत नोटमा फोहोर र हानिकारक जीव पाइएछ । हसन इजाजलगायतका अनुसन्धाताले ११ प्रकारका ब्याक्टेरियाहरू पाएका थिए । मूलत: अस्पताल, बिरामी, बिरामीका कुरुवा र बजारबीचमा पैसा घुमफिर गर्दा जटिल रोग लगाउनेसमेत कारक जीव बजार छिर्छन् र विस्तार हुन्छन् । त्यहाँ बहुऔषधि प्रतिरोधक ब्याक्टेरिया पाइएका थिए ।

बर्माको रंगुनमा फ्यु विन नामक अनुसन्धाताले संकलन गरेका नमुनामा दिसाजन्य जीवाणुको संख्या प्रतिनोट २ करोड ९० लाख प्रतिवर्ग सेन्टिमिटरमा भेटिएको थियो ।

सिक्कामा मानिसका हातबाट र भण्डारको फोहोरबाट फोहोर थुप्रिँदै जाने हो । आयु लामो भएकाले सिक्काहरूमा बढ्ता फोहोर जम्नु स्वाभाविक कुरा हो । कागजका नोटहरूको रासायनिक बनावट जीवाणुको उपयुक्त बासस्थान हुने किसिमको छ । किनभने यो ७४ प्रतिशत सेलुलोज (वनस्पति कटन फाइबर) र २४ प्रतिशत लाइनिनले बनेको हुन्छ । साथमा क्ले, टिटानियम अक्साइड्स, तेलीय बनावटमा आधारित संयोजक पनि नोटको अवयव हुन् । देशको होलोग्राम तथा टल्किने रेखाका लागि एलुमुनियम धातु पनि मिसाइएको हुन्छ । प्लास्टिकका नोटहरू नेपालमा खास चलनमा आउन सकेनन्, तीचाहिँ पोलिमरले बनेका हुन्छन् ।

नोटबाट जीवाणु मात्र होइन, लागूपदार्थसमेत स्थानान्तरण भई स्वास्थ्यमा असर पारिरहेको हुन्छ । एउटा अनुसन्धान युरोमा गरिएको थियो । जहाँ शतप्रतिशत नोटहरूमा कोकिनको अंश पाइयो । त्यस्तै तीन प्रतिशतमा हिरोइन । यस्ता वस्तु पैसामा भएपछि यिनले पैसा प्रयोगकर्तालाई कति असर पार्दो हो ।

पैसाबाट हुने संक्रमण चाडपर्वमा वा हातमा धेरै पैसा खेलाउनेहरूलाई त सधैं नै हुने सम्भावना रह्यो । हामीले ख्याल गरेका हुन्नौं तर उल्लिखित रोगहरूबाट बच्ने हो भने पैसालाई आफू सुरक्षित रहेर चलाउनुपर्‍यो । क्यासियरहरूले वा पैसा संकलकहरूले एकदम सावधानी अपनाउनुपर्छ । त्यसका लागि पातलो पञ्जा, एप्रोन र मास्क लगाउन सकिन्छ । पैसा चलाएपछि तुरुन्त राम्रोसँग हात धुने बानी बसालौं । बढी संक्रमण हुने स्थानहरू जस्तै– अस्पताल, शौचालय आदिमा प्रयोग भएका नोटहरू बाहिर आउन नदिन सटहीको व्यवस्था गर्न सकिन्छ । बालबच्चाहरूलाई पर्वका बेला वा अरू बेला पनि पैसा बोक्न वा खेलाउन नदिऔं । पैसालाई जतनसाथ पर्समा नै वा झोलामा बोक्ने गरौं नकि जीउका गोप्य भागहरूमा । कन्तुरमा राख्दा वा बैंकका भण्डारमा कीटनाशक औषधि हालेर नोट वा सिक्का राख्ने गरौं । नयाँ नोट छाप्न वर्षको झन्डै एक अर्ब रुपैयाँ खर्च हुन्छ, एउटा नोटले पाँच वर्ष जति टिक्ने हो । आर्थिक हिसाबले पनि नोटको जतन गर्नुपर्ने देखियो । सकिन्छ भने पैसाबाट हुने संक्रमण घटाउने धुन मिल्ने नोट बनाउन आवश्यक छ । अब नोटविहीन, डिजिटल पैसाको जमाना भित्र्याउन जरुरी छ । यसो भयो भने पैसाबाट हुने संक्रमणबाट हुने क्षति कम हुने थियो ।

लेखक त्रिभुवन विश्वविद्यालय, स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्रका उपप्राध्यापक हुन् ।

प्रकाशित : आश्विन १९, २०७६ ०८:०१
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT

खान्छौं, तर पच्दैन

रामचन्द्र अधिकारी

दैनिक भोजनमा आलु नखाने विरलै हौँला । गोलभेडाको खाद्य महत्त्व अति राम्रो भएको कारणले सबैजसो मानिसले छाकैपिच्छे खाने गरेका हुन्छन् । दूध अनिवार्य खाद्यवस्तुको रूपमा स्थापित भएको छ । पछिल्ला वर्षहरूमा कतिपयको भान्साबाट दूधका परिकारले मासुजन्य खानालाई विस्थापित गरिसकेका छन् । सागलाई पनि स्वास्थ्यकर र अति उपयोगी खानेकुराका रूपमा लिइन्छ । मांसाहारीका लागि मासु नै सबैभन्दा आकर्षक खानेकुरा मानिन्छ, कुनै पनि चाडपर्व र खुसियाली-भोजमा यसैले सबैभन्दा महत्त्वपूर्ण स्थान जमाउँछ ।

उद्योग तथा खुल्ला ठाउँमा पकाइएका र बजारमा बेच्न ल्याइएका खानेकुरामा बालबच्चा निकै आकर्षित भएको पाइन्छ । यी वस्तुले हानि गर्छ भन्ने हेक्का धेरैलाई भइसकेको पनि होला । पोलेको मकैलाई अर्गानिक तथा स्वास्थ्यकर खाजा मानेर निस्फिक्री खाएको पाइन्छ । कोशेलीपातको नाममा बजारमा पाइने मिठाइहरूले मूल्यवान स्थान पाउँछन् । ऊर्जा दिन्छ, दिमाग उत्साहित बनाउँछ र मुड परिवर्तनगरिदिन्छ भन्दै कफी खाने र यसैको लतमा लागेकाहरू पनि कम नहोलान् ।

धेरैजसोलाई हेक्का छैन, यी खानेकुरा पच्दैनन् भनेर । पच्दैनन् भने किन खाने त भन्ने सवालमा पछि चर्चा गरौँला । पहिला यी लगायत थुप्रै खाद्यवस्तु छन्, जुन हामी छाकैपिच्छे खान्छौँ, तर पच्दैनन्, तिनकाकारणहरू खोतलौं ।

दूधमा ल्याक्टोज भनिने एक प्रकारको खाद्यतत्त्व हुन्छ, जसलाई पचाउन ल्याक्टेज (ल्याक्टेज फ्लोरिजिन हाइड्रोलेज) इन्जाइम चाहिन्छ, यो इन्जाइम पाँच वर्षको उमेरपछि अधिकांश मानिसमा हराएर जान्छ । अनि त दूधमा भएको मुख्य खाद्यतत्त्व ल्याक्टोजचाहिँ पच्दैन । अरु भिटामिन, चिल्लो पदार्थ र खनिज तत्त्वहरू मात्र पच्ने हुन् । त्यसैगरी रेनिन (काइमोसिन) भनिने अर्को मुख्य इन्जाइम हुन्छ, जसले दूधलाई दहीजस्तो पारी पाचन प्रक्रियामा अघि बढाउँछ । यसले दूधमा भएको केसिनोजिनलाई केसिनमा रूपान्तरण गरिदिन्छ । यो इन्जाइम बच्चाहरूमा मात्र रहन्छ । त्यसैले बच्चाहरूले दूध राम्ररी पचाउँछन्, उनीहरूको प्रमुख खाना नै त्यही हो । तर पाँच वर्ष उमेर कटेपछि विस्तारै यो हराउँदै जान्छ । अनि त दूधमा भएका धेरै पौष्टिक तत्त्व पचाउन सकिँदैन । बच्चाहरूले चिसो दूध पनि पचाउँछन् । तर ठूला मानिसलाई चिसो दूध, दही या अन्य परिकार नपचेर उल्टै पेट गडबडी हुने, झाडापखाला लाग्ने र ग्यास उत्पन्न हुने समस्या देखापर्छ । रेनिन पाडा, बाछाहरूमा प्रशस्त हुन्छ । त्यसैले उनीहरूले दूध मजाले पचाउँछन् ।

स्तनधारी जनावर (खसी, राँगा, सुँगुर आदि) को मासु छालासहित खाइन्छ भने छालामा भएका धेरै वस्तु हाम्रो शरीरले पचाउन सक्दैन । बाहिरका रौँ जति नै राम्ररी खुर्किए पनि रौँको जरा छालाभित्रसम्म गाडिएकै हुन्छ । ती ठूटाहरू पच्दैनन् । रौँमा केराटिन भनिने वस्तु हुन्छ, जसलाई गलाउने इन्जाइम हामीसँग छैन । यो व्याक्टेरिया र फन्जाइले निकाल्न भने सक्छन् । हामीसँग भएका प्रोटिन पचाउने प्रोटिओजेज इन्जाइमले केराटिन प्रोटिनमाथि कुनै कारबाही गर्न सक्दैनन् । छालामा र त्यसमा रहेका रौँमा मेलानिन भनिने कण हुन्छ, जसले रौँलाई कालो रंग दिएको हुन्छ, त्यो वस्तु पचाउने इन्जाइम मानिसको जीउमा छैन ।

त्यति मात्र होइन, जनावरको शरीरमा प्रवेश गरेको अति नै हानिकारक मानिने निकै गह्रौँ धातु पारो (मर्करी) निश्कासन रौँले गर्ने भएकोले यसका ठुटा भएको वा छालावाला मासु खाएमा पारो पनि खाइन्छ । यसलाई पचाउने सामर्थ्य हामीमा छैन । यसले सिधै मृगौला र दिमागलाई असर गर्छ । रौँमा मात्र होइन, प्वाँखका ठुटाहरू, नंग्राहरूमा पनि केराटिन हुन्छ । मासुमा यस्ता वस्तुको सूक्ष्म मात्रामा भए पनि उपस्थिति हुन्छ नै । रौँले अमाशय र आन्द्राको भित्री भित्ता (म्युकोसा) मा बसेर अरु वस्तुहरू पनि अल्झाउँछन्, अनि पेटमा डल्लो परी बस्छ । यसले पाचन नली पूरै अवरोध गरिदिन्छ ।

मासुसँगै बोसो पनि पूरापुर पच्दैन । यद्यपि बोसोलाई लाइपेज इन्जाइमले फ्याटिएसिड र ग्लिसेरोलमा रूपान्तरण गर्छ । अत: पच्छ, मानौं । तर बोसोले डाइअक्सिन, नाइट्रेटस लगायतका फोहोर र हानिकारक अवयवहरूलाई पनि संरक्षित गरेर राख्ने हुनाले यस्ता वस्तु जीउले पचाउँदैन । बोसोमार्फत यस्ता वस्तु खाइनु स्वास्थ्यमा ठूलो क्षति पुर्‍याउनु हो ।

वैज्ञानिकहरूले पुष्टि गरेका छन् कि आलुको बोक्रा, गोलभेडाका बोक्रा, खोर्सानीका बोक्रा पच्दै पच्दैनन् । सागको हरियो भाग, अरु तरकारीका बोक्रा, फलफूलका बोक्रा, मकैका बोक्रा पनि पच्दैनन् । यी चिज हामीले जति केलाइ-कुलाइ गरे पनि खाइनै रहेका हुन्छौँ । यिनीहरूमा सेलुलोज भनिने एक प्रकारको कार्बोहाइड्रेड हुन्छ, जसलाई पचाउन सेलुलेज नामक इन्जाइम चाहिन्छ, त्यो हाम्रो जीउमा छैन । घाँस खाने जनावरहरूमा भने यो प्रशस्तै उत्पादन हुन्छ । गहुँको ब्रान, गेडागुडीका बोक्रा, ल्वाङ, मरिच पनि पच्दैनन् । मरिचको बोक्रा, सूर्यमुखी फूलको बीउ, तिल आदिका बीउ नपच्नेमात्र होइन, यिनमा हुने फाइटिक एसिडले पेट पोल्ने विराम लाग्छ । नरिवलको गुदी, सुख्खा गरिएका फलफूलका चाना, भुइँकटहर, जुसमा भएका फलफूलका अंश (पल्प), बजारमा बनाइएका कति तयारी खानेकुराहरू पनि हाम्रो शरीरले पचाउँदैन ।

त्यति मात्र होइन, डढाएका खानेकुराहरू जस्तै पोलेका मकै, सेकुवा बनाइएको मासु पनि पच्दैनन् । बरु यिनमा हुने डढेका कणहरू क्यान्सर लगाउने विशेषताका हुन्छन् । फलफूलजन्य धेरै खानेकुरामा काइटिन पाइन्छ, तर यो पनि पचाउन सकिन्न । यसलाई पचाउन चाहिने काइटिनेज भनिने इन्जाइम मानिसमा छैन भनिन्छ । पछिल्ला वर्षहरूमा इटालीमा गरिएको एउटा अनुसन्धानले भने अमाशयको औधि अम्लीय माध्यममा काइटिनेज इन्जाइम निस्किएर काम गर्ने कुरा प्रस्ट्याएको भनी एक विज्ञान पत्रिकामा लेख छापिएको छ । पेडोभा विश्वविद्यालयका पेओलेत्ती लगायतले सो अनुसन्धान २००७ मा गरेका थिए ।

हाम्रो शरीरमा एक हजार तीन सय किसिमका इन्जाइमहरू उत्पादन भई काम गरिरहेका छन् । आन्द्राभुँडीका विभिन्न स्थानमा हजारौं प्रकारका अर्बौँको संख्यामा पाचनमा सहयोग गर्ने मित्रजीवहरू पनि छन् । तथापि उल्लेखित वस्तु पच्दैनन् । अनुसन्धानहरूले पुष्टि गरेका छन् कि हामी जति खानेकुरा खान्छौँ, तिनको ४० देखि ६० प्रतिशत पचाएर शक्तिमा बदल्न सक्छौँ । गाई बाख्रा लगायतका घाँसहारीले त २० देखि ४० प्रतिशतमात्र पचाउँछन् भने मांसाहारी जनावरले भने खाएको ९० प्रतिशतसम्म पचाएर शक्तिमा बदल्छन् । मानिसले खाएको २४ देखि ७२ घन्टाभित्रमा नपचेका वस्तुहरू दिसा बनेर बाहिरिइसक्नुपर्ने जैविक नियम छ । यसो भएन भने पाचन नलीमा खराबी र कब्जियतको सुरुआती भन्ने बुझिन्छ ।

यस लेखमा पच्दैनन् भनिएका खाद्यवस्तुहरू हामी महत्त्वका साथ खाइरहेका हुन्छौँ । किन त ? किनभने यी वस्तुमा भएका केही खाद्यतत्त्व पच्छन् । बाँकी रहेको वस्तु फाइबर हो, त्यसले पाचन नलीभित्र खानेकुरालाई चलायमान बनाई अगाडि बढाउने हो । कतिपय मानिसलाई भने खानाको गति पनि चाहिनेभन्दा द्रुत गरिदिने असरचाहिँ हुन्छ । जस्तै- कसैलाई भुइँकटहर खाने बित्तिकै दिसा लाग्छ । गेडागुडी, फलफूल र यिनका बोक्रा, आलुका बोक्रा, गोलभेडाका बोक्रा, खोर्सानी, मकै आदि रेसायुक्त भएका कारण पाचन नलीमा खानाको यात्रालाई सहयोग गरेका हुन्छन् । फलफूल या भिटामिनयुक्त खानेकुराका अधिकांश भाग नपचे पनि उक्त भिटामिनले अन्य खानेकुरा पाचन गर्न सारथीको भूमिका गरिरहेको हुन्छ । बाँकी चाहिँ हानिबर्द्धक नै हुने ग्याष्ट्रो इन्टेरोलोजिष्टहरूको राय भेटिन्छ ।

खाएको यदि नपचेको हो भने हुलुक्क अम्लीय पानी मुखमा फर्की आउने, पेटमा अपचका लक्षण आउने, नियमित दिसा नहुने, दिसाको मात्रा र आवृत्ति कम या बढी हुने र अन्य अतिरिक्त रोगहरू लाग्ने डर हुन्छ ।

अत: कुन खानेकुरा आफूलाई पचिरहेको छ कि छैन, आफैँले महसुस गर्ने हो । यदि पचेन भने त्यस्तो खानेकुराबाट सतर्क नै रहनुपर्‍यो । साथै पच्दै नपच्ने र पचाउन सहयोग पनि नगर्ने खानेकुरा सेवन गर्नु भएन ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्रका उपप्राध्यापक हुन्।

प्रकाशित : आश्विन ११, २०७६ ०८:२९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×