कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

‘नारायणमान’ हरू अध्यक्ष भइरहन्छन्

आहुति

हालसालै संघीय संसद्मा प्रत्यक्षतर्फबाट एक जना सांसद पुर्‍याउन सफल नेपाल मजदुर किसान पार्टीको महाधिवेशन सम्पन्न भयो । सो महाधिवेशनले सधैँझैँ आफ्ना अध्यक्ष नारायणमान बिजुक्छेलाई पुन: अध्यक्ष बनायो । केही महिनाअगाडि नेपाल कम्युनिस्ट पार्टी (मशाल) को पनि महाधिवेशन भएको थियो र त्यसले पनि आफ्ना सधैँभरिका महासचिव मोहनविक्रम सिंहलाई पुन: पार्टी महासचिव बनायो ।

‘नारायणमान’ हरू अध्यक्ष भइरहन्छन्

यी दुवै जना पार्टी प्रमुख हुँदै आएको अवधि गन्दा पैंतालीस वर्ष हुन्छ अर्थात् करिब आधा शताब्दी । विसं २०२१ को भूमिसुधार कार्यक्रमलाई भक्तपुर जिल्लाको मूलत: नेवार बस्तीमा मोही किसानका पक्षमा सानदार ढंगले लागू गर्न नेतृत्व गर्नु नारायणमान बिजुक्छेको राजनीतिक जीवनको मुख्य योगदान मानिन्छ, त्यसैगरी २०१९ पछि विसर्जनको दलदलमा पुगेको कम्युनिस्ट आन्दोलनलाई पुन: संगठित गर्न एउटा धाराको नेतृत्व गर्नु मोहनविक्रम सिंहको राजनीतिक यात्राको मुख्य सफलताका रूपमा गनिन्छ ।


यीबाहेक यी दुई नेताको नेतृत्वकर्मले नेपालको राजनीति र परिवर्तनलाई गुणात्मक नयाँ दिशा दिन वैचारिक वा भौतिक नेतृत्वकारी भूमिका कहिल्यै पनि खेलेको छैन । पञ्चायतविरोधी निर्णायक आन्दोलन होस् या गणतन्त्र प्राप्तिको निर्णायक मोड— यिनीहरू मसिना सहायक जमात मात्र रहे । यहाँ प्रतिनिधि पात्रका रूपमा वाम आन्दोलनका आदरणीय यी दुई नेताको नाम र काम उल्लेख गरिएको हो, कम्तीमा तीन दशक अध्यक्ष रहेर हातखुट्टा चल्न छाडेका वा मृत्युले मात्र अध्यक्षबाट हटेकाहरूको सूची लामै बन्न सक्दछ ।


नेपालको लोकतान्त्रिक भनिने धाराको गति पनि आधारभूत रूपमा वाम धाराको भन्दा पृथक् छैन । त्यस धाराको नेपाली कांग्रेसको सात दशकको इतिहासले कति जना अध्यक्ष पायो भनी गन्ती गर्दा प्रवृत्ति त उही नै हो कि नमरेसम्म अर्कोको पालो बन्द । सन् १९१७ मा रुसबाट सुरु भई १९५९ को क्युवाली क्रान्तिसम्म विकसित पुरानो युगको कम्युनिस्ट आन्दोलन नमरेसम्म एउटै ‘नारायणमान’ लाई महासचिव बनाउँन कुख्यात नै रह्यो । विश्वव्यापी रूपमा पुँजीवादी राजनीतिमा पनि यो समस्या लामो समय रह्यो नै, र अविकसित मुलुकहरूमा अहिले पनि राजनीतिक घरानावाला नेतृत्वको निरन्तरता बाँकी नै छ । धनी देशका पुँजीवादी पार्टीहरूले नेतृत्व प्रणालीलाई काफी सुधार गर्दै लगेका छन् र देशको कार्यकारी प्रमुखमा एक व्यक्ति दुई कार्यकालभन्दा रहन नपाउँने आदि सुधार गरेका छन् । पुँजीवादी राजनीतिले पनि दार्शनिक रूपमै यो विषयलाई समाधान गरिसकेको भन्ने अझै प्रतीत हुन्न । रुसका पुटिनको फरक फरक नाममा कार्यकारी बनिरहने तरिका र चीनको संविधानमा एक व्यक्ति राष्ट्रपति बन्न पाउने अवधिको खारेजीले त्यतै संकेत गर्दछ । आजको विश्व कम्युनिस्ट खेमामा भने यो विषयले अझै केन्द्रीय महत्त्व पाइसकेको समेत पाइन्न ।


प्रकृतिले सिर्जना गरेका प्रत्येक चीज सिर्जनशील र प्रगतिशील किन हुन्छन् भन्ने प्रश्नको एउटा मुख्य उत्तर हो— उसले प्रत्येक चीजलाई अनावश्यक ठाउँ र अवधि ओगट्ने छुट दिंदैन । जति सुकै सुन्दर भनिने फूल होस् या महान् गनिने मानिस निश्चित अवधिपछि झर्नैपर्छ, मर्नैपर्छ । सुन्दर मानिने फूलहरू कुनै पनि झरेनन् भने बुढा फूलहरूको संसार कति दिक्क लाग्दो होला † आनन्दमय भनिएको शरद ऋतु वर्षैभरि हलचल नगरी बस्यो भने भोकै मर्नुको विकल्प निस्कन गाह्रै छ । वास्तवमा आधा शताब्दीसम्म निरन्तर पार्टी प्रमुख भइरहने प्रवृत्ति भनेको यस्तै प्रकृतिविरोधी परिघटना नै हो । कम्युनिस्ट वा लोकतान्त्रिक जुनसुकै धाराको भए पनि यो प्रवृत्ति पुरानो सामन्तवादी संस्कृतिको नयाँ संस्करणबाहेक अरु केही हुनै सक्दैन । कुनै पनि वस्तुु होस् या मानव समाज वा संगठन, विगतले स्थान खाली गरिदिएकाले ऊ वर्तमान, नयाँ र प्रगतिशील बन्न पाएको हो । यदि वर्तमानले उचित समयमा भविष्यलाई ठाउँ दिंदैन भने भविष्य अन्धकारमय विकृतिमा फस्ने निश्चित हुन्छ । ‘नारायणमान’ हरूको अध्यक्ष प्रवृत्तिको प्रकोपले पनि अन्तत: त्यही परिणाम ल्याएकै छ, ल्याई नै रहनेछ ।


लोकतान्त्रिक भनिने पुँजीवादी खेमाको राजनीतिमा एउटै व्यक्ति वा एउटै घरानाको व्यक्तिको नेतृत्व निरन्तरतालाई खासै विशेष सिद्धान्तको जामा पहिराइएको भेटिन्न बरु इतिहासमा योगदान गरेको हुनाले, जनताले उहाँलाई पत्याउने हुनाले, उहाँले मात्र पार्टीलाई एकताबद्ध पार्न सक्ने हुनाले, उहाँ जत्तिको अरु नहुनाले, उहाँ नै सबैभन्दा सम्माननीय हुनाले जस्ता सत्ता प्राप्तिको निम्ति आवश्यक व्यावहारिक कारणहरू अगाडि सारिएको हुन्छ । पार्टीभित्र सत्ताधारी समूहले लगातार यस प्रकारको प्रचार र प्रशिक्षण चलाएपछि आम कार्यकर्तामा पनि जबरजस्त एउटा भ्रममय सुख–दु:खले आकार गर्न पुग्दछ कि त्यो व्यक्ति नहुँदा भयंकर दु:ख आउनेछ, त्यो व्यक्ति प्रमुख भइरहँदा सुख लम्बिने वा प्राप्त हुने सम्भावना बढी छ । एक व्यक्ति तीसौं वर्ष मुख्य नेतृत्वमा निरन्तरताको वास्तविक अन्तरकथा भने प्राय जसो षड्यन्त्र, नयाँ प्रतिभालाई निषेध, किनबेच र दमनले भरिपूर्ण हुन्छ । एउटै विचार, एउटै आदर्श र एउटै राजनीति गर्न आएको नाती पुस्ता हजुरबा पुस्ताभन्दा पनि कमजोर नत्र कसरी भइरहन सम्भव हुन्छ र ? प्रत्येक नाती पुस्ताको वैज्ञानिक, डाक्टर, इन्जिनियर वा समाजशास्त्री हजुरबा पुस्ताभन्दा सक्षम हुने तर पार्टीको हजुरबा नेताभन्दा नाति नेताचाहिँ अक्षम भइरहने, के यो पत्याउन सकिने र मिल्ने विषय हो ? हुँदै होइन । इतिहासमा नमरेसम्म पार्टी प्रमुख भएका बूढाहरू मरेपछि ती पार्टीहरूको प्रगतिको यात्रा नरोकिएका इतिहासका आम उदाहरणबाट पनि यो तथ्य पुष्टि हुन्छ ।


कम्युनिस्ट खेमाको राजनीतिमा भने दर्जनौं वर्षसम्म एक व्यक्तिको नेतृत्व निरन्तरताका निम्ति व्यावहारिक हैन बरु सिद्धान्तका बडा बडा अवधारणाहरू खडा गरिएका हुन्छन्, अझै त्यो क्रम जारी नै छ । त्यसमध्ये प्रमुख हो— जसको नीति, उसैको नेतृत्व । खास पार्टीको मूल नीति वा कार्यदिशा तय गरेपछि त्यसलाई लागू गर्ने सुरुआती चरणका निम्ति यो अवधारणा सही नै हो । खास नीतिको प्रतिपादकले नै नेतृत्व गर्नु सर्वोत्तम हो तर अनिवार्यचाहिँ होइन, अनिवार्य मान्ने हो भने त विचार वा नीति र मानिसको उमेर बराबर मान्नुपर्ने हुन्छ जुन गलत हो । एउटा नीतिको प्रतिपादकको मृत्यु हुँदा पनि त्यो नीतिको सहयात्रीले त्यसलाई अगाडि बढाइरहन सक्छ भने खास व्यक्तिकै निरन्तरता आवश्यक हुन्छ भन्ने मान्यता सर्वथा गलत हो । अझ जसको नीति उसकै नेतृत्वको अवधारणालाई ‘एक पुस्ताको नीति र नेतृत्व, हरेक पुस्ताको नीति र नेतृत्व’ को स्तरमा व्यवहारत: गिराउनु त नयाँ पुस्तामाथि अत्याचारबाहेक अरू के हुन सक्छ ? पुँजीवादी क्रान्तिका सुरुआती क्रान्तिकारीहरू संसारभरि सामन्तवादविरुद्ध लड्न हिंडेका त हैनन्, त्यसैगरी कार्ल माक्र्स वा लेनिनले संसारभरि कम्युनिस्ट पार्टी बनाएका त होइनन् । यस्ता साधारण तथ्यबाट पनि स्पष्ट नै हुन्छ कि ठीक नीतिको निरन्तरताको निम्ति खास व्यक्तिकै नेतृत्वको निरन्तरता अनिवार्य किमार्थ हुन सक्दैन ।


पचासौँ वर्षसम्म लगातार नेतृत्वमा बसिरहने नेतालाई सयौं कारणले लाग्न सक्दछ, उसको त्यो भूमिका जरुरी छ तर उसको त्यो असल नियतको वैज्ञानिकता कसरी पुष्टि हुन्छ ? माक्र्सवादीहरूले मात्राबाट गुणमा फड्को हुने द्वन्द्ववादको सिद्धान्तलाई पथप्रदर्शक मान्दछन् । यसको अर्थ नेताहरूको मात्रा बढ्दै गए उन्नत नेता पैदा हुन्छ भन्ने हो । जब नेताहरूको मात्रा नै बढ्न नदिई एउटै नेता आधा शताब्दी गजधम्म आसन नछाडेर बस्छ भने नेतृत्वमा गुणात्मक फड्को कहाँबाट पैदा हुन्छ ? चालु पुरानो कम्युनिस्ट आन्दोलनका पार्टीहरूमा बहुमत पक्षलाई सधैँ लाग्ने गर्दछ कि पार्टीभित्रको अल्पमत वा भिन्न मत पक्षले पार्टी कब्जा गर्‍यो भने क्रान्ति डुब्नेछ । तसर्थ क्रान्ति डुब्न नदिन आफ्नो मतको प्रमुख नेताको नेतृत्व निरन्तर जरुरी छ किनभने उसकै कारणले पार्टीमा बहुमत बनेको छ । यो बुझाइ र प्रशिक्षण सर्वथा गलत छ । यदि ठीक कार्यदिशाका कारण बहुमत हो भने त्यहाँ त विचार मुख्य छ, व्यक्ति होइन तर व्यक्तिका कारण बहुमत छ भने विचार प्रधान नै भइरहेको छैन । अनि खास व्यक्तिले नेतृत्व गर्दा मात्र ठीक विचार लागू भइरहन्छ भने त्यो विचार वैज्ञानिक नै हुँदैन किनभने विज्ञान त्यो हो जुन आवश्यक परिस्थितिमा जसले प्रयोग गर्दा पनि परिणाम एउटै निस्कन्छ । राजनीति भौतिक विज्ञान जस्तो हुन्न भनी तर्क गरिन्छ । हो राजनीतिमा कला र प्रतिभाको महत्त्व हुन्छ नै, तर यसको मतलब त्यही राजनीतिलाई अगाडि बढाउन आएका नाति पुस्ता हजुरबा पुस्ताभन्दा स्वत: कम प्रतिभाशाली अनि कम कलात्मक हुन्छ भनी मान्नु ? त्यसो त कसैले दाबी गर्न सक्दैन ।


लिबियाका मोहम्मद गद्दाफी र जिम्बाब्वेका रोबर्ट मुगाबे दुवै नै सत्तासीन हुँदा नमुना क्रान्तिकारी थिए तर नाति पुस्ताको नेतृत्व पनि आफंै कज्याउने लालसा उनीहरूको पतनको एउटा मुख्य कारण थियो । हजुरआमाले नातिनीलाई न्यानो स्नेह दिन सक्छे तर नातिनीसँगै दौडिन सक्दिन, दौडिने दुस्साहस गरे हजुरआमा स्वयम् ढल्छे भन्ने सामान्य विषय पनि नेतृत्व प्रणालीमा नबुझ्ने हो भने दुर्भाग्यहरू व्यहोर्न भविष्य पनि विवस भइरहनेछ । स्तालिनले बाँचुञ्जेल पार्टी हाँकेर के गर्नु, उनले नचाहेको बाटोमा सोभियत संघ त उनको मृत्युपछि हिंड्यो नै, सासले मात्र बोल्ने उमेरसम्म माओ अध्यक्ष भएर चिनियाँ कम्युनिस्ट पार्टीको यात्रा उनीपछि पनि उनले चाहेको दिशामा हाँकिन सम्भव भयो ? सम्भव हुँदैनथ्यो, त्यसैले भएन । माछा मार्न सिकाइएन भने जतिसुकै धुरन्धर माछा सिकारीको सन्तान पनि माछा मार्न असफल हुन्छ भने जस्तै हो यो विषय । जहाँ व्यक्ति नेतृत्वलाई दशकौं निरन्तरता दिएर राजनीति गर्ने जबरजस्ती अभ्यास गरिन्छ, त्यहाँ विचार र राजनीतिमा नै समस्या छ भनेर बुझ्नैपर्दछ । यो ‘कपाल दुखेको औषधि नाइटोमा लगाउनु’ भन्ने उखानसँग ठ्याक्कै मिल्ने सन्दर्भ हो ।


एक व्यक्ति नेतृत्वको दशकौं यात्राका निम्ति न्यून वा भ्रमित चेतनाका सहयोगीहरूको झुन्ड मात्रै जिम्मेवार देखिँदैन, बरु बूढो नेतामा निरन्तर सत्ताधारी बनिरहने लत विकास हुँदै जानाले उसले आफ्नो निरन्तरताका निम्ति सिर्जना गर्ने वैचारिक र संरचनागत मायाजालले पर्याप्त काम गरेको हुन्छ । बूढो नेतृत्वले त्यस्तो खेतीपाती सञ्चालन गरेका पार्टीहरूमा प्रतिस्पर्धामा आउने नयाँ पुस्ता वा दौंतरीलाई मूलबाटोबाट पाखा लगाउन काण्डै काण्डका भवसागर खडा गरिन्छ । नेपालका ‘नारायणमान’ हरूको इतिहास खोतल्यो भने यस्तै नियोजित तर कथित भवितव्यहरूको लामो शृंखला त्यहाँ छरपस्टै पाइन्छ ।


के ती हजुरआमा सुखी र वैज्ञानिक हुन् जो अस्सी वर्षमा पनि आफैं पनातिनीको बच्चा हुर्काउन तम्सिन्छिन् ? त्यो हजुरबा पनि के सुखी नै हो जो नातिलाई आफैं कबड्डीको प्रशिक्षण दिन बाध्य छ ? उनीहरूले आफ्नो सहोदर र क्रमिक पुस्तालाई आफूसरह वा आफ्नो लयद्वारा प्रशिक्षण गर्न नसक्नु वा नचाहनु मुख्य समस्या हो । नेमकिपा पार्टीका नारायणमान बिजुक्छे वा नेकपा (मसाल) का मोहन विक्रम सिंह या त्यही दिशामा यात्रारत अरू बूढाहरूले अब बुझ्नैपर्छ ब्रह्माण्ड व्यक्तिले होइन नियमले, नियम लागू गर्ने संरचनाले गतिवान बनाएको छ । त्यस बूढामय प्रवृत्तिभित्रका युवा यात्रीले सोच्नैपर्छ— आफ्नो पुस्ताको सिर्जनाको नेतृत्व गर्न आफंै तम्सिनुपर्छ । आफू पठ्ठो युवा हुँदा नै सिर्जनात्मकताको तुजुक देखाउन रहर जागेको विगतलाई ‘नारायणमान’ हरूले आज स्मरण गर्ने हो भने आधा शताब्दी लामो आफ्नो नेतृत्वको टापमुनि नयाँ पुस्ताका सयौँ नारायणमानहरूले सिर्जनशील बैंसलाई वाग्मतीमा बगाउन बाध्य भएको दृश्य पनि छर्लङ्ग देख्नेछन् । नयाँ युगको नयाँ राजनीतिले ‘नारायणमान’ हरू सधैँ अध्यक्ष भइरहने दुष्चक्रलाई सही नीति र विधिद्वारा विस्थापित गर्नै पर्छ ।


प्रकाशित : आश्विन १९, २०७६ ०७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?