२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

गान्धी, अनुयायी र विनिर्माण

समय रेखा
अभि सुवेदी

काठमाडौँ — गान्धी जयन्ती मनाउँदा हरेक वर्ष उनका विचार र उनको जीवन विषयका कुरा दोहोरिन्छन् । त्यही सादगी जिन्दगी, त्यही शान्त तर प्रतिरोधमा आगो ओकल्नेको जीवन कथा अनि भारत मुक्त भएलगत्तै सन् १९४८ को ३० जनवरीका दिन नाथुराम गोड्सेले उनको हत्या गरेका कुराहरूका पुनरावृत्ति हुने गरेका हुन्, भारत र अरूतिर ।

गान्धी, अनुयायी र विनिर्माण

तर नवऐतिहासिक सिद्धान्त अनुसार भन्ने हो भने भारतमा गान्धीलाई हेर्ने, उनको राजनीतिक विचारलाई व्याख्या गर्ने अनौठा तरिकाहरू जन्मेका छन् । भारतको निम्ति गान्धी भनेकै इतिहासका ऐना हुन्, जसभित्र त्यो देशले आफ्नो अनुहार हेर्ने गरेको छ । त्यो अनुहार फरक–फरक देखिन्छ । हामीले गान्धीलाई हेर्ने दृष्टिहरू पनि आफ्ना–आफ्ना राजनीतिक अवस्था र समयले बनाउने हुन् ।


नेपालमा गान्धीको विचारका अनुयायी भनेपछि दुई किसिमका मानिसहरूका चित्र आउँछन् । पहिलो, गान्धीको शैलीको आश्रम बनाएर खाँडी बुनेर अनि खानपानमा अनुशासित भएर बस्नेहरू आउँछन् । ती धेरै देखिएनन् । म विद्यार्थी हुँदा गौचर हवाई मैदानको उतापट्टि एउटा गाउँमा तुलसी मेहेरको आश्रममा गएका सम्झना छन् । गान्धी नेपालीका मनमा एक अहिंसाको बाटो लिने क्रान्तिकारी नेताको रूपमा चिनिन्थे । सायद अहिले पनि सर्वसाधारणमा गान्धीको त्यही चित्र छ । म त्यही चित्र बोक्ने मानिस हुँ । दिल्लीको राजघाटको उनको समाधिमा प्रायः हरेकपटक त्यहाँ गएको बेला पुग्छु । हरेक पटक राजघाटमा यसरी पुगेको बेला नेपालका कवि केदारमान व्यथितले लेखेको कविताका मलाई कण्ठै आउने यी हरपहरू गाउँछु, जुन यस्ता छन् ः

‘हेर जलेको भारतको आजादीको मूर्त कहानी/ दनदन दिनको तिमिर विनाशक कथा जलेझैं सान्ध्य चितामा/ अवनी अम्बर टुहुरा पारी निष्ठुरताको काल चितामा/ हेर जलेको...’ त्यसमा ‘खाइ प्राण विनाशक गोली’ भन्ने पनि अभिव्यक्ति आउँछ । कविताको सार छ, त्यत्रो मुक्तिदातालाई पनि यसरी हत्या गरिने विडम्बना हुँदोरहेछ । गोड्सेले गान्धीको हत्या गरेको विषय भारतभित्र अनेकौं किसिमले छलफलको मामिला भएको छ ।


भर्खरै एउटी बीजेपीकी उम्मेदवारले गोड्सेलाई त्यो काम गरेबापत देशभक्त भनिन्, अनि चुनाव पनि जितिन् । यो द्वैधताले इतिहासको एउटा बद्लेको चरित्रलाई देखाउँछ । तर आशिष नन्दीले गान्धीको हत्याको समय र भारतमा गान्धीवाद र आधुनिकतावादको द्वन्द्वलाई जोडेका छन् । नन्दी भन्छन्—‘चिन्ताग्रस्त, असुरक्षित, परम्परागत सहरवासी एलिट वर्ग जो पश्चिमीकरण भएको थियो, त्यसले गान्धीलाई आफ्नो बाधक देख्थ्यो । उनका आफ्नै चेला र अनुयायी गान्धी अबको यो कालखण्डमा विलयन हुन्, तर उनको नाम भने उच्च भएर हाइहाइ भइरहोस् भन्ने चाहन्थे ।


गान्धीलाई मन नपराएर होइन, तर दोस्रो युद्धपछिको केन्द्रीकृत राज्य, सामाजिक निर्माण, अनि यथार्थवादी अन्तर्राष्ट्रिय राजनीतिमा उनीहरूलाई एनाक्रोनिजम वा पुराना लाग्नथालेका थिए, गान्धी ।’ यी उद्धरण ‘आशिस नन्दी’ (२०१८ः११४–११५) भन्ने किताबबाट लिएको छु । यसमा गान्धीलाई नेहरू र उनका चेलाहरूले नै अर्घेलो मान्न थालेको कुरासमेत छ ।


हाम्रो मधेसमा टिलाठीका जनता हरेक वर्ष बाढीले पीडित भएको, कोशी बाँधले विस्थापित जनताले अहिलेसम्म कुनै क्षतिपूर्ति नपाएको र दुःख झेल्नुपरेका कारण पछाडि नेहरू र गान्धीका नीतिको द्वन्द्वको पृष्ठभूमि थियो कि भन्नु अनौठो लाग्छ । तर नेहरूको विशाल बाँध, ठूला आकारका निर्माण योजना सम्पन्न गर्ने कुरा गान्धीको विचारका विपरीत थिए । यसै सन्दर्भमा एउटा प्रसङ्ग जोड्न चाहन्छु । टिलाठी र कोशी क्षेत्रका बासिन्दा बाढीले आक्रान्त भएको बेला आफूले लेखेको एउटा लेखबाट यी हरपहरू उद्धरण गर्न चाहन्छु : ‘भारतका प्रधानमन्त्री जवाहरलाल नेहरूले हिमाचल प्रदेशको सतलज नदीको उचाइका भाक्रा र नङ्गल बाँधको सन् १९५४ मा उद्घाटन गर्दा विशाल बाँधलाई मन्दिरको संज्ञा दिए । उनले बाँधले सबै किसिमका समाधान ल्याउँछ भन्ने ठानेका थिए । ससाना उद्योग, बिजुली निकाल्ने संयन्त्रदेखि घर–घरमा खुसियाली आउँछ, यो मन्दिरबाट भन्ने उनले ठानेका थिए । यो विषय अर्को अर्थमा चाखलाग्दो छ । नेहरू महात्मा गान्धीका चेला थिए । गान्धी यस्तो विशाल योजनाका विरोधी थिए, किनभने ती साधारण विपन्न मानिसका खुसियालीको मात्र चिन्ता राख्थे । यी बाँधहरू भोलि गएर पुँजीवादीका साधारण मनुवाहरूको शोषण गर्ने आधार हुनेछन् भन्ने कुरा उनले देखिसकेका थिए । जर्मन लेखक ई.एफ सुमाखरको ‘स्मल इज बिउटीफुल’ (१९७३) किताब हामी धेरैले पढेकै हुनाले यत्ति भनौं । तर नेहरूले महात्माको यस विषयमा कुनै कुरा मानेनन् । उनले अङ्ग्रेज उपनिवेशका शासकहरूकै मोडल माने ।’(कान्तिपुर, भदौ ५, २०७४) ।


कुरा अझ जटिल छ । नेहरू र पटेल गान्धीका परमभक्त र अनुयायी थिए । अहिले बीजेपीका नेताहरू पनि गान्धी विरोधी हुन् भन्ने आधार छैनन् । त्यसो भए गान्धी भारतीय आधुनिक राजनीतिमा को हुन् त ? के उनका विचार भारतले आफैं पनि मानेको छ त ? गान्धीको बालसुलभ दन्तहीन हाँसेका फोटा भारतीय नोटहरूमा छन् । विडम्बना के छ भने गान्धीले जे मनपराएनन्, उनका विम्ब त्यहीं छापिएका छन् । गान्धी जस्ता नेताहरू देशको राजनीति गर्नेहरूको निम्ति, उनका नाममा आदर्शका रचना गर्न र प्रसार गर्नका निम्ति आवश्यक हुन्छन् ।


गान्धीको विषयमा अर्को पनि द्वैत धारणाको उदाहरण दिन्छन्, नन्दी । गान्धीले अंग्रेज शत्रु भए पनि, भारत कब्जा गरेर शासन गर्नेहरू भए पनि अंग्रेजलाई नजिक गरेका निकै उदाहरण छन् । ‘द इन्टिमेट इनिमी’ (१९८३) भन्ने प्रसिद्ध किताबमा आशिष नन्दीले गान्धीले अंग्रेजलाई एक आसन्न शत्रुको वा ‘इन्टिमेट इनिमी’ को रूपमा ग्रहण गरेको कुरा लेखेका छन् । गान्धीले आफैंले भने अनुसार, उनले अहिंसाको धारणा कुनै भारतीय धर्मका ग्रन्थहरूबाट लिएका थिएनन् । गान्धी आउनुभन्दा पहिलेका १५० वर्षसम्म भारतको कुनै सुधारक र राजनीतिक नेताले हिन्दुको एक गुणको रूपमा अहिंसालाई वरण गरेका थिएनन् । राजा राममोहन रायले दया गर्नुपर्छ भन्ने धारणा प्रतिपादन गरेर यो विचार अलिकता ल्याएका थिए (पृष्ठ ५१) ।


यी माथिका अनुच्छेदमा भारतभित्र गान्धीबारे भएका छलफल र धारणाहरूको चर्चा गरियो । त्यसो भए नेपालका गान्धी अनुयायीको दोस्रो वर्गमा को आउँछन् त ? यो प्रश्नको उत्तर सजिलो छ । यस वर्गमा भारतीय लोकतान्त्रिक सिद्धान्तसँग मिल्ने धारणा भएका नेताहरू आउँछन् । नेपालमा कुन नेता गान्धीका पक्का अनुयायी थिए, म यसै भन्न नसक्ने रहेछु । सादा जीवन विताउने, पैसाको लोभ नगर्ने, आफूसँग केही जेथो नभएका, सुरही र छातामात्रै भएका, प्रस्टवक्ता भनेर चिनिएका किसुनजी गान्धीका पक्का अनुयायी राजनीतिज्ञ हुन् कि भन्ने भनाइ छ । अहिले महात्मा गान्धीको १५० औं जयन्ती मनाउने क्रममा उनका विचारलाई लिएर कतै पनि छलफल र बहस भएका छैनन् । यसको अर्थ पनि त्यति सजिलो छैन । नेपालमा नेपाली कांग्रेस गान्धीका विचारको नजिक सिद्धान्त भएको दल मानिँदै आएको हो । बीपी कोइरालाले क्रान्तिकारी भए पनि आफू गान्धीको अहिंसाको सिद्धान्तको अनुयायी भएका कुरा उनका लेख र विचारमा आउँछन् ।


नेपालको अहिलेको राजनीतिक परिस्थितिमा महात्मा गान्धीको प्रभाव खासै देखिएको छैन । लाग्छ, अहिले नेपालमा पनि अरूतिर जस्तै विनिर्माणको युग आएको छ । माओवादी नाम भएका पश्चिमी देशका केही विद्रोही कमिनिष्ट विचार मान्ने युवाहरू थिए । फ्रान्सका दार्शनिक पनि एकताका प्रख्यात माओवादी मानिन्थे । पेरिसको घरका कौसीमा गएर तल इँंटा हानेको बेला दार्शनिक मिसेल फुको माओवादी थिए ।


भारतको पश्चिम बंगालका नक्सालवादी माओवादी थिए । तर नेपालमा माओवादी भन्ने ठूलो दल छ, तर त्यसले माओका विचार हुबहु मान्दैन । त्यसको बाटो अर्कै भएको छ । लाग्छ, नेपालको कुनै पार्टी पनि गान्धीवादी हुन सक्तैन । गान्धीवादी हुन सही आचरण गर्ने, अहिंसावादी हुने, लोभ नगर्ने अनि सानो तहका आर्थिक योजना गर्ने र गरिबको सेवा गर्ने हुनुपर्छ । तर ती सबै कुरा अहिले नेपालमा उल्टोपट्टिबाट अभ्यास गर्ने राजनीतिक चरित्र भएका दलहरूमा कतै देखिँदैनन् भन्ने कुरा धेरैले मानिआएका छन् । हामी सर्वसाधारणमा पनि गान्धीवादी हुने कुनै साहस अब बाँकी रहने छैन जस्तो देखिएको छ ।

त्यसो भए महात्मा गान्धीलाई कसरी सम्झिने त ? भन्ने प्रश्न अहिले सबभन्दा जटिल रूपमा भारतमा नै उठेको देखिएको छ । महात्मा गान्धीले उनका विचारले भारतमा विचारका तरङ्ग कसरी ल्याइबसेका रहेछन् भन्ने कुरा देखाउन यस लेखमा आशिष नन्दीका उदाहरणहरू ल्याइयो । तर गान्धीको प्रभाव भनेको सर्वत्र परिआएको छ ।


अमेरिकाका मुक्ति योद्ध मार्टिन लुथर किङ जुनियरदेखि लिएर दार्शनिकहरूसम्म गान्धीको विचारका प्रभाव छन् । तर गान्धी अहिले पनि मानवजातिकै एक महत्त्वपूर्ण आदर्शको रूपमा रहँदै आएका छन् । ती गौड छन्, तर छन् । अहिले नैतिकता, मानिसको सम्मान गुम्दै गएको अनि पृथ्वीको ठूला योजनाले हुर्मत काढ्ने क्रम तीव्र भएको बेला गान्धी कसैले नचाहेर वा नमानेर पनि एउटा विचार र अभियानका प्रतीक हुन्, जसको महत्त्व आज झन् प्रखर भएको छ ।

प्रकाशित : आश्विन १८, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?