एसिड आक्रमणमा सरकारी दृष्टिदोष

बसन्त महर्जन

काठमाडौंको कालोपुलमा घरायसी झगडामा लोग्नेद्वारा र वीरगन्जमा प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै एक युवकद्वारा एसिड प्रहार गरी घाइते बनाइएका दुई महिलालाई सरकारले उपचार खर्चका लागि जनही तीन लाख रुपैयाँ दिने भएको छ । सञ्चार मन्त्री तथा सरकारका प्रवक्ता गोकुलप्रसाद बास्कोटाले ९ असोजको नियमित पत्रकार सम्मेलनमार्फत सो जानकारी दिए ।

प्रतिकात्मक कार्टुन ।

अब प्रश्न उठ्छ– पीडितहरूलाई उपचार खर्च बाँड्ने कि यस्ता घटना हुन नदिन कडा कानुन ल्याउने वा अपराध मनोवृत्तिका पीडकहरूलाई पक्रेर कडाभन्दा कडा कारबाही गर्ने ? पीडितहरूको उपचार गर्नु राज्यको दायित्वभित्रकै कुरा हो, पत्रकार सम्मेलन गरेर ढ्वाङ फुकिरहनु जरुरी छैन ।

एसिड आक्रमण विश्वभरकै समस्याको विषय हो । अति प्रज्वलनशील यो पदार्थको प्रयोजन अन्य कामको लागि हो । तर समाजमा व्यक्तिमाथि सांघातिक हमला गर्न यसको दुरुपयोग भइरहेको पाइन्छ । एसिडले महिला वा पुरुष चिन्दैन । तर यसको दुरुपयोग गर्नेको दिमागले भने महिला वा पुरुष चिनेको पाइन्छ र विशेषत:महिला लक्षित देखिन्छ ।

नेपालमा पनि एसिड आक्रमणको यो पहिलो होइन । कहाँ, कहिले, कति जनामाथि यस्तो आक्रमण भयो वा अहिलेको अवस्था कस्तो छ जस्ता विषय–वस्तुको अभिलेखन वा विवेचना यो लेखको विषय–वस्तु होइन । यस्ता घटना र प्रवृत्तिमाथि घोत्लिनुपर्छ । तर प्रवृत्ति हेर्दा एसिड आक्रमण लगायतका आपराधिक घटनालाई गम्भीर भएर हेरेको पाइएन ।

बौद्ध धर्ममा शील, समाधि र प्रज्ञाको सन्दर्भ गम्भीर र गहन रूपमा लिइन्छ । सर्वसाधारणका लागि पनि दैनिक जीवन र हरेक क्षण अनिवार्य रूपमा पालना गर्नैपर्ने भनी बुद्धद्वारा निर्दिष्ट पाँच नियमलाई ‘पञ्चशील’ भनिन्छ । हिंसा, चोरी, व्यभिचार, झुठ र मदिरापानमा विरक्त हुनुपर्ने पाँचवटा शील जीवनका हरेक पक्षसँग कुनै न कुनै रूपमा सम्बन्धित छन् । पाँचवटा नियमलाई सूक्ष्म रूपमा हेर्दा वा विवेचना गर्दा यसका हाँगाबिंँगाहरू जीवन र समाजमा हरेक पक्षसँग सम्बन्धित हुन पुग्छन् ।

पहिलो शील प्राणी हत्या नगर्ने हो अर्थात् अहिंसा । हिंसा केलाई भन्ने सन्दर्भमा स्वयं गौतम बुद्धले यो काय, वाक र चित्त गरी तीन प्रकारबाट हुने गरेको भनी व्याख्या गरेका छन् । यस अनुसार कुटपिट गर्नु वा हातहतियारको प्रयोग गरी घाइते बनाउनु मात्रै हिंसा नभएर गालीगलौज तथा कटु वचन पनि पर्छन् । कुनै पनि माध्यमबाट लिखित रूपमा डरधम्की तथा गालीगलौज गर्नु पनि अपराधको रूपमा नेपालको कानुनले व्याख्या गरिसकेको र कार्यान्वयन भइरहेको अवस्था छ । चित्तद्वारा गरिने हिंसा दोस्रो पक्षलाई थाहा हुँदैन ।

तर त्यसलाई पनि बौद्ध धर्मले अन्यलाई जस्तै अकुशल कर्मकै रूपमा लिएको पाइन्छ । चोरी नगर्नु भनेको पनि ठगी, लुटपाट लगायतका सम्पूर्ण कुराबाट विरक्त हुनु भनेको हो । कुनै पनि व्यक्ति विशेषको व्यक्तित्व शील पालनामा निर्धारण भइरहेको हुन्छ । र शीलवानहरू भएको समाजमा कुनै पनि प्रकारको आपराधिक क्रियाकलापले ठाउँ पाउँदैन ।

समाजमा को मान्छे कति पानीमा छ भनेर तौलने मुख्य आधार पनि को कति शीलवान छ भन्ने प्रश्न नै प्रमुख हो । यी शीलहरू पालना गर्न कुनै धर्मदर्शनमा आबद्ध हुनैपर्छ भन्ने छैन । शील पालनाको कुरा झट्ट सुन्दा सहज र सरलजस्तो देखिए पनि व्यवहारमा अत्यन्तै कठिन छ । कसैले पालना गर्‍यो वा गरेन भनेर चियोचर्या गर्नुभन्दा सर्वप्रथम आफैंले पालना गर्ने हो । त्यसको परिणाम स्वयंको व्यवहारमा प्रस्फुटन हुन्छ र स्वत:अरु प्रभावित हुन पुग्छन् ।

शील पालनाका सवालमा बौद्ध जगतमा एउटा अत्यन्तै घतलाग्दो उपमा प्रयोग गरिन्छन् । जताततै हिलोमैलो तथा घाउ हुनसक्ने कुँडाकर्कट छन् भनेर पूरै भुइँमा कार्पेट वा त्यस्तै मुलायम वस्तु ओछ्याउन सम्भव हुन्न । तर आफ्नो दुई खुट्टाको सुरक्षाका लागि चाहिने जुत्तामोजाको व्यवस्था गर्न सकिन्छ नि । यो जुत्तामोजाको व्यवस्था गर्नु भनेको शील पालना हो ।

समाजमा आपराधिक गतिविधि बढ्नुमा नैतिक मूल्य र मान्यताप्रति मानिस उदासीन हुनु पक्कै हो । साथसाथै एउटा घटना अर्कोसँग पनि सम्बन्धित भइरहने पक्ष नकार्न सकिन्न । लैंगिक समानताको कुरा जति गरे पनि व्यवहारमा लागू गर्न जिम्मेवार पक्ष दाँतबाट पसिना झार्छन् । जतिसुकै सभ्य र आदर्श भनिएकाहरू पनि महिला र पुरुषबीच भेद देख्छन् र परम्पराका नाममा त्यो भेदलाई कायम नै राख्दा हुने फाइदा–बेफाइदाको लेखाजोखा गर्छन् । र फाइदा हुन्जेल भेदभावलाई निरन्तरता दिने अभीष्ट चाहना राख्छन् ।

मूलत:यो पुरुष केन्द्रित सोच हो । यो संस्कारमा संस्कारित साहित्य अझै पनि जीवन दर्शन भइरहेको पाइन्छ भने त्यसका विरुद्ध कसैले टिप्पणीमात्रै गर्दा पनि स्वयं महिला वर्ग विरोधमा कुर्लन्छन् । पुरुषद्वारा हेपिनु, दबाइनु र प्रताडित हुनु नै महिलाको नियति हो, यो शाश्वत धर्म पनि हो भन्ने सोचाइ सर्वसाधारण महिलामा मात्रै नभएर बौद्धिक भनिएका महिलामा पनि कुनै न कुनै रूपमा पाइनु विडम्बनाको कुरा हो । यसकारण महिलामाथि एसिड आक्रमणजस्ता हिंसाका घटना हुनुमा आश्चर्य मान्नु पर्दैन । महिलालाई एसिड प्रहार गर्न प्रेरित गर्ने कामकुरा के–के हुन् भनेर खोज्ने त्यसको निराकरणका सवालमा चिन्तन गर्ने अभ्यास छैन ।

उपचारका लागि जनही तीन लाख रुपैयाँ दिनुलाई नै समस्याको सही उपाय ठानेर मात्र राज्य बसिरहनु अपराध कर्मलाई प्रोत्साहन दिइरहनु हो । कुनै पनि प्रकारको अपराध कर्मविरुद्ध कानुन बनाउने, कानुन नपुग भए संशोधन गर्ने, अपराधीलाई कुनै पनि बहानामा उन्मुक्ति नदिने, त्यस्ता अपराध मनोवृत्तिलाई बढावा दिने तत्त्वहरूलाई निरुत्साहन गर्ने काममा ध्यान दिनुपर्छ ।

प्रकाशित : आश्विन १७, २०७६ ०८:१६
प्रतिक्रिया
पठाउनुहोस्

खोकनाको दसैं : जमरा राखिँदैन, टीका लगाइँदैन

दामोदर न्यौपाने

खोकना — नवरात्रिको सुरुवातको दिन घटस्थापनादेखि खोकना उत्सवमय छ । हरेक दिन बेग्लाबेग्लै तरिकाले पर्व मनाइरहेको छ । दसैंमा हरेक दिन दुर्गाको पूजा गरेर मनाएभन्दा फरक छ । खोकनामा हरेक वर्ष दसैंको बेला सिकाली मेला मनाइन्छ ।

‘हामी जमरा राख्दैनौं । टीका लगाउँदैनौं,’ खोकनाको प्रसिद्ध सिकाली जात्रामा जुटेका स्थानीयबासी अस्टेन्द्र महर्जन भन्छन्, ‘काठमाडौंका अरू नेवार बस्तीभन्दा पृथक पर्व मनाउँछ खोकनाले । खासमा शाहवंशको स्थापना हुनु पहिला काठमाडौंका नेवारीले दसैंमा जमरा राख्ने गर्दैनथे । टीका लगाउने गर्दैनथे । अहिले भने अरू ठाउँकाले जमरा राख्छन् । टीका लगाउँछन् ।’

घटस्थापनामा कुमार पूजा गरेपछि खोकनाको यो उत्सव सुरु हुन्छ । ८ जना कुमारले घटस्थापनाको दिनदेखि तीन दिनसम्म घर घर गएर पूजाका सामान माग्छन् । उखु बोकेका कुमारले हातमा थाली बोकेका हुन्छन् । त्यही थालीमा पूजाका सामान माग्छन् । थाली भरिएपछि झोलामा राख्छन् ।

पूजाका समानमा स्थानीय रूपमा फल्ने काँक्रा, भोगटे, उखु जस्ता फलफूल, चामल, फूललगायत हुन्छन् । झोला भरिएपछि पूजाका सामान बस्तीको बीचमा रहेको रुद्रायणी मन्दिरमा लगेर थन्काउँछन् । मन्दिरमा जम्मा भएको पूजा सामग्री गाउँबाट डेढ किलोमिटर पश्चिमतिर रहेको सिकाली मन्दिरमा लैजान्छन् । ‘यहाँ पनि कुमार केटाको पूजा हुन्छ,’ महर्जन भन्छन्, ‘सिकालीमा पूजा गरेपछि खोकनादेखि सिकालीसम्मको देवताको बाटोमा रहेका देवतालाई पुज्दैपुज्दै आउँछन् ।’

बस्तीमा दुईवटा प्रमुख बाटा छन् । एउटा बाटो देवताको, अर्को बाटो शव लैजान मलामी हिँड्ने बाटो । तीनवटा ढोका छन् । तीन ढोकामध्ये एउटा ढोकाबाट देवताको बाटो सुरु हुन्छ । एउटा ढोकाबाट शव लैजाने बाटो सुरु हुन्छ । देवता हिँड्ने बाटो पनि सिकालीतिरै जान्छ । शव लैजाने बाटो पनि सिकालीतिरै जान्छ । दायाँतिर देवताको बाटो छ । बायाँतिर शव लैजाने बाटो ।

उत्तरतिरको ढोका बस्ती छिर्ने ढोका हो । यो अहिलेको बसपार्क छेउमै छ । दक्षिणढोकाबाट देवताको बाटो सुरु हुन्छ । दक्षिणढोका रुद्रायणी स्कुलबाट सुरु हुन्छ । पश्चिमढोका बस्तीको पल्लो छेउमा पर्छ । यही ढोकाबाट मलामी बाटो सुरु हुन्छ ।

देवताको बाटोमा अष्टमातृका देवी छन् । घटस्थापनाको छैटौं दिनमा यही बाटो भएर रुद्रायणी देवता सिकाली लगिन्छ । मन्दिरमा रहेका रुद्रायणी पनि खटमा राखेर लगिन्छ । ४६ जनाको रुद्रायणी देवगण हुन्छन् ।

सिकालीको दोस्रो विशेष उत्सव हो छोइला बु । तीन दिनसम्म कुमार पूजा भएपछि राति विशेष कार्यक्रम हुन्छ । मन्दिरमा राँगा बलि दिइन्छ । तीनवटा गुठीले तीनवटा राँगा बलि दिएपछि त्यसैको मासुको विशेष परिकार बनाइन्छ, जसलाई छोइला बु भनिन्छ । त्यो दिन अरू परिकार नबनाई मासुको मात्र भोज हुन्छ ।

सबै गुठियार जम्मा भएर मनाइन्छ यो उत्सव । बलिदिएका राँगाको रगतचाहिँ सिकाली मन्दिरमा चढाउने चलन छ । गुठीमा छोइला बु मनाएको भोलिपल्ट घरघरमा पनि छोइला बु मनाइन्छ । गुठीमा जस्तै घरमा पनि मासुको मात्र भोज खाने चलन छ यो दिनमा । यो घटस्थापनाको चौथो दिनको विशेष कार्यक्रम हो ।

पाँचौं दिनको उत्सव हो भुज्या । रातिको समयमा गुठियार जम्मा भएर विशेष तान्त्रिक विधिबाट छ्याङ बनाउने दिन हो यो । छ्याङ बनाउँदा वीरभद्र महांकाललाई जगाएर छ्याङ बनाउने गरिन्छ । अरुमान्छेले सामान्यत:१५ दिन लगाएर तयार पार्ने छ्याङ यो बेला एकै रातमा बनाइन्छ । छ्याङ बनाउन यहाँको प्राचीन तीनवटा गुठीका गुठियार जम्मा हुन्छन् ।

यहाँ त:गुठी, सना गुठी र जगु गरी तीनवटा निजी गुठी छन् । प्रत्येक गुठीबाट ८ जनाको दरले गुठियार जम्मा हुन्छन् । रुद्रायणी गुठीचाहिँ राजगुठी हो । ‘यो विशेष तान्त्रिक विधिबाट तयार गरिन्छ,’ गुठीका इनामा गुरु जयराम महर्जन भन्छन्, ‘तान्त्रिक विधि गोप्य हुन्छ ।’

प्रकाशित : आश्विन १७, २०७६ ०८:०६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्