चाडपर्वमा के कोसेली ? 

डा. अरुणा उप्रेती

जब–जब चाडपर्व नजिकिन थाल्छ, पत्रकारहरू मलाई के खाने, के पिउने भनेर सोध्छन् । म पनि प्रायः सबै रेडियो, टिभी र पत्रिकामा पोषण सम्बन्धी विभिन्न कुरा बोल्छु । पत्रपत्रिकामा विभिन्न कुरा लेख्छु, तर त्यसको सिकाइचाहिँ प्रायः एउटै हुन्छ । त्यो हो, घरमै बनाएको खाना खाने । बट्टाको जुस होइन, फलफूल नै खाने । जुसै खानुपर्‍यो भने घरमा हातैले निचोरे भए पनि ताजा फलफूलकै जुस बनाएर खाने गर्नुपर्छ । 

समस्या बट्टामा पाइने सबै फलफूलका रसको हो, फोहोर तरिकाले भण्डारण गरिएका हुन्छन् । बट्टामा हुने फलफूलको जुसमा ८० प्रतिशत चिनी हुने कुरा एक खाद्य विशेषज्ञले बताए । बाहिर प्याकेटमा आउँदा मात्र ती राम्रा देखिने हुन् । त्यस्ता फलफूलका रस बनाउने कम्पनीका मालिक र उनका परिवारले चाहिँ कहिल्यै पनि त्यस्ता प्याकेटमा राखिएको जुस सायदै खान्छन् । त्यसको सट्टा उनीहरू ताजा फलफूल नै खान्छन् ।


यस्ता रस लामो समयसम्म सुरक्षित राख्न रसायन हालिन्छ, फलफूलको सुवास ओओस् भनी केही मात्रामा फलफूलको गुदी हालिन्छ, तर वास्तवमै फलफूलको रसचाहिँ हुँदैन । कृषि मन्त्रालयको खाद्य विभागमा छलफल हुँदा एक वैज्ञानिकले भनेको कुरा हो यो । त्यसैले बट्टाको फलफूलको रस नखाऔं ।


चाडपर्वका बेला घरमा आउने पाहुनाहरूले पनि बालबालिकाका लागि भनेर यस्ता रस ल्याइदिँदा एकछिन त बालबालिका खुसी भएर खान्छन् । बालबालिकको अनुहारमा हाँसो देखेर आमाबाबु पनि दंग पर्छन् । तर प्रायः अभिभावकलाई थाहा हुन्न, यस्ता फलफूलका रस वास्तवमा फलका रस होइनन् ।


बालबालिकाका दाँत यस्ता अस्वस्थकर गुलियो रसले कति खराब भएका हुन्छन् भन्ने हेर्न विभिन्न सरकारी अस्पतालमा दाँत रोग विभागमा गए थाहा हुन्छ । जहाँ ३ वर्षदेखिका बालबालिका दाँतमा किरा लागेर, सुन्निएर, दुखेर आउँछन् । यसरी बिग्रिएको दाँत हेर्दा कतिपय डाक्टरले ‘धेरै चकलेट, बट्टाको रसजस्ता गुलिया पत्रु खाना खाएर यिनको दाँत बिग्रिएको छ । यस्ता खाना यिनलाई नदिनुस्’ भनेको सुनिन्छ । तर अभिभावकले दाँत चिकित्सकका परामर्शलाई गम्भीरतापूर्वक लिँंदैनन् । फेरि उही बट्टाको जुस बच्चालाई दिन थाल्छन् । मिठाइ उत्पादक, बिक्रेताहरूले पनि उपभोक्तालाई यसैगरी गुणस्तरहीन मिठाइ बेचिरहेका हुन्छन् । अनुगमन नाम मात्रको छ । त्यो पनि चाडबाडका बेला यसो गरेजस्तो गर्छन् । अरु बेला अनुगमन हुँदैन ।


बालबालिकालाई पानी सर्वोत्तम पेयपदार्थ हो । बच्चाले बट्टाको रस खान्छु भनेर झगडा गर्‍यो भने रोयो भने केही वास्तै नगर्नु । पछि राम्रोसँग किन यो खानु हुँदैन भनेर फकाउनुपर्छ । दाँतमा किरा लागेको फोटो देखाइदिनुपर्छ । फोहोर राख्ने ड्रम कस्ता हुन्छन् भनेर त्यसको फोटो देखाउनुपर्छ । आफूले यस्ता वस्तु प्रयोग नगर्नु, घरमा आउने पाहुनालई पनि नल्याइदिन आग्रह गर्नु वेश हुन्छ । पाहुनालाई बट्टाका रस र पत्रु खानाको सट्टा बदाम र अम्बा ल्याउन आग्रह गर्दा केही फरक पर्दैन । केही समय गाह्रो भए पनि यसले राम्रो परिणाम ल्याउनेछ । बट्टाको जुसको सट्टा दही उपहार दिए भइहाल्छ ।


पानी, चिया, लस्सी, कागती पानी आदिले पाहुनालई सत्कार गरे पक्कै पनि तिनले चिसो पेयपदार्थ र फलफूलका बट्टाका रस दिएनन् भनेर कुरा काट्ने छैनन् । खुसी नै हुनेछन् । फोहोर ड्रममा जम्मा गरेर रोखेको र फोहोर तरिकाले बनाएको ८० प्रतिशत चिनी मिसाएको फलफूलको रस दिँदा कसरी पाहुनाको मान हुन्छ ? चाडपर्वका बेलामात्र होइन, सरकारको अनुगमन टोलीले वर्षैभरि अनुगमन गर्न कहिले थाल्ने हो ? उपभोक्ताहरूले आफै सचेत भएर खराब बट्टाको रस र फोहोर मिठाइ खान कहिले छाड्ने हो ?


प्रकाशित : आश्विन १५, २०७६ ०८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?