महरा प्रकरणका प्रश्न

सम्पादकीय

काठमाडौँ — संघीय संसद्‌मा कार्यरत एक महिला कर्मचारीले दिएका दुइटा परस्परविरोधी भिडियो अन्तर्वार्ता सोमबार र मंगलबार प्रसारित भए । ‘हाम्राकुरा डट कम’ लाई दिएको अघिल्लो अन्तर्वार्तामा उनले आफू प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराबाट आफ्नै कोठामा बलात्कृत भएको गम्भीर खुलासा गरेकी छन् ।

त्यसमा उनले मलिन स्वरमा तर विस्तारपूर्वक घटना विवरण सुनाएकी छन्, रक्सी पिएका र रक्सीकै बोतल बोकेर आएका महराले उनीसँग यौन दुर्व्यवहार र बलात्कारसमेत गरेको दाबी पटकपटक गरेकी छन् । भिडियो कुराकानीकै बीचमा दुई पटक महराको मोबाइल नम्बरबाट फोन आएको पनि स्क्रिनमा देखिन्छ, जसमा ती ‘पीडित’ महिलाले आफूले मिडियासँग कुराकानी गरिरहेको उल्लेख गरिदिन्छिन् । टेलिफोन संवादमा ती महिलालाई उक्त मामिला सार्वजनिक नगर्न दबाब दिइएको आशयसमेत झल्कन्छ ।


मंगलबार अर्को अनलाइन ‘नागरिकखबर डट कम’ मा ती महिलाको फरक कुराकानी प्रसारित भएको छ । त्यसमा उनले अघिल्लो दिनको आफ्नै कुरा खण्डन गरेकी छन् र महराले यौन दुर्व्यवहार नगरेको, मिडियाले कुरा बंग्याएको प्रस्टीकरण दिन खोजेकी छन् । तर उनले अघिल्लो कुराकानीमा बलात्कारजस्तो संगीन आरोप किन लगाएकी थिइन् र एकैदिनमा त्यो आरोपबाट उनी किन पछाडि हटिन् भन्ने कुरा पछिल्लो कुराकानीबाट खुल्दैन । एउटा गम्भीर प्रकरणसमेत राजनीतिक प्रभाव एवं शक्तिका आडमा कसरी निस्तेज तुल्याइन सक्छ भन्ने कुराको पछिल्लो दृष्टान्त पनि हुन सक्छ यो मामिला । किनभने ती दुई भिडियो कुराकानीका बीचमा अन्य घटनाक्रम पनि भएका छन्, जसबाट केही ‘गडबडी’ भने भएको पर्याप्त संकेत मिल्छ । अबको अनुसन्धान त्यसको निष्कर्षमा पुग्नुपर्छ ।


महरा र उनका सहायकहरूले सोमबार रातिदेखि मंगलबार दिउँसोसम्म सञ्चार माध्यमलाई दिएका प्रतिक्रियाहरू आफैंमा बाझिएका देखिन्छन् । ती महिलाको कोठामा गएको र नगएको दुवैखाले कुरा ती प्रतिक्रियामा आएका छन् । महराबाट यौन दुर्व्यवहार भएको यथेष्ट सूचना पाएपछि प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले प्रश्न राख्दा महरा नाजवाफ भएको तथ्य पनि सार्वजनिक भइसकेको छ । प्रहरीलगायत सरकारी संयन्त्रबाट आएको उक्त सूचना अन्य स्रोतहरूबाट समेत सही ठहरिएपछि सभामुख महराले पदीय आचरणविपरीत हर्कत गरेको निष्कर्षमा उनीसम्बद्ध नेकपाको सचिवालय बैठक पुगेको हो । त्यसैअनुरूप नेकपा सचिवालयले उनलाई पदबाट राजीनामा दिन निर्देशन दिएको र त्यसपश्चात् मात्र महराले राजीनामा दिएको पनि जगजाहेरै छ । नेकपाले उनलाई बिनाआधार पदमुक्त गर्न खोजेको पक्कै होइन होला ।


पीडित भनिएकी महिलाले किन दुई दिनमा दुईथरी कुरा गरिन् भन्ने कुराको यथार्थ कारण उनी स्वयंलाई थाहा होला । यसमा कुनै किसिमको प्रभाव, दबाब, धम्की वा लोभलालच पनि जोडिएको हुन सक्छ । तथापि पीडित भनिएकी महिला स्वयं पछाडि हटेपछि अहिले असहज अवस्था उत्पन्न भएको छ । यस्तो हुनुमा प्रहरीको लापरबाही, हेल्चेक्र्याइँ वा बदनियतले पनि एक हदसम्म काम गरेजस्तो देखिन्छ । घटना भएकै रात ती महिलाको कोठामा पुगेको प्रहरी टोलीले तत्काल प्रमाण संकलन गर्ने, आवश्यक छानबिन थाल्ने र दोषीलाई पक्रेर अनुसन्धान गर्ने प्रक्रिया थालेको भए यथार्थ सायद उसबेलै सार्वजनिक भइसक्थ्यो । प्रमाणहरू लुकाउने र पीडितको बोली फेरिने परिस्थिति सिर्जना हुन्थेन । प्रहरीले समयमा कदम नचालिदिँदा पीडित आफ्नो कुरा फेर्न बाध्य भएकी पनि हुन सक्छिन् ।


यद्यपि सरकार प्रमुख स्वयं र सत्तारूढ दलको उच्च निकायले आफ्नो पार्टीबाट प्रतिनिधित्व गरेर सभामुख बनेका व्यक्तिबाट गल्ती भएको आधिकारिक ठहर गरिसकेको सन्दर्भमा अनुसन्धान प्रक्रियालाई रोक्नुपर्ने कारण देखिन्न । यो आम चासोको विषय भएको र उच्च ओहोदामा बसेका व्यक्तिमाथि गम्भीर आक्षेप लागेको सन्दर्भमा यसको सत्यतथ्यको अन्तिम तहसम्म खोजी हुनुपर्छ । महराले सभामुख पदबाट राजीनामा दिए पनि यो प्रकरणलाई यत्तिकै टुंग्याउन मिल्दैन, आम नागरिकका हकमा झैं स्वतन्त्र र निष्पक्ष अनुसन्धान गरी सत्यतथ्य पहिल्याउनुपर्छ । उनी दोषी छन् भने कारबाही गरिनुपर्छ, निर्दोष छन् भने सफाइ दिइनुपर्छ । यसका लागि ठोस निष्कर्षमा पुग्ने बाटो भनेको निष्पक्ष छानबिन नै हो ।

प्रकाशित : आश्विन १५, २०७६ ०८:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?