कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

भाषिक हिंसा र भालेवाद

सरिता तिवारी

गत शनिबार चितवनमा सत्ताधारीका बाहुबलीद्वारा ज्ञानेन्द्र शाही निर्घात कुटिएको खबर आयो । प्रतिदिन शक्तिले मदोन्मत्त भएर दम्भको चुली उक्लिरहेका सत्ताधारीसँग विचारले लड्ने ह्याउ सकिँदै गएको भन्ने बुझ्न यो एउटै घटनामात्र पर्याप्त छ । विरोधी स्वरलाई नियन्त्रण गर्ने यो काइदा आफैंमा निकृष्ट र अनुचित हो भन्नेमा दुईमत नै छैन ।

भाषिक हिंसा र भालेवाद

यद्यपि यतिबेला सरकार विरोधी अभिव्यक्ति दिनेहरूको नैतिक हैसियत के हो ? उनीहरूको तर्क र विरोधको ध्वनिमा कुनै कुत्सित योजना पनि छ या त्यो स्वस्फुर्त र स्वाभाविक छ ? त्यसको परीक्षण पनि उत्तिकै जरुरी छ ।


यो घटना लगत्तै सामाजिक सञ्जालमा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहालमाथि अत्यन्तै घृणित र अश्लील ट्रोलहरू सुरु भए । दाहालको फोटोमाथि छेडखानी भयो । आइतबार नै महानगरपालिकाको तर्फबाट जिल्ला प्रहरी कार्यालय चितवनमार्फत गृह मन्त्रालय र प्रहरी मुख्यालयमा साइबर अपराधको जाहेरी दर्ता गराइसकिएको छ । यतिखेर केही समय पहिले मेयर रेणु दाहालले दिएको अभिव्यक्तिमा ध्वनित भाषामाथि पनि आलोचना भइरहेकै छ, जसमा उनले एकचोटीलाई माफ र छुट दिए पनि भरतपुर महानगरपालिकाभित्र आएर सरकार विरोधी अभियानका गतिविधि गर्नेलाई ‘महानगर स्तरबाट के गर्नुपर्छ गर्ने’ चेतावनी दिएकी थिइन् ।

000

निकृष्ट शब्दका गाली र नग्न स्तरमा ओर्लेर गरिने तुच्छ आलोचना सामाजिक सञ्जालको विद्रूप ऐँजेरु बनिरहेको तथ्य सबैले स्वीकार गरिरहेका छन् । यसबाट हुने मानमर्दन र सार्वजनिक अपमानको त कुनै लेखाजोखा नै छैन । तस्बिरमाथि छेडखानी गर्ने, सुन्नै नसकिने भद्दा गाली र चरित्रहत्या गर्ने क्रममा सार्वजनिक पदधारीमाथि लिइएका हुर्मत यसै पनि कम छैनन् । तर जब–जब महिला पदधारीमाथि आलोचना गरिन्छ, समाजका अतिशय नाङ्गा हुँदै गएका, कुरूप सोचका बाछिटा प्रकट हुन्छन् । सामाजिक सञ्जालको दुरुपयोग गरेर राष्ट्रपतिदेखि भरतपुर मेयरसम्मलाई जसरी आक्रमण गरिएको छ, त्यो भर्त्सनायोग्य त छँदैछ, त्यसले पार्ने सांस्कृतिक असरबारे विमर्श र चिन्ता गरिनु पनि उत्तिकै आवश्यक छ ।


किन महिलामाथि नै यस्ता भाषिक आक्रमण हुन्छन् ? दाहालको विरोधी जतिलाई ‘एक्सन लिएर देखाइदिने’ अभिव्यक्तिलाई कुनै महिला मेयरको होइन, पुरुष मेयरको अभिव्यक्ति मानेर हेरौं त ! के उसलाई पनि यसैगरी चुत्था र हदैसम्मका निकृष्ट आलोचना गरिन्थ्यो ? सार्वजनिक स्तरमा बेइज्जत गरेर बलात्कार गर्ने धम्की दिइन्थ्यो ? उनीमाथि आरोपित भाषा सरकारका जनविरोधी गतिविधिका आलोचकका मात्रै हुन् कि भालेवादी अहंकारका क्रूर रूपक हुन् ? यसले देखाउँछ, सार्वजनिक पदमा बसेका महिलामाथि नै यति छूद्र टिप्पणी गर्ने भाले ग्रन्थिले आम महिलाको अस्मिता र आत्मसम्मानमाथि कस्तो भाषाको प्रयोग गर्ला ? आफ्नै आमा, श्रीमती, दिदीबहिनी र मित्रमण्डलीसँग तिनले कस्तो भाषा प्रयोग गर्छन् होला ?


भाषाको प्रयोग कसले, कसरी गरिरहेको छ भन्ने कुरा अर्थव्यवस्था र त्यसबाट निर्मित संस्कृतिका आधारमा चलिरहेको लैङ्गिक शक्ति संरचनासँग जोडिन्छ । लामो समयदेखि सामाजिक शक्तिको तराजु पुरुषतर्फ मात्रै ढल्किएका कारण भाषा पुरुष निर्मित वस्तु हो भन्न कुनै संकोच मान्नु पर्दैन । भाषाको ऐतिहासिक चरित्रको अध्ययन गरेकी अस्ट्रेलियाली भाषाविद् डेल स्प्लेन्डरले ‘म्यान मेड ल्याङवेज’ भन्ने किताबमार्फत भनेकी छिन, ‘भाषा पुरुष निर्मित र पुरुषका लागि निर्मित हो । यसमा पुरुष स्वयम् नियम हुन्छ र स्वयम् कर्ता ।’ उनी अगाडि भन्छिन्, सत्य निर्माणमा भाषाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । यो सत्यको हेराफेरी गर्ने सबभन्दा बलियो माध्यमसमेत हो ।


भाषा प्रयोगको यो विशेष अख्तियारीले पुरुषमा बाल्यकालदेखि नै महिला वर्गलाई तथानाम हेलाहोचो गर्ने चेत घुसाइरहेको हुन्छ । सार्वजनिक धारणा, उखान, उक्ति र संस्थापन अनुकूलका साहित्यले निरन्तर एउटा पुरुषलाई स्त्रीद्वेषी संस्कारमा बानी पारिरहेको हुन्छ । सामान्य दैनिकीमा भेटिने अधिकांश पुरुषका भाषा सुन्नुस्, त्यहाँ कुनै पुरुषलाई गरिने गालीमा समेत आमा, श्रीमती वा दिदीबहिनीलाई जोडेर अश्लील शब्दको प्रचुर प्रयोग गरिएको हुन्छ । विडम्बना नै भनौं, त्यसैलाई पुरुषत्व अर्थात् मर्दपनको द्योतकसमेत मानिन्छ । भाषा प्रयोगमा पुरुष श्रेष्ठताको यो मानक नै भालेवादी अहंकारको जरो हो, जसले घर, गाउँ, छिमेकदेखि मेयर र राष्ट्रपतिसम्मलाई केवल भोग्ने वस्तुको लेन्सले हेर्छ । महिलामैत्री सुसंस्कारमा हुर्किएका, मानवीय मर्यादा र शिष्टता सिक्ने, मानवतावादी विचारहरूमा अद्यावधिक हुने सीमित पुरुष बाहेक प्रायःजसो पुरुषमा यही अहंकार खाँदी–खाँदी भरिएको हुन्छ । त्यसैका उत्पादन हुन्, सामाजिक सञ्जालमा देखिने यस्ता अश्लील ट्रोल ।


सत्ता र सरकार दुई तिहाइ बहुमतको दम्भले मदोन्मत्त भएको तथ्य जगजाहेरै छ । त्यसको सार्वजनिक आलोचना गर्ने अधिकार कुनै पनि नागरिकलाई छ । यो लोकतन्त्र कसैको बाबुको विर्ता होइन । यसमा नागरिक आलोचनासँग असह्य भएर धम्कीपूर्ण अभिव्यक्ति दिने प्राधिकार कसैलाई पनि छैन । लोकतन्त्रमा शान्तिपूर्ण तरिकाले सरकारको आलोचना र गतिविधि गर्न कोही पनि स्वतन्त्र छ, चाहे त्यो राजावादी वा अन्य कुनै पनि वादी होस् । सरकार त निरन्तर आफूलाई सही र जनमुखी बनाउने प्रयत्नमा लाग्ने हो । आलोचकका कुरामा सतर्क हुने र त्रुटिहरूलाई सच्याउने कुरामा प्रतिबद्ध हुने हो । जसरी सरकार–संस्थापन नागरिकको न्यूनतम अभिभावकीय चरित्रलाई बिर्सिएर आलोचकहरूमाथि भौतिक कारबाहीको धम्की दिँदै हिँड्छ र त्यो धम्कीलाई कार्यान्वयन गर्न असहिष्णु रूपमा प्रकट हुन्छ, त्यसलाई कुनै पनि सर्तमा सही मान्न सकिन्न । यो पनि सत्यको एउटा पाटो हुँदै हो । तर विरोधका नाममा कसैमाथि पनि बलात्कारको चेतावनी र चरित्रहत्या गर्ने दुस्साहस त्योभन्दा पनि निकृष्ट हर्कत हो । यस्ता हर्कतको जति भर्त्सना र आलोचना गरे पनि कम हुन्छ ।


न सरकार सबै नागरिकको अभिभावकजस्तो गम्भीर र धैर्यवान हुनसक्ने न आलोचकले भाषाको शिष्ट र मर्यादित लगाम खिच्न सक्ने ! यसले समाजलाई दुबैतर्फबाट अराजकताको भयावह मोडमा लैजाने संकेत गर्छ ।

000

सामाजिक सञ्जालको दुरुपयोग गरेर आफूलाई मन नपरेका सार्वजनिक जीवनका महिलालाई बलात्कारसम्मको धम्की दिने, चरित्रहत्या गर्ने कुरा नेपालमा नौलो भए पनि भारतमा गौरी लंकेश, अरुन्धति रोय, सेहला रसिदजस्ता प्रख्यात व्यक्तिमाथि गरिएका ट्रोल पढ्न त के हेर्नसम्म सकिन्न । निर्वासित बंगलादेशी लेखक तसलिमा नसरिनलाई कस्ता–कस्ता धम्की दिइन्छन् भन्ने त झन् कुरै नगरौं । सार्वजनिक रूपमा महिलामाथि अश्लील गालीगलौजमा उत्रने त्यही पुरुष वर्ग हो, जसलाई लाग्छ, उसलाई महिलाको शरीर र गरिमासँग निच खेल खेल्ने जन्मसिद्ध प्राधिकार छ । यतिखेर देशका शक्तिशाली व्यक्तिकी छोरी र बहालवाला मेयरमाथि गरिएको यस्तो हर्कतमाथि कारबाही अवश्य पनि हुनेछ । तर प्रतिपक्षी र सत्ता, शक्तिको प्रभाव बाहिरका महिलामाथि अश्लील टिप्पणी गर्नेमाथि पनि प्रहरी, प्रशासन उत्तिकै सजग र प्रभावशाली देखिएला ?


अर्थप्रणाली र त्यसले निर्माण गरेको पितृसत्तात्मक सामाजिक व्यवस्थाले भाषा प्रयोगमा अधिकारको असमान वितरण भएकैले पुरुषमा मूलतः महिलाद्वेषी चिन्तन विकसित हुँदै आएको कुरो वैज्ञानिक र ऐतिहासिक रूपले पुष्टि भैसकेको छ । यही कुराले निर्देशित भएको भालेवादी अहंकार विभिन्न रूपमा बेला–बेला प्रकट भैरहन्छ । तर यो कुरो कतिपय पुरुष वर्गलाई पच्दैन । जेसुकै र जुनसुकै कुरालाई महिलावादी चस्माले हेर्ने ? उनीहरूको टिप्पणी यतिसम्म सपाट हुन्छ । तर महिलावाद महिलामाथिको हजारौं वर्ष यता चलिरहेको आर्थिक, सांस्कृतिक उत्पीडनको मात्रै विरोधी चिन्तन होइन, अन्ततः पितृसत्ताको साङ्लोबाट पुरुषलाई समेत मुक्त गर्ने मानवतावादी विचार पद्धति हो भन्ने तथ्य शिक्षित र सचेत भनिएका पुरुष वर्गले समेत किन बुझ्दैनन् ? पितृसत्ताको आलोचना गर्नासाथ आफ्नै अस्तित्वमाथि नै आइलागे जस्तो ठानेर बल्लतल्ल बोल्न र मुखर हुन सिकेका महिलामाथि नै किन जाइलाग्छन् ?


जुन चेतनाले सामाजिक विचारधारा निर्माण भएको छ, त्यसको मूलमा नपुगी भाषिक हिंसाको पहिचान र समाधान सम्भव छैन । स्त्रीद्वेष हाम्रो सामाजिक व्यवस्थाको आधारभूत चरित्र हो । भाषामार्फत महिलामाथि गरिने सबै प्रकारका हिंसाको जरो यसैमा छ । अपवाद बाहेकका अधिकांश पुरुषको दिमागमा स्त्रीद्वेषी मनोविज्ञान हावी हुनु यद्यपि एक्लो पुरुष (या महिलाको समेत) को दोष होइन, सामाजिक व्यवस्थाको दोष हो । यही दूषित मनोविज्ञानले हो, बलात्कारी र हत्यारा पुरुष जन्माउने । यसैले हो, ‘एसिड अट्याकर’ र यौन उत्पीडक रोगीहरू जन्माउने । यो केही ‘अपराधी’को नियन्त्रण गरेर मात्रै पार लाग्ने कुरा होइन । समग्र सामाजिक मनोविज्ञान नै बदल्ने व्यक्तिगत र सामुहिक प्रतिबद्धताको समेत विषय हो ।


प्रकाशित : आश्विन १४, २०७६ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?