'मिटू’ : के आयो-गयो मात्रै भएको हो ?

भृकुटी राई

नयाँ अंग्रेजी वर्ष २०१९ को सुरुवातसँगै काठमाडौंका नाट्य क्षेत्रमा हुने गरेका यौन दुर्व्यवहारका घटनाहरू सार्वजनिक हुन थाले । त्यसपछि नेपालमा पनि ‘मिटू’ अभियानले व्यापकता पाउने आशा पलाएको थियो । राजनीतिक र शैक्षिक क्षेत्रका हस्तीहरूसँग जोडिएका मिटूका भोगाइ आरोप-प्रत्यारोपमा मात्र सीमित भइरहेको बेला नाट्य क्षेत्रबाट सार्वजनिक भएका घटनाहरूले भने मूर्तरूप लिने अनुमान गरिएको थियो । 

'मिटू’ : के आयो-गयो मात्रै भएको हो ?

नाट्य क्षेत्रमा आबद्ध रहेकाहरूले यौन दुर्व्यवहारबारे बोलेका कारण पनि त्यस्तो आशा राखिएको थियो । वान वर्ल्ड थियटर र मण्डला थिएटरले यौन उत्पीडनमा परेकाहरूसँग दृढताकासाथ उभिने प्रण पनि गरेका थिए ।

यौन दुर्व्यवहार गरेको आरोप लागेका वान वर्ल्ड थिएटरका राजकुमार पुडासैनी र मण्डला थिएटरका राजन खतिवडाले आफ्नो गल्ती स्वीकार्दै माफीसमेत मागेर विज्ञप्ति जारी गरेका थिए । गुरुकुल थिएटरका संस्थापक तथा कलाकार सुनील पोख्रेल भने आफूमाथि लगाइएको आरोपमा चुपचाप बसे । मण्डला र वान वर्ल्ड थिएटरले एक कदम अगाडि सरेर पुडासैनी र खतिवडालाई एक वर्षका लागि निलम्बन नै गरे । खतिवडाले यो निर्णयको समर्थन गर्दै आत्मआलोचना गरेर आफू सुध्रिन चाहेको सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेका थिए ।

यौन दुर्व्यवहारका आरोपितहरूलाई उनीहरू कार्यरत संस्थाले दुर्व्यवहारका लागि सार्वजनिक रूपमा जिम्मेवार ठहर गर्दै कारबाही गरेको घटना दुर्लभ थियो । अझ आरोपितहरूले आत्मालोचनासमेत गरेको घटना त झन् अविश्वनीय नै थियो । तर त्यसको केही महिनापछि खतिवडा, पुडासैनी र पोख्रेल तीनैजना मञ्चमा देखापरे । गत मेमा सामाजिक सञ्जाल फेसबुकमा खतिवडाले पोस्ट गरेको माफीनामा उनको टाइम लाइनमा सार्वजनिक रूपमा पढ्न पाइँदैन । त्यसको सट्टा जूनमा उनले अन्य नाट्यकर्मीसँग नर्वे भ्रमण गरेको पोस्ट भने देख्न पाइन्छ । उनको भ्रमण कुन हैसियतमा हो भन्ने कुरा मण्डलाले सार्वजनिक रूपमा कतै उल्लेख गरेको छैन ।

यौन दुर्व्यवहारलाई निरुत्साहित गर्न नाट्य समुदायले देखाएको जमर्कोप्रति उत्साहित मिटू अभियानका समर्थकहरू अहिले उक्त क्षेत्रले द्वैध चरित्र देखाएको बताइरहेका छन् । उनीहरूको भनाइमा गत वर्ष सानो भएपनि उपलब्धि हासिल गरेको अभियानमाथिको यो निर्मम प्रहार हो ।

‘यी पुरुषहरूले एक ठाउँमा नभए पनि अन्यत्र स्थान पाइरहेकै छन्,’ लेखक आन्विका गिरीले भनिन् । मण्डला थिएटरले राजन खतिवडालाई केही साता अघिदेखि मञ्चन भइरहेको नाटक ‘महाभोज’ मार्फत पुन: मञ्चमा उतारेकोमा विरोध जनाउने थोरैमध्ये उनी एक हुन् । ‘यस्ता संस्थाहरूले आफ्नो शक्तिको दुरुपयोग गर्ने पुरुषहरूलाई बिना कुनै ठोस कारबाही पुन: अगाडि बढ्ने मौका दिएको

देख्दा रिस पनि उठ्छ र निराश पनि बन्छु,’ उनले भनिन् ।

पद र शक्तिको दुरुपयोग गरेर महिलामाथि यौन दुर्व्यवहार गरेको पुष्टि हुँदा पनि उनीहरूको सामाजिक प्रतिष्ठामा असर नपर्नु र कुनै ठोस कारबाही पनि नहुनुले त्यस्ता व्यक्तिविरुद्ध आवाज उठाउने महिलाहरूलाई त असर पुग्छ नै, यसबारे बोल्न चाहने अरू पनि निरुत्साहित हुन्छन् ।

मण्डलाले भने खतिवडालाई मञ्चमा उतार्ने आफ्नो निर्णयको बचाउ गरेको छ । मिटू अभियानप्रति ऐक्यबद्धता जनाएर यौन दुर्व्यवहार आरोपको छानबिन गर्ने सार्वजनिक गरेकी मण्डला थिएटर कम्पनीकी निर्देशक सिर्जना सुब्बाले खतिवडा थिएटरको महासचिव पदबाट एक वर्षका लागि हटेको र आफूहरूले गर्नसक्ने त्यति नै भएको बताएकी छन् । मण्डलाले यौन दुर्व्यवहार सम्बोधन गर्ने समिति बनाउने कुरा गरे पनि हालसम्म केही गठन गरेको छैन ।

‘हामीले उहाँलाई आफ्नो पद छोड्न लगायौं र उहाँ थिएटरको कुनै पनि कार्यमा संलग्न हुनुहुन्न । अब बाहिर के गर्नुहुन्छ, हामी कसरी निगरानी गर्न सक्छौं ?’ उनले भनिन्, ‘के मिटू अभियान अन्तर्गत दुर्व्यवहार गर्नेलाई सबै ठाउँमा बहिष्कार नै गर्नुपर्छ भन्ने नियम कहीं छ र ?’ थिएटरको काम भनेको कलाकारका रूपमा त्यसै थिएटरमा मञ्चन हुने नाटकमा सहभागी हुने कुरा पर्छ कि पर्दैन भन्नेबारे सुब्बाले स्पष्ट पारिनन् । मण्डलाले लगालग तीन आरोपितलाई मञ्च दिएर अरु नभए हामी छौं भन्ने सन्देश दिएर पीडकलाई ढाडस र पीडितलाई त्रसित बनाएको बुझाइ मिटू अभियानका समर्थकहरूको छ ।

महाभोजमा खतिवडासँगै अभिनय गरेकी सुब्बाले उनीमाथि लागेको आरोप र उनले मागेको माफीपछि काम गर्दा कुनै भिन्नता नदेखिएको बताइन् । ‘हामी सधैं सँगै काम गरेरै आएका हौं र यो कुनै भिन्न पनि होइन,’ उनले जवाफ दिइन्, ‘हामीलाई कलाकार चाहिएको थियो । उनी उपलब्ध थिए, हामीले बोलायौं ।’

नाट्य समुदायमा दुर्व्यवहारको आरोप लागेका पुरुषहरूसँग काम गर्ने सुब्बामात्रै होइनन् । शुक्रबार साप्ताहिकमा प्रकाशित रिपोर्ट अनुसार रक्सीले मातेर रिहर्सलमा जाने र महिलाहरूलाई गलत तरिकाले छुने गरेको आरोप लागेका सुनील पोख्रेल पनि केही साताअघि ‘मिमांसा’ नाटकमा देखिएका थिए, जुन मण्डलामै मञ्चन गरिएको थियो ।

मिमांसाका निर्देशक प्रवीण खतिवडाले पनि पोख्रेललाई आफ्नो नाटकमा मुख्य पात्रका रूपमा स्थान दिएको विषयको बचाउ गरे । उनले कार्यस्थलमा हुने यौन दुर्व्यवहार विरुद्धको छलफललाई निरन्तरता दिनुपर्ने बताउँदै आफू एक्लैले ‘हल्लाको भरमा’ कसैको चरित्रमाथि औंला उठाउन नसक्ने जिकिर गरे । सुनील पोख्रेलसँग काम गर्दा कहिल्यै पनि उनीमाथि लागेको आरोपतर्फ आफ्नो ध्यान नगएको उनले टिप्पणी गरे ।

‘म नाट्यकर्मीमात्रै हो, जसले राम्रा कलाकारहरूसँग काम गर्ने चाहना राख्छ । सुनील पोख्रेललाई नाटकमा लिएर मैले त्यहीं गरेको हो,’ धेरै वर्षअघि पोख्रेलबाटै नाटक सिकेका उनले भने । खतिवडाले पोख्रेललाई मात्र नभएर वन वर्ल्ड थिएटरले अनुसन्धानपछि दुर्व्यवहार गरेको पाइएको भनिएका पुडासैनीलाई समेत नाटकमा सहभागी गराएका थिए ।


इमानदारीको अभाव

खतिवडाको पुनरागमनको प्रतिरक्षा गरेकी सिर्जना सुब्बाका अनुसार माफी मागेपछि यौन दुर्व्यवहार नै गरेको भए पनि अगाडि बढ्न दिनुपर्छ ।

‘यदि कलाकारले आफ्नो व्यवहारका लागि माफी मागिसकेको छ र कामलाई निरन्तरता दिन चाहन्छ भने मलाई लाग्दैन, हामीले तिनलाई सबै सार्वजनिक स्थानमा प्रतिबन्ध लगाउनुपर्छ,’ उनले भनिन् ।

मिटू अभियानबारे आवाज उठाउनेहरूका अनुसार नेपालको सार्वजनिक क्षेत्रको घेरा निकै साँघुरो भएका कारण केही पुरुषलाई त्यसै छोड्दा अभियान पछि पर्नसक्ने जोखिम छ । यसको प्रभावले कार्यस्थलमा हुने दुर्व्यवहारका घटना सार्वजनिक गर्न महिलाहरूलाई कठिन हुनसक्ने देखिन्छ ।

मिटू अभियान अगाडि बढाउन निरन्तर वकालत गर्दै आएकी लेखक सावित्री गौतमका अनुसार समाजमा प्रभाव पार्न सक्ने व्यक्तिहरू नै यो अभियानप्रति मौन बस्नुको मुख्य कारण शक्तिशाली पुरुषहरूले त्यसको बदला लिन सक्छन् भन्ने त्रास नै हो ।

‘जसले दुर्व्यवहार गर्नेको कामलाई सामाजिक सञ्जालमा समर्थन गरिरहेको छ, उनीहरू मिटू अभियानप्रति नकारात्मक छन् भन्ने स्पष्ट हुन्छ,’ नेपालको बौद्धिक र साहित्यिक घेरातर्फ इंगित गर्दै गौतमले भनिन् । केही हदसम्म मिडियाले पनि यौन दुर्व्यवहारको आरोप लागेका पुरुषहरूलाई नै बढी सान्दर्भिक स्थान दिएर विरोधाभासपूर्ण कार्य गरिरहेको उनको तर्क छ ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक कृष्ण भट्टचन र काठमाडौं महानगरपालिकाका पूर्वमेयर केशव स्थापितको उदाहरण दिँदै गौतमले भनिन्, ‘आफूलाई लागेको आरोपको खण्डन गरेपछि उनीहरूलाई अहिले पनि सार्वजनिक कार्यक्रमहरूमा आमन्त्रण गरेर सम्मान गरिन्छ ।’

आदिवासी अधिकारका बारेमा वकालत गर्ने प्रभावशाली अभियन्ता भट्टचनलाई केही महिला विद्यार्थीले अश्लील कुराकानी गरेको र जथाभावी रूपमा छोएको आरोप लगाएका थिए । ‘काठमान्डु पोष्ट’ले यसबारे गत जनवरीमा समाचार प्रकाशित गरेपछि भट्टचनले ती महिलाहरूले आधारहीन आरोप लगाएर आदिवासी आन्दोलनमाथि प्रहार गर्न खोजेको दाबी गरेका थिए । आफू विरुद्धका आरोपहरू अगाडि आउन थालेसँगै उनी केही समय सामाजिक सञ्जालबाट टाढा बसे । अहिले भने उनलाई पूर्ववत: कामको चापाचाप नै भए जस्तो देखिन्छ । केही साताअघि मात्रै काठमाडौंमा मुलुकका प्रगतिशील लेखक र विचारकहरूको उपस्थितिमाझ उनले आदिवासी अधिकारबारे प्रवचन दिएका थिए ।

नाट्य क्षेत्रभित्र र बाहिरका मिटूलाई नजिकबाट नियालिरहेकाहरूका अनुसार यो अभियान जुन प्रकारले आएको थियो, त्यस अनुरुप अगाडि बढ्न भने सकेन । दुर्व्यवहार गर्नेलाई बिना कुनै ठोस कारबाही यो बहस यतै-कतै हरायो । उनीहरूका अनुसार मण्डलाजस्तो थिएटरलाई सहयोग गर्ने संस्था र दातृ निकायहरूले समेत दबाब दिने हो भनेचाहिँं केही हुनसक्छ ।

केही अघि मञ्चन गरिएको महाभोज नाटकमा पनि धेरै प्रायोजक र समर्थकहरू थिए । तीमध्ये जर्मन विकास संस्था ‘जीआईजेड’ मुख्य सहयोगी थियो । नेपालमा कला र संस्कृति सम्बन्धी थुप्रै कार्यक्रमलाई सघाउँदै आइरहेको जीआईजेडले सन् २०१३ मै कार्यस्थलमा हुने यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरेको छ । जीआईजेडलाई यसै सन्दर्भबारे गरिएको इमेलको प्रत्युत्तरमा उसले आफूले सहयोग दिइरहेको संस्थामा पनि यौन हिंसाप्रति शून्य सहनशीलताको नीति लागू हुने र त्यसको पालना नभए सम्झौता नै रद्द हुने जानकारी दिएको छ ।

‘यदि आफूले सहयोग गरिरहेका संस्थाहरूको यौन दुर्व्यवहारप्रति शून्य सहनशीलताको नीति छ भने त्यसलाई लागू पनि गर्नुपर्‍यो,’ समाजवादी पार्टी नेपालकी नेतृ मानुषी यमि भट्टराईले भनिन्, ‘उनीहरूले द्वैध चरित्र देखाउन पाउँदैनन् ।’


आशाका किरण

‘अन्नपूर्ण पोस्ट’ को शनिवासरीय परिशिष्टांकको जिम्मेवारी सम्हालेको महिना दिनजतिमै विमल आचार्यले एउटा नयाँ काम गरे । राजनीति र मनोरञ्जनका प्रमुख विषयलाई छाडेर उनले नेपाली नयाँ वर्ष विशेष अंकमा मिटूका लेख-रचनाहरू समावेश गरेर छापे । उक्त अंकमा कुनै समाचार थिएनन्, थिए त केवल महिलाहरूको भोगाइ । जहाँ उनीहरूले आफूलाई गरिएका अनगिन्ती दुर्व्यवहारका घटनाहरूबारे लेखेका थिए ।

आफूमाथि भएको दुर्व्यवहारका बारेमा लेख्ने लेखकमध्ये एक थिइन्, शिवानीसिंह थारु । मिटू अभियान सुरु हुनुपूर्व आफ्नो तितो अनुभवले पत्रिकामा स्थान नपाउने उनको सोच थियो । उनको अनुसार आफ्नो भोगाइलाई लिएर उनी आफैलाई शरम लाग्थ्यो भने अरुले बुझ्दैनन् भन्ने सोच पनि हावी थियो । तर ‘कान्तिपुर’ को साप्ताहिक परिशिष्टांक कोशेलीमा छापिएको उनको लेख ‘३४ इन्च डी’ ले निकै प्रशंसा बटुल्यो । त्यसमा उनले आफ्नो शरीरसँगको सम्बन्ध र तरुण अवस्थामा हुँदा भोग्नुपरेको दुर्व्यवहारले पारेको असरबारे लेखेकी छन् ।

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक भट्टचनले समाजशास्त्रका छात्राहरूमाथि वर्षौंदेखि दुर्व्यवहार गरेको घटनाबारे समाचार आएपछि सामाजिक सञ्जालमा यसबारे निकै बहस भयो । केही प्राज्ञले यी आरोपबारे हालसम्म कुनै छानबिन नभएकोमा चिन्ता व्यक्त गरे । त्यसको केही सातामा विश्वविद्यालयमा पहिलोपटक यौन दुर्व्यवहारबारे छलफल भयो । र गत महिनामात्रै विश्वविद्यालयले पहिलोपटक यौन दुर्व्यवहारबारे नीति बनाउन एउटा समिति गठन गर्‍यो ।

‘वर्षौंसम्म हामीले यौन दुर्व्यवहारबारे कुरा गर्ने स्थान र अवसर नै पाएनौं । अहिले प्राप्त भएको छ,’ मानुषी यमि भट्टराई भन्छिन्, ‘अब यस अवसरलाई रणनीतिक रूपमा प्रयोग गरेर ठोस उपलब्धि हासिल गर्नुपर्छ ।’

प्रकाशित : आश्विन ११, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?