कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

माधव नेपालको एकाकी जीवन

किशोर नेपाल

बुधबारका समाचारपत्रहरूमा एउटा तस्बिर प्रकाशित भयो  । तस्बिरमा नेपाल कम्युनिष्ट पार्टीको वैदेशिक मामिला विभाग प्रमुख माधव नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग प्रमुख सोङ ताओ दुई पार्टीबीच सहयोग सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्दै थिए  ।

माधव नेपालको एकाकी जीवन

हस्ताक्षरकर्ता माधव नेपालको पछाडि नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र सोङ ताओको पछाडि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल उभिएका थिए । ओली र दाहाल, दुबै नेताहरूको नजर हस्ताक्षरकर्तातिर सोझिएका थिए । दाहालका हात नतमस्तक भावमा थिए भने ओलीका आँखा दस्तावेजमा नेता नेपालको हस्ताक्षर नियाल्न ब्यस्त थिए । यो आफैंमा समाचारको विषय होइन । तर प्रधानमन्त्री ओली र नेता नेपालबीच चिसो सम्बन्धको जानकारी राख्ने कसैका लागि पनि त्यो तस्बिरमा ओलीको कर्के हेराइले एउटा सन्देश दिन्थ्यो, ‘नेता नेपालप्रति भरोसा छैन’ ।

यति उल्लेख गरेपछि माधव नेपाल अहिलेको नेपाल कम्युनिष्ट पार्टीको संस्थापन पक्षमा छैनन् भनिराख्नु पर्दैन । पन्ध्र वर्षभन्दा बढी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी–लेनिनवादी) महासचिव रहेर हजारौं–हजार कार्यकर्ता खेलाएका नेता माधव नेपालका लागि अहिलेको परिस्थिति सहज होइन । पार्टीभित्र माधव नेपाल र केपी ओली बीचको समीकरण कहिल्यै मिलेन । माधवले पूर्व ताक्दा केपीले पश्चिम ताक्नैपर्ने परिस्थिति सधैं रहिरह्यो । यद्यपि क्रय–विक्रयका बेला माधव–केपी मिलन नभएको पनि होइन । गणतन्त्रका पहिला प्रधानमन्त्री पुष्पकमल दाहालको पलायनपछि कांग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको समर्थनमा कांग्रेस–एमाले समीकरणमा सरकारको प्रधानमन्त्री बनेका माधवकुमार नेपालको आसन बालुवाटारमा स्थिर गराउन केपी ओलीले निकै काम गरेका थिए । त्यतिबेला यो स्तम्भकारले ओलीसंँग द्वारिकाज होटलमा भेट गर्दा उनले सुनाएका थिए, ‘प्रधानमन्त्री बन्ने माधव, पार्टीभित्रको हिसाब मिलाइदिनुपर्ने मैले ।’

माधव नेपाल आँटिला र अडान भएका राजनीतिज्ञ होइनन् । गिरिजाप्रसाद कोइरालाको समर्थनमा प्रधानमन्त्री हुनु उनका लागि एउटा गहकिलो अवसर थियो । कोइरालाको आधिकारिकता र आफ्नो क्षमता मिलाएर उनले संविधान बनाउन सक्थे । तर उनले त्यस्तो आँट गरेनन् । शान्ति वार्ताको नाममा आफ्नो सुरक्षा नेपालगन्जको जमुनाह नाकामा छोडेर, प्रतिबन्धित अवस्थामा माओवादी नेताहरू भेट्न लखनऊ पुगेका माधवले आफू प्रधानमन्त्री भएको बेलामा प्रचण्डलाई रेखा थापासँंग नाच्न सडकमा जान नदिएको भए नेपालको इतिहासले त्यतिबेलै कोल्टे फेर्न सक्थ्यो । इतिहासको वेग कहिले पनि सोझो बाटो हानिँदैन । त्यतिबेला, कोइराला अस्वस्थमात्र थिएनन्, आफ्नी सुपुत्रीको ‘प्रमोसन’का लागि निकै चिन्तित थिए । माधवको निर्देशनमा सुपुत्रीले खासै उन्नति गरेको देखिएन । माधव नेतृत्वको त्यो सरकार शान्ति प्रक्रिया र संविधान लेखनमा सिन्को नभाँची बिदा भयो ।

वीरगन्जको ठाकुरराम कलेजमा अध्ययन गरेका माधवका पुर्खा रौतहटको सीमान्त गाउँका हुन् । पढाइ सकेर उनी जागिरको खोजमा विराटनगर पुगे । वीरगन्जमा उनका सहपाठी थिए, विमल श्रीवास्तव । उनी पञ्चायत व्यवस्थामा राजाका प्रभावशाली कार्यकर्ता मानिन्थे । यता, माधवमा थियो क्रान्तिकारी चेतना । उनी सीपी मैनालीको नाम सुनेर चमत्कृत भएका थिए । माधवले विराटनगरको नेपाल बैंक लिमिटेडमा नोट गन्न जान्ने (नोगजा) को जागिर पाए । जागिर खाँदाखाँदै उनले ‘क्रान्तिकारी कम्युनिष्ट संगठन’ (माले) मोरङको संगठन गरे । समानान्तरमा, झापामा सीपी मैनालीले नेपाल कम्युनिष्ट पार्टी, झापा जिल्ला संगठन चलाएका थिए । पछि, नेपालको माले र मैनालीको नेकपा मिलाएर कम्युनिष्ट कोअर्डिनेशन कमिटीको गठन भयो । यसको व्यवस्थापनको जिम्मा माधवलाई नै दिइएको थियो । त्यतिबेला सीपी मैनाली र माधव नेपालको तुलना चारु मजुमदार र उनका सहयोगी शरद दत्तसँंग गरिन्थ्यो । सीपी मैनाली चारु मजुमदारले जस्तै हतियार बनाउँथे, माधव नेपाल शरद दत्तले जस्तै हतियारमा साँध लगाउँथे ।


माधव नेपाल सांस्कारिक मानिस हुन् । उनमा परिवर्तनको भन्दा पनि ‘आफ्नो पक्षमा यथास्थितिवादको जगेर्ना गर्ने’ प्रवृत्ति छ । उनी प्रधानमन्त्री रहेका बेला उनका परिवारका सदस्य सबैले राम्रो जागिर पाएका हुन् । उनका भाइ विनोद उपाध्याय हङकङस्थित महावाणिज्यदूतमा नियुक्त भएका हुन् । यसका लागि नियमावली नै परिवर्तन गर्नुपरेको थियो । उनका अर्का भाइ अनील उपाध्यायले कृषि विकास बैंकमा अवसर पाए । कान्छा सरोज इन्जिनियरिङ काउन्सिलको अनुगमन समितिमा र बहिनी–ज्वाइँ कैलाश पोखरेल अमेरिकामा वाणिज्यदूत हुँदै विश्व बैंकको जागिरमा लागेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीमा केपी ओली माधवभन्दा निकै पछि आएका हुन् । मदन भण्डारीको दुःखद निधनपछि उनी सर्वाधिक लामो समय पार्टी सत्तामा रहे । उनकै पालामा नेपालका लागि अमेरिकी राजदूत जेम्स मोरियार्टीले एमालेको कार्यालय बल्खु भ्रमणमा रुचि देखाए । त्यतिबेला एमाले कार्यालयमा विचित्रको घटना भयो । पार्टी कार्यालयको भित्तामा टांगिएका मार्क्स, लेनिन, एंगेल्स, स्टालिन र माओका सबै तस्बिर निकालेर जर्ज वाशिङ्गटन, अब्राहम लिंकन, थमस जेफरसन र जोन एफ केनेडीको तस्बिर टांगिए । त्यसपछि मात्र राजदूत मोरियार्टीको बल्खु भ्रमण सम्पन्न भयो । नेपालको राजनीतिमा यो घटना स्मरणीय छ ।

नेपाली कम्युनिष्ट आन्दोलनका अग्रणी नेता स्व.मनमोहन अधिकारीप्रति पनि माधव नेपालको कुनै आदर–भाव देखिएको होइन । स्व.मदन भण्डारीले माधव नेपालको ‘मनमोहनलाई संसदीय दलको नेता बनाउन हुन्न’ भन्ने तर्कलाई इन्कार गर्दै आफू महासचिव र मनमोहनलाई अध्यक्ष तथा संसदीय दलको नेता बनाएका थिए । गिरिजाप्रसाद कोइरालाले सरकार विघटन गरेर घोषणा गरेको मध्यावधि चुनावमा एमाले सबैभन्दा ठूलो पार्टीका रूपमा संसदमा स्थापित भयो । कांग्रेसले राप्रपासंँग मिलेर गठबन्धन सरकार बनाउन रुचि नदेखाएपछि एमालेले अल्पमतको सरकार बनाउने भयो । एमालेमा स्वभावतः मनमोहन अधिकारी वरिष्ठ नेता थिए र उनी निर्वाचित थिए । देश–विदेशका नेताहरूसँंग सम्पर्कमा रहेका अधिकारी सबैतिरबाट ‘फराकिलो राजनीतिक मान्यता’ पाएका नेता थिए । त्यसैले एमालेमा संसदीय नेताका लागि अधिकारीबाहेक अन्य विकल्प थिएन । अधिकारी संसदीय दलका नेता चुनिए । तर राष्ट्रियसभा सदस्यका रूपमा चुनिएका माधव नेपालले उनलाई प्रधानमन्त्री पदमा यति खुम्च्याएर राखे कि अधिकारीले त्यसलाई जेनतेन धाने । उनी प्रधानमन्त्रीले गर्ने सम्पूर्ण निर्णय उपप्रधानमन्त्रीले गर्ने ‘माइन्युट’ गरेर पदमा गए । तर उनको त्यो प्रस्तुति शोभनीय देखिएन ।

केपी ओली र माधव नेपालको ‘रगडा’ २०५६ पछि चर्किन थालेको हो । २०५६ को चुनावपछि केपीले संसदीय दलको नेताको पद मागेका थिए, तर माधवले मानेनन् । पछि पनि केपीले ईश्वर पोखरेलको प्रस्तावमा उनलाई राष्ट्रपतिमा चुनाव लड्न अनुरोध गर्दा माधवले जवाफ दिएका थिए, ‘म बूढो भएको छु र ?’ माधवले आफैंले चाहिँ राष्ट्रपतिमा लालबाबु पण्डित, शान्ता चौधरी र महेश चौधरीको नाम सुझाएका थिए । माधवले राष्ट्रपति पद लिँदा उनको पखेटा खुम्चिने थियो । उनले संसारका प्रायः सबै देश घुमेका छन् । एउटै देश बाइस–पच्चीस पटक जाने नेता पनि उनै हुन् । ‘होली वाइन’ को चमत्कार देखाउने नेताको रूपमा पनि जगले उनलाई मानेको छ । माधवमा कुनै प्रकारको नसाको लत छैन । खानपानमा अनुशासित छन् । निरोगी छन् । समयमा सबैतिर पुग्छन् । उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ः अहिलेसम्म उनको हात माथि र कार्यकर्ताको हात तल परेको कसैलाई थाहा छैन । पार्टीका नाममा सुखभोग गर्ने नेताका रूपमा बनेको छ, उनको परिचय ।

माधवको पालामा एमालेले खासै उन्नति गर्न नसकेको बताउँछन्, एमालेजन । एमाले अधिकारीको नेतृत्वमा
संसदमा सबैभन्दा ठूलो दल बनेको थियो । संविधानसभाको पहिलो निर्वाचनमा त ३३ स्थानमा खुम्चियो, त्यतिबेला
माधव नै नेतृत्वमा थिए । संविधानसभाको दोस्रो निर्वाचनमा झलनाथ खनाल नेतृत्वमा पार्टीले ८० स्थान हात पार्‍यो ।

अहिले केपी नेतृत्वमा दुई तिहाइ ! अझ स्थानीय चुनावमा त एमाले एक्लैले ४५ प्रतिशत स्थान हात पार्‍यो । माधव नेपालमा एकपल्ट बहुमतको प्रधानमन्त्री र पार्टी अध्यक्ष बन्ने महत्त्वाकांक्षा छ । त्यो कसरी पूरा होला ? यो खेल सकिएको छैन । माधव निकट एक नेता बताउँछन्, ‘खेल त भर्खर सुरु भएको छ । हेर्दै जाऊँ । कहाँ–कहाँ के–के हुने हो । को–कोलाई के कस्तो असर पर्ने हो ।’ तर त्यस्तो देखिँदैन । माधव नेपाल पार्टी नेतृत्वमा रहुन्जेल चिनियाँ कम्युनिष्ट पार्टीसँंग एमालेको खासै मधुर सम्बन्ध थिएन । विश्लेषकहरू भन्छन्, ‘चिनियाँ कम्युनिष्ट पार्टीसँंग अहिलेको सम्बन्धको निर्माण दाहाल र ओलीले गरेका हुन् । यसमा अरु कसैको केही दायित्व र लगाव छैन ।’

प्रकाशित : आश्विन ९, २०७६ ०८:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?