२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

जागिरे सुत्केरीका जोल्टिङ

मञ्जु भट्ट

गर्भ बसेको नौ महिना पुगेपछि डाक्टरले नियमित चेकजाँचका लागि बोलाएकै दिन म र श्रीमान् जागिरबाट छुट्टी लिएर अस्पताल पुग्यौं । डाक्टरले बच्चा जन्मिने भनेको दिन परै थियो । सुरुदेखि नै पेटमा बच्चा उल्टो भएकाले डाक्टरले घर फर्किन दिएनन् । सीधै भने— अर्को दिन अपरेसन गर्नुपर्छ । म सामान्य थिएँ । व्यथा लागेको थिएन ।

जागिरे सुत्केरीका जोल्टिङ

अघिल्लो दिनसम्म स्कुल पढाउन गएकी थिएँ । त्यो दिन अतिरिक्त लुगाफाटो नबोकेकाले अर्को दिन आउँछु नि अनुरोध गरेँ । तर कसैले सुनेन । घर गई श्रीमान् चाहिने सामान लिएर फर्किनुभयो । राति नौ बजे थाहा भयो— कुनै पनि लोग्नेमानिसलाई अस्पतालभित्र बिरामीसँग बस्न नदिइने रहेछ । गाउँबाट एक दिनअघि मात्रै बूढी आमा आउनुभएको थियो । श्रीमान् फेरि घर गई आमालाई लिएर आउनुभयो ।


बाह्र घण्टाभन्दा बढी पेट खाली राखेर अर्को दिन अपरेसनका लागि लगियो । आफन्त आउन नमिल्ने कोठामा मलाई एक घण्टाभन्दा बढी स्लाइन चढाएर राखियो । लामो समयसम्म कोही नआउँदा मलाई त्यहाँ सुताएर बिर्से कि भन्ने डरले मुटु नै फुट्ला जस्तो भयो । अपरेसन गर्ने बेला भने डाक्टरले मसँग बोलिरहँदा डर कम भयो ।


बच्चा जन्मेपछि म बेडमा चौबीस घण्टाजति उत्तानो परेर पल्टिरहेंँ । पेट चिरिएकाले ओल्टिनकोल्टिन मिल्दैनथ्यो । दूधको निप्पल सानो रहेको र आफू कोल्टिन नसक्ने भएकाले बच्चाले दूध चुस्न सकेन । डाक्टर र नर्सले पनि कहिलेकाहीं आएर दूध चुसाउन खोज्नुबाहेक केही गरेनन् वा गर्न सकेनन् । देशकै सबैभन्दा ठूलो प्रसूतिगृहमा म सुत्केरी भएकी थिएँ । तैपनि बच्चाले दूध चुस्न नसकी ज्यान जोखिममा परेको देखेर तीन दिन गाडी चढेर सुत्केरी र बच्चा स्याहार्न भन्दै टाढाबाट आएकी आमा भक्कानिनुहुन्थ्यो ।


आफू पीडाले हलचल गर्न नसक्ने, बच्चा दूध चुस्न नसक्ने, आमा रोएर बस्ने ! पाँचौं दिन लडाइँमा घाइते सैनिकजस्तै भारी मनले हामी घर फर्कियौं । बच्चालाई दूध चुसाउन नसक्दा मनमुटु पोल्थ्यो । ओइलाउँदै गएको बच्चाको अनुहार हेरेर दिनमा कतिपल्ट रुन्थें । आमा र छोरी मिलेर पनि बच्चालाई दूध चुसाउन नसकेकामा आफूलाई नै दोषीजस्तै ठान्थें । निप्पल सानो र भित्र पसेकाले यस्तो भएको रहेछ, जुन मैले दोस्रो सन्तानको बेला मात्र थाहा पाएँ । निप्पल धेरै खाले हुँदा रहेछन्— सानो, धेरै ठूलो, बाहिरतिर चुच्चो परेको, भित्र पसेको, थोरै बाङ्गो, घोप्टो परेको । बच्चा गर्भमा हुँदादेखि नै आफ्नै दुइटा औंलाले निप्पलको आकार राम्रो बनाउन सकिने रहेछ । अहिले त निप्पललाई मेसिनले तानेर पनि दूध चुसाउन सजिलो बनाइने रहेछ । धेरैचोटि नियमित जाँच गराएकी भए पनि मलाई कुनै डाक्टरले यस्ता अत्यावश्यक कुरा सिकाएका थिएनन् ।


जन्मेको तेह्र दिनमा बच्चाले बल्ल निप्पल कसेर जोरले दूध चुस्यो । अनि मलाई आमा भएको महसुस भयो । बच्चाले दूध चुसेको खुसियालीमा आमा र म अँगालो हालेर धेरै बेर रोयौं ।


सुत्केरीका लागि सुरुको दुई महिना निकै महत्त्वपूर्ण हुने रहेछ । सामान्य सुत्केरीहरू सन्तुलित भोजनले मोटाएर खाइलाग्दा देखिन्छन् भने, अपरेसन गरिएकाहरूको पहिला लागेको ज्यान पनि घट्ने रहेछ । सामान्य सुत्केरी भएकाहरूले छतमा घाममा बसेर आफू र बच्चालाई तेल मालिस गरेको देख्दा मलाई पनि रहर लाग्थ्यो । आफू भने घाउ दुखेर तलमाथि गर्न सक्दिनथेँ । दुई महिनासम्म बच्चा र आमा कसैले पनि घाम देख्न पाएनौं । सुत्केरी बिदा दुई महिना मात्र थियो । स्कुल जानुभन्दा एक साताअघिदेखि मैले सडक निस्केर थोरै–थोरै हिंँड्ने प्रयास गरेकी थिएँ ।


बिदा सकिएपछि म स्कुल जान थालेँ । बिस्तारै हिँंड्दा पुग्न ढिलो हुने, जोडले हिंँड्दा पेटको घाउ दुख्ने । घरबाट छिट्टै हिँड्दा बच्चाले दिनभरि दूध खान पाउँदैन भनेर मन पोलिरहन्थ्यो । घरमा हुँदा प्रत्येक दुई–दुई घण्टामा दूध चुसाउने बानी भएकाले पहिलो दिनमै कुर्ता भिजेर लाज मर्नुभयो । कक्षामा चालीस विद्यार्थी भएकाले कक्षामा जोडले बोलेर पढाउनुपर्थ्यो, जसका कारण पेटको घाउ भतभती पोल्थ्यो ।


कहिले जाडो त कहिले दसैं बिदाको आशमा जागिर गरेरै मैले दुई बच्चा हुर्काएँ । पिठिउँमा दुई बच्चाको झोला बोक्दै, दुईतिर उनीहरूकै हात समाउँदै स्कुल जाँदा कतिपय मान्छे अचम्मसँग हेर्ने गर्थे । सहयोगको हात बढाउन नसक्ने कतिपय मानिस झोलाझाम्टासहित हिंँडी भनेर हाँस्नेसमेत गर्थे । एक वर्ष बिदा लिएर आफ्नो बच्चासँग घरमै बस्न, ऊसँग खेल्न, उसलाई भरपेट दूध खुवाउन कुनचाहिँ जागिरे सुत्केरी आमालाई रहर हुँदैन होला र ? तर त्यो चाहना मैले भने एक चोटि पनि पूरा गर्न सकिनँ । गरिब नेपालीलाई यस्तो सपना देख्ने अधिकार छैन सायद ! बिहानबेलुका हातमुख जोड्नका लागि हामीले आफ्ना कलिला बालबालिकाको स्वास्थ्यको ख्याल नगरी हिँंड्नुपर्ने बाध्यता छ । यो पीडा भोग्ने स्कुल–कलेज तथा विभिन्न संघसंस्थामा काम गर्ने प्रत्येक सुत्केरी महिलाले भोग्दै आएका छन् ।


कुनै पनि आमालाई जागिरसँगै आफ्ना सन्तान हुर्काउन धेरै सकस हुने गर्छ । नेसनल इन्स्टिच्युट अफ मेन्टल हेल्थ इन्फर्मेसन रिसोर्स सेन्टर (एनआईएमएच) युएसका अनुसार, सुत्केरीपछि महिलामा इस्ट्रोजेन तथा प्रोजेस्टेरोन हर्मोनको मात्रा छिटै घट्ने भएकाले मस्तिष्कमा रासायनिक परिवर्तन हुन्छ र शरीरलाई चाहिएजति आराम दिन नसक्दा १५ प्रतिशत सुत्केरी महिलाहरू डिप्रेसनमा जान सक्छन् । त्यस कारण सुत्केरीका बेला श्रीमान् लगायत परिवारका सदस्यको माया र साथको एकदमै जरुरत हुन्छ ।


भोलि गएर परिवार, समाज र देशकै लागि योगदान दिनसक्ने एउटा स्वस्थ बच्चा जन्माउन र हुर्काउनका लागि परिवार, कार्यालय, स्कुल–कलेजले कम्तीमा ६ महिनासम्म सुत्केरी आमालाई हरसम्भव सहयोग गर्नुपर्छ । अपवादबाहेक निजी तथा सरकारी कार्यालयहरूमा स्तनपान कक्षको व्यवस्था भएको देखिँदैन, जसका कारण बच्चालाई कार्यालयमा लगेर स्तनपान गराउन सम्भव भएकाहरूलाई पनि अप्ठेरो पर्दै आएको छ । स्वस्थ शिशु नै भोलिको देशको कर्णधार बन्न सक्छ । यसका लागि ‘सुनौला हजार दिन’ नारामै सीमित नराखेर बच्चा गर्भमा आएदेखि एक वर्षसम्मका सुत्केरी महिलाका लागि सधैं लागू गर्न सकियोस् ।

प्रकाशित : आश्विन ८, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?