गुणस्तरीय शिक्षाको भुलभुलैया

काठमाडौँ — विद्या यै नरको छ रूप भरिलो,

गुणस्तरीय शिक्षाको भुलभुलैया

यै सम्झ गुप्ती धन

विद्याले सुखभोग मिल्छ सहजै

सुध्रिन्छ भित्री मन ।

विद्या हो परदेशमा हित सखा

दरबारमा पुजिने,

यस्तो उत्तम रत्न लौ बटुल है !

पैसैबिना पाइने ।


सानै छँदा पढ्न प्रेरित गर्न बुबा हामीलाई यस्ता श्लोक सुनाउनुहुन्थ्यो । पण्डित जगन्नाथ उपाध्यायको ‘गुणरत्नमाला’ बाट लिइएको यस श्लोकको ‘पैसैबिना पाइने’ वाक्यांशभन्दा अरू कुरा अहिले पनि सान्दर्भिक लाग्छन् ।


शिक्षाको महत्त्व अब बहसको विषय रहेन, यो सर्वस्वीकार्य बनिसक्यो । तर कस्तो शिक्षा ? गुणस्तरीय र व्यावहारिक शिक्षाको रटान भएको धेरै भइसक्यो । तर हाम्रा लागि कस्तो शिक्षा आवश्यक छ ? विषयगत रूपमा उत्पादित जनशक्तिको माग र आपूर्ति कस्तो छ ? यसबारे खासै अध्ययन भएको छैन । आवश्यक जनशक्ति र उपलब्ध जनशक्तिको अद्यावधिक तथ्यांक उपलब्ध नभएपछि अध्ययनका विषयहरूबारे ठोस धारणा बन्न सक्दैन । यिनै जानकारी र तथ्यांकको अभावमा गुणस्तरीय शिक्षालाई अमूर्त रूपमा प्रयोग गरिएको पाइन्छ ।


वास्तवमा, गुणस्तरीय शिक्षा के हो ? बितेका ५ वर्षमा म कम्तीमा १५ पटक शिक्षक–अभिभावक छलफलमा सहभागी भएकी छु । अधिकांश अभिभावक विद्यालयमा अंग्रेजी बोलाइमा कडाइ गर्नुपर्ने सुझाव दिन्छन् । सायद अभिभावकको यसै मनोविज्ञानलाई ध्यानमा राखी धेरैजसो निजी विद्यालयले विद्यालय परिसरलाई ‘इंग्लिस स्पिकिङ जोन’ घोषणा गरेका छन् । विद्यालयमा नेपाली भाषामा बोलेबापत सजाय पाएका तथा त्यसबापत जरिवाना तिर्न बाध्य अभिभावक म आफै पनि हुँ । अतिरिक्त भाषा सिक्नु/जान्नु राम्रो हो ।


अंग्रेजी भाषाको व्यापकतासँगै यसमा जोड दिनु स्वाभाविकै होला, तर भाषामा मात्र केन्द्रित हुँदा केटाकेटीको समग्र सिकाइमा परेको नकारात्मक प्रभावबारे पनि सचेत हुनुपर्ला कि ? अंग्रेजीमा मात्र केन्द्रित हुँदा मातृभाषाको कुरो त परै जाओस्, निजी विद्यालयमा पढ्ने धेरै केटाकेटीको नेपाली पढाइ र लेखाइ पनि कमजोर भएको छ । हामीले अंग्रेजी भाषा बोल्न अनिवार्य गर्ने नाममा अन्य रचनात्मकताको अन्त्य गरी बोलाइमा वा भाषामा मात्र जोड दियौं कि ? यस सन्दर्भमा ‘हामीले राम्रो अंग्रेजीमा झुर कुरा लेख्ने कि, झुर अंग्रेजीमा राम्रो कुरा लेख्ने वा राम्रो नेपालीमा राम्रै कुरा लेख्ने ?’ अध्येता प्रत्यूष वन्तको भनाइ स्मरणीय छ ।


गुणस्तरीय शिक्षाको सन्दर्भमा परीक्षाको नतिजा र हाम्रो मनोविज्ञान एउटा समस्या हो । यस सन्दर्भमा एउटा अनुभव सेयर गर्न चाहन्छु । एक जना आफन्तको छोरा गत वर्ष एसईईमा सहभागी थियो । उसको पढाइ कमजोर छ भनेर अभिभावकहरू चिन्तित थिए । तर अचम्म नतिजामा ऊ ‘ए ग्रेड’ ल्याउन सफल भयो । कसरी ? मैले सोधेंँ । सबै विषयमा साथीको सारेको उसले गर्वसाथ सुनायो । हाम्रो परीक्षा प्रणाली यस्तै हो । बोलाइमा र गराइमा फरक हुन्छ ।


छोरा पढ्ने विद्यालयको प्रिन्सिपलले भन्नुभएको सम्झन्छु– ‘हामी प्रत्येक महिना विद्यार्थीको क्षमता परीक्षा लिन्छौं । विद्यार्थीको क्षमता परीक्षा भनिए पनि वास्तवमा यो विद्यार्थीमार्फत हाम्रा शिक्षकहरूको क्षमता जाँच हो ।’ तर जब परीक्षाको समय नजिक आउँछ, छोरा शिक्षक/शिक्षिकाले लेखाइदिएको ‘नोट’ कण्ठ गर्न व्यस्त हुन्छ । शिक्षकले लेखाइ दिएको हुबहु उत्तरपुस्तिकामा नसारेसम्म ‘एबिलिटी’ प्रमाणित हुन्थेन ।


कुन विद्यालयमा पढाउने छोराछोरी ? कमसेकम सरकारी जागिर भएकाहरूले छोराछोरीलाई सरकारी/सामुदायिक विद्यालयमै पढाउनुपर्ने जस्ता चर्चा चल्ने गरेको छ । यो नियम कुनै स्थानीय तहमा लागू भएको समाचार पनि पढेकी थिएँ । सहरी क्षेत्रमा बसेका जागिरेलाई यो कत्तिको व्यावहारिक हुन्छ ? म काठमाडौंको कुरा गरिरहेको छु ।


सामान्यतः साढे नौदेखि दस बजेभित्र कार्यालय पुगिसक्नुपर्छ । एक त घर/डेरा नजिकै सरकारी/सामुदायिक विद्यालय छैनन् । सबैमा यातायातको व्यवस्था हुँदैन । अर्को, सामुदायिक विद्यालयहरू १० बजे सुरु हुन्छन् । विद्यालय सुरु हुनुभन्दा १ घण्टाअघि बच्चालाई विद्यालय छाडेर कसरी जाने ? त्यहाँ हेरचाहको व्यवस्था हुँदैन ।


त्यस्तै विद्यालय ४ बजे छुट्टी हुन्छ । आफ्नो कार्यालय ५ बजे अर्थात् एक घण्टापछि । घर पुग्न झन्डै १ घण्टा लाग्छ । यस हिसाबले झन्डै २ घण्टा बच्चालाई कहाँ राख्ने ? काठमाडौंमा कोठा गरेर बस्ने एकल परिवार भएका जागिरेलाई यी विद्यालय कत्ति पनि व्यावहारिक छैनन् । अपवाद छाडेर अधिकांश सरकारी, सामुदायिक विद्यालयको पढाइ सन्तोषजनक छैन । सामुदायिक विद्यालयको अनुभव र आफूले सिकेको सम्झँदा–सम्झँदै बच्चालाई अहिलेकै अवस्थामा यस्ता विद्यालयमा पठाउन पनि नसकिने रहेछ ।


यस्तै अभिभावकलाई लक्षित गरी निजी विद्यालयहरू खोलिएका छन् । काठमाडौंका ठीकैका भनिने निजी विद्यालयमा बच्चा पढाउँदा मासिक १५ हजार रुपैयाँजति पर्छ, यातायात सुविधासहित गरेर । काठमाडौंमा घर नहुनेका लागि घरभाडा झन्डै १५ हजार । बिहान–बेलुकाको खाना, लुगाफाटो, अफिस जाँदा–आउँदाको खर्च, चाडबाड, बिहे, व्रतबन्ध जस्ता सामाजिक कार्यमा सहभागिताको कुरा छ । कसरी पुर्‍याउने ? अन्य मनोरञ्जनको कुरो त परै जाओस्, घरमा कोही बिरामी परे के गर्ने ?


संविधानको प्रस्तावनामार्फतै समाजवादप्रति प्रतिबद्ध रहेको देशमा विभिन्न वर्गका लागि आर्थिक हैसियत अनुसारका विद्यालय सञ्चालनमा छन् । सायद ती विद्यालयले शुल्क अनुसारकै क्षमता भएका जनशक्ति उत्पादन गर्लान् । त्यसै अनुसारको रोजगारीका अवसर उपलब्ध होलान् । यसले संविधानको प्रस्तावनाविरोधी वर्गीय खाडल फराकिलो बनाउने बाहेक के गर्ला र ? म जस्तै धेरै अभिभावक अहिले गुणस्तरीय शिक्षाको भुलभुलैयामा अल्झेका छौं ।


प्रकाशित : आश्विन ६, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?