कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

महिलामय गाउँघर

सुजाता तामाङ

नेपाली अर्थतन्त्र कृषिमा आधारित छ र जनसंख्याको ठूलो हिस्सा कृषिकर्ममै संलग्न छ तर सिंगो कृषिक्षेत्र द्विविधामा छ । हामी दैनिक उपभोग्य खाद्यान्न, लत्ताकपडालगायत सुनदेखि नुनसम्म, मुलुकमै उत्पादन हुन सक्ने वस्तुसमेत आयात गर्छौं । त्यो पनि ठूलो परिमाणमा ! अर्कातिर हाम्रो अहिलेको मुख्य निर्यात श्रमिक युवा बनेका छन्, जो लाखौंको संख्यामा विदेशमा रगतपसिना बगाइरहेका छन् । यसैका आधारमा हाम्रो अर्थतन्त्र टिकेको छ र यो निर्भरता दिन–प्रतिदिन बढ्दो छ । 

महिलामय गाउँघर

बढ्दो सहरी जीवनपद्धतिप्रतिको आकर्षण, घट्दो जमिनको उत्पादनशीलता, अर्थ तथा श्रमको लगानीभन्दा कम उत्पादन, सेवासुविधाका लागि बढ्दो नगदको आवश्यकता, भूमण्डलीकरण, सूचनामा पहुँच र विगतका द्वन्द्व तथा राजनीतिक अस्थिरताका कारण उत्पन्न समाजिक असुरक्षा आदिका कारण ग्रामीण जनजीवनमा व्यापक फेरबदल आएको छ । गाउँघरको चालचलन, रहनसहन र खानपानमा परिवर्तन आएको छ । लगभग सबै घरमा ग्यास चुला र टीभी छन् । सबैजसोका हातमा मोबाइल छन् ।


गाउँमा रेमिटेन्स भित्रिन थालेपछि घरायसी उपभोग्य वस्तुको माग व्यापक रूपमा बढेको छ । खास गरी रेमिटेन्स प्राप्त गर्ने परिवारका सदस्यहरूले सहरी जीवनशैली अपनाउन थालेका छन्, जसको सिधा प्रभाव खाद्य वस्तुको आयात वृद्घिमा देख्न सकिन्छ । अहिले १५० भन्दा बढी देशबाट २०० भन्दा बढी प्रकारका खाद्यान्न तथा दैनिक उपभोगका सामान नेपाल भित्रिरहेका छन्, जसमा गत आर्थिक वर्षमा मात्रै झन्डै १ खर्ब ४० अर्ब खर्च भएको छ । आयातित खाद्यान्न तथा घरायसी सरसामानको बजार विस्तारसँगै गाउँमा नगदको आवश्यकता दिनदिनै बढ्दो छ । भान्सामा रैथाने उत्पादन मकै, कोदो, तरकारी तथा फलफूलको सट्टा आयातित खाद्यपदार्थको मुख्य हिस्सा छ । तीमध्ये पनि पत्रु खानाको खपत अझै बढी भएको छ ।


युवावर्गको कृषिप्रतिको आकर्षण दिनदिनै घट्दो छ । एकातिर खेतीपातीबाट लगानीअनुसारको आम्दानी भएको हुँदैन भने अर्कातिर यसबाट दैनिक आवश्यकताका लागि पर्याप्त नगदसमेत जुटाउन सकिँदैन । किसानले लगाएका विभिन्न बाली र बस्तुभाउको उत्पादन लागत विश्लेषण गर्दा किसानको श्रमको मूल्य राख्ने हो भने लागत बराबरको आम्दानी कुनै उत्पादनबाट पनि आउँदैन ।


अचेल गाउँघरमा धेरैजसो महिला, वृद्धवृद्धा र केटाकेटी मात्र छन् । केही हदसम्म विद्यालयबाहिरको समयमा बालबालिकाले सहयोग गर्ने भए पनि सम्पूर्ण खेतीपाती, बस्तुभाउ, घरायसी काम र घरका अन्य बालबालिका तथा वृद्धवृद्धाको हेरचाह मुख्यत: यिनै महिलाको जिम्मामा छ । साथै, आधुनिक भनिने सहरिया जीवन पद्धतिप्रतिको आकर्षणले गर्दा सहरी क्षेत्रमा बसाइँसराइ ह्वात्तै बढेको छ । नगदका आवश्यकताले गैरकृषि क्षेत्रमा संलग्नता निरन्तर बढ्दो छ । गाउँघर उजाड हुने गरी युवा खास गरी पुरुष पलायन गाउँको नियति बनेको छ, जुन गाउँको दुर्भाग्यको दुश्चक्र पनि हो ।


गाउँबाट पुरुष बाहिरिँदा कृषि श्रमिकको अभाव भएको छ, जसले गर्दा महिला परम्परागतसहित थप भूमिका लिन बाध्य छन् । महिलाहरूले मात्र सबै खेतीयोग्य जमिनको व्यवस्थापन गर्न नसक्दा बाँझो जमिन बढ्दै गएको छ । जमिन बाँझो छोड्नाले स्थानीय उत्पादनमा कमी आई खाद्यान्न आयात तथा खाद्य असुरक्षामा व्यापक वृद्धि भएको छ । खाद्य असुरक्षा र बढ्दो नगदको माग नै अहिले लगातार युवा बाहिरिनुको कारक बनेको छ । यो नेपालको ग्रामीण भेगमा विगत दशकदेखि निरन्तर भइरहेको प्रक्रिया हो र यो क्रम दिन–प्रतिदिन बढ्दो छ ।


गाउँघरमा महिलाले दैनिक रूपमा दोहोरिने घरव्यवहार र हेरचाहका काम निरन्तर गरिआएका छन् । यस्ता घरायसी काममा श्रम धेरै लाग्ने भए पनि यसबाट आर्थिक उपार्जन नहुने हुँदा महिलाहरूले गरेका यी कामको महत्त्व देखिँदैन । यसमाथि यी नियमित घरव्यवहारका कामसँगै पुरुष सदस्यहरूको अनुपस्थितिमा महिलाहरूले घरायसी (कृषिसहित) तथा सामाजिक काममा बढी भूमिका निभाउनुपर्ने भएको छ । यसरी परम्परागत रूपमा घरपरिवारले गर्दै आएको खेतीपाती तथा बस्तुभाउको व्यवस्थापन गर्न नसक्दा एकातिर उत्पादन घटेको छ भने अर्कोतर्फ खेतीयोग्य जमिन बाँझो रहने क्रम बढिरहेको छ ।


मुख्य रूपमा पछिल्लो एक दशकमा जमिन बाँझो हुने दर बसाइँसराइ क्रमसँगसँगै बढेको छ । वैदेशिक रोजगारीमा जानेका परिवार, बेरोजगार युवा तथा निजी विद्यालय तथा उच्च शिक्षाका विद्यार्थी सहरी बसाइँसराइमा बढी छन् । यस्तो बसाइँसराइ नजिकको सहरी क्षेत्र, तराई वा राजमार्ग वरिपरि हुने गरेको छ ।


ग्रामीण समाजमा आएका फेरबदलले महिलाहरूको परम्परागत भूमिकासमेत फेरिँदै आएको छ । परिणामत: घरायसी तथा खेतीपातीका काममा महिलाको संलग्नता, सक्रियता, निर्णयमा पहुँच र क्षमतासमेत बढेको छ तर धेरै परिवारका महिला भने त्यस्तो क्षमता भए पनि निर्णय अधिकारबाट भने वञ्चित छन् । उदाहरणका लागि जब पुरुषहरू बाहिरिन्छन्, महिलाहरूले घरमूली हुने अनुभव त पाउँछन् तर पुरुषहरू नै देश बाहिरबाट समेत महत्त्वपूर्ण र ठूला निर्णय गर्ने आदेश दिन्छन् । महिलाहरू भने फोन गरेरै भए पनि सोधेर मात्र निर्णय लिने गर्छन् ।


यसो हुनुमा एकातिर पुस्तौंदेखि रहेको पितृसत्तात्मक सामाजिक संरचना र पुरुषप्रधान मूल्यमान्यता जिम्मेवार छन् भने अर्कातिर अनपेक्षित रूपमा ह्वात्तै बढेको सामाजिक–आर्थिक परिवर्तनलाई आत्मसात् गरी नीतिगत, संस्थागत तथा संरचनागत ढाँचामा गरिनुपर्ने परिमार्जनसमेत हुन सकेको छैन । फलस्वरूप, गाउँघरमा भएको महिलाकरण अहिले महिलाका लागि बोझ भएको छ ।


त्यसो त सामाजिक तथा आर्थिक क्षेत्रमा बढ्दो संलग्नता, सक्रियता र पहुँचसँगै महिलाहरू केही हदसम्म बोल्न सक्ने, हकअधिकारका कुरा गर्न सक्ने भएका छन् । मुख्यत: घरायसी आर्थिक व्यवहार र सामाजिक गतिविधिमा पहुँच बढेको छ, महिलाहरूको जीवनयापनका क्षेत्रमा सीप र क्षमतामा विकास भएको छ । सरकारी तथा राजनीतिका क्षेत्रमा प्रतिनिधित्व उलेख्य बढ्नुका साथै महिला सशक्तीकरणको चेतनामा केही सकारात्मक वृद्घिसमेत भएको छ तर यस्तो प्रभाव भने फरक समुदाय, वर्ग र क्षेत्रमा फरक फरक रहेको छ ।


यी केही सकारात्मक प्रभाव देखिए पनि समग्रमा आम गरिब, विपन्न र सीमान्तकृत ग्रामीण महिलाको जीवनमा तात्त्विक भिन्नता भने देखिएको छैन । बरु अहिलेको पुरुष पलायन र यसले निम्त्याएको सहरी संक्रमण यी महिलाका लागि निकै कष्टकर र बोझिलो भएको छ । एकातिर गाउँमै बस्न बाध्य महिला कार्यबोझ र थपिएका नयाँ जिम्मेवारीले झनै थलिएका छन् भने अर्कोतर्फ अपर्झट सहरी (नयाँ) सामाजिक, सांस्कृतिक र आर्थिक परिवेशमा आइपुगेका महिला अलमल, असुरक्षा र उत्पीडनको सिकार भएका छन् ।


पुरुष पलायनका कारण सिर्जित महिलाको कार्यबोझ र बाँझो जमिनका कारण बढिरहेको खाद्य असुरक्षा अहिले ग्रामीण जीवन पद्धतिका मूल समस्या हुन्, जसको उपयुक्त सम्बोधनबिना गाउँ उजाडिने क्रम रोक्न सकिँदैन । यसरी गाउँ रित्तिने र बढ्दो सहरीकरणले हाम्रो समृद्धि सपनामा समेत प्रश्न उठेको छ । के नेपालले औद्योगिक विकासमा आधारित सहरी जीवन पद्धति आफ्नै बलबुतामा समाल्न सक्छ ? यस्तो औद्योगिक विकासमा आधारित सहरी जीवन पद्धति सम्भव बनाउने आम्दानी र रोजगारीका क्षेत्र के हुन् ? अहिलेकै जस्तो वैदेशिक रोजगारीको निर्भरताले यस्तो जीवनशैली कहिलेसम्म सम्भव होला ? भावी पुस्ताका यी यक्ष प्रश्नले हामीलाई ग्रामीण समाजको महिलाकरणको नेपाली समाजमा पर्ने बृहत् प्रभावको जरोसम्म पुग्न र हाम्रै विशेषतामा नेपालको समृद्धिको सपना देख्न सिकाउला कि ?

प्रकाशित : आश्विन ५, २०७६ ०८:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?