कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

म त बोल्न थालें, तपाईं नि ?

उषा थपलिया

एकदिन सफा टेम्पोमा यात्रा गर्दै थिएँ । शृङ्गारले धपक्क बलेकी यात्रारत एक आधुनिक युवती जंक फुड खाँदै थिइन् । खाएपछि कष्टसाथ झ्यालको सिसा पर सार्दै खाली खोल फुत्त सडकमा मिल्काइन् । टेम्पोमा खचाखच यात्रु थिए । कोही बोलेनन् । हेरेँ, उनको साथमा ठूलो व्याग थियो । मैले मुख फोरेँ, ‘बैनी ! यति ठूलो व्याग बोक्नुभएकै छ, खाली खोल व्यागको कुनातिर राखेको भए सडक फोहोर हुने थिएन नि ।’

म त बोल्न थालें, तपाईं नि ?

उनी सकपकाइन्, तर जवाफ दिने शब्द भेटिनन् । कुनै अर्को दिन बसमा यात्रारत एक युवक सँंगैको सिटमा थिएँ म । कानमा एयरफोन लगाएर उनी आफैंमा मग्न थिए । गोजीबाट सानो प्याकेट खै के निकाल्दै मुखमा हाले र खाली खोल निश्चिन्त सडकमा हुत्याए । उनको साथमा पनि झोला थियो । नबोली बस्नै सकिनँ । ‘गोजीबाट निकालेको खोल गोजीमै अटिहाल्थ्यो नि भाइ, झोला पनि छ, तपाईसंँग । यस्तै स–साना प्याकेटहरूले हो नि सबैभन्दा बढी समस्या सिर्जना गर्ने ।’ उनी पनि नाजवाफ भए । वातावरण र सरसफाइ सम्बन्धमा भर्खरका युवायुवतीको त यो हाल छ भने अरुको के होला ? सहर/सडक सफा राख्ने कुरामा सबै नागरिकको सचेतना मिसिएन भने सरकारको प्रयत्नले मात्रैले परिवर्तन आउँदैन । देशप्रति चिन्तनशील नागरिक सबैले सार्वजनिक सरोकारमा चासो लिनैपर्छ । आफ्नो तहबाट हुनेसम्मको सुधारका लागि प्रयास गर्नैपर्छ । तर काममा उत्रिने जागरुकता त परको कुरा, कसैले कुनै गलत काम गरिरहेको देख्दादेख्दै पनि त्यस विरुद्ध बोलिहाल्ने बानी छैन हाम्रो ।


गलत कामको विरुद्ध नबोल्नु आफूभित्र रहेको नागरिक जिम्मेवारीप्रति बेवास्ता दर्शाउनु हो या त आफू स्वयंसमेत सोही खाले कमजोरीबाट मुक्त नभएको स्वीकार्नु हो । हुन त, बोल्न त्यति सजिलो हुँदैन । जे कुराको विरुद्धमा बोल्नुपर्ने हो, व्यवहारमा त्यसबारे आफैं चुकेको अवस्था भए, बोल्नु कसरी ? कसैको निस्क्रियता विरुद्ध बोल्दा पहिला आफैं सक्रिय हुनुपर्‍यो, अनियमितता विरुद्ध बोल्दा आफू नियमबद्ध हुनुपर्‍यो, भ्रष्टाचार विरुद्ध बोल्न पहिला आफू इमानदार/सदाचार हुनुपर्‍यो । सार्वजनिक स्थलमा हुने गलत कामका विरुद्ध नागरिक तहले मौनता साँध्नुको मूल कारण आफ्नै भूमिकाप्रति आत्मविश्वास नभएर हो कि जस्तै देखिन्छ । कुरा राजधानीको सरसफाइमै केन्द्रित गरौं । सवारी साधनका यात्रुहरू हुन् वा बटुवा अधिकांशले आफ्नो साथमा व्यवस्थापन गर्न सकिने फोहोर पनि निर्धक्क सडकमा फ्याँकेको दृश्य नौलो लाग्दैन । अझ नजिकै डस्टबिन हुँदा पनि फोहोर सडकमै फ्याँकिएको हुन्छ ।


कसैले जानी–जानी वा अनजानवश गरेको त्यस्ता कामहरूप्रति देख्ने जोकोहीले तत्क्षण सचेत गराउने हो भने बुझ पचाउने वा अन्जान दुवै खाले चरित्रमा पक्कै सुधार आउँछ । तर आफ्नो सामुन्ने हुने गरेका त्यस्ता कामप्रति अरु कसैले बोलेर सचेत बनाएको मैले पाएको छैन । गल्ती काम विरुद्ध बोल्नु र मौनता साँध्नुमा निकै अन्तर रहन्छ । मौनताले गतल कदमलाई प्रोत्साहन गर्छ । माथि उल्लेखित टेम्पो र बसका युवायुवतीले जसरी निर्धक्क सडकमा फोहोर फ्याँके, कसैको सचेतनापछि अर्कोपटक धक फुकाएर सोही गल्ती दोहोर्‍याउन ती दुवैलाई सजिलो नहोला । आफ्नो काम उचित नभए जोसुकैबाट निगरानी हुँदोरहेछ भन्ने थाहा पाएपछि गलत दोहोर्‍याउने हिम्मत स्वभावैले घटिसक्छ । कथंकदाचित दोहोर्‍याइहालेको खण्डमा त्यतिबेला पनि बोलिदिने मान्छे भयो भने उक्त व्यक्ति अरुका अगाडिमात्र भए पनि संयमित हुन करै लाग्छ ।


कतिपय व्यक्ति यस्ता पनि हुन्छन्, जो आफ्नो आलोच्य कर्मप्रति पूर्णतया बेखबर हुन्छन् । तर ठूला कुरा गर्न र अरुलाई सुझाव दिन सधैं अगाडि रहन्छन् । मान्छेको जत्था देखिने प्राय: ठाउँहरूमा सडक/सहर सफा हुन नसकेकोप्रति क्षोभ प्रकट भैरहेको सुनिन्छ । वातावरण सुधार्न सरकारले यसो गर्नुपर्थ्यो, उसो गर्नुपर्थ्यो । चियाको सुर्कोसंगै निस्किएका ती आवाजहरू सुन्दा लाग्छ, सबैमा सल्लाहकार हुने योग्यता प्रचुर छ । तर गफको रन्कोमा आफ्नो हातको प्लाष्टिक कप सडकमा हुत्तिसकेको तिनीहरू स्वयंलाई हेक्का हुँदैन । जहाँ फोहोर फाल्न मनाही लेखिएको हुन्छ, त्यहीं सबैभन्दा बढी फोहोर थुप्रिएको हुन्छ । नगरपालिकाले सडक सफा बनाइसकेपछि आफ्ना घरभित्रका फोहोर लगेर थुपार्ने प्रवृत्ति उस्तै छ । यी सबै हुनुमा सरसफाइप्रति सचेतनाको कमीसँगै नागरिकमा रहेको अटेरपन जिम्मेवार छ । साथै ती दृश्य देखेर पनि नदेखेझैं गर्ने सचेत व्यक्तिहरूको भूमिकासमेत कम आलोच्य छैन ।

नागरिकहरूका यस्तै व्यवहारका कारण राजधानीको फोहोर, नियामक निकायका लागि सधैं टाउको दुखाइको विषय बन्ने गर्छ । फोहोरकै कारण उत्पन्न बेला–बेलाका अन्तरसंघर्ष, ल्यान्डफिल्ड साइडबासीका विरोध र महिना दिनसम्म फोहोर नउठेर दुर्गन्धित बनेको सहरजस्ता अप्रिय दृश्यहरूले देशभित्र त समस्या सिर्जना गरेकै छ, फोहोरको सहर भनेर अन्तर्राष्ट्रिय पहिचान पाएको अवस्थासमेत राजधानीले झेलिरहेको छ । फोहोर व्यवस्थापनमा नागरिकको हेलचेक्र्याइँकै कारण राजधानीका नदीनाला, ढलको निकासबाट माथि उठ्नसकेका छैनन् । मुख्य सचिवकै नेतृत्वमा गानबजान र व्यापक जन–सहभागिताका साथ वागमती सफाइ अभियानले तीन सय हप्ता उहिल्यै पार गरिसक्यो । यथोचित उपलब्धि हासिल हुनसकेको छैन ।


सन् २०२० लाई नेपाल भ्रमणवर्ष घोषणा गरेर २० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने लक्ष्य सरकारको छ, जसका लागि राजधानी बाहिरका विमानस्थलसमेत सुचारु गरिने चर्चा छ । अवतरण जहाँ गरे पनि राजधानी आइपुगेका पर्यटकलाई हाम्रो कमजोर फोहोर व्यवस्थापन प्रवृत्तिले प्रभावित नगर्ला भन्न सकिन्न । सरकार स्वयं यसप्रति गम्भीर देखिएको छैन । सरसफाइमा प्रभावकारी योजना संँगसंँगै नागरिकलाई सचेत बनाउनेतिर पनि राज्यको ध्यान जानुपर्ने हो । सरसफाइमा नमुना रहेका देशहरूमा प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी कसरी स्वस्फुर्त निर्वाह गरिरहेका छन्, त्यसको चर्चा बारम्बार भइरहन्छ । तर ती अभ्यास नेपालमा हुनसकेको छैन, न त सरकारले नै गराउने कदम चालेको छ । नागरिक तहलाई निश्चित प्रणालीमा अभ्यस्त बनाउन सुरुमा नियम, दण्ड, जरिवाना तथा प्रोत्साहन आदि उपायको समेत खाँचो पर्छ । त्योभन्दा पहिला सरकारकै काम र योजना व्यवहारमा देखिनुपर्छ । यतिबेला नेपाल भ्रमणवर्ष २०२० लाई सफल पार्ने नारासहितका पोष्टहरूले अधिकांश नेपालीका सामाजिक सञ्जालका भित्ता रंगिएका देखिन्छन् । राष्ट्रिय कार्यक्रम प्रचारका लागि यो जनस्तरको प्रशंसनीय सहभागिता हो । पर्यटकलाई आकर्षित गर्ने नेपालीहरूको यो स्वस्फुर्त सहभागिता अब सभ्य, सफा तथा सुसंस्कृत प्रणाली बसाउने क्रममा पनि देखिनुपर्छ ।


देशभित्रको अस्तव्यस्त र बेथितिजन्य अवस्थाका कारण एक सचेत नागरिकले गर्नुपर्ने र बोल्नुपर्ने दायित्व पाइलैपिच्छे भेटिन्छ । सरकारको काम प्रभावकारी नभएको गुनासो हामी गरिरहन्छौं । तर हामी आफैंले आफ्नो नागरिक जिम्मेवारी कति निर्वाह गरिरहेका छौं, त्योबारे सोच्दैनौं । कतै हामीहरूकै स्वभाव, चरित्र र निस्क्रियता सरकारमार्फत प्रतिविम्बित भएको त हैन ? ठूला काम त परै छोडौं, कसैले गरिरहेको गलत कदमबारे बोलेर सचेत पार्ने क्रममात्र बस्यो भने पनि थोरै समयमा ठूलो उपलब्धि हासिल हुनसक्छ । किनकि सर्वप्रथम आफ्नो कर्तव्य निर्वाह नगरी कुनै व्यक्ति अरुको गलत कदमप्रति बोल्ने तहमा उक्लिन सक्दैन । अरुलाई सुधार्न मात्र हैन, आफ्नै चरित्रका दृष्टिदोष हटाउन पनि बोल्ने क्रमले निक्कै मद्दत पुर्‍याउँदो रहेछ, यो मेरो आफ्नै अनुभव पनि हो । देखेजति गलत क्रियाकलापको विरुद्ध म निर्भीक भएर बोल्न थालेको छु, तपाईं कहिले थाल्ने ? हामी सबै नागरिकको यो जुझारु क्रमले सरकारलाई पनि सही मार्गमा डोर्‍याउँछ कि ?

प्रकाशित : आश्विन ४, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?