म त बोल्न थालें, तपाईं नि ?

उषा थपलिया

एकदिन सफा टेम्पोमा यात्रा गर्दै थिएँ । शृङ्गारले धपक्क बलेकी यात्रारत एक आधुनिक युवती जंक फुड खाँदै थिइन् । खाएपछि कष्टसाथ झ्यालको सिसा पर सार्दै खाली खोल फुत्त सडकमा मिल्काइन् । टेम्पोमा खचाखच यात्रु थिए । कोही बोलेनन् । हेरेँ, उनको साथमा ठूलो व्याग थियो । मैले मुख फोरेँ, ‘बैनी ! यति ठूलो व्याग बोक्नुभएकै छ, खाली खोल व्यागको कुनातिर राखेको भए सडक फोहोर हुने थिएन नि ।’

उनी सकपकाइन्, तर जवाफ दिने शब्द भेटिनन् । कुनै अर्को दिन बसमा यात्रारत एक युवक सँंगैको सिटमा थिएँ म । कानमा एयरफोन लगाएर उनी आफैंमा मग्न थिए । गोजीबाट सानो प्याकेट खै के निकाल्दै मुखमा हाले र खाली खोल निश्चिन्त सडकमा हुत्याए । उनको साथमा पनि झोला थियो । नबोली बस्नै सकिनँ । ‘गोजीबाट निकालेको खोल गोजीमै अटिहाल्थ्यो नि भाइ, झोला पनि छ, तपाईसंँग । यस्तै स–साना प्याकेटहरूले हो नि सबैभन्दा बढी समस्या सिर्जना गर्ने ।’ उनी पनि नाजवाफ भए । वातावरण र सरसफाइ सम्बन्धमा भर्खरका युवायुवतीको त यो हाल छ भने अरुको के होला ? सहर/सडक सफा राख्ने कुरामा सबै नागरिकको सचेतना मिसिएन भने सरकारको प्रयत्नले मात्रैले परिवर्तन आउँदैन । देशप्रति चिन्तनशील नागरिक सबैले सार्वजनिक सरोकारमा चासो लिनैपर्छ । आफ्नो तहबाट हुनेसम्मको सुधारका लागि प्रयास गर्नैपर्छ । तर काममा उत्रिने जागरुकता त परको कुरा, कसैले कुनै गलत काम गरिरहेको देख्दादेख्दै पनि त्यस विरुद्ध बोलिहाल्ने बानी छैन हाम्रो ।

गलत कामको विरुद्ध नबोल्नु आफूभित्र रहेको नागरिक जिम्मेवारीप्रति बेवास्ता दर्शाउनु हो या त आफू स्वयंसमेत सोही खाले कमजोरीबाट मुक्त नभएको स्वीकार्नु हो । हुन त, बोल्न त्यति सजिलो हुँदैन । जे कुराको विरुद्धमा बोल्नुपर्ने हो, व्यवहारमा त्यसबारे आफैं चुकेको अवस्था भए, बोल्नु कसरी ? कसैको निस्क्रियता विरुद्ध बोल्दा पहिला आफैं सक्रिय हुनुपर्‍यो, अनियमितता विरुद्ध बोल्दा आफू नियमबद्ध हुनुपर्‍यो, भ्रष्टाचार विरुद्ध बोल्न पहिला आफू इमानदार/सदाचार हुनुपर्‍यो । सार्वजनिक स्थलमा हुने गलत कामका विरुद्ध नागरिक तहले मौनता साँध्नुको मूल कारण आफ्नै भूमिकाप्रति आत्मविश्वास नभएर हो कि जस्तै देखिन्छ । कुरा राजधानीको सरसफाइमै केन्द्रित गरौं । सवारी साधनका यात्रुहरू हुन् वा बटुवा अधिकांशले आफ्नो साथमा व्यवस्थापन गर्न सकिने फोहोर पनि निर्धक्क सडकमा फ्याँकेको दृश्य नौलो लाग्दैन । अझ नजिकै डस्टबिन हुँदा पनि फोहोर सडकमै फ्याँकिएको हुन्छ ।

कसैले जानी–जानी वा अनजानवश गरेको त्यस्ता कामहरूप्रति देख्ने जोकोहीले तत्क्षण सचेत गराउने हो भने बुझ पचाउने वा अन्जान दुवै खाले चरित्रमा पक्कै सुधार आउँछ । तर आफ्नो सामुन्ने हुने गरेका त्यस्ता कामप्रति अरु कसैले बोलेर सचेत बनाएको मैले पाएको छैन । गल्ती काम विरुद्ध बोल्नु र मौनता साँध्नुमा निकै अन्तर रहन्छ । मौनताले गतल कदमलाई प्रोत्साहन गर्छ । माथि उल्लेखित टेम्पो र बसका युवायुवतीले जसरी निर्धक्क सडकमा फोहोरफ्याँके, कसैको सचेतनापछि अर्कोपटक धक फुकाएर सोही गल्ती दोहोर्‍याउन ती दुवैलाई सजिलो नहोला । आफ्नो काम उचित नभए जोसुकैबाट निगरानी हुँदोरहेछ भन्ने थाहा पाएपछि गलत दोहोर्‍याउने हिम्मत स्वभावैले घटिसक्छ । कथंकदाचित दोहोर्‍याइहालेको खण्डमा त्यतिबेला पनि बोलिदिने मान्छे भयो भने उक्त व्यक्ति अरुका अगाडिमात्र भए पनि संयमित हुन करै लाग्छ ।

कतिपय व्यक्ति यस्ता पनि हुन्छन्, जो आफ्नो आलोच्य कर्मप्रति पूर्णतया बेखबर हुन्छन् । तर ठूला कुरा गर्न र अरुलाई सुझाव दिन सधैं अगाडि रहन्छन् । मान्छेको जत्था देखिने प्राय: ठाउँहरूमा सडक/सहर सफा हुन नसकेकोप्रति क्षोभ प्रकट भैरहेको सुनिन्छ । वातावरण सुधार्न सरकारले यसो गर्नुपर्थ्यो, उसो गर्नुपर्थ्यो । चियाको सुर्कोसंगै निस्किएका ती आवाजहरू सुन्दा लाग्छ, सबैमा सल्लाहकार हुने योग्यता प्रचुर छ । तर गफको रन्कोमा आफ्नो हातको प्लाष्टिक कप सडकमा हुत्तिसकेको तिनीहरू स्वयंलाई हेक्का हुँदैन । जहाँ फोहोर फाल्न मनाही लेखिएको हुन्छ, त्यहीं सबैभन्दा बढी फोहोर थुप्रिएको हुन्छ । नगरपालिकाले सडक सफा बनाइसकेपछि आफ्ना घरभित्रका फोहोर लगेर थुपार्ने प्रवृत्ति उस्तै छ । यी सबै हुनुमा सरसफाइप्रति सचेतनाको कमीसँगै नागरिकमा रहेको अटेरपन जिम्मेवार छ । साथै ती दृश्य देखेर पनि नदेखेझैं गर्ने सचेत व्यक्तिहरूको भूमिकासमेत कम आलोच्य छैन ।

नागरिकहरूका यस्तै व्यवहारका कारण राजधानीको फोहोर, नियामक निकायका लागि सधैं टाउको दुखाइको विषय बन्ने गर्छ । फोहोरकै कारण उत्पन्न बेला–बेलाका अन्तरसंघर्ष, ल्यान्डफिल्ड साइडबासीका विरोध र महिना दिनसम्म फोहोर नउठेर दुर्गन्धित बनेको सहरजस्ता अप्रिय दृश्यहरूले देशभित्र त समस्या सिर्जना गरेकै छ, फोहोरको सहर भनेर अन्तर्राष्ट्रिय पहिचान पाएको अवस्थासमेत राजधानीले झेलिरहेको छ । फोहोर व्यवस्थापनमा नागरिकको हेलचेक्र्याइँकै कारण राजधानीका नदीनाला, ढलको निकासबाट माथि उठ्नसकेका छैनन् । मुख्य सचिवकै नेतृत्वमा गानबजान र व्यापक जन–सहभागिताका साथ वागमती सफाइ अभियानले तीन सय हप्ता उहिल्यै पार गरिसक्यो । यथोचित उपलब्धि हासिल हुनसकेको छैन ।

सन् २०२० लाई नेपाल भ्रमणवर्ष घोषणा गरेर २० लाख पर्यटकलाई नेपालमा स्वागत गर्ने लक्ष्य सरकारको छ, जसका लागि राजधानी बाहिरका विमानस्थलसमेत सुचारु गरिने चर्चा छ । अवतरण जहाँ गरे पनि राजधानी आइपुगेका पर्यटकलाई हाम्रो कमजोर फोहोर व्यवस्थापन प्रवृत्तिले प्रभावित नगर्ला भन्न सकिन्न । सरकार स्वयं यसप्रति गम्भीर देखिएको छैन । सरसफाइमा प्रभावकारी योजना संँगसंँगै नागरिकलाई सचेत बनाउनेतिर पनि राज्यको ध्यान जानुपर्ने हो । सरसफाइमा नमुना रहेका देशहरूमा प्रत्येक नागरिकले आफ्नो जिम्मेवारी कसरी स्वस्फुर्त निर्वाह गरिरहेका छन्, त्यसको चर्चा बारम्बार भइरहन्छ । तर ती अभ्यास नेपालमा हुनसकेको छैन, न त सरकारले नै गराउने कदम चालेको छ । नागरिक तहलाई निश्चित प्रणालीमा अभ्यस्त बनाउन सुरुमा नियम, दण्ड, जरिवाना तथा प्रोत्साहन आदि उपायको समेत खाँचो पर्छ । त्योभन्दा पहिला सरकारकै काम र योजना व्यवहारमा देखिनुपर्छ । यतिबेला नेपाल भ्रमणवर्ष २०२० लाई सफल पार्ने नारासहितका पोष्टहरूले अधिकांश नेपालीका सामाजिक सञ्जालका भित्ता रंगिएका देखिन्छन् । राष्ट्रिय कार्यक्रम प्रचारका लागि यो जनस्तरको प्रशंसनीय सहभागिता हो । पर्यटकलाई आकर्षित गर्ने नेपालीहरूको यो स्वस्फुर्त सहभागिता अब सभ्य, सफा तथा सुसंस्कृत प्रणाली बसाउने क्रममा पनि देखिनुपर्छ ।

देशभित्रको अस्तव्यस्त र बेथितिजन्य अवस्थाका कारण एक सचेत नागरिकले गर्नुपर्ने र बोल्नुपर्ने दायित्व पाइलैपिच्छे भेटिन्छ । सरकारको काम प्रभावकारी नभएको गुनासो हामी गरिरहन्छौं । तर हामी आफैंले आफ्नो नागरिक जिम्मेवारी कति निर्वाह गरिरहेका छौं, त्योबारे सोच्दैनौं । कतै हामीहरूकै स्वभाव, चरित्र र निस्क्रियता सरकारमार्फत प्रतिविम्बित भएको त हैन ? ठूला काम त परै छोडौं, कसैले गरिरहेको गलत कदमबारे बोलेर सचेत पार्ने क्रममात्र बस्यो भने पनि थोरै समयमा ठूलो उपलब्धि हासिल हुनसक्छ । किनकि सर्वप्रथम आफ्नो कर्तव्य निर्वाह नगरी कुनै व्यक्ति अरुको गलत कदमप्रति बोल्ने तहमा उक्लिन सक्दैन । अरुलाई सुधार्न मात्र हैन, आफ्नै चरित्रका दृष्टिदोष हटाउन पनि बोल्ने क्रमले निक्कै मद्दत पुर्‍याउँदो रहेछ, यो मेरो आफ्नै अनुभव पनि हो । देखेजति गलत क्रियाकलापको विरुद्ध म निर्भीक भएर बोल्न थालेको छु, तपाईं कहिले थाल्ने ? हामी सबै नागरिकको यो जुझारु क्रमले सरकारलाई पनि सही मार्गमा डोर्‍याउँछ कि ?

प्रकाशित : आश्विन ४, २०७६ ०८:४०
प्रतिक्रिया
पठाउनुहोस्

नायक निर्माणको सामाजिक तिर्खा

यादव देवकोटा

नेपाली समाजले ‘फलानो आऊ, देश बचाऊ’ वा ‘हाम्रो ‘फलानो’ प्राणभन्दा प्यारो छ’ बोलका नारा भट्याउन थालेको कति भयो, त्यो बेग्लै पक्ष हो । मुख्य कुरा, यस्तो प्रलापमा नेपाली समाजले आफ्नो गला फुलाउन र सुकाउन थालेको कैयन दशक बितिसक्दा पनि आजसम्म यो देश कोही फलाना आएर बनाइदिने होइन, हामी आफैंले बनाउने हो भन्ने स्वत्वको जगमाथि आफैंलाई उभ्याउने विश्वास खडा गर्नसकेको छैन ।

यसरी प्राणभन्दा प्यारो मान्दै एकपछि अर्को गर्दै नायकका रूपमा थापना गरिएका त्यस्ता ‘फलाना’हरूले नेपाली समाजको कति पुस्ताको विश्वास निचोरेर आफूलाई मात्रै उजिल्याए, त्यसको सामाजिक हिसाब नेपाली समाजको रुचिको शीर्षकमा कहिल्यै परेको देखिंदैन ।

समस्यासँग जुधेर त्यसलाई पार लगाउनभन्दा समस्याबाट भागेर र समाधानको जिम्मेवारी कोही अमूक पात्रको योग्यता र क्षमताको विषय हो भन्ने चेतनाको तारेभीरमा उभिएर समाजले समयक्रममा उभ्याएका नायक (त्यस्तो कामका लागि नायिका पनि उभिन सक्छन् भन्ने नेपाली चेतनाले सपनामा पनि नचिताएको जस्तो देखिन्छ) हरूको एकपछि अर्को संख्या गनेर साध्य छैन । यस प्रकारले खडा गरिएका चमत्कारी कथित नायकहरूमा समस्या समाधान गर्ने खास ल्याकत नभएपछि भएको पलायन, स्खलनको सिलसिला पनि कम्ती टिठलाग्दो छैन । एउटाले काम नचलेपछि तत्कालै हामी त्यस्ता नायकीय पात्रहरू फेरिरहेका हुन्छौं । आफ्ना लागि उपयुक्त सामाजिक परिवेश निर्माण कुनै अलौकिक पात्र या ऐनमौकामा अनेकन कथ्यको झल्लरी सिउरेर पलाएको व्यक्तिले होइन, सामुहिक सामाजिक लगाव, मिहेनत र संघर्षले हो भन्ने विश्वासको जग हाल्न भने सधैं पन्छिरहेका हुन्छौं ।
०००
जब मानिसमा आफ्नो दु:ख/समस्याको सामना र समाधान गर्न आफैंले सकिन्छ भन्ने भरोसा रहँदैन, त्यसपछि ऊ कुनै अलौकिक पात्र या चमत्कारले या सारा वैयक्तिक, सामाजिक, कानुनी, न्यायिक जञ्जाल तोड्न सक्ने जादुयी नायकले समाधान गरिदिने मनचिन्ते भरोसामा अडेस लगाउन पुग्छ । त्यसै पनि उसलाई हुर्के/बढेको सामाजिक चिन्तन प्रणालीले आवश्यकता अनुसार दैवी चमत्कार या अलौकिक नायकहरूको कथ्य चेतना आरोपित गरिदिएको हुन्छ । त्यही चेतनाले प्रेरित गर्छ— समाजमा, टोलमा, इलाकामा, देशमा हरेक समस्याका लागि अलग–अलग नायक थपना गर्ने । पार्टीभित्र पनि पुज्नका लागि आफ्ना अलग्गै देउता/नायक थाप्ने ।
घर–खलियानदेखि कक्षाकोठासम्म, पुस्तकदेखि सिनेमाका पर्दासम्म, बाआमादेखि शिक्षकसम्म सबैले सजिलो र अप्ठेरो, ठिक र बेठिकका बीचबाट फ्याट्ट अघि सारेर यसरी नायक चेतनाको बिजारोपण, स्याहार र प्रदर्शन गरिदिएका हुन्छन् कि जनसाधारण जीवनका, समाजका, समयका जटिलतम समस्याहरूको सामना आफ्नो बुँताभन्दा परको खेलो ठान्छन् । जीवनमा आइलागेका दु:ख, बेहोर्नुपरेको हैरानी, गुज्रनुपरेको अभाव/दरिद्रता नियतिको खेल लाग्छ ।

सिंगै जिन्दगी जनसाधारणहरू आफू गुज्रिएको समस्याबाट चमत्कारपूर्ण उन्मुक्तिको कोरा कामनामा लुट्पुट्टिन्छन् । तिनै जनसाधारणहरूको कामनामाथि खेल्न केही चतुर मानिस विभिन्न बर्को ओढेर आउँछन् । जस्तो कि धर्म राजनीति, समाजसेवा, उद्धारक, आदि/इत्यादि । जनसाधारण तिनैको पछि लाग्छन् । एउटा ईश्वरको चमत्कारको अपेक्षाले नपुगेपछि अर्को ईश्वरको खोजी । एउटा दैवी खेलोले जीवनका दु:खहरूको खोलो नफर्किएपछि अर्को दैवी खेलोको तिर्खाले लपेटिएर देउता परिवर्तन, धर्म परिवर्तन । एउटा राजनीतिले एउटा समय पनि नथेगेपछि असन्तुष्टि, आक्रोश र अपेक्षाहरूको भारी बोकाउन अर्को राजनीति । एउटा पार्टीपछि अर्को पार्टी । एउटा नेतापछि अर्को नेता । नेपाली समाजको कमसेकम बितेको सात दशक लामो राजनीतिक/सामाजिक इतिहास हेर्ने हो भने पनि जनसाधारणहरूको ‘देवता’ बन्ने, तिनको दु:ख मेट्ने नायक बन्ने वाचासहित कति राजनीतिक पार्टी, तिनका पेसेवर अनुहारहरू नागरिकको विश्वासको दाम्लो चुँडाल्न एकपछि अर्को गर्दै आउँदै–जाँदै गरे, त्यसको हिसाब आफैंमा अत्यासलाग्दो बन्न गएको छ ।
०००
त्यही नायक निर्माणको चेतनाको उत्कर्षको परिणाम बनिदिएको छ– एकपटक विश्वास गरेपछि रसातलमा नभास्सिँदासम्म विश्वास गरिरहने । आफ्ना विश्वासका नायकमाथि उठेका प्रश्नहरूमाथि जाइलाग्ने । मेरो नायकले जे गर्छ, ठिक गर्छ भन्ने । मैले किन सोच्नुपर्‍यो, सोच्ने त मेरो नायकले, नेताले हो भन्ने । म पनि सोच्न सक्छु, मैले पनि सोच्नुपर्छ भन्ने नै नमान्ने । नायकले क्रान्ति भन्छ, मारकाटको सौन्दर्यकरण गर्छ, गुरुरु हो–हो भन्दै मर्न–मार्नै हिँड्ने । उही नायक शान्ति भन्छ, फेरि हो–हो भन्दै गुरुरु कुद्ने । रात ढलेर दिन खुल्न पाएको हुन्न, उही कथित नायक क्रान्ति, हिंसा, मारकाट, ज्यानमारा खेलले कहाँ राजनीति हुन्छ भन्छ, फेरि हो–हो भन्ने । आफ्ना नायकहरूको जयजयकार गर्ने । जस्तो कि हामीकहाँ उही कथित नायकले साम्यवाद ल्याउन जनयुद्ध भने पनि जयजयकार । साम्यवाद हैन, संसदीय चुनाववाद भने पनि जयजयकार । कांग्रेस क्रान्तिको दुश्मन भने पनि, उसैसँग मिलेर क्रान्ति नायकका सन्तान जिताउन मतपत्र च्याते पनि जयजयकार । एमाले लिंगै नखुलेको पार्टी हो भने पनि जयजयकार । कम्युनिष्ट क्रान्ति गर्न एमालेसँग एकता भने पनि जयजयकार । हामी भैदिएका छौं, कस्तो भने– मैले त खुरुखुरु मेरो नायकले सोचेको, भनेको मान्ने हो, पछ्याउने हो भन्ने ठान्छौं । मेरो नायकले, नेताले कहिल्यै गलत सोच्दैन, सोच्नै सक्दैन भन्ने ठान्छौं । कसैले नायकका गतिविधि, काम गराई, कार्यव्यवहारबारे प्रश्न उठाए दायाँ–बायाँ सोच्दै नसोची झम्टन्छौं ।
०००
आफूले हिजो कुनै वाद, विचार, पार्टी, नेता, नायकमाथि विश्वास खन्याउँदा उसले वितरण गरेको वाचा, प्रतिज्ञा के थियो र आज ऊ कहाँ उभिएको छ भनेर मूल्यांकन/पुनर्मूल्यांकन गर्दैनौं । हुँदाहुँदा हामी कस्तो भइगएका छौं भने– समय र परिस्थिति बदलियो भनेर मानिसहरूलाई हिजो वितरण गरेको विश्वासका प्रतिबद्धताहरूबाट ती नायक, नेता, पार्टी हिजोका अरुहरू जसरी नै दायाँ–बायाँ लाग्नु कति युक्तिपूर्ण छ भनेर समेत नसोच्ने । समय र परिस्थिति त बदलिइरहन्छ । तर त्यसका नाममा निमुखा, जनसाधारणहरूलाई वितरण गरेको वाचाबन्धन तोड्न मिल्ने कि नमिल्ने ? समय र परिस्थिति पनि यसरी ती मानिसहरूका लागिमात्रै बदलिने कि त्यसले जनसाधारणहरू झन्–झन् दु:खको, समस्याको, अभावको, अन्यायको, अत्याचारको गर्तमा भास्सिने । तर हिजो केही तोला सुन र एककट्ठा घडेरी सम्पत्ति रहेको सार्वजनिक गरेर सर्वहाराकरण भएको घोषणा गरेको मानिस भने बितेको चार दशकमा एक कौडी पैसा आउने कुनै उद्यमै नगरिकन देशकै सबैभन्दा धनाढ्य मानिसको जीवनशैली बिताउने अवस्थामा बदलिने । जनसाधारणको भने न जीवन भोगाइको अवस्था बदलिने न दु:ख र संघर्षका परिस्थिति ।

के कुरा छ, बीचमा कामै नगरी आफैंले झुत्रे अवस्था देखेर, विश्वास गरेर, आफैं बीचबाट थपना गरेको नायकको आर्थिक, सामाजिक, वर्गीय अवस्था बदलिइरहने तर आफ्नो सिंगै जिन्दगी निकृष्ट तहको श्रम गर्दा पनि झन्–झन् नाजुक हुने ? यस रहस्यको यथार्थ कहिल्यै नखोज्ने । नियति र भाग्यको दाम्लोमा बाँधिएर चतुर मानिसहरूले गरेको छल, कपट, धुर्त्याइँलाई बदल्न आफैं अघि नबढ्ने । बरु भर्सेलोमा परेको विश्वासको भारी थाम्न फेरि अर्को नायक थाप्ने । त्यस नायकबाट पनि ठगिने र फेरि अर्को नायक खोज्ने । नायकहरू बदलिरहने । मुक्तिदूतहरू बदलिरहने । क्रान्तिका नाममा । शान्तिका नाममा । चुनावका नाममा । भोट र सांसदका नाममा । मन्त्री र प्रधानमन्त्रीका नाममा । उद्धारक र सामाजिक परोपकारीका नाममा । तर जनसाधारणहरूको दर्दको अवस्था नबदलिँदा पनि नचेत्ने । कोही अलौकिक पात्र आएर, नायक आएर, देवदूत आएर जीवनका यथार्थहरू, कठिनाइहरू बदलिदिँदैनन्, सामाजिक यर्थाथ बदल्न सामुहिक र आफ्नै बुँतामा उभिएर समस्याको सामना गर्ने बाहेक अरु कुनै तागत कामयावी छैन भनेर नचेत्ने ।
०००
हामीकहाँ नायक निर्माणको चेतना व्यक्ति हुँदै सामाजिक र राष्ट्रिय स्तरमा संकेन्द्रित हुनगएको छ, सानैदेखि ठूला र जटिल काम कसले गर्न सक्ने र कसले नसक्ने भन्ने सीमारेखा तय भएको देखेर एउट मानिस हुर्कन्छ । छोरीले यो काम नसक्ने, आमाले यो काम नसक्ने, बाले मात्रै यो काम सक्ने, दाइ–भाइले यो सक्ने । ‘आइमाई’को बुँतामा यो काम छैन । यो काम त ‘छोरामान्छे’ले पनि सक्दैन । कति काम त दाइ, बाले पनि सक्दैनन् । ‘भगवान’ले मात्रै गर्न सक्छन् । ‘राजा’ले मात्रै गर्न सक्छन् । यसरी डामिएको चेतनाले पीडित मानिसको, समाजको जीवनमा अलिकति जटिल समस्या उब्जियो कि ‘फलानो आऊ– मलाई/हामीलाई बचाऊ’ खालका चित्कारको सिरानी नहाली दु:खको निद्रा नमर्ने आदतले संक्रमित गराएको हुन्छ । त्यस्तो चेतनामा जटिलता पार लगाउने पात्र आफू हैन, अरु नै कोही विशिष्ट मानिस हुन्छ । त्यो कि ‘राजा’ हुन्छ कि ‘देउता’ हुन्छ कि ‘मुक्ति नायक’ हुन्छ । र खास समयमा त्यस्ता नायक/देवताहरू समाधान बोकेर उपस्थित हुन्छन्, तर तिनका लागिमात्रै जसले भगवान, राजा, नायकप्रति शुद्ध चित्तले भक्तिभाव दर्शाएको हुन्छ । यसरी भक्ति चेतना हाम्रो सामाजिक शिक्षाको आधारभूत सर्तका रूपमा यहाँ हुर्किएको अधिकतर मानिसमा आरोपित छ ।

नायक निर्माणको यही कहालीलाग्दो शृङखलाले डामिएर कहिले हामी वर्तमानसँग आजित भएर इतिहासका पात्रहरूमा नायकत्वको खोजी गर्छौं । कहिले नायक खोजीको दु:ख टार्न भविष्यमुखी नायकको खोजीमा नयाँ–नयाँ पटकथाहरूको भेल बगाउँछौं । तर वर्तमानको दु:ख न इतिहासतिर फर्किएर खडा गरिएका नायकहरूले मेटिदिन्छन् न वर्तमानका जादुयी पात्रहरूले । वर्तमानको समस्या या दु:खसँग तपार्इं, हामीले दृढतापूर्वक आफैं
नजुधी, त्यसको कठोर हदसम्म आफैंले सामना नगरी र उपयुक्त समाधान नखोजी पार लाग्दैन ।
०००
सिमान्त मानिसहरूले थपना गरेका गाउँदेखि केन्द्रसम्मका राजनीति नामको व्यवसायमा संलग्न नायकहरू मनिसका दु:खलाई या त वास्तै गर्दैनन्, गर्नेहरू पनि त्यसलाई मोलाहिजाको विषय बनाएर आफ्नो गोजी भर्ने मेलो बनाउँछन् । तिनलाई राजनीति भनेको राज्य, समाज, नागरिक चुसेर–निचोरेर आफू बलियो–दरिलो बन्ने खेलो हो भन्ने बाहेक अरुमा विश्वास छैन । वैदेशिक रोजगारीमा ठगी गर्नेदेखि गुन्डागर्दी, ठेकेदारी, जग्गा दलाली गर्नेसम्मको गलत काम गर्नेलाई समात्यो भने तिनको संरक्षणमा पेसेवर राजनीतिकर्मी उभिनु आजको दिनमा अनौठो मानिँदैन ।
यहाँ नियमित प्रक्रियाबाट मानिसहरूले आफ्नो अप्ठेरो फुकाउन सक्ने कानुनी, प्रशासनिक संयन्त्रहरू वास्तविक अर्थमा उपस्थित त छन् । तर न्याय खोज्न अदालत पुगेको निमुखाको सिंगै जिन्दगी तारिखमा लतारेर न्यायको अनुभूति नै गर्न नपाई निख्रन्छ । ठगिएको, दु:ख पाएको, अन्यायमा परेको उजुरी लिएर गएको नागरिकले न्याय पाउने त परको कुरा उसको उजुरी दर्ता हुने र त्यसउपर कारबाही हुने कुरा उसको हैसियत (गोजीको समेत) मा भर पर्छ । यसरी निरुपाय र निरीह बनाइएका मानिसहरू जब कसैले आफ्नो पीरमर्का उठाइदिएको पाउँछन्, तिनैमा आफ्नो विश्वासको पटुको बाँधिदिन्छन् । तिनैमा दु:ख पखालिदिने चमत्कारी नायकत्वको अंश आरोपित गर्छन् । ठिक–ठिक तवरले जिम्मेवारी राज्य संयन्त्रले आफ्नो दायित्व निर्वाह गरेको भए, नागरिकहरूको समस्याको पैरवीकर्ता मानिने राजनीतिकर्मीले मानिसका समस्यालाई आफ्नो आम्दानीको स्रोतका रूपमा व्यवहार नगरेको भए, जिम्मेवार मिडियाले आफूलाई अप्ठेरोमा परेका सिमान्त मानिसहरूको पहुँचमा राख्नसकेको भए अमूक पात्रहरूलाई नायक बनाउने र अमूक पात्रहरूलाई खलनायक बनाउने हाम्रो उच्चाटलाग्दो सामाजिक प्रयत्न यति अतृप्त तिर्खा पालेर बस्थेन ।
०००
यथार्थत: कुनै पनि समाजमा विद्यमान समस्या समाधान कुनै जादुयी नायकहरूले हैन, सामुहिक सामाजिक चेतना, संघर्ष र सामनाले मात्रै सम्भव हुन्छ भन्ने तथ्य जति चाँडो मानिसहरूले आत्मसात गर्छन्, उति छिटै यस्ता भाग्यवादी, परनिर्भर, आशामुखी चिन्तनले खडा गरेका नक्कली नायकत्वको जमिन भास्सिन कुनै साइत कुर्नु पर्दैन । मानव जातिको लामो इतिहासको क्रममा जति पनि प्रलय, विपत्हरू हाम्रा पुर्खाहरूमाथि खनिए, त्यसबाट उनीहरूलाई कुनै मुक्तिदूत या चमत्कारी नायकहरूले होइन, हाम्रा तिनै पूर्वजहरूको हजारौं वर्ष लामो सामुहिक विवेक, मन्थन, सामना, संघर्ष र उपाय/विकल्पहरू खोजीको यत्नले बचाएको छ । समस्याबाट बाहिर निकालेको छ र अग्रगतिको बाटोमा हिँडाएको छ ।

सामाजिक व्यवस्था कायम गर्न फरक–फरक क्षमता तर समान हैसियत भएका मानिसहरू मध्येबाट अगुवा छानिन सक्ने कुरामा अन्यथा नरहला । हरेक मानिससँग कुनै न कुनै खालका विशिष्ठता, योग्यता र क्षमता हुन्छ । ती सबै योग्यता जोडेर सामुहिक खाँचो, आवश्यकता समाधान गर्ने, सामुहिक चेत, विवेक, योग्यताका बलमा समस्या सामना गर्ने र समाधानको बाटो तय गर्ने हो । कोही एकै व्यक्तिसँग आजको नेपाली समाजको सारा समस्याको समाधानको बुटी छैन । सबैको सामुहिक वुद्धि, विवेक, विचार, चिन्तन, चेतना मिलाएर साझा समस्याको साझा तवरले नै समाधानको बाटो तय गर्ने बाहेक हामीसँग अर्को उपाय छैन । त्यसका लागि हामीजस्तै मानिसबाट कोही अगुवा बन्न सक्ला । तर समाधानको जादुयी छडी लिएको कोही अग्रदूत, मुक्तिदूत आएर हाम्रो समस्या मेटिदिने छैन । यो तथ्य बुझ्न जति ढिला हुन्छ, नायक निर्माणको सामाजिक चेतनाले डामिएका हामीहरू यो अन्त्यहीन चक्रबाट बाहिर निस्कन सक्ने घडी उति ढिला भइरहनेछ ।

प्रकाशित : आश्विन ४, २०७६ ०८:३८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्