१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

सीको ‘ग्ल्यामर’

लक्ष्मी लम्साल

चिनियाँ राष्ट्रपति सी चिनफिङले दसैं र तिहारको बीचमा नेपाल भ्रमण गर्ने भनिँदै आएको छ । भदौ तेस्रो साता नेपाल पुगेका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई सीको आसन्न भ्रमणको तयारीका रूपमा अर्थ्याइएको छ । यद्यपि नेपाली र चिनियाँ दुवै पक्षले भ्रमणको मिति सार्वजनिक गरेका छैनन् र भ्रमण नहुने संकेत पनि दिएका छैनन् ।

सीको ‘ग्ल्यामर’

आफ्ना राष्ट्रपतिको भ्रमणकै वातावरण मिलाउन चिनियाँ विदेशमन्त्री काठमाडौं उत्रिएका बेला चिनियाँ दूतावास आसपास क्षेत्रमा केहीले धर्ना बस्ने जमर्को गरे । त्यो सानो घटना थियो । तर त्यसको रिपोर्टिङ बेइजिङसम्म पुगिसकेको छ ।


नयाँ चीन स्थापनाको ७० औं वार्षिकोत्सव (अक्टोबर १) को घरेलु गतिविधि टुंग्याएर सीले विदेश भ्रमणको चाँजोपाँजो मिलाएको अनुमान छ । अधिकांश विशेषज्ञ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग मध्य अक्टोबरतिर हुने भनिएको वुहान वार्ताको दोस्रो संस्करणका लागि सी भारत गएपछि मात्र नेपाल आउने अनुमान गरिँदैछ । तर उनी सिधै नेपालकै लागि काठमाडौं उत्रिनेमा भने कमै आशावादी देखिन्छन् । गत अगष्ट १ मा यही वार्ताको वातावरण मिलाउन भारतीय विदेशमन्त्री एस. जयशंकर बेइजिङ उत्रिएका थिए । यद्यपि कश्मीरको विशेष राज्यको मान्यता खारेज गर्ने मुद्दा चर्किएपछि चीनले जयशंकरलाई असन्तुष्टि पोखेर पठाएको थियो ।


दुई दशकभन्दा लामो अर्थात् १९९६ मा तत्कालीन राष्ट्रपति च्याङ चमिनले नेपाल भ्रमण गरेयता कुनै पनि चिनियाँ राष्ट्रपतिले नेपाल भ्रमण गरेका छैनन् । बेइजिङको ‘ग्रेट हल अफ द पिपुल्स’ भित्र र बाहिर पुग्ने कुनै पनि नेपाली नेताहरूले निम्ता दिएका दियै छन् भने काठमाडौं उत्रिने कुनै पनि चिनियाँ नेतासामु भ्रमणको निम्तो एउटा निरन्तरताजस्तै बनेको छ । यद्यपि चिनियाँ राष्ट्रपति भ्रमणमा आउने कुरा दुई वर्ष अघिजस्तै हल्लाखल्लाका कारण रद्द नहोस् भन्नेमा यसपालि नेपाल सरकार चनाखो भएको हुनसक्छ ।


सन् २०१३ मा सत्तारोहण भएसँगै दक्षिण एसियाका सबै देश भ्रमण गरिभ्याएका सीले छिमेकी नेपालका लागिचाहिँ विशेष ‘सरप्राइज’ कहिले दिने होलान् ? सीको पहिलो ५ वर्षे कार्यकाल सकियो । दोस्रो कार्यकालमा एकचोटी अवस्य नै नेपाल भ्रमण गर्लान् भन्ने धेरैको अनुमान छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण किन रोचक तृष्णा बनेको हो भने उनको ‘ग्ल्यामर्स’ व्यक्तित्व जसमा आर्थिक विकास, विश्व शान्ति, स्थिरता र छिमेकप्रतिको सम्मान’ लुकेको छ ।

सबैभन्दा पहिले दक्षिण एसियाको पुल बन्नसक्ने नेपाल पुगेर पुलको संरचना हेर्नु चिनियाँ शीर्षनेताका लागि अपरिहार्य कुरा हो । पुल बलियो भएन भने चीनले दक्षिण एसिया छिर्ने वैकल्पिक बाटो पहिल्याउनुपर्ने हुनसक्छ । केही हिमालको अवरोध छिचोल्नसके नेपाल नै सबैभन्दा सजिलो गन्तव्य हुनेमा दुईमत छैन ।


चीनले अघि सारेको बेल्ट एन्ड रोडलाई तीव्रता दिनु र पश्चिमबाट उर्लिंदै गरेको इन्डो–प्यासिफिक नीतिलाई रोक्न नेपाल भ्रमण चिनियाँ नेताका लागि एक मनासिव कारण हुनसक्छ । जहाँसम्म नेपालको दक्षिणी छिमेकी भारतले चीनको बीआरआईसँग एकाकार हुन चाहिरहेको छैन, कम्तीमा नेपाली मैदान ‘क्लियर’ गर्नु चीनको चुनौती हो । त्यसका लागि नेपालको हरेक तह र तप्कालाई बीआरआईमाथिको विश्वसनीयता प्रबर्द्धन गर्नु जरुरी छ । सी चिनफिङ नेपाल भम्रणमा जानु भनेको बीआरआईका झिनामसिना उल्झनहरू सुल्झाएर धमाधम कार्यान्वयनको बाटो खोल्नु हो । दुई वर्षअघि नै नेपालले बीआरआईमा हस्ताक्षर गरिसकेको छ ।


चीन आफैं पनि गरिबी विरुद्धको युद्धमा होमिएको मुलुक हो । सुधार तथा खुलापन लागू भएको सन् १९७८ यताको ४ दशकमा चीनले ७० करोड नागरिकलाई गरिबीको दुश्चक्रबाट निकालेको छ । त्यस्तै सीको पहिलो पाँचवर्षे कार्यकालमा ६ करोड ८५ लाख नागरिक गरिबीको रेखाबाट उकासिएका थिए भने २०१२ अघि रहेको गरिबी दर १०.२ प्रतिशतबाट घटेर २०१७ मा ३.१ प्रतिशतमा झरेको थियो । यसबाट पाठ सिक्नसके नेपालले पनि गरिबी निवारणमा सफलता प्राप्त गर्नेछ ।


तिब्बतको सुरक्षा कवचको रूपमा रहेको नेपाललाई अझै प्रतिबद्ध बनाउन सीको भ्रमण महत्त्वपूर्ण हुनेछ । सबैभन्दा बढी सुरक्षा खतरा मानिने सिन्च्याङमा पाकिस्तानले र तिब्बतमा नेपालले ठूलो पहरेदारी गरेको सर्वविदितै छ । तर नेपालका नेताहरूले भारत वा अन्य मुलुकमा तिब्बती नेताहरूसँग उठबस वा उनीहरूका कार्यक्रममा भाग लिएका घटनाले कहिलेकाहीं चीन सशंकित बन्न पुग्छ । राष्ट्रपति सीको भ्रमणले यस्ता शंका, उपशंका हटाएर दुईपक्षीय सम्बन्ध प्रगाढ बनाउन मद्दत गर्नेछ ।


दुई वर्षअघि हस्ताक्षर गरेको बीआरआई परियोजनामा अहिलेसम्म नेपाल अलमलमै छ । राष्ट्रपति सीको भ्रमणपछि यसमा पनि प्रगति हुने विश्वास गर्न सकिन्छ ।


विश्वशक्ति अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिनबीच अर्जेन्टिना र ओसाकामा दुईचोटी भेट भइसक्यो । भेटघाट हुँदा ट्रम्प र सी व्यापार युद्ध रोकेर वार्ताका लागि तयार भएका थिए । यद्यपि वार्ता विफल नहुँदै ट्रम्प भन्सार कर वृद्धिका लागि हतारिए । युद्धको मुखैमा पुगेको २०१७ को दोक्लाम विवादमात्रै होइन, भारत र चीन बीचका अनेकन मतभेद मिलाउन सीले मोदीलाई वुहानमा निम्त्याएर गरेको वार्ताबाट पनि बुझिन्छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं केन्द्रीय कमिटीको बैठकपछि विदेशी पत्रकारमाझ सीले जनताप्रतिको जिम्मेवारी, पार्टी शासन तथा नयाँ सामूहिक नेतृत्वको मूल्य, मान्यताबारे प्रकाश पारेका थिए । राष्ट्रिय एकताको लहर ल्याउन सफल सीले ‘चाइना ड्रिम’ र बलियो सैन्य सपनालाई चुस्त बनाउँदै लगेका छन् ।


भिडलाई विश्वासमा लिन शक्तिमा मात्रै भर परेर हुँदैन । आफ्नो कार्यक्षमतामा पनि विचार पुर्‍याउनुपर्छ । जस्तो सीले भन्दै र गर्दै आएका छन् । नेपाल सरकारले सपनाहरूको ठूलो बिस्कुन लगाएको छ, तर कार्यान्वयनको भेउ पाउन नसकेर भौंतारिरहेको छ । यस्तो बेला सी नेपाल पुगे भने नेपाली नेतृत्वले विकास सूत्र सिक्ने अवसर पाउनेछन् ।


चीनले प्राविधिक विकासबाट पाएको उपलब्धि सबैका लागि अनुकरणीय मान्न सकिन्छ । छिमेकीप्रतिको सम्मान र छिमेकीको गरिबी निवारण पनि चीनको उच्चस्तरीय भ्रमणको प्राथमिकतामा पर्न सक्यो भने नेपालले लाभ लिने कुरामा दुईमत छैन । चीन र नेपाल मिलेर आर्थिक उन्नतिमा सहकार्यको वातावरण बनाउन सहयोगी हुनेछ, सी भ्रमण ।

पूर्वाधार निर्माणमा नेपालले चीनबाट धेरै सिक्न सक्छ । मौखिक नाराले मात्रै देश समृद्ध नहुने कुरा नेपालका नेताहरूले बुझेकै हुनुपर्छ । तसर्थ गरिबी निवारणमा फड्को मारेको चीनले नेपाली नीति निर्माण तहमा प्रभाव पार्न सक्छ । तीन महिनापछि नेपालको महत्त्वाकांक्षी भ्रमण वर्ष–२०२० सुरु हुँदैछ । यस्तो बेला सीले नेपालमा पाइला टेक्नु गुणस्तरीय पर्यटकका लागि शक्ति थप्नुको संकेत हुनेछ ।


छिमेकीको राजनीतिक स्थिरता र एकतामा जोड दिने चीनले अहिले नेपालमा भनेजस्तै वातावरण छ । यो मौका छोप्न चीनपछि पर्ने छैन । यसर्थ चिनियाँ राष्ट्रपति सीको भविष्यको गर्भमा रहेको नेपाल भ्रमणको ग्ल्यामर नेपालका लागिमात्रै नभएर चीनका लागिसमेत उपलब्धिमूलक हुनसक्छ ।


लेखक चाइना रेडियो इन्टरनेसनल, बेइजिङमा कार्यरत छन् ।


प्रकाशित : आश्विन ४, २०७६ ०८:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?