साहित्य, राजनीति र एसिया

अभि सुवेदी

साहित्य र राजनीतिले कतिवटा एसियाहरू बनाउन चाहेको रहेछ भनी अहिले राम्ररी बुझ्न थालेका छौं । राजनीतिमा अहिले इन्डो–प्यासिफिक, सिल्क रोड काल्पनिकी र सार्क संगठन गरी सोझै त्रिशङ्कुसँग जुधिरहेको अवस्था छ, नेपालको । एसियामा त्यो पनि भूपरिवेष्टित मुलुक भएकाले हामी बाहिर गएका बेला, ‘यु नो’ लगाएर हामी एभरेष्ट र बुद्ध जन्मेको देशका मानिस हौं भन्छौं ।

साहित्य, राजनीति र एसिया

इन्द्रबहादुर राईको शैलीमा भन्दा एसियामा भएकाले त्यसो भन्छौं । नेपालको यो अवस्था एउटा कविताजस्तो उठ्छ, तरङ्ग लिएर, निराशामा अनि गौरवमा पनि बुझिन्छ । शास्त्रका कुराभन्दा पनि आफ्ना केही अनुभव लेख्नु सान्दर्भिक छ ।


कजाकस्तानको राजधानी अस्ताना अहिले नुर–सुल्तानबाट ‘पहिलो एसियाली देशका लेखकहरूको ४–६ सेप्टेम्बर २०१९ मा हुने सम्मेलनमा भाग लिन मलाई एउटा अप्रत्यासित निम्तो आयो । विराटनगरका कवि सुमन पोखरेलको सल्लाहमा मात्र यसको आधिकारिकतामाथि विश्वास भयो । अनि सुमन र म सहभागी हुन गयौं । मलाई त्यो सम्मेलनको आयोजना, सहभागीका प्रकृति र पहिलेको सोभियत संघको पछि अलग भएको यो राज्यले ‘पहिलो एसियाली’ भनेर उद्घोष गरेको कुराले समात्यो । यो सम्मेलनमा कजाक राज्यको सोभियत संघको एउटा राज्य भएको इतिहासबाट निस्केर एसियाली पहिचान खोज्ने चाहनाको प्रतीकात्मक अर्थ थियो । यो सम्मेलन वास्तवमा त्यस देशका अहिले भर्खरै चुनिएका राष्ट्रपति कसिम–झोमार्ट तोकायेभको चाहना र सहयोगले आयोजना गरिएको रहेछ । मलाई अर्थ झन् खुल्दै गए । ती राष्ट्रपतिले उद्घाटनमा सिल्क रोडको प्राचीनता र यसले बोकेको समय नै एसियाली देशहरूलाई जोड्ने आधार र साहित्य, कला र शिक्षा शैलीको स्रोत भएको दाबी गरे । त्यति धेरै वर्ष सोभियत संघ र कमिनिष्ट पार्टीले चलाएको इतिहासको तिनले कुनै प्रसङ्ग पनि निकालेनन् । मलाई यो अर्थपूर्ण लाग्यो ।


यो सम्मेलनले देखेका एसिया अनेकौं थिए । यो वर्गीकरणबाट हेर्दा साहित्य र कलालाई हेरिने एसिया होइन, एसियाहरू हुन् । हामी त्यसरी नहेर्ने रहेछौं । हामीले यो कुरा बुझ्न अत्यन्त आवश्यक छ । हामीले भनिआएको र सांस्कृतिक र भाषिक संगठनमा बाँधिआएको एसियाभन्दा यो भिन्न छ । सयजना लेखक आएका एसियाका खण्डहरू यी हुन् भनी लेखिएकोमा केन्द्रीय एसिया, दक्षिण एसिया, दक्षिण–पूर्व एसिया, दक्षिण–पश्चिम एसिया, उत्तर एसिया र पूर्वी एसिया छन् । कमिनिष्ट पद्धतिभन्दा अलग, सोभियत संघको नियन्त्रणभन्दा बाहिर निस्केर हेर्दै रहेछ, यो देश । रूससँग लामो उत्तरी सीमा जोडिएको यो देश र त्यही भेगका उज्बेकिस्तान, तुर्कमेनिस्तान, किर्गिस्तान, ताजकिस्तान अनि उतातिर मंगोलियाले आफूहरू एसियाली देश हौं भनेर पहिचान खोज्नुको अर्थ महत्त्वपूर्ण छ । मलाई लाग्छ, भावनात्मक रूपमा यहाँ अब आएर एसियाहरू छन्, एसियाहरू छैनन् । यी देशहरूले पश्चिमी उपनिवेशवादी भौगोलिक विभाजनलाई आधार माने पनि नयाँ पहिचानका सीमा खोजिरहेका छन् । मन मिल्ने र इतिहास मिल्नेहरूले जोडिने आधार खोज्दा प्राचीन इतिहासतिर फर्कने कुरा खोजिँदैछन् । त्यसमा सिल्क रोड एउटा बलियो रूपक हो, उनीहरूको । हामीले यतातिरको एसियालाई जोड्न केही गरेका छौं, तर खासै सफल भएका छैनौं । हामी एकताभित्र अग्नि लुकाएर बसेका छौं । नेपाल एसियाको यही अग्निक्षेत्रको संगठन सार्कको अहिले निष्पृह, निराकार, निर्विकार र निरङ्कार अध्यक्ष छ ।


यी माथिका सोभियत संघभित्र पहिले रहेका एसियाली देशहरूमध्ये महाकवि लक्ष्मीप्रसाद देवकोटाले उज्बेकिस्तानको राजधानी तासकन्दमा १९५८ को अक्टोबर ७–१३ सम्म भएको एसियाली (अफ्रिकी पनि जोडिएको) लेखक सम्मेलनमा अत्यन्त प्रभावकारी लिखित प्रवचन दिएको कुरा हामीले सुनेका थियौं, जुन पछि पढ्न पनि पायौँ । उनले त्यसपछि क्यान्सरको पहिलो उपचार मस्कोमा गराएको र त्यहाँको नगरी र काठमाडौं तुलना गरेको अनि सोभियत संघमा लेखकहरूलाई राज्यले सहयोग गरेको कुरा राखेर निबन्ध लेखेको कुरा विदित छ । देवकोटाले ‘हामी उषासुत नयपाली ....भूमण्डलको ....अंशियार हौं एक थाली’ भनेर एसियाकै कविता लेखे । सिद्धिचरण श्रेष्ठले यस्तै अमूक सम्मेलनमा भाग लिएर फर्कंदा ‘गिरिगद्वरले भिन्न भई अब, मनुज बस्नकै छैन सम्भव’ भन्ने कविता लेखे । साहित्यमा एकभन्दा बढी एसिया छन् कि एक अखिल एसिया छ भन्ने एक अनुत्तरित प्रश्न थियो, हाम्रानिम्ति । लाग्छ, अहिले त्यो प्रश्न झन् महत्त्वपूर्ण र जटिल छ ।


गोष्ठीको पहिलो सत्र नै वाचाल थियो । मञ्चमा बोलाइएका लेखकहरूको छनोटमा एउटा एसिया प्रस्ट देखिन्थ्यो । अल्टाइक भाषाहरूका लेखकको प्राधान्य थियो, जसरी यतातिर सार्क लेखक सम्मेलनहरूमा दक्षिण एसियाली र अफगानी भाषाहरूको प्रतिनिधित्व हुन्छ । ती अल्टाइक भाषाहरूमा टर्की, अजरबैजानी, कजाख, किर्गिज, उइगुर, उज्बेक र तातार पर्छन् । तिनलाई सामुहिक रूपले ‘टर्किक’ भनिन्छ । यो सम्मेलनमा यी भाषाका सबै नभए पनि बढी लेखकहरू थिए, अनि रूसी र अरब कविहरू पनि थिए । कजाखहरू आफ्नो भाषाभन्दा अझ बढी रूसी भाषामा बोलेको सुन्थेँ म । हामीजस्ता एसियाली पनि थियौं, त्यहाँ । दक्षिण कोरियाका कवि को उनको ‘कान’ शीर्षक कविताले पुनर्मिलनको आशाको प्रवाह गरेको थियो । त्यो कविता यस्तो थियो :


‘कोही अर्को मुलुकबाट/आउँदैछ/ राति झरीको स्वाँ आवाज उठ्छ/ कोही अहिले त्यता गइरहेछ/ ती दुईको पक्कै भेट हुनेछ ।’

अनि मैले सुमन पोखरेलको आफूले अंग्रेजीमा अनुवाद गरेको ‘मनको गीत’ कविता प्रवाहित गरेँ । कविता यस्तो छ :


‘कविलाई हालेर आफूभित्र सम्पूर्णतामा/ म/ कविताको पत्रबाट/ समयको खोल झिकेर फ्याँकूँ/उक्काऊँ भूगोलका डिलहरू/ फुटाऊँ चेतनाका झ्यालढोका/ भत्काऊँ विपनाका खण्डहरहरू र/ निस्कूँ सपनाको उज्यालातिर ।’

सुमनका कविताका पाना पढ्दै अंग्रेजी बुझ्ने, उज्याला, प्रखर अनि कजाखको भविताका प्रतीक युवा–युवतीहरू झुम्मिएको अनि छलफल गर्न आएको देखेर लाग्यो, अर्को एसिया खुल्दैछ । मैले कविता पढिन । छलफल गर्ने पाटो रोजेँ । जोर्डनका प्राज्ञिक युवासँग साहित्यिक एक्टिभिजम र घर गए पनि पिँडालु, ससुराली गएपछि झ्न ठूलो पिँडालु भनेजस्तै साहित्य सिद्धान्त, त्यसमा पनि फुकोको छलफल गरेँ । तर त्यसको ती जोर्डानीले अरबी साहित्यमा गरेको प्रयोग चाखलाग्दो थियो । दोहाका युवक अरबी कवि र टर्कीका कविका कविता जोडदार थिए । प्रवचन गोष्ठीमा बोल्न लेखकहरू मञ्चमा गए । पहिलो दिन सबै वृद्धमात्र थिए । एकजना पनि महिला थिएनन् । ती प्रखर बूढाहरू हिजोको सोभियत संघको कमिनिष्ट पार्टीका प्रोपगन्डा शैलीमा उच्च स्वरमा कराएर, कानमा लाएको अनुवाद फोनमा सुन्दा, पुनरावृत्ति गर्थे । तर ती अब स्वतन्त्र कजाख लेखक थिए, जो आज, हिजो पनि बाँचिरहेका थिए । लाग्यो सोभियतपछिको यो एसिया अब एउटा प्रदोषकालीन चेतनाले चल्दैछ । यो एउटा अर्कै ‘कन्टयाक्ट जोन’ हो, जुन केही समयपछि युवाहरूमा गएर रूपान्तरित हुनेछ । राष्ट्रपति तोकायेभको डिस्कोर्स मनपर्‍यो । तिनको उद्देश्य र सिर्जनात्मक एसियाली सद्भाव असल थियो । अनि तिनको सिर्जना, किताब र पुस्तकालयबाट एसियाहरूको ऐक्य खोज्ने चाहना राम्रो थियो ।


मलाई साहित्यमा निकैवटा एसिया हुन्छन् भन्ने प्रभाव परेको स्कुल वयदेखि नै हो । २००७ सालमा नेपाल बाहिरी संसारसँग खुलेपछि नेपाली लेखकहरू भाग लिन गएका र फर्केका कथाहरू सुनेर अनि पढेर बुझ्दै गएको हुँ । एसियाली साहित्य सम्मेलन, त्यसमा पनि अखिल जोडेर आयोजना गरिएका यस्ता धेरै साहित्य सम्मेलनहरूमा गएको हुँ । छुट्टै लेख्नुपर्छ । हिजोआज मलाई खासै एउटा अखिल एसिया भनेजस्ता कुराले त्यति आकर्षित गर्दैन । तर त्यसो पनि नभनुँ जस्तो लाग्छ । किनकि सेमिनार वा साहित्य महोत्सवहरूमा जानु अति सुन्दर विषय हो, जान्छु । तर त्यो अखिल एसियाली अथवा अखिल क्षेत्रीय साहित्यका समान चरित्र हुन्छन् भन्ने जटिल कुरा खोजको विषय हो ।


अमूक महादेशका देशहरू हामी एकै हौं भनेर संघहरू बनाउँछन् । ती आर्थिक र क्षेत्रीय विषयमा काम गर्छन् । अनेकौं समस्यामा अल्झिन्छन् । एसियाका क्षेत्र, क्षेत्रका संघहरू छन् । अहिले साहित्य र कलाजनिन संघकै कुरा गरौं । दक्षिण एसियाली राष्ट्रहरूको संघ सार्क छ । अहिले लगभग निष्क्रिय छ । साहित्यकारहरूले पनि यसको नाममा सार्क लेखक संघ खोलेर वर्षौंदेखि भेटघाट गरिआएका छन् । त्यसका पनि खासै योजना छैनन्, दमदार काम पनि हुँदैनन् । तर एसियाली देशहरू एक हुनुपर्छ भन्ने विचार एकाध गजलमा, एकाध आधुनिक कवितामा, केही चित्रकलामा, वातावरण नै जीवन्त बनाएर गाउने भारतका सुफी र कौवाली गायकहरूमा, अफगानिस्तानका ध्रुपद गायकहरूका स्वर र लयमा, पाकिस्तानका सुफी गायकहरूमा, बंगलादेश र नेपालका चर्या संगीतमा, केही फ्रिकहरूका संस्मरणमा अनि केही विद्वानका निकै बलिया एकेडेमिक बहसमा अत्यन्तै राम्ररी जागरुक हुँदै आएका छन्, जुन कुरा अमूक क्षेत्रीय संगठनहरू आउनुभन्दा हजारौं वर्ष पहिलेदेखि भइरहेका हुन् । यसपालि मलाई एसियाहरू र साहित्य भन्ने विषयमा अप्रत्यासित नौलो ज्ञान भएको हो ।


प्रकाशित : आश्विन ४, २०७६ ०८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?